२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सुपरस्टार

फ्रान्समा आइतबार सम्पन्न महिला विश्वकपमा अमेरिकाले उपाधि रक्षा गर्‍यो  । आठ संस्करणमध्ये चारपल्ट अमेरिका च्याम्पियन हुँदा फरवार्ड मेगान रोपिनोले सर्वोत्कृष्ट खेलाडीको गोल्डेन बल र सर्वाधिक गोलकर्ताको गोल्डेन बुट अवार्ड जितिन्  ।

सुपरस्टार

उनी मैदानबाहिर पनि उत्तिकै चर्चित छिन् । बीबीसीद्वारा प्रकाशित लेखको अनुवाद :

समान ज्याला ! समान तलब ! समान भुक्तानी !

लियोनको भरिभराउ रंगशालामा उपस्थित हरेकले एकै स्वरमा यो भनिरहँदा पुष्टि हुन्छ कि यो मेगान रापिनोकै लागि आयोजित विश्वकप हो । अमेरिकाका यी सहकप्तानले लगातार दोस्रोपल्ट विश्वकपको ट्रफी घर लगिन् । फाइनलमा उनले पहिलो गोल गरिन् । सर्वाधिक गोलकर्ताका रूपमा गोल्डेन बुट र प्रतियोगिताकै उत्कृष्ट खेलाडीको गोल्डेन बल विजेता बनिन् । फाइनलको उत्कृष्ट खेलाडी पनि उनी नै भइन् ।
मैदानबाहिर, उनी संसारकै शक्तिशाली नेताका रूपमा चर्चित भइरहेकी छन् । उनको एकमात्र आरोप के हो भने विश्व फुटबलको नियमनकारी निकायले महिलाको खेललाई सम्मान गर्दैन । उनी र पूरा अमेरिकी टिम समान पारिश्रमिकका लागि आफ्नो देशको फुटबल महासंघसँग आक्रामक रूपमा प्रस्तुत भएका छन् ।
फिल्म स्टारहरूले उनको बैजनी रंगको कपालप्रति सम्मान जनाइरहेका छन् भने उनको दुवै हात फैलाएर मनाइने खुसियालीको थुप्रै ‘मेमे’ बनेका छन् । ‘मेगान यस्तै क्षणका लागि बनेकी हुन्,’ नेदरल्यान्ड्सलाई २–० ले हराएर चौथोपल्ट विश्व विजेता बनेको अमेरिकी टिमका प्रशिक्षक जिल इलिसले भनिन्, ‘जति ठूलो घेरा (उज्यालो) छ त्यति नै उनको चमक छ ।’
३४ वर्षको उमेरमा पनि मेगान महिला फुटबलमा नयाँ अनुहारकै रूपमा चिनिन्छिन् । उनले ३ महादेशका ७ क्लबबाट व्यावसायिक फुटबल खेलेकी छन् । रिजन एफसीबाट उनले दुईपल्ट नेसनल वुमन्स सकर लिगको उपाधि जितेकी छन् । लियोनबाट फ्रान्सेली शीर्ष डिभिजनको उपाधि । आफ्नो देशका लागि ओलम्पिकमा स्वर्ण र विश्वकपमा २ ट्रफी ।
उनका पुराना भिडियो हेर्‍यो भने उनी सधैं एक मनोरञ्जनकर्ताका रूपमा पनि देखिन्छिन् । सन् २०११ को विश्वकपमा कोलम्बियाविरुद्ध गोल गरेपछि उनले रंगशालाको माइक लिएर ब्रुस स्प्रिङस्टनको ‘बर्न इन द यूएसए’ गाएकी थिइन् । महिला फुटबलको लोकप्रियता पहिलेको तुलनामा बढेको छ । यस्तो महसुस गर्न थालिएको छ कि मेगानले जुन अडान लिएकी छन्, फुटबलमा समानताका लागि यो निर्णायक चरण हो ।
जब अमेरिकाले तीनै जित हासिल गरेर समूहको विजेता बनेको थियो । मेगानलाई अमेरिकी राष्ट्रपति कार्यालयबाट सम्मानका लागि बोलाउँदा जाने कि नजाने ? उनको प्रस्ट जवाफ थियो, ‘जान्न’ । पछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट गरी, ‘मेगानले कुरा गर्नुभन्दा अघि विश्वकप जित्नुपर्छ’ भनेका थिए । विश्वकपका दौरान हरेक खेलअघिको राष्ट्रिय गान बज्ने समयमा उनी शान्त देखिइन् । यो अमेरिकी फुटबलका क्वाटरब्याक कोलिन कापरनिकप्रतिको सम्मान र साथ हो ।
क्यालिफोर्नियाकी यी खेलाडीले फाइनलपछि पत्रकारका हरेक प्रश्नको कडा र डटेर उत्तर दिइन् । फिफाद्वारा आयोजित प्रतियोगिताको पुरस्कारमा महिला र पुरुषबीचको अन्तर किन हुन्छ भन्ने नै उनको मुख्य प्रश्न थियो । ‘मैले अजेय महसुस गरिरहेकी छु,’ उनले भनिन्, ‘हामीले निकै सुन्दर र अविश्वसनीय यात्रा गर्‍यौं । हामी उत्कृष्ट दूत बन्न सक्दैनौं । सार्वजनिक बेइज्जतीले कहिल्यै पनि कुनै एकलाई दुःखी तुल्याउँदैन नि हैन ?’

वास्तवमै १ सय ५८ क्याप जितेकी मेगान मात्र अमेरिकी टिमको स्टार होइनन् । निकै उत्कृष्ट प्रतिभा र सुपरस्टारहरूले भरिएको छ अमेरिकी टिम । अमेरिकी राष्ट्रिय टोलीमा एलेक्स मोर्गान स्थापित व्यावसायिक अनुहार हुन् । उनी खेलाडीसँगै मोडल, अभिनेत्री र लेखक पनि हुन् । उनले समूह चरणमा थाइल्यान्डमाथि १३–० को जितमा ५ गोल गरेकी थिइन् । इंग्ल्यान्डविरुद्ध चियाको चुस्की शैलीको गोलको खुसियालीलाई चर्चामा ल्याइन् । त्यससँगै उनी सर्वाधिक गोलकर्ता बनेकी थिइन्, जसलाई मेगानले फाइनलमा बराबरी गरिन् ।
वासिङ्टन स्पिरिटकी मिडफिल्डर रोज लाभेलीले यस विश्वकपमा ३ गोलसहित प्रभावशाली प्रदर्शन गरिन् । फाइनलमा डच टिमविरुद्धको दोस्रो गोल पनि उनैले गरेकी थिइन् । तर, अहिलेसम्म पनि सबैको मुखमा एकजनाको मात्र नाम छ । ‘मेगान यस्ती खेलाडी हुन् कि उनले आफ्नो उपलब्धिलाई आवाज उठाउने माध्यमका रूपमा सदुपयोग गरिन्, जुन कसै न कसैले गर्नुपर्ने थियो । उनले सही सवाल उठाइरहेकी छन्,’ इंग्ल्यान्डका पूर्वडिफेन्डर एलेक्स स्कटले भने ।
‘मलाई थाहा छैन, उनले यो अभियान कहाँसम्म पुर्‍याउनेछिन्, तर यदि उनी रोकिइन् भने यस मुद्दाको छिनोफानो हुनेछैन,’ अमेरिकी टिममा उनकी पूर्वसहकर्मी गोलकिपर होप सोलोले भनिन् । उनी नियमित डोपिङ परीक्षणपछि उनी पत्रकार सम्मेलनमा ढिला आएकी थिइन् र प्रशिक्षक इलिसलाई रोक्दै उनको प्रवचन सुरु भयो । माइक्रोफोनमा आफ्नो स्थिति सम्हाल्नुभन्दा अगाडि नै उनले समान पारिश्रमिकबारे भनिन्, ‘मैले पार्टीका लागि निमन्त्रणा पाएँ । मेरो विचारमा सबै जना कुराकानीलाई अर्को स्तरमा लैजानका लागि तयार हुनुहुन्छ ।’
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) अध्यक्ष जियानी इन्फान्टिनोकै सामुन्ने समर्थकले समानताको नारा लगाइदिए । उनले भनिन्, ‘मेरो विचारमा हामी जे कुराका लागि योग्य छौं, त्यसैमा प्रश्न उठाएका हौं । हामीलाई समान पारिश्रमिक दिन्छन् त ? सबै सहमत छन् । अब के भन्नेमा जाऔं । हामी विश्वका अरू महिलालाई कसरी सहयोग गर्न सक्छौं ? फिफाले त्यो कसरी गर्ला ?’ प्रशिक्षक इलिसले भनिन्, ‘केही व्यक्तिलाई उज्यालोले जलाउन सक्छ तर मेगान भने चम्किएकी छन् ।’

प्रकाशित : असार २७, २०७६ ११:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?