१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

नयाँ सिजन, नयाँ रणनीति

प्रि–सिजन टूर र ट्रान्सफर हेर्दा यसपल्ट पनि प्रिमियर लिगको मुख्य दावेदारका रूपमा सिटी र लिभरपुल नै रहनेछन् ।
कुशल तिमल्सिना

 
गत सिजन च्याम्पियन्स लिगको फाइनल गटोटनह्यामलाई पराजित गरी उपाधि जितेपछि लिभरपुलका प्रशिक्षक जर्गेन क्लोपलाई फोन सम्पर्क गरेर म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले बधाई दिए  । जवाफमा क्लोपले अर्को सिजन योभन्दा राम्रो प्रदर्शन गरी सिटीलाई टक्कर दिने उद्घोष गरेका थिए  ।

नयाँ सिजन, नयाँ रणनीति

इंग्लिस प्रिमियर लिगको नयाँ सिजन आजदेखि सुरु हुँदै छ । प्रि–सिजन टुर र ट्रान्सफर हेर्दा यसपल्ट पनि प्रिमियर लिगको मुख्य दावेदारका रूपमा सिटी र लिभरपुल नै रहनेछन् । २ सिजन नयाँ खेलाडी अनुबन्ध गर्न नपाउने गरी प्रतिबन्धमा परेको चेल्सी, टोटनह्याम, म्यानचेस्टर युनाइटेड र आर्सनलले उनीहरूलाई पछ्याउने छन् । गत सिजनमा पनि भएको यही हो ।


यसै साता सम्पन्न कम्युनिटी सिल्डमा सिटी र लिभरपुलबीचको टक्कर हेर्दा नयाँ सिजन थप रोमाञ्चक बन्ने सहजै अनुमान लगाउन सकिनेछ । त्यस खेलमा सिटी पेनाल्टी सुट आउटमा ५–४ गोलले विजयी रह्यो । नियमित समयमा दुवैले १–१ गोलको बराबरी खेलेका थिए । लिभरपुलले प्रिमियर लिगको उपाधिका लागि २३ वर्ष प्रतीक्षा गरेको छ । गत सिजन सिटीसँग १ अंकले पछि रहेपछि उपाधिबाट टाढिनुपरेको हो । प्रिमियर लिगको इतिहासमा ९० अंकभन्दा बढी हासिल गरे पनि उपाधिबाट वञ्चित हुनुपरेको पहिलो सिजन थियो त्यो । लिभरपुलले ९७ अंक र सिटीले त्योभन्दा १ अंक बढी बटुलेका थिए । गत सिजन चेल्सी दोस्रो स्थानको लिभरपुलसँग २५ अंकले पछि थियो । नयाँ प्रशिक्षकका रूपमा क्लबका पूर्वमहान् खेलाडी फ्र्यांक लाम्पार्डको आगमनले नयाँ उत्साह आएको छ । तर उनलाई खेलाडीका रूपमा हासिल गरेको सफल प्रशिक्षकका रूपमा पनि दिलाउने ठूलो चुनौती हुन सक्छ ।


लिगको शीर्ष स्थानमा प्रतिस्पर्धा गर्ने सम्भावित अर्को टिम च्याम्पियन्स लिग फाइनलिस्ट टोटनह्याम पनि हो । उसले शीर्ष २ टोलीलाई अधिक दबाब दिने प्रयास गर्नेछ । आर्सनल पनि च्याम्पियन्स लिगमा स्थान बनाउन प्रयासरत हुनेछ । पछिल्लो ३ सिजन आर्सनलले च्याम्पियन्स लिगमा छनोट हुन असफल भएको थियो । गत सिजनको मध्यतिर क्लब सम्हालेका पूर्वलेजेन्ड ओले गनर सोल्सायरबा म्यानचेस्टर युनाइटेडले विरासत फिर्ता ल्याउने आशा गरेको छ । रक्षा पंक्ति सुधारका लागि उनले लिसेस्टर सिटीबाट ह्यारी मगायरलाई ९७ मिलियन अमेरिकी डलरको कीर्तिमानी मूल्यमा अनुबन्ध गरेका छन् । आइतबार चेल्सीविरुद्धको पहिलो खेलका क्रममा उनले केही नयाँ खेलाडीलाई सुरुआती अवसर दिने सम्भावना छ । उनी अझै केही खेलाडीलाई आँखा लगाइरहेका छन्, जसको आगमन युनाइटेडका लागि उत्कृष्ट ११ छनोट गर्ने विकल्प बन्न सकोस् ।


यस सिजनका नयाँ क्लबहरू एस्टोन भिल्ला, नोरिच सिटी र सेफिल्ड युनाइटेड हुन् । तीनै क्लबले प्रिमियर लिगमा पुनरागमन गरेका हुन् । उनीहरूले आफूलाई शीर्ष डिभिजनमा कायम राख्ने प्रयास गर्नेछन् । गत सिजन प्रिमियर लिगमा बढुवा हुँदै सातौं स्थानमा रहेर लिग अन्त्य गरेको वुल्भ्सको सफलताबाट उनीहरू प्रेरित छन् । इंग्लिस प्रिमियर संसारमा सबैभन्दा धेरै समर्थक भएको लिग हो । म्यानचेस्टर युनाइटेडको युग समाप्त भएपछिको समयमा सिटी, चेल्सी र लिभरपुलले नै यसको उपाधिमा दावेदारिता दिइरहेका छन् । इंग्लिस फुटबलले आफ्नो ख्याति कायमै राख्नुमा दुई प्रशिक्षकको भूमिका पनि उत्तिकै देखिन्छ, जर्मन क्लोप र स्पेनिस ग्वार्डिओला ।


बोरुसिया डर्टमन्ड सानदार टिम फर्मेसन गरी लिभरपुल आएका क्लोपले च्याम्पियन्स लिगको उपाधिसँगै प्रिमियर लिगमा लिभरपुललाई अर्कै स्तरमा लगेका छन् । लिभरपुललाई हरेक प्रतियोगितामा उपाधिको मुख्य दावेदारमात्र होइन, हरेक खेलाडीमा जितको आत्मविश्वास भरेका छन् । लिभरपुलको आक्रामक रणनीतिलाई पनि उनले परिमार्जन गरेका छन् । उता ग्वार्डिओला पछिल्लो एक दशकयता बार्सिलोनाको सफलताको आर्किटेक्टका रूपमा चिनिन्छन् । चार वर्षमा बार्सिलोनालाई पाउनेजति सबै सफलता दिलाएर जर्मन च्याम्पियन बार्यन पुगेका उनले बार्यनलाई घरेलु लिगमा लगातार च्याम्पियन बनाए । युरोपेली च्याम्पियन्स लिगको भोक पूरा गर्नका लागि इंग्लिस क्लब रोजेका ग्वार्डिओलाको नेतृत्वमा सिटीको टिम यस्तो बनेको छ कि त्यस्तो सन् २००८/०१२ को बार्सिलोना पनि थिएन ।


सन् २०१६ यता सिटीका लागि प्रशिक्षण गरिरहेका उनले २ सिजन प्रिमियर लिगको उपाधि दिलाए । च्याम्पियन्स लिगको उपाधि दिलाउने उनको सपना अझै पूरा हुन सकेको छैन । अघिल्लो सिजन खेलाडी अनुबन्धका लागि ठूलो रकम खर्चेको सिटीले यसपल्ट तुलनात्मक रूपमा कम महत्त्व दिएको छ ।११ वर्षको सहयात्रालाई बिट मार्दै सिटीका ‘खम्बा’ का रूपमा रहेका सेन्टर ब्याक भिन्सेन्ट कोम्प्यानी आफ्नो बाल्यकालको क्लब एन्डरलेक्ट फर्किएका छन् । त्यहाँ उनले प्रशिक्षक र खेलाडीको जिम्मेवारी सम्हाल्नेछन् । ग्वार्डिओलाको मुख्य चुनौती नै कोम्प्यानीको प्रतिस्थापन हो । एट्याकिङ मिडफिल्डर केभिन डी ब्रुयन चोटमुक्त हुनु भने उनका लागि खुसीको पक्ष हो ।प्रिमियर लिगसँगै फ्रेन्च लिग वान पनि शुक्रबारदेखि नै सुरु हुनेछ । फ्रान्सेली स्ट्राइकर कालियन एम्बाप्पे र ब्राजिलियन सुपरस्टार नेइमार प्रेरित पेरिस सेन्ट जर्मेइन (पीएसजी), लिग वानको साविक विजेता हो । पछिल्लो ७ मध्ये ६ सिजनको च्याम्पियन पीएसजी यसपल्ट च्याम्पियन्स लिगको लक्ष्यमा छ । घरेलु फुटबलमा महारथीका रूपमा रहेको पीएसजी अहिलेसम्म युरोपेली च्याम्पियन बन्न सकेको छैन । मोनाको र लिलीले उसलाई उपाधिमा चुनौती दिन सक्नेछन् ।


इटालीको सिरी ए र स्पेनको ला लिगा भने अगस्ट १७ देखि मात्र सुरु हुनेछ । स्पेनिस फुटबलमा मुख्य तीन टोलीहरू बार्सिलोना, रियल मड्रिड र एट्लेटिको मड्रिडबीच नै उपाधिका लागि प्रतिस्पर्धा हुने निश्चित छ । लगातार दुई सिजनको च्याम्पियन बार्सिलोनालाई एट्लेटिकोका फ्रान्सेली स्ट्राइकल एन्टोइन ग्रिजमनको आगमन च्याम्पियन्स लिग लक्ष्यमा सहयोगी बन्न सक्छ । क्रिस्टियानो रोनाल्डोको बहिर्गमनपछि सुपरस्टारको अभाव खड्किएको रियल मड्रिडमा प्रशिक्षक जिनेदिन जिदानेले यस सिजन बेल्जियन प्लेमेकर इडेन हाजार्डलाई अनुबन्ध गरेर केही कम गर्ने प्रयास गरेका छन् । तर, यो पर्याप्त हुने छैन । समर ट्रान्सफरको अन्तिमसम्ममा उसले ठूला स्टारको अनुबन्ध गर्न सक्छ । प्रि–सिजन टुरमा चिर प्रतिद्वन्द्वी एट्लेटिकोसँग ७–३ गोलले पराजित भएपछि रियल झस्किएको छ । त्यो नतिजा नयाँ सिजनमा नयाँ रणनीति बनाउन सहयोगी हुने भन्दै प्रशिक्षक जिदाने सकारात्मक देखिएका छन् ।


युभेन्ट्सको एकछत्र वर्चस्व इटालियन फुटबलमा यथावत् नै छ । पछिल्लो सिजन पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको आगमनले उसको स्तर अझै माथि जाने अपेक्षा थियो । खासगरी युभेन्ट्सले च्याम्पियन्स लिगमा ध्यान दिएको थियो । युरोपेली प्रतियोगितामा अपेक्षाकृत सफलता हासिल गर्न नसके पनि सिरी ए मा उसलाई चुनौती दिने कोही भएनन् ।


१० प्रिमियर लिग उपाधि
२००९/१० चेल्सी
२०१०/११ म्यानचेस्टर युनाइटेड
२०११/१२ म्यानचेस्टर सिटी
२०१२/१३ म्यानचेस्टर युनाइटेड
२०१३/१४ म्यानचेस्टर सिटी
२०१४/१५ चेल्सी
२०१५/१६ लिसेस्टर सिटी
२०१६/१७ चेल्सी
२०१७/१८ म्यानचेस्टर सिटी
२०१८/१९ म्यानचेस्टर सिटी

नयाँ सिजनको पहिलो खेल
लिभरपुलविरुद्ध नोरिच सिटी
वेटह्यामविरुद्ध म्यानचेस्टर सिटी
बर्नमाउथविरुद्ध सेफिल्ड युनाइटेड
बर्नलीविरुद्ध साउथह्याम्प्टन
क्रिस्टल प्यालेसविरुद्ध एभर्टन
वाटफोर्डविरुद्ध ब्राइटन एन्ड होव अल्बियन
टोटनह्यामविरुद्ध एस्टोन भिल्ला
लिसेस्टर सिटीविरुद्ध उल्भरह्याम्प्टन
न्युकाशल युनाइटेडविरुद्ध आर्सनल
म्यानचेस्टर युनाइटेडविरुद्ध चेल्सी

प्रकाशित : श्रावण २४, २०७६ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?