२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

नयाँ गन्तव्य

नेपाल विविधताले भरिएको देश हो  । यो विविधता कस्तो किसिमको रहेको छ भन्ने कुराको विस्तृत रूपमा खोजी हुन सकेको छैन  ।

नयाँ गन्तव्य

सरकार र यस मातहतका निकायले नेपालको पर्यटकीय क्षेत्रमा नयाँ गन्तव्यको खोजी बेलाबेलामा गरे पनि यो कामचलाउ मात्र देखिन्छ ।
सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने तरखर गर्दा पनि नेपालको पर्यटकीय गन्तव्य केही निश्चित स्थानमै सीमित छ । प्रचारप्रसारकै अभावमा नेपालमा पर्यटकीय सम्भावना भएका धेरै गन्तव्यहरू ओझेलमा रहेको अघिल्लो साता ‘हामी उठ्ने छौं’ ले आयोजना गरेको ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्जमा सहभागी ५ मिनेटका डकुमेन्ट्रीहरूले देखाए । पहिलोपटक आयोजित प्रतियोगितामा १ सय ३२ वटा नयाँ गन्तव्यका डकुमेन्ट्री प्रस्तुत प्रतिस्पर्धामा थिए । ती डकुमेन्ट्री नयाँ स्थानको भ्रमण गर्न रुचाउने नेपालभित्रकै आन्तरिक पर्यटकहरूलाई समेत आकर्षित गर्ने खालका थिए ।
नुवाकोट घुम्न जाँदा धेरैको पहिलो आकर्षण नुवाकोट दरबार क्षेत्र नै हुने गर्थ्यो । महाभूकम्पले दरबार भत्किने अवस्थामा पुगेपछि नुवाकोटको नयाँ गन्तव्य ‘जर्नी टु सिंहला’ मार्फत सुकबहादुर तामाङले डकुमेन्ट्रीमा निकाले । समुद्री सतहबाट ४,४४४ मिटर उचाइमा रहेको सिंहला र त्यस वरिपरिको दृश्यलाई चित्ताकर्षक ढंगले प्रस्तुत गरेका उनको नौलो गन्तव्यको यो डकुमेन्ट्रीले भिडियो अफ दि इयरकै पुरस्कार हात पार्‍यो ।
पोखरा प्रमुख पर्यटकीय गन्तव्यमै पर्छ । पोखरा पुग्ने पर्यटकहरू यसका वरिपरिका क्षेत्रमा पनि जाने गर्छन् । तर धेरै कम पर्यटक मानुङकोट पुग्छन् । पोखराबाट ४५ मिनेटको सवारी यात्रा र केही घण्टाको हिँडाइमा पुग्न सकिने मानुङकोटको विशेषतालाई निर्देशक आर्यन कुँवरले यसरी प्रस्तुत गरेका छन् कि जो कोहीलाई पनि पोखरा जाँदा जसरी भए पनि एकपटक पुग्नै पर्ने किसिमको बनाउँछ । यसले कुँवरलाई ‘अ फ्युचर स्टार’ डकुमेन्ट्री मेकरको उपाधि दिलायो ।
पूर्वी रुकुमको लुकुम गाउँमा रहेको परम्परागत झाँक्री संस्कृति कति बलियो अवस्थामा रहेको छ भन्ने विषयलाई देवकी विष्टले ‘ट्युन अफ झाँक्री’ मा प्रस्तुत गरिन् । झाँक्री संस्कृतिको अध्ययन गर्न दशकौंदेखि बसेकी विदेशी पर्यटकलाई आधार बनाएर तयार पारिएको यो डकुमेन्ट्रीका दृश्यले नेपालका केही भागहरू अझै पनि अनौठो अवस्थामा रहेको देखाउँछ । यो डकुमेन्ट्रीले नेपालीलाई मात्र नभएर विदेशीलाई समेत अचम्मित बनाउने खालको छ । यसमार्फत उनी ‘वुमन भिडियो मेकर अफ दि इयर’ घोषित भइन् ।
मकैमा निर्भर भएपछि मकै नै सबथोक हो । अन्नका रूपमा फल्ने मकै कसरी मानिसको जीवन, संस्कृति र संस्कार बन्छ भन्ने कुरालाई भीमलाल श्रेष्ठले निर्माण गरेको ‘मकै विवाह’ ले प्रस्तुत गरेको छ । मकैको उब्जनी राम्ररी होस् भनेर ज्योतिषलाई साइत निकालेर मकैको विवाह गर्ने जन्तीमा गहना देखाउने र साइत निकालेर मकै रोप्ने गोरखाको यो परम्परा हेर्दैमा अनौठो र रोचक देखिन्थ्यो । यसले उत्कृष्ट स्क्रिप्ट र संवादको अवार्ड जित्यो ।
महाभूकम्पले गोरखाका धेरै गाउँलाई क्षतविक्षत बनायो, जसमा राइनास पनि पर्‍यो । भूकम्पपछि राइनास नै विस्थापित हुने अवस्थामा पुगेको थियो । तर होम स्टे सञ्चालन गरेर अहिले आफूलाई पहिलाको भन्दा सबल गाउँ बनाउन कसरी सफल भयो भन्ने कुरालाई विक्रम न्यौपानेले डकुमेन्ट्रीमार्फत प्रस्तुत गरेका छन् । पूर्वको सन्दकपुरबारे निर्माण गरिएको डकुमेन्ट्रीले ‘मोस्ट पोटेन्सियल डेस्टिनेसन’ को अवार्ड जित्यो । ३,६३६ मिटरको उचाइमा रहेको यस स्थानबाट नेपाल, भारत र भुटानका ६० भन्दा बढी हिमालहरू हेर्न सकिन्छ ।
पुरस्कारको दौडमा रहेर पनि पुरस्कृत हुन नसकेका अधिकांश डकुमेन्ट्रीले पनि नेपालको नयाँ पर्यटकीय गन्तव्यहरू उजागर गरेका छन् । प्रतियोगितामा नेपालको खानपिन, कला, संस्कृति, ऐतिहासिक तथा धार्मिक स्थल, ताल, झरना, प्राकृतिक रूपमा निर्माण भएका अनौठा ठाउँ, पर्व र मानव निर्मित ताल, संग्रहालयलगायत धेरै विषयमाथि बनेका डकुमेन्ट्री सहभागी थिए । सातै प्रदेशका डकुमेन्ट्रीहरूलाई नजिकबाट नियाल्ने हो भने नेपालमा पर्यटकीय आकर्षणका थुप्रै गन्तव्यहरू थपिन सक्छन् ।

प्रकाशित : असार २७, २०७६ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?