उद्धारका हिरो

किताब च्यापेर स्कुल जाने उमेरमै भारी बोकेर खुम्बुतिर उक्लिएका लाक्पा नोर्बु शेर्पा १७ वर्षयता हिमाली क्षेत्रमा हेलिकप्टरमा झुन्डिँदै उद्धार कार्यमा सक्रिय छन् ।
कुम्भराज राई

 सगरमाथा आरोहणका बेला आधारशिविरमा बिहानैदेखि हेलिकप्टर अवतरण र उडान भइरहेको हुन्छ  । ‘हिमालका ट्याक्सी’ भनिने हेलिकप्टरहरूको उडान र अवतरणमा लाक्पा नोर्बु शेर्पा बिहानैदेखि व्यस्त देखिन्छन्  ।

तीनवटा स्याटेलाइट सेट उनका कम्मरमै झुन्डिएका हुन्छन् । कहिले हेलिकप्टरका पाइलटसँग कहिले माथिल्ला शिविरहरूमा रहेका आरोहीहरूसँग कुराकानी भइरहेको हुन्छ । सगरमाथा र यस आसपासका अधिकांश हिमालमा कोही जोखिममा परे, बिरामी वा घाइते भए पहिले खबर उनकै सेटमा आउँछ । खुम्बु पासाङ ल्हामु गाउँपालिका– १, खरी खोलाका उनी हिमाली क्षेत्रमा कार्यरत चर्चित ‘हेलिकप्टर उद्धार विशेषज्ञ’ हुन् । उनी हरेक वर्ष आरोहणको सिजनमा सगरमाथा आधारशिविरमा करिब ७५ दिन बिताउँछन् । सत्र वर्षयता उनले आधारशिविरमा बिताएको समय जोड्ने हो भने १ हजार २ सय ७५ दिनजति हुन्छ ।


उनले सयौं मिटर लामो डोरीमा झुन्डिएर कति लास निकाले, कति घाइतेलाई उद्धार गरेर आधारशिविर ल्याए, गनेर साध्यै छैन । ‘एउटा–दुईवटा भए पो सम्झिनु,’ ३८ वर्षीय लाक्पा भन्छन्, ‘कतिपय अवस्थामा दिनमै दर्जनौंको उद्धार गरिएको छ । तथ्यांक राखिएन ।’ हिमालमा हेलिकप्टरको माध्यमबाट घाइते र मृतकको उद्धार गर्नु जोखिमपूर्ण हुन्छ । आफ्नै ज्यान जाला भन्ने डर हुन्छ । उनलाई यो पेसामात्र नभएर नशा भइसक्यो । त्यसैले आधारशिविरमा टेन्ट टाँग्न सुरु हुँदा उनी पुगिसक्छन् ।
‘उहाँ आधारशिविरमा भएपछि सबै सुरक्षित छौं जस्तो लाग्छ,’ सगरमाथा आरोही तथा पर्यटन व्यवसायी दिकी शेर्पाले भनिन्, ‘उहाँको टोलीले मेडिकल टोलीसहितको क्याम्प राख्नु हुन्छ । त्यहाँ बिरामीको उपचार गरिन्छ ।’ लाक्पा हिमालयन उद्धार संघमा आबद्ध छन्, जसमा उनी बेसक्याम्प म्यानेजर हुन् ।


लाक्पाका संघर्षका दिनहरू पनि धेरै छन् । उनले १३ वर्षको छँदै हिमाली क्षेत्रमा भारी बोक्न थालेका थिए । उनलाई २० वर्षअघि हिमालयन उद्धार संघले उनलाई संस्थामा आबद्ध गरायो । त्यस बेला माओवादी सशस्त्र द्वन्द्व चर्किएको थियो । त्यसैले सगरमाथा आधारशिविरमा औषधि लैजाँदा बाटैमा लुटिएको घटना धेरै भए । लाक्पा भने सहजै औषधि पुर्‍याउँथे । कामप्रतिको इमानदार भएकाले नै उनलाई संघले मेडिकल क्याम्पको नेतृत्व गर्ने जिम्मेवारी दियो । उनले स्विट्जरल्यान्ड, इटाली, अमेरिकामा उद्धारसम्बन्धी ‘वाइल्डरनेस फस्ट रेस्पोन्डर’ लिए । ‘लङ लाइन रेस्क्यु’ को तालिम पनि गरे, जुन कोर्स गर्ने नेपाली चार जना मात्रै छन् । उनी प्रत्येक दुई वर्षमा स्विट्जरल्यान्डमा रिफ्रेसर तालिम लिन जान्छन् । उनी हेलिकप्टर कम्पनीसँग उद्धारका लागि चौबिसै घण्टा समन्वय गर्न सक्छन् ।


सन् २०१४ को हिमपहिरो होस् या २०१५ को भूकम्प, उनले बिर्सेका छैनन् । ‘आफ्नै ज्यान जोखिममा राखेर भ्याइनभ्याई कतिलाई जीवितै उद्धार गरियो । कत्तिको लास झिकियो,’ लाक्पा भन्छन्, ‘हिमाल आफैंमा जोखिमपूर्ण क्षेत्र हो । यहाँ उद्धारका लागि तम्तयार रहनु मेरो कर्तव्य हो ।’ पैसा तिर्न नसक्ने भरिया, गाइड होस् या सरकारी सम्पर्क अधिकृत, उनले सबैको उद्धार गरेका छन् । उनी अफ सिजनमा दुई छोरा, श्रीमती र बुबाआमासहित काठमाडौंमा बस्छन् । आरोहणको मौसम सकिएपछि बेलाबेला विदेश पुग्छन्, कामकै सिलसिलामा । उनलाई सधैंका लागि युरोपका मुलुकहरूमा बस्ने निम्तो नआएको हैन । ‘आफ्नै देशमा काम गर्नुमा गर्व लाग्छ,’ उनले भने ।

प्रकाशित : श्रावण १७, २०७६ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्

अर्को शृंखला

घनश्याम खड्का

बुद्धले भनेका छन्, संसार अनित्य छ र यो नै जीवनको नियम हो  । हुन पनि हो, संसारमा स्थायी भन्ने केही छैन  ।

आजको कोपिला भोलि फक्रिसक्छ र पर्सि ओइलाएर झर्छ । मान, पद्वी र उपलब्धिहरू पनि यो नियमबाट भिन्न छैनन् । मिस नेपालको ताजलाई नै हेर्नुस् न ! हिजैजस्तो त्यो शृंखला खतिवडाको शिरमा परेजस्तो लाग्थ्यो । त्यो ताज अनुस्का श्रेष्ठले हात पारिसकेकी छन् जो अर्को वर्ष फेरि अरू कसैको हुनेछ ।


यो सम्झिँदा शृंखलालाई लाग्न थालेको छ, संसार साँच्चै नै अनित्य रहेछ । समय छिट्टै बितिजाने चीज रहेछ भन्ने अनुभव बोकेर उनी यतिखेर फ्रान्स पुगेकी छन् । त्यहाँ उनले युरोपको सर्वाधिक अग्लो चुचुरो मोन्ट ब्लाँको आरोहण गत साता गरेकी छन् । जम्मा ४ हजार ८ सय १० मिटर उचाइको मोन्ट ब्लाँ पर्वत उनलाई सजिलै चढ्छु भन्ने लागेको थियो सुरुमा । त्योभन्दा १ सय १९ मिटर अग्लो तिलिचो तालमा सजिलैसँग हिँडेरै पुगेको हुनाले पनि फ्रान्स र इटालीको सीमा क्षेत्रमा उभिएको मोन्ट ब्लाँमा चढ्ने सुरुवाती प्रस्तावमा उनले नअनकनाइकनै स्वीकृतिको मुन्टो हल्लाएकी थिइन् ।


‘तर हिमाल चढ्नु भनेको सजिलो कुरा होइन रहेछ,’ शृंखला भन्छिन्, ‘होचै भए पनि हिमाल भनेको हिमालै हो, चढ्नका लागि धेरै नै मिहिनेत चाहिने रहेछ ।’
उनी अर्को कुनै हिमाल चढ्ने योजनामा छैनन् । तर, मोन्ट ब्लाँ चढ्दाको कष्टप्रद अनि चुचुरोमा पुग्दाको उल्लासमय समयलाई भुल्ने पनि छैनन् । उनलाई युरोपको सर्वोच्च शिखर चढ्ने र घुम्ने मौका भने नेपालसँग भएको फ्रान्सको मित्रताको एक ऐतिहासिक अवसरले दिलाइदिएको रहेछ । नेपाल र फ्रान्सको दौंतरी सम्बन्ध स्थापना भएको मितिले ७० वर्ष पार गर्दैछ । सत्तरीऔं वार्षिकोत्सवमा दुई देशबीच सांस्कृतिक सम्बन्ध बढाउन विभिन्न तौरतरिका अवलम्बन गराउन नेपाल र फ्रान्स दुवै लागिपरेका छन् । त्यही उद्देश्यलाई पूरा गर्न फ्रान्सले शृंखलालाई नेपाली समुदायको पक्षबाट सद्भावना राजदूत घोषणा गरेको थियो उनी मिस नेपाल छँदै । त्यसअनुसारै उनले यो जुलाईमा फ्रान्स जानुपर्थ्यो र मोन्ट ब्लाँ आरोहण गरेर दुई देशको झन्डा चुचुरोमा फहराउनुपर्थ्यो । त्यसका लागि उनले दुई महिनादेखि केही शारीरिक अभ्यासहरू सुरु गरिन् जसमा खास गरी कार्डियो व्यायाम ज्यादा थियो ।


फ्रान्स जानुअघि उनले नेपाल पर्वतारोहण केन्द्रमा गएर हिमाल चढ्ने तौरतरिकासमेत सिकिन् । त्यसपछि उनी जुलाई १७ मा फ्रान्स पुगेलगत्तै पर्वतारोहणका लागि सहभागी हुनुपर्‍यो । सजिलो होस् भनेर सुरुमा उनलाई फ्रान्सले एक हजार फिट अग्लो त्यहाँको एक मझौला कदको हिमाल चढ्न लगायो । त्यसपछि उनको मोन्ट ब्लाँको यात्रा सुरु भयो । बिहानै उठ्नुपर्ने, दिनमा १७ घण्टासम्म हिँड्नुपर्ने र बीचमा थकाइ लागे एक–डेढ घण्टाको अन्तरालमा एक क्षणमात्रै आराम गर्न पाइने व्यवस्था थियो । कष्टपूर्वक नै भए पनि त्यो सबै पालना गर्दै शृंखला चुचुरोसम्म पुगिन् । त्यहाँ पुगेर दुई देशको झन्डा फहराइन् । अनि खुसीले मख्ख परिन् ।
‘त्यस क्षण मलाई जीवनमा केही पाएजस्तो र केही ठूलै अनुभव बटुलेजस्तो भयो,’ उनी भन्छिन्, ‘हिमाल चढ्दा कष्ट सोचेभन्दा बढी मिल्यो तर आनन्द पनि त्योभन्दा कम थिएन, यस हिसाबले मेरा लागि एउटा ठूलो अवसर भयो यो वर्ष ।’


उनलाई युरोपका प्रसिद्ध आरोही तथा स्काइवाज आनसेल बाउले पथ प्रदर्शक बनेर शिखरसम्म पुर्‍याएका थिए । त्यसो हुनाले कुनै चोटपटक नलागे पनि हिमाल चढ्दा उनको अनुहारको छाला भने डढ्यो र खुट्टाको नङको सौन्दर्य नै बिग्रियो । ‘धन्न यति खतीमै आरोहण पूरा भयो,’ मोन्ट ब्लाँबाट झरेपछि टेलिफोन वार्तामा उनले आरोहण अनुभव सुनाइन्, ‘मलाई त डर थियो, टाकुरामा नपुग्दै लडेर केही पो भइहाल्ला कि भन्ने, धन्न त्यस्तोचाहिँ केही भएन ।’शृंखला यतिखेर घामले डढेर कालो भएको अनुहारलाई जोगाउन क्रिमहरू लगाएर फ्रान्सको प्रसिद्ध साइक्लिङ प्रतियोगिता ‘टुर डे फ्रान्स’ मा सहभागी भइन् । सन् १९०३ मा सुरु भएको फ्रान्सेली साइकल यात्रा विश्वयुद्धको समयमा बाहेक हरेक वर्ष आयोजना भइरहेको छ, जहाँ संसारभरका खेल अनि प्रकृतिप्रेमीहरू कुनै न कुनै रूपमा जिन्दगीमा एक पटक सहभागी हुने आकांक्षा पालिरहेका हुन्छन् ।


‘यस्तोमा म आउन पाउनु ठूलो कुरो हो,’ तीन साताको प्रतियोगिताबारे शृंखलाले सुनाइन्, ‘हुन पनि साइकल यात्रीहरूको यो प्रतियोगिता निकै भव्य रहेछ । ओलम्पिकजस्तै ।’ उनी आफैंचाहिँ साइकल चढेर होइन, यो र्‍यालीमा निम्त्याइएका विदेशी पाहुनाहरूको दर्जामा भीआईपी गाडीमा सयर गर्दै हेरेकी थिइन् । अब उनी के गर्लिन् ? ‘एकफेर युरोप घुम्छु, नाम चलेका सहरहरूमा पुग्छु,’ उनले भनिन्, ‘मिस नेपालको ताज पहिरिउन्जेल केही जिम्मेवारी थियो गर्नै पर्ने, अब म स्वतन्त्र भएकी छु र आफ्नो हिसाबले घुमफिर गर्न सक्छु ।’


मिस नेपाल हुनुअघि शृंखला एउटी आम युवती थिइन्, जीवनका आम सपनाहरूले भरिएकी । आर्किटेक्चरकी विद्यार्थी उनलाई के मुड चलेको हो कुन्नि ! अचानक मिस नेपालमा प्रतिस्पर्धी हुन पुगिन् र ताज पनि हात पारिन् । त्यसपछि उनी चमकधमकको दुनियाँमा पस्न पुगिन् । आयोजक हिडन ट्रेजरसँग एक वर्षको अनुबन्धित जीवनमा उनले पहिल्यै तय भएका कार्यक्रमहरूमा सहभागी भएर बिताउनुपर्‍यो । कहीँ बोल्न र केही गर्न आयोजकको अनुमति नलिई गर्न नमिल्ने प्रावधानले शृंखलामा केही उकुसमुकुस अवश्य भएको हुँदो हो । त्यसमाथि बाटामा भेट्दा सेल्फी खिच्छु भनेर घेर्न आउनेहरूले उनलाई सबैतिर पछ्याउन थाले । यस्तो सेलिब्रेटीहुडको बानी नपरेकी एउटी युवतीको एक वर्षको ताज शिरबाट उत्रेपछि कस्तो अनुभव हुँदोरहेछ त ?


‘स्वतन्त्र भएजस्तो !’ उनले निष्फिक्री भनिदिइन्, ‘म अब पहिलेकै जीवनमा फर्किने क्रममा छु, तर एकै पटक यो सम्भव नहुँदो रहेछ, त्यसो हुनाले यो बेलालाई मैले संक्रमणकालीन बेला मानेको छु आफ्नो जीवनको ।’चमकधमकको जीवनबाट आम जीवनमा फर्किउन्जेलको यो संक्रमणकालीन समय उनी युरोपभर घुमेर बिताउनेछिन् । त्यसपछि सन् २०२० को सुरुवातमा शृंखलाको जीवनको अर्को शृंखला सुरु हुनेछ जहाँ उनी रोकिएको आर्किटेक्चरको पढाइ फेरि सुरु गर्नेछिन् । अनि फेरि एक आम जीवनमा मिस नेपाल २०१८ की शृंखला पूर्ववत् लयमा अघि बढ्नेछिन् ।

Twitter: @Bodhighanashyam

प्रकाशित : श्रावण १७, २०७६ ११:२९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्