१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

दबंग

बलिउडमा एकपछि अर्को हिट फिल्म दिइरहेकी कंगना रनावत जे बोल्छिन्, त्यसले तरंग ल्याउँदै आएको छ । उनले सुपरस्टारहरूसँग पनि पंगा लिने गर्छिन् ।
हेलो शुक्रबार

 
दबंग, अर्थात्, निडर  । कसैसँग नडराउने, नदब्ने  ।

दबंग

बलिउडमा यो नाम कसैलाई सुहाउँछ भने त्यो कंगना रनावत नै हुन् । १५ वर्षको उमेरमा मनालीबाट हिरोइन बन्न भागेर हिँडेकी अंग्रेजी बोल्न नजान्ने कंगना अचेल बलिउडमा सबैलाई थर्काउन सक्ने तेज तर्रार कंगना बनिसकेकी छन् । यस्तो लाग्छ, कंगनालाई कसैको डर लाग्दैन । बलिउडकी ‘आउटसाइडर’ कंगनाले ‘इनसाइडर’ ऋत्विक रोशनलाई त सार्वजनिक रूपमा मुस्किलमा पारिन् नै, हालै पत्रकार जगत्लाई पनि छोडिनन् । ऋत्विकको होम प्रोडक्सन ‘क्रिस ३’ र ‘काइट्स’ मा अभिनय गर्ने क्रममा आफूहरूबीच प्रेम भएको तर ऋत्विकले त्यसलाई अस्वीकार गरेको भन्दै उनले ऋत्विकलाई आरोपमाथि आरोप लगाइरहिन् । ऋत्विकले पनि यसको जवाफ दिन थालेपछि यो ठूलो स्क्यान्डल बन्यो । पछि कानुनी लडाइँमा समेत पुग्यो ।


गत साता रिलिज भएको फिल्म ‘जजमेन्टल है क्या’ को पत्रकार सम्मेलनमा एक पत्रकारलाई आफूविरुद्ध लगातार नकारात्मक लेखेको र आफ्नो फिल्म ‘मनिकर्णिका’ बारे भ्रम फैलाएको भनेर उनले माइकबाटै गाली गरिन् । यसको विरोधमा भारतका मनोरञ्जन बिटका पत्रकारले कंगनाको कार्यक्रम बहिष्कारसमेत गरे । तर पनि, कंगना पछि हटिनन् । बरु पत्रकारहरूलाई गाली गर्दै ट्वीटरमा अर्को भिडियो पोस्ट गरिन् जसमा भनिएको थियो– ‘तिमीहरूको के हैसियत छ, मलाई बहिष्कार गर्ने ?’
त्यही भिडियोमा उनले आफूलाई बलिउडको सबभन्दा धेरै पारिश्रमिक लिने हिरोइन भएको दाबी पनि गरिन् । यसलाई लिएर प्रियंका चोपडा र दीपिका पादुकोणका फ्यानहरूले प्रश्न उठाए पनि उनी यसबाट पछि हटिनन् । यसअघि उनको फिल्मको शीर्षक ‘मेन्टल है क्या ?’ राखिएको थियो । तर, मेन्टल हेल्थसम्बन्धी काम गर्ने दीपिकाको संस्थाले प्रश्न उठाएपछि यसको नाम फेरिएको थियो । कंगनाको लडाइँ मिडिया र सहकर्मी कलाकारहरूसँग मात्र छैन । उनको बक्स अफिस र बलिउडका ठूला ग्याङसँग पनि कुरा मिल्दैन । करण जोहरलाई त उनले ‘नेपोटिजमको फ्ल्याग बेयरर’ को संज्ञा नै दिइन् । प्रायः बलिउड स्टार र निर्माता/निर्देशकका छोराछोरीलाई मात्र फिल्ममा लिने करणका लागि यो संज्ञा सही थियो । तर पनि, आधा बलिउड कंगनासँग भड्कियो । वरुण धवनदेखि सैफ अलि खानजस्ता स्टारहरू करणको पक्षमा बोल्न अघि सरे । उनीहरूमाथि पनि कंगनाले कडा टिप्पणी गरिन् ।


गत वर्षको ‘मनिकर्णिका’ बाट निर्माता/निर्देशक बनेपछि कंगनाको बोली झन् कडा हुँदै गएको छ । र, उनीभन्दा कडा छिन्– बहिनी रंगोली चन्डेल । ट्वीटरमा कंगनाको ‘एक्लो सेना’ भएर रंगोलीले कंगनाको बचाउ गर्छिन् । कंगनाबारे हल्का नकारात्मक बोल्नेहरूको सातो खान्छिन् । रंगोली कंगनाकी म्यानेजर पनि हुन् । रंगोली आफैं एसिड आक्रमणको सिकार हुन् । जब एसिड आक्रमणको कथामाथि बन्न लागेको फिल्म ‘छपाक’ मा दीपिकाले लिड रोल गर्ने खबर आयो, रंगोलीले तुरुन्त यो भूमिका कंगनालाई दिनुपर्ने माग पनि गरिन् । कंगनाको हिम्मत मात्रै बलियो छैन, उनको फिल्म करिअर पनि त्यत्तिकै बलियो छ । भट्ट क्याम्पका ‘ग्याङस्टर’, ‘ओ लम्हे’ जस्ता फिल्ममा लागूपदार्थ दुर्व्यसनीको भूमिकामा अभिनय गरेर करिअर थालेकी कंगनालाई विकास बहलको फिल्म ‘क्विन’ ले उचाइमा पुर्‍याइदिएको थियो । त्यसपछिका ‘तनु वेड्स मनु’ शृंखलाले त्यो उचाइलाई अझै बढाइदियो । यसपालि ‘जजमेन्टल है क्या ?’ मा उनीसँग क्विनकै कोस्टार राजकुमार राव छन् । फिल्मले पहिलो सातामा ३० करोड आसपासको व्यापार गर्ने अनुमान गरिएको छ ।


३१ वर्षकी अविवाहित कंगनालाई अचेल सुपरस्टारहरूसँग पनि पंगा लिन सक्ने हिरोइनका रूपमा हेरिएको छ । संयोग त के छ भने उनको अब आउने फिल्मको नाम पनि ‘पंगा’ नै राखिएको छ । कबड्डी खेलाडी युवतीको कथा यो फिल्ममा छ । त्यसपछि उनी अर्को एक्सन फिल्म ‘धाकड’ मा देखिने छिन् । फिल्मको हालै सार्वजनिक गरिएको पोस्टरमा कंगना हातमा बन्दुक बोकेकी लडाकुका रूपमा छिन् । सधैंजसो पुरुष सुपरस्टारहरूको कब्जामा रहने गरेको दीपावली, क्रिसमस र नयाँ वर्षजस्ता बिदाको समयमा पनि अब कंगनाले हमला गरिरहेकी छन् । उनले आफ्ना नयाँ फिल्म यिनै समयमा रिलिज गर्ने बताएकी छन् । कंगनाले आफ्नै जीवन कथामाथि पनि फिल्म बनाउने समाचार आएको थियो । हालै फस्टपोस्टडटकमलाई लिएको अन्तर्वार्तामा उनले आफूले दोस्रो फिल्म निर्देशनको तयारी गरे पनि त्यो आफ्नै बायोपिक नहुने बताएकी छन् । बरु, कंगनाले तमिलनाडुकी पूर्वमुख्यमन्त्री जयललिताको जीवनमाथि हिन्दी र तमिलमा बन्न लागेको फिल्म ‘जया’ मा मुख्य भूमिका गर्दैछिन् । पूर्वफिल्म अभिनेत्री जयललिताको यो बायोपिकबारे कंगनाले भनेकी छन्, ‘उनी पनि मजस्तै सानो सहरबाट आएर ठूलो स्टार बनेकी हुन् । उनको कथामा फिल्म खेलेपछि अहिले नै मेरो कथामा बनाउनु पर्दैन ।’


कतिपयले कंगना पनि राजनीतिमा जाने तयारीमा रहेको बताउने गरेका छन् । उनका अन्तर्वार्ताहरूमा वर्तमान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाप्रति उनको वैचारिक झुकाव रहेको बताइन्छ । उनी आफैंले भने राजनीतिमा जाने कुनै इच्छा नभएको तर भविष्य कसैलाई थाहा नभएको बताउने गरेकी छन् ।

[email protected]

प्रकाशित : श्रावण १७, २०७६ ११:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?