१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

लिपि सुन्दरी

पछिल्लो समय रञ्जना लिपि खुबै चर्चामा छ  । नहोस् पनि किन र ? यो जत्तिको सुन्दर र आकर्षक लिपि अरू कमै छन्  ।

लिपि सुन्दरी

नेपालले ‘हाम्रो हो है यो’ भनेर गर्व गर्न लायकमा पर्छ, रञ्जना लिपि । पछिल्लो समयको चर्चा केन्द्रित रहेको छ, यसलाई संरक्षण गर्नुपर्छ, यसको प्रचार प्रसार हुनुपर्छ भन्नेमा । मूलधारको नेपाली मिडियाले नै यसलाई लिएर बाक्लो चर्चा गरेको छ र भनेको छ, अब यस लिपिलाई लिएर केही गर्नै पर्छ, अहिले नगरे कहिले त ?
राम्री त सुनिता डंगोल पनि छिन् । पहिलो त उनको स्वर नै राम्रो छ, अझ फरक छ । उनी प्रायः मुस्कुराइरहेकी हुन्छिन् र केही प्रतिक्रिया दिन अगाडि उनको मुखमा हाँसो देखिन्छ । त्यसमाथि उनको हस्की स्वर । त्यही स्वरलाई सुहाउँदो अलि मोटो, तर मोडल जस्तै केही न केही देखिन्छ भने त्यो मिल्ने शरीर । त्यसैले त उनी हुन्, सन् २०११ की मिस नेवाः । अब प्रश्न उठ्छ, यो रञ्जना लिपि र यी सुनिताबीचको सम्बन्धचाहिँ के हो त ?
सबैभन्दा पहिले त्यही मिस नेवाः कै प्रसंगतिर । यस्ता सुन्दरी प्रतियोगिता जित्नेले वास्तवमै ठूल्ठूला दाबी गर्ने गर्छन्, म यस्तो गर्छु, म उस्तो गर्छु भनेर । तर केही सबैले यस्ता दाबीअनुसार काम गरेका छन् त ? उत्तर दिन सजिलो छ, यस्तो भएको छैन । केही अपवाद नभएका पनि होइनन्, जस्तो यिनै सुनिता । उनलाई मन पर्ने विषय हो, सामाजिक कार्य । अझ भनौं, सामाजिक काम । सुरुमा विज्ञानकी विद्यार्थी रहेकी सुनिता अहिले त्यही कारणले ‘सोसल वर्क’ मा स्नातकोत्तर गर्दैछिन् । अहिले तेस्रो सेमेस्टर चलिरहेको छ ।
उनी पढाइमै मात्र सीमित छैनन्, समाजलाई फाइदा पुग्ने केही न केही काम गरिरहेकै छिन् । उनको यो काम विशेषतः शिक्षा क्षेत्रमा केन्द्रित छ । उनी यसबीच हल्का पत्रकार पनि हुन्, टीभीतिर कार्यक्रम पनि चलाउँछिन् । स्टेज कार्यक्रम चलाउन भनेपछि उनी हुरुक्क हुन्छिन् । भित्री काठमाडौंमा जन्मेर हुर्केकी सुनिता अचेल कीर्तिपुरवासी भएकी छन् र अहिले उनको प्रमुख परिचय बनेको छ, लिपि सुन्दरीका रूपमा ।
अचेल उनी अधिकांश समय रञ्जना लिपिको प्रचारप्रसारमै व्यस्त छिन् र यसका लागि उनले नयाँ–नयाँ उपाय निकालिरहेकी छन् । उनको यो काम युवा वर्गमा केन्द्रित छ । यो आधुनिक छ । पछिल्लो समय रञ्जना लिपिले लेखिएका टिसर्ट जताततै देख्न सकिन्छ, त्यसमा कुनै न कुनै हात सुनिताको हुन सक्छ । केहीले लिपि लेखिएकै ह्यान्ड–ब्याग पनि बोक्ने गरेका छन् । यी ब्याग पनि कुनै न कुनै रूपमा सुनितासँग जोडिन सक्छ ।
सुनिता र उनको समूहले अचेल गरिरहेको सबैभन्दा ठूलो काम भने क्याली जात्रा हो । शनिबार पारेर होस् अथवा कुनै बिदाको दिन उनको समूहले यस्तो क्याली जात्रा गर्न थालेको भर्खरै हो, ०७५ यता । तर यस्तो जात्रा दुई दर्जनभन्दा बढी भइसकेका छन् । यसलाई आधुनिक पारामा भन्दा रञ्जना लिपिको उत्सव हो । साहित्यिक उत्सव भनेजस्तै लिपिको उत्सव, जहाँ दोहोरो कुराकानी हुन्छ र यस्तो युवा वर्गलाई बढी मन पर्छ ।

लगभग १० हजार जत्तिले यस्ता उत्सवमा भाग लिइसकेका छन् । भर्खर यस्तै एउटा उत्सव वसन्तपुरमा भएको थियो, त्यो पनि बृहत् रूपमा । धेरैले यसमा भाग लिए । केही नाम चलेका रेस्टुरेन्टमा पनि यस्ता उत्सव भएका छन् । यस्ता रेस्टुरेन्टमा एकातर्फ सबै सँगै मिलेर खाने अनि रञ्जना लिपिलाई लिएर खुलेर कुराकानी गर्ने । मज्जा हुन्छ नि, यस्तो काममा । काठमाडौंबाट सुरु भएका यात्रा क्याली जात्रा लमजुङसम्म पुगिसकेको छ र लक्ष्य छ, योभन्दा पनि बाहिर जाने ।
यस लागि उनी स्थानीयसँग साझेदारीलाई राम्रो मान्छिन् । रञ्जना लिपिमा लेख्न, पढ्न यी सुन्दरी पोख्त भइसकेकी छन् । अझ यो लिपिबारे धारा प्रवाह बोल्न पनि सक्षम भइसकेकी छन् । उनी भन्छिन्, ‘रञ्जना लिपि खालि लिपि मात्र होइन । यो सुन्दर पक्कै छ, तर यसलाई सुन्दर छ भनेर मात्र पुग्दैन । खासमा यो हाम्रो संस्कृति हो, इतिहास हो । सम्पदा नै हो । हाम्रो धार्मिक पक्षसँग पनि यो ठ्याक्कै जोडिएर आउने गर्छ । आजको युवा पुस्ताले यसमा रुचि राख्नै पर्छ ।’
उनकै भाषामा इतिहासले वर्तमान पुस्तालाई शिक्षा दिन्छ । यो पुरानो शिक्षा सिक्ने एउटा राम्रो उपाय रञ्जना लिपि सिक्नु पनि हो । सुनिता त्यसैले युवा पुस्ता रञ्जना लिपितर्फ आकर्षित होस् भनेर नै आधुनिक जुक्तिलाई व्यवहारमा लागू गरिरहेकी छन् । जस्तो, अचेल रञ्जना लिपिलाई लिएर एप नै उपलब्ध छ । फेसबुक, यु–ट्युबजस्ता सामाजिक सञ्जालबाट प्रचार प्रसार पनि भएकै छ । यसमा बढी काम गर्ने सोच छ, उनको ।
यस्तोमा उनको प्रशंसा नगरेर सुख पाइन्छ र ? पक्कै पाइन्न । खासमा उनले गरिरहेको काममा उनी मात्र छैनन् । उनका साथीहरू छन् र सायद यिनै साथीहरू बढी काम गरेका पनि होलान् । यस्तो काममा एउटा अनुहार भने चाहिन्छ, अनि ‘ग्ल्यामर’ को मात्रा भए, अझ राम्रो । रञ्जना जस्तो सुन्दर लिपिको बखान सुन्दर युवतीले गर्छ भने अब के चाहियो र ? २६ वर्षीया सुनिता भन्छिन्, ‘आउनुहोस्, हामीसँग सहकार्य गर्नुहोस्, रञ्जना लिपिको प्रचारप्रसार गर्नु हामी युवाकै काम हो ।’

प्रकाशित : असार २७, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?