गाउँको उत्पादन बजारको खोजी

कान्तिपुर संवाददाता

रोजगारीका लागि विदेश जानेको लस्करले गाउँहरू युवाविहीन भइरहेका छन्  । सहरका युवाको चाहना पनि विदेशिने नै भइरहेको छ  ।

गाउँको उत्पादन बजारको खोजी

तर, पढेलेखा युवा विदेश जानैपर्छ भन्ने छैन । र, जागिर पनि खानैपर्छ भन्ने छैन । आफैं केही काम गर्न पनि सकिन्छ, त्यो पनि नयाँ किसिमले । दुर्गम गाउँसम्म उत्पादन भइरहेका कृषिजन्य सामग्रीको बजार विस्तारको प्रयास गरिरहेका तीन युवाको कामबारे विमल खतिवडा लेख्छन् :


सिलिंगेको मह
घरमा जागिरे माहोल मात्र छ । बाआमा दुवै सरकारी जागिरे । यही वातावरणमा हुर्किएकी काठमाडौं रानीबारीकी २६ वर्षीया विभूति न्यौपानेलाई नैतिक दबाब थियो, अध्ययन पूरा गर्नसाथ जागिर खाने । तर उनलाई अभिभावकजस्तै सरकारी जागिरे बन्ने रहर भएन । बाल्यकालमा बाआमाजस्तै सुटकेश बोकेर कार्यालय गएको देख्दा सरकारी जागिरे बन्ने सपना देख्थिन् । बुझ्ने उमेरकी भएपछि विभूतिको सपना फेरियो । उनमा आफैं उदाहरणीय काम बन्ने सोच पलायो ।


एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेज, नयाँ बानेश्वरबाट एमबीए गरेकी विभूति मकवानपुरको विकट सिलिंगेका किसानले उत्पादन गरेको मह ल्याएर काठमाडौंमा बिक्री गर्छिन् । ब्रान्ड बनाएकी छन्, नागीको हनी । चेपाङ भाषाको शब्द ‘नागी’ अर्थ ‘हाम्रो’ हो । ‘स्थानीय नामलाई ब्रान्ड बनाउने लय हो,’ उनी भन्छिन्, ‘त्यसैका लागि स्थानीय नाम राखिएको हो ।’ सिलिंगेमा चेपाङ समुदायको बसोबास बाक्लो छ । मह २०७५ पुसबाट बजारमा आउन थाल्यो । चिउरी र रुदिलोको मह राम्रो हुन्छ र यसलाई उनले थापाथलीमा ल्याएर बेच्छिन् ।


सिलिंगेमा मह उत्पादन भए पनि बजारको अभाव थियो । समयमै पैसा पाउन सकेका थिएनन् । त्यसैले उनीहरूलाई सघाउन काम सुरु गरिएको उनले बताइन् । उनका अनुसार हालसम्म करिब नौ सय केजी मह बिक्री भइसकेको छ । गाउँमा मह उत्पादन गर्ने किसान धेरै छन् । ‘कम्पनी नयाँ छ, बिस्तारै बजार माग बढ्दै छ,’ विभूति भन्छिन्, ‘अहिले प्रत्यक्ष रूपमा १० जना किसानबाट मह ल्याइरहेका छौं ।’ प्रतिकेजी ११ सय रुपैयाँमा बिक्री गरिरहेकी छन् । उनको उद्देश्य मह उत्पादकलाई चिनाउने हो ।


‘कहाँबाट मह आइरहेको छ भन्ने कुरा फेसबुक, इन्स्टाग्राममा फोटो, भिडियो अपलोड गरी देखाउँछौं,’ उनले भनिन्, ‘बेग्लै आउटलेट छैन । क्याफेहरूसँग सहकार्य गरेर मह बिक्रीका लागि राख्छौं ।’ महको माग जाडोमा बढी र गर्मी याममा कम भएको उनले बताइन् । उनले विदेशी लगानी नेपालमा ल्याउने कम्पनीसँगहरू केही वर्ष काम गरेकी थिइन् । साउथ एसिया कनेक्ट कार्यक्रमको ‘कन्ट्री लिडर’ भएर पनि काम गरिन् । त्यसैमार्फत सामाजिक उद्यमी हुने योजनाअनुसार उनको दिवेश कर्मचार्यसँग भेट भयो । उनैले सिलिंगेमा मह उत्पादन गरी बिक्री गर्न उपयुक्त ठहर्‍याए । कम्पनीमा दिवेश र उनको लगानी छ ।


‘कम्पनीसँगै समुदायलाई उकास्ने उद्देश्य हो,’ उनले भनिन्, ‘फूल विशेषको मह ल्याएर बिक्री गर्ने सोच छ ।’ यसमा आफ्नो गाउँबारे उनी भन्छिन्, ‘पहिलादेखिकै रुचि आफैं काम गर्ने र नाम कमाउने थियो ।’ पारिवारिक साथबारे उनले थपिन्, ‘स्वतन्त्रता नभएको भए यहाँसम्म आउने थिइनँ । घरमा गाली खान्छु तर मलाई थुनेरै राख्नु भने हुन्न ।’


फक्रिएको फूल
प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकका ३१ वर्षीय दिपेश भट्टराईले फूलको व्यापार गर्न थालेको दशक नाघ्यो । काठमाडौंस्थित लाजिम्पाटमा ‘गरिमा फ्लावर सप’ सञ्चालन गरिरहेका उनलाई व्यापारमा भ्याइनभ्याई छ । विशेषगरी विवाहको लगन परेका महिना र चाडबाडमा फूलको माग धेरै हुन्छ । एमबीए गरेका उनी फ्लोरिस्टका रूपमा परिचित छन् । उनी वार्षिक करिब ५० लाख रुपैयाँको फूलको कारोबार गर्छन् । ‘किसानले फूल फुलाएर होलसेलमा ल्याइदिन्छन् र हामी त्यहाँबाट ल्याएर बेच्ने गर्छौं,’ उनले सुनाए । उनले फूलसँगै गिफ्ट आइटमको व्यापार पनि गर्छन् । ‘फूल खोज्न आउनेले गिफ्ट आइटम पनि खोज्छन्,’ उनले भने । उनले काठमाडौंबाहिरका मुख्य सहर विराटनगर, नेपालगन्ज, दाङ, धनगढीमा पनि अर्डरअनुसार फूल पठाउने गर्छन् ।


उनका अनुसार फूलको बढी माग वैशाख, जेठ, असार, मंसिर, माघ, फागुनमा हुन्छ । तिहारका बेला सयपत्रीको माग उच्च हुन्छ । भ्यालेन्टाइन डेमा गुलाफको माग धानीसाध्य हुँदैन । तीन जनालाई रोजगारी दिएका उनी व्यवसायकै सिलसिलामा सात देश पुगिसकेका छन् । ‘यसैको आम्दानीले दमकमा घर बनाएको छु, घडेरी पनि जोडेको छु,’ उनले सुनाए, ‘काठमाडौंमा पनि डेरामा बस्नुपरेको छैन ।’


‘मेरो लक्ष्य नेपाली फूलको बजार प्रवर्द्धन गर्ने हो,’ उनी भन्छन्, ‘केही फूल अफ–सिजनमा नपाउँदा भारतबाट ल्याएरसमेत माग पूरा गर्नुपर्छ ।’ उनको कामप्रतिको लगाव देखेर परिवार पनि दंग छन् । एक लाख रुपैयाँ पुँजीबाट सुरु गरिएको उनको व्यवसाय ५० लागको भइसकेको छ । ‘जागिरे भएको भए अरूको नेतृत्वमा रहनुपर्थ्यो । व्यवसायमा आफैं कामदार, आफैं मालिक भइएको छ । आफ्नै देशका किसानले उत्पादन गरेको फूलको बजारीकरण गर्न पाइएको छ । यसैमा खुसी छु,’ भाइ रुपेशलाई पनि आफ्नो व्यवसायमा संलग्न गरेका उनले भने ।

जुम्लाको स्याउ
जुम्लाका दिनेश खड्का राजधानीमै पढ्छन् । हालै नेपाल कमर्स क्याम्पस, मीनभवनबाट बीबीएस चौथो वर्षको परीक्षा दिए । उनले जुम्लामा फल्ने स्याउलाई काठमाडौंमा ल्याएर बेच्न थालेको ६ वर्ष भइसक्यो । स्याउमात्र होइन, यी २४ वर्षीय युवाले आफ्नो जिल्लामा फल्ने स्याउ, ओखर, सिमी, मार्सी चामल ल्याएर बेच्छन् । यी सबै उत्पादन अर्गानिक हुन् । ‘गत वर्ष ३५ हजार केजी स्याउ बिक्री गर्‍यौं,’ उनले भने, ‘यो वर्ष ५० हजार केजी बिक्री गर्ने लक्ष्य छ ।’ जुम्लामा फल्ने स्याउ झट्ट हेर्दा आकर्षक हुँदैन तर रसिलो, स्वादिलो हुने गर्छ । भदौ पहिलो साताबाट जुम्लाको स्याउले राजधानी प्रवेश गर्छ । ‘स्याउ फार्मबाट बोकाएर गाडी चल्ने ठाउँसम्म पुर्‍याउनुपर्छ । एउटै गाडीमा काठमाडौंसम्म ल्याउन सकिँदैन,’ उनले ढुवानीको कठिनाइ सुनाए ।


उनी बानेश्वरमा जुम्लाको स्याउ ब्यानर नै टाँगेरै बेच्छन् । ‘जुम्लाको स्याउले बजार नपाएर नकुहियोस्, किसानले लगानीअनुसारको मूल्य पाऊन् भन्ने हो,’ उनले भने, ‘अर्कोतर्फ उपभोक्ताले सस्तोमा विषादीरहित अर्गानिक स्याउ खान पाऊन् भन्ने हो ।’ उनी यो सिजन स्याउको पर्खाइमा छन् । गाउँका अधिकांश युवा विदेश पलायन भए । उनलाई विदेशिने मन छैन । बेरोजगार छैनन् पनि । मीनभवन गेटनिर कपडा पसल पनि चलाउँछन् । ‘हामीजस्ता युवा विदेश पलायन हुनु हुँदैन, यही केही गर्नुपर्छ,’ उनी भन्छन्, ‘स्याउ नआउँदासम्म कपडा पसल चलाउँछु । स्याउ आउन थालेपछि त्यसैलाई बेच्न व्यस्त हुन्छु ।’ दाइ प्रकाशकुमार खड्काको सहयोगी लिइरहेका उनले फेसबुकमा ‘एप्पल गार्डेन इन जुम्ला नेपाल’ पेज खोलेका छन्, जहाँ काठमाडौंमा जुम्लाको स्याउ आउनासाथ पाइने ठाउँ राख्छन् ।

प्रकाशित : श्रावण १७, २०७६ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?