कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

एटचानको अवसान

गोलीकाण्ड मच्चाउने व्यक्तिको पक्षमा जनमत सिर्जना गर्न यो फोरमको प्रयोग गरिएको भन्दै यसको चर्को आलोचना भएपछि यसलाई सहायता गर्दै आएकाहरूले हात झिकेका छन् ।
हेलो शुक्रबार

 
लगइन गर्नुपर्ने न आफ्नो नाम खुलाउनुपर्ने  । न त कुनै निगरानीमा परिएला भन्ने डर  ।

एटचानको अवसान

सायद यही कारणले हुनुपर्छ केही वर्षयता निकै लोकप्रिय थियो एटचान । कसैको निगरानीमा नपरी, आफ्नो परिचय नखुलाई आफ्नो विचार अभिव्यक्त गर्नेहरूका लागि यो लोकप्रिय बनेको थियो । अमेरिकामा यो बढी परिचित भए पनि विश्वभरका नयाँ पुस्ताले यसको प्रयोग गर्न थालेका थिए । यसको प्रयोगकर्ता यति नै छन् भन्ने तथ्यांक त छैन तर यसमा हुने पोस्टहरू हेर्दा भने धेरैले यसको प्रयोग गर्ने गरेको अनुमान गर्न सकिन्छ । एटचान इमेज बोर्डमा आधारित वेबसाइट हो । यसलाई प्रयोग गर्नका लागि कुनै एकाउन्ट बनाउनु पर्दैन । यसमा प्रयोगकर्ताले म्यासेजको कुनै थ्रेड सुरु गरेर आफ्नो विचार राख्न मिल्छ । यसमा विभिन्न विषयमा छलफलका लागि छुट्टाछुट्टै खण्डमा थ्रेड सुरु गर्न सकिन्छ ।


२०१३ मा सुरु भएको यो प्लेटफर्म अहिले भने समस्यामा परेको छ । यसलाई सञ्चालनको लागि सहयोग गर्दै आएका कम्पनीहरूले यसबाट हात झिकिसकेका छन् । यसलाई सुरुमा निर्माण गरेका फेडरिक ब्रेननले पनि यसको स्थापना गरेकोमा सार्वजनिक रूपमै पछुतो मानेको विषय सार्वजनिक भएको छ । धेरै मानिसका लागि वैचारिक आदानप्रदानका लागि उपयोगी भएका कारण चर्चित बनेको एटचानको अवसान किन भयो त ? अमेरिकाको टेक्सास र ओहायोमा गत साता १३ घण्टाको फरकमा भएको गोलीकाण्डमा कम्तीमा पनि २९ जनाको मृत्यु भएको थियो ।गोलीकाण्ड मच्चाउने व्यक्तिको पक्षमा जनमत सिर्जना गर्न यो फोरमको प्रयोग गरिएको भन्दै यसको चर्को आलोचना भएप्छि यसलाई सहायता गर्दै आएका कम्पनीहरूले हात झिकेका हुन् । डोमेन नेम र होस्टिङ सञ्चालनका लागि सहयोग गर्दै आएका कम्पनीले हात झिकेपछि एटचेन अनलाइन हुनका लागि नै संघर्षरत छ ।


विश्लेषकहरूका अनुसार अमेरिकामा यसअघि भएका तीन वटा गोलीकाण्डको खुलासा पनि एटचेटमै भइसकेको थियो । टेक्सास र ओहायोमा भएको गोलीकाण्डअघिको जानकारी पनि यसमा यसअघि नै जानकारी गराइसकिएको थियो । पछिल्लो समय एटचानको प्रयोग अतिवानीहरूले बढी प्रयोग गर्न थालेको विभिन्न अनुसन्धानले देखाएको छ । अतिवादीहरूले नरसंहार गर्नुअघि जनमत बुझ्न, कुनै समुदायप्रति घृणा फैलाउन पनि यसको प्रयोग गर्न थालेका थिए ।सन् २०१३ मा यसको स्थापना गरेका कम्प्युटर प्रोग्रामर फ्रेडरिक ब्रेननले भने अतिवादीहरूले आफूले निर्माण गरेको फोरमलाई प्रयोग गर्न थालेपछि पछुतो मान्दै आएका छन् । रोगका कारण ह्वीलचियरको सहारामा बसेका उनले यसलाई बन्द गर्न चाहना छ । तर २०१६ मा उनले यसको स्वामित्व जिम वाट्किन्सन नामक व्यक्तिलाई दिएका छन् ।


जापानमा फोरचान नामक यस्तै खालको वेबसाइट पहिल्यै भए पनि उक्त फोरममा निगरानी बढेको भन्दै कतैबाट पनि निगरानी गर्न नमिल्ने गरी यसको परिकल्पना गरेका हुन् । इमेज बोर्ड अवधारणामा आधारित यस्तो प्लेटफर्म जापानबाट सुरु भएको हो । जापानी भाषामा चानको नामले बच्चाले गर्ने कुराकानी भएको अर्थ दिन्छ । अभिव्यक्ति स्वतन्त्रताका लागि सुरु गरिएको भए पनि एटचान यसअघि पनि पटक–पटक विवादमा फसिसकेको छ । सन् २०१५ मा चाइन्ड पोर्नेग्राफीका लागि यो प्लेटफर्म प्रयोग भएको भन्दै विवाद बढेपछि संस्थापक ब्रेननले यसका डेभलपरलाई निकालेका थिए । चाइल्ड पोर्नेग्राफीको आरोप लागेपछि गुगलले पनि यसलाई आफ्नो सर्च इन्जिनबाट हटाएको छ ।

प्रकाशित : श्रावण २४, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?