कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

टायरको खजाना

सहरका गल्तीमा सुस्त गतिमा चलेका र लोकमार्गका ठूला सडकमा तीव्र हुइँकिएका टायरलाई पुरानो वा गुडाउन नमिल्ने भएपछि के गर्ने ? थोत्रा टायरको उपयोगबारे अब धेरै चिन्ता लिनु नपर्ने भएको छ ।
विजय तिमल्सिना

थोत्रा टायरबाट के–के बन्न सक्छ ? उपयोग गरे यसबारे धेरै काम लाग्ने सामान तयार पार्न सकिन्छ  । कुपन्डोलस्थित टायर ट्रेजर्सले भने यसबाट आकर्षक फर्निचर र सजावटका सामान बनाइरहेको छ  ।

टायरको खजाना

ओजस्वी वैद्य र लुनिभा तुलाधरको संयुक्त प्रयासमा यो काम सुरु भएको हो । सन् २०१६ मा आयोजित ग्रीन इनोभेसन च्यालेन्जमा सहभागी ओजस्वी र लुनिभा मिलेर थोत्रा टायरबाट सामान बनाउन सकिने परिकल्पना गरेका थिए । दुवैले प्रस्तुत गरेको आइडिया विजयीमध्ये एक बन्यो र काम सुरु गर्नका लागि सुरुआती बजेट ‘सिड मनी’ पनि पाए ।
काठमाडौं विश्वविद्यालयबाट एमबीए सकाएकी वैद्य र वातावरण विज्ञानमा स्नातक सकेकी तुलाधरले पढाइ पूरा गर्नेबित्तिकै २०१७ सेप्टेम्बरदेखि यसलाई कम्पनीको रूप दिएर काम सुरु गरेका थिए । हालसम्म टायर ट्रेजर्सले ७ सय बढी टायर पुनर्प्रयोग गरी विभिन्न सामानहरू बनाइसकेको छ । उनीहरूले बनाएका टेबल, कुर्सीसहित सजावटका सामान विशेषतः घर र रेस्टुरेन्टमा प्रयोग हुन थालेका छन् । दराज अनलाइनसँग सहकार्यका कारण अहिले काठमाडौंबाहिर चितवन, हेटौंडा र धरानलागयत मोफसलका स्थानहरूबाट पनि टायरका फर्निचरको माग आउन थालेको वैद्य बताउँछिन् ।आफ्ना डिजाइनहरू घरमा प्रयोग हुन थाल्नु भनेको थोत्रा टायरबाट बनेको सामानलाई सबैले स्विकारेको संकेत भएको वैद्यको धारणा छ । उनी भन्छिन्, ‘घरमा प्रयोग भए बढी स्वीकार्य हुन्छ र अन्यत्र पनि प्रयोग बढ्न थाल्छ ।’
थोत्रा टायर प्रयोग गरी बनाइएका भए पनि टायर ट्रेजर्सले तयार पारेको सामान आकर्षक देखिन्छ, यो प्लास्टिकका सामानहरूभन्दा धेरै बलियो हुने वैद्यको दाबी छ । मूल्यको हिसाबले आफ्ना फर्निचरहरू प्लास्टिकका सामानहरूभन्दा केही महँगो पर्ने भए पनि काठ वा अन्य धातुका सामानको तुलनामा सस्तो भएको उनले दाबी गरिन् । टायर ट्रेजर्सको सामान १८ सयदेखि साढे १३ हजार रुपैयाँसम्म पर्छन् ।

काठमाडौंका घरसहित केही चल्तीका रेस्टुरेन्टहरूमा समेत टायर ट्रेजर्सको डिजाइनका फर्निचर देख्न पाइन्छ । थापापालीस्थित रेडमड क्याफे, मंगलबजारको पासा क्याफेसहित अन्य केही रेस्टुरेन्टहरूमा अहिले यसका फर्निचर प्रयोग भएका छन् । नयाँ खुल्न लागेका रेस्टुरेन्टहरूले यसप्रति बढी चासो देखाएको वैद्यले बताइन् । टायर ट्रेजर्सले सामान किन्न चाहनेको डिजाइन वा आफैंले तयार पारेको डिजाइनअनुसार सामानहरू तयार पार्छ । उनीहरू सामान राख्ने ठाउँअनुसार आकार–प्रकारका सामग्रीहरू पनि तयार पार्छन् । यस्ता सामानका लागि आवश्यक पर्ने पुराना टायर कुपन्डोल वरपरका रिकन्डिसन र मर्मत केन्द्रहरूबाट खरिद गरी ल्याउने, सफा गर्ने र रङ लगाइने वैद्य बताउँछिन् ।

फर्निचरका डिजाइनरदेखि हरेक काम गर्नेहरूलाई आवश्यकताअनुसार काम दिइरहेको उनले बताइन् । टायरको सामान भए पनि तिनले फरक–फरक नाम पाएका छन् । टायरबाट बनाइएको एउटा टेबलको नाम ढुकुटी राखिएको छ । ढुकुटी उनीहरूले बनाएको सुरुवाती डिजाइनमध्येमा पर्छ । टेबलमा प्रयोग भएको टायरभित्र अन्य सामानहरू पनि राख्न मिल्ने भएकाले यसको नाम ढुकुटी राखिएको वैद्यले बताइन् । यस्तै, सरिता र जयन्ती नाम गरेका महिलाहरूको सीप प्रयोग गरी बनाइएको टायरबाट निर्मित कुर्सीको नाम सरजयन्ती राखिएको छ । वैद्य टायर ट्रेजर्सलाई रिसाइकल ब्रान्ड बनाउन चाहन्छिन् । ‘टायरबाट मात्रै होइन, अन्य सामानलाई पनि पुनः प्रयोग गर्न सकिने सम्भावना हेर्दै छौं,’ उनी भन्छिन्, ‘चाँडै नै सिसाका ग्लास पुनः प्रयोग गरी बोतलहरू बनाउन सकिन्छ कि भन्नेबारे अध्ययन गर्दैछौं ।’

प्रकाशित : असार २७, २०७६ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?