आँखा झिम्क्याउँदा जुम

कान्तिपुर संवाददाता

मोबाइल वा क्यामेरामा हुने क्यामेरा लेन्समा जुम हुने फिचर त सामान्य नै हो  । तर, आँखामा नै जुम हुने सुविधा भयो भने ? युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकहरूले यस्तै अचम्म लाग्ने सुविधायुक्त लेन्स तयार पारेका छन्  ।

यो लेन्स आँखामा राख्न मिल्छ । यसको विशेषता के भने प्रयोगकर्ताले लगातार दुई पटक आँखा झिम्क्याउँदा यो लेन्स जुम हुन्छ ।


यो लेन्स आँखाको दृष्टि कमजोर भएका मानिसका साथै रिमोटद्वारा नियन्त्रण हुने रोबोटका लागि काम लाग्ने निर्माणकर्ताको विश्वास छ । मानव र मेसिनलाई नजिक्याउने अवधारणा निकै लोकप्रिय बन्दै छ । केही अघि मात्रै एलन मस्कको कम्पनी न्युरालिंकले दिमागसम्बन्धी रोग निदानका लागि उपयोगी हुन सक्ने नयाँ चिप सार्वजनिक गरेको थियो ।

प्रकाशित : श्रावण १७, २०७६ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्

उद्धारका हिरो

किताब च्यापेर स्कुल जाने उमेरमै भारी बोकेर खुम्बुतिर उक्लिएका लाक्पा नोर्बु शेर्पा १७ वर्षयता हिमाली क्षेत्रमा हेलिकप्टरमा झुन्डिँदै उद्धार कार्यमा सक्रिय छन् ।
कुम्भराज राई

 सगरमाथा आरोहणका बेला आधारशिविरमा बिहानैदेखि हेलिकप्टर अवतरण र उडान भइरहेको हुन्छ  । ‘हिमालका ट्याक्सी’ भनिने हेलिकप्टरहरूको उडान र अवतरणमा लाक्पा नोर्बु शेर्पा बिहानैदेखि व्यस्त देखिन्छन्  ।

तीनवटा स्याटेलाइट सेट उनका कम्मरमै झुन्डिएका हुन्छन् । कहिले हेलिकप्टरका पाइलटसँग कहिले माथिल्ला शिविरहरूमा रहेका आरोहीहरूसँग कुराकानी भइरहेको हुन्छ । सगरमाथा र यस आसपासका अधिकांश हिमालमा कोही जोखिममा परे, बिरामी वा घाइते भए पहिले खबर उनकै सेटमा आउँछ । खुम्बु पासाङ ल्हामु गाउँपालिका– १, खरी खोलाका उनी हिमाली क्षेत्रमा कार्यरत चर्चित ‘हेलिकप्टर उद्धार विशेषज्ञ’ हुन् । उनी हरेक वर्ष आरोहणको सिजनमा सगरमाथा आधारशिविरमा करिब ७५ दिन बिताउँछन् । सत्र वर्षयता उनले आधारशिविरमा बिताएको समय जोड्ने हो भने १ हजार २ सय ७५ दिनजति हुन्छ ।


उनले सयौं मिटर लामो डोरीमा झुन्डिएर कति लास निकाले, कति घाइतेलाई उद्धार गरेर आधारशिविर ल्याए, गनेर साध्यै छैन । ‘एउटा–दुईवटा भए पो सम्झिनु,’ ३८ वर्षीय लाक्पा भन्छन्, ‘कतिपय अवस्थामा दिनमै दर्जनौंको उद्धार गरिएको छ । तथ्यांक राखिएन ।’ हिमालमा हेलिकप्टरको माध्यमबाट घाइते र मृतकको उद्धार गर्नु जोखिमपूर्ण हुन्छ । आफ्नै ज्यान जाला भन्ने डर हुन्छ । उनलाई यो पेसामात्र नभएर नशा भइसक्यो । त्यसैले आधारशिविरमा टेन्ट टाँग्न सुरु हुँदा उनी पुगिसक्छन् ।
‘उहाँ आधारशिविरमा भएपछि सबै सुरक्षित छौं जस्तो लाग्छ,’ सगरमाथा आरोही तथा पर्यटन व्यवसायी दिकी शेर्पाले भनिन्, ‘उहाँको टोलीले मेडिकल टोलीसहितको क्याम्प राख्नु हुन्छ । त्यहाँ बिरामीको उपचार गरिन्छ ।’ लाक्पा हिमालयन उद्धार संघमा आबद्ध छन्, जसमा उनी बेसक्याम्प म्यानेजर हुन् ।


लाक्पाका संघर्षका दिनहरू पनि धेरै छन् । उनले १३ वर्षको छँदै हिमाली क्षेत्रमा भारी बोक्न थालेका थिए । उनलाई २० वर्षअघि हिमालयन उद्धार संघले उनलाई संस्थामा आबद्ध गरायो । त्यस बेला माओवादी सशस्त्र द्वन्द्व चर्किएको थियो । त्यसैले सगरमाथा आधारशिविरमा औषधि लैजाँदा बाटैमा लुटिएको घटना धेरै भए । लाक्पा भने सहजै औषधि पुर्‍याउँथे । कामप्रतिको इमानदार भएकाले नै उनलाई संघले मेडिकल क्याम्पको नेतृत्व गर्ने जिम्मेवारी दियो । उनले स्विट्जरल्यान्ड, इटाली, अमेरिकामा उद्धारसम्बन्धी ‘वाइल्डरनेस फस्ट रेस्पोन्डर’ लिए । ‘लङ लाइन रेस्क्यु’ को तालिम पनि गरे, जुन कोर्स गर्ने नेपाली चार जना मात्रै छन् । उनी प्रत्येक दुई वर्षमा स्विट्जरल्यान्डमा रिफ्रेसर तालिम लिन जान्छन् । उनी हेलिकप्टर कम्पनीसँग उद्धारका लागि चौबिसै घण्टा समन्वय गर्न सक्छन् ।


सन् २०१४ को हिमपहिरो होस् या २०१५ को भूकम्प, उनले बिर्सेका छैनन् । ‘आफ्नै ज्यान जोखिममा राखेर भ्याइनभ्याई कतिलाई जीवितै उद्धार गरियो । कत्तिको लास झिकियो,’ लाक्पा भन्छन्, ‘हिमाल आफैंमा जोखिमपूर्ण क्षेत्र हो । यहाँ उद्धारका लागि तम्तयार रहनु मेरो कर्तव्य हो ।’ पैसा तिर्न नसक्ने भरिया, गाइड होस् या सरकारी सम्पर्क अधिकृत, उनले सबैको उद्धार गरेका छन् । उनी अफ सिजनमा दुई छोरा, श्रीमती र बुबाआमासहित काठमाडौंमा बस्छन् । आरोहणको मौसम सकिएपछि बेलाबेला विदेश पुग्छन्, कामकै सिलसिलामा । उनलाई सधैंका लागि युरोपका मुलुकहरूमा बस्ने निम्तो नआएको हैन । ‘आफ्नै देशमा काम गर्नुमा गर्व लाग्छ,’ उनले भने ।

प्रकाशित : श्रावण १७, २०७६ ११:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्