२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

ब्युँझँदै आरईएम ?

हिमेशरत्न बज्राचार्य

 
पछिल्ला केही दिन सामाजिक सञ्चालमा आरईएमको ट्रेन्ड नै चल्यो  । आरईएम अर्थात् र्‍यापिड आई मोमेन्ट  ।

ब्युँझँदै आरईएम ?

प्रायः अमेरिकाको यो जर्जियाली ब्यान्डले आफूलाई यसरी प्रस्तुत गर्ने गर्छ, ‘आर.ई.एम.’ । ब्यान्डबारे किन ट्रेन्ड चल्यो होला ? धेरैले ध्यानले दिन चाहेनन्, बरु मख्ख परे । ब्यान्डका धेरैभन्दा धेरै प्रशंसकले के माने भने सायद यो बान्ड फेरि ब्युँझँदै छ, त्यसैले नै यसको नाम ट्रेन्डमा देखा पर्‍यो । नत्र यसको कारण अरू के नै हुन सक्थ्यो र ?


सन् २०११ देखि यो ब्यान्ड सक्रिय नै छैन, भलै यसका केही समस्या कुनै न कुन रूपमा आफूलाई व्यस्त राख्न प्रयास गरिरहन्छन् । जस्तो, ब्यान्डका बास गितारिस्ट माइक माइल्सले हालै एउटा टुरको घोषणा गरेका छन्, जसको उद्देश्य आफू जन्मे हुर्केको राज्य जर्जियाको संगीतलाई सम्मान गर्ने रहेको छ । यस टुरमा उनलाई साथ दिनेछन्, रोलिङ स्टोन्सका किबोर्ड बादक चक लेभेल र भ्वाइलिनमा महारथ प्राप्त रोबर्ट म्याक डफले ।
जर्जियाबाट विश्व संगीतमा नाम कमाउने धेरै छन् । तिनको उत्तिकै लोकप्रिय गीत पनि छन् । टुरमा यिनै गीत प्रस्तुत हुनेछन् । भनिरहनु पर्दैन, यो टुरमा आरईएमका गीत पनि त बज्ने नै छन् । आरईएम ट्रेन्डमा आएको एउटा कारण यो पनि रहेछ । तर जति बेला ब्यान्डका प्रशंसकले यसको कारण बुझे, सबै निराश नै भए । उनीहरू सबैको इच्छा हो, ब्यान्ड फेरि पहिले जस्तै सक्रिय होस्, त्यो पनि ब्यान्डका चारै संस्थापक सदस्यसहित ।
सन् १९८० मा स्थापना भएको अमेरिकी रक ब्यान्ड हो, यो । ड्रमर बिल बेरी, गितारिस्ट पिटर बक र गायक माइकल स्टाइपसँगै बास गितारिस्ट माइल्सले जति बेला सँगै काम गर्ने निर्णय गरे, त्यससँग जन्म भएको एउटा महान अल्टरनेटिभ रक ब्यान्डको । आरईएमलाई लगभग लगभग पहिलो अल्टरनेटिभ रन ब्यान्ड मानिन्छ । अथवा निर्भानासँग आरईएम नै यस्तो एकाध ब्यान्ड हो, जसले अल्टरनेटिभ रक संगीतलाई लोकप्रिय बनाउन मद्दत गर्‍यो ।


आरईएम वास्तवमै निकै लोकप्रिय पनि सावित भयो । यसका दुई स्पष्ट कारण थिए, पहिलो बकको आक्रामक गितार बजाउने शैली, अनि स्टाइपको निकै फरक तर मन तान्ने स्वर । आरईएमको गीत सुन्नुपर्छ, यो अरूको तुलनामा ठ्याक्कै फरक सुनिन्छ । अनि यसको एउटा ठोस कारण गीतका फरकखाले शब्द र अर्थ पनि हुन् । सन् १९८१ मा ब्यान्डले आफ्नो पहिलो गीत रिलिज गरेको थियो, ‘रेडियो फ्रि युरोप’ । यो गीत के चल्यो, बाँकी इतिहास नै भयो ।


सुरुतिर अन्डरग्राउन्ड सफलतामै रमेको आरईएमले सन् १९९० पछि व्यावसायिक सफलता पनि चुम्न थाल्यो र यसै समयमा त हो, दुई निकै सफल एल्बम निस्केको । पहिलो थियो, ‘आउट अफ टाइम’, अर्को ‘अटोमेटिक फर द पिपुल’ । त्यति बेला ‘लुजिङ माई रिलिजन’ नै खुबै लोकप्रियता पनि कमायो । यसलाई अल्टरनेटिभ रक संगीतको कोसेढुंगा गीत मानिन्छ । अल्टरनेटिभ रक म्युजिक के हो त ? यसका लागि यो गीत सुन्नै पर्छ ।


सन् १९९६ आइपुग्दा ब्यान्डका खराब दिन सुरु भए । बेरीले ब्यान्ड छाडे । बाँकी तीन सदस्यले केही समय ब्यान्ड त अगाडि बढाए, तर त्यो पहिलो जस्तो रहेन । सन् २०११ सम्म आइपुग्दा त ब्यान्डले आधिकारिक रूपमै भन्यो, अब हामी सँगै रहेनौं, आरईएम टुक्रियो । ब्यान्डका सदस्यबीच मन नै मिलेन भने किन सँगै बस्ने, उनीहरूको तर्क थियो । यसले एउटा गज्जब ब्यान्डको अवसान गरायो । तर ब्यान्डका विचार प्रशंसक अझै आस गर्दैछन्, आरईएम ब्युझिन्छ कि भनेर ? मीठा गीतको लोभ यस्तै हुन्छ ।

प्रकाशित : श्रावण २४, २०७६ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?