परिपक्व माइली !

सन् सत्तरीदेखि सुरु भएको ग्लासटोनबरी म्युजिक महोत्सवमा दुई लाख बढी दर्शकले प्रत्यक्ष हेर्ने/सुन्ने गर्छन् । यस्ता महोत्सवमा कोही खास एक चम्कने गर्छ र त्यसबारे लामो समयसम्म चर्चा हुने गर्छ । यसपल्ट सबैझन्दा आकर्षक रहिन्, अमेरिकी गायिका माइली साइरस ।
हिमेश

 
सबैभन्दा पहिले कुरा ग्लासटोनबरी फेस्टिभलबारे  ।

परिपक्व माइली !

विश्व संगीतमा धेरै थुप्रै महोत्सवहरू हुने गर्छन् र यसमध्ये केही यस्ता पनि हुने गर्छन्, जसलाई त्यो समयको संगीतको साक्षी मानिन्छ । अझ भनौं, केही महोत्सवले विश्व संगीत अहिले कस्तो चलिरहेको छ, त्यसको प्रतिनिधित्व गर्ने गर्छ । यस्तै महोत्सवमा पर्छ, ग्लासटोनबरी । भर्खरै सकियो, इंग्ल्यान्डको समरसेटमा आयोजित यो महोत्सव । संगीत मन पराउने सबैको मुखमै झुन्डिएको स्थिति थियो, ग्लासटोनबरीको ।


यसको धेरै लामो इतिहास छ, सन् सत्तरीदेखि । सुरुदेखि यो निकै लोकप्रिय पनि थियो र यसपल्ट पनि यसलाई केही नभए पनि दुई लाखभन्दा बढीले प्रत्यक्ष हेरेको अनुमान छ । यसपल्टको महोत्सवको सबैभन्दा आकर्षक रहिन्, अमेरिकी गायिका माइली साइरस । खास कुरा के भने यस्ता महोत्सवमा कोही खास एक चम्कने गर्छ र त्यसबारे लामो समयसम्म चर्चा हुने गर्छ । यस्तो अवसर कलाकारले धेरै कमै मात्र पाउने गर्छन् । यस्तोमा यसपल्ट ग्लासटोनबरीमा भाग्यमानी रहिन्, माइली ।


र, अन्त्यमा धेरैको निचोड थियो, माइली त परिपक्व पो भइन्, यही महोत्सवसँगै । अमेरिकी गायिका, गीतकार र नायिकाका रूपमा उनको परिचय बन्छ, तर उनलाई धेरैभन्दा धेरै सम्झने भनेको गायिकाकै रूपमा हो । निकै कम उमेरमै केही न केही कारणले चर्चामा आउन सुरु गरिसकेकी माइलीको अहिलेसम्म ६ स्टुडियो एल्बम आइसकेको छ । अहिले उनी सातौं एल्बमको तयारीमा छिन् र त्यसको नाम पनि जुरिसकेको छ, त्यो हो, ‘सी इज माइली साइरस’ ।


ग्लासटोनबरीमा उनको बलियो उपस्थिति यो एल्बमको तयारी पनि हो । अहिलेसम्म निस्केका एल्बममध्ये तीन बिलबोर्ड चार्टसको नम्बर १ स्थानमा पनि पुगे र ती हुन्, ‘मिट माइली साइरस’, ‘ब्रेकआउट’ र ‘बनजर्ज’ । उनका बुबा बिली रे साइरस पनि संगीतकर्मी नै हुन् र माइलीको जीवनमा उनको ठूलो प्रभाव छ । अझ भनौं, यहाँसम्मको माइलीको संगीत यात्रामा कसैको सबैभन्दा बढी भूमिका छ भने त्यो बुबाकै हो । ग्लासटोनबरीमा पनि माइलीसँगै बुबाले केही प्रस्तुति दिए ।


महोत्सवमा उनी ‘ब्ल्याक मिरर’ पात्रका रूपमा प्रस्तुत भइन् । उनले त्यहाँ खालि गाइनन् मात्र, आफ्ना धेरै मनका भाव पनि पोखिन् । त्यो पनि धेरै लामो । सबैभन्दा मुख्य तथ्य के भने यो महोत्सवले उनको जीवनलाई सधैंका लागि परिवर्तन गरेको छ । अहिले २६ वर्ष पुगेकी माइलीले भनिन्, ‘पछिल्लो समय मेरो जीवनमा धेरै नाटकीय मोड आए र म त्यसबारे केही भन्न चाहन्छु । मैले केही सफलता पनि चाखें र त्यसको एउटै कारण हो, मेरो कडा मिहिनेत, समर्पण र त्याग ।’


उनले थपिन्, ‘यो महोत्सवमा मेरो बुबा मात्र होइन, आमा पनि हुनुहुन्छ । उहाँहरूले नै सफलताको यो एक मात्र मन्त्र सिकाउनुभएको हो ।’ अर्को शब्दमा भन्दा सफलतासम्म पुग्ने बाटो कठिन हुन्छ भने माइलीले पनि यो कठिन बाटो तय गर्नुपरेको थियो । यसलाई पार गर्ने भनेको मिहिनेतले नै हो, सफलतासम्म पुग्ने अरू कुनै उपाय छैन । यसक्रममा उनले एउटा कथा पनि सुनाइन् । उनी भन्थिन्, अग्लो पहाडबाट साइकलमा तल झर्न कति सजिलो छ । तर त्यही पहाड साइकलबाट चढ्न कति गाह्रो हुन्छ नि ? जीवन भनेको यही पहाडमा साइकलबाट चढ्न खोजे जस्तै हो ।


माइलीको अनुभव हो, यो । सबै केही न केही क्षेत्रमा हुन्छ र सफलताका लागि प्रयास गरिरहेको हुन्छ । सजिलो भने हुन्न । अझ गाह्रै हुन्छ । त्यसैले दिनरात मिहिनेत गर्नुपर्छ । जति बेला सफलताको स्वाद चाख्न पाइन्छ, त्यति बेला यो निकै मीठो भने हुन्छ । त्यसैले केही पाउने हो भने लगातार प्रयास गरिरहनुपर्छ ।


माइलीलाई पनि प्रत्येकपल्ट केही न केही जोखिम उठाउने रहर हुँदोरहेछ । अझ केही त्रास भयो भने मात्र उनी केही गर्न उत्सुक हुने रहिछिन् । ग्लासटोनबरी महोत्सव पनि त्यस्तै थियो । सुरुमा उनलाई यो महोत्सवमा भाग लिँदै छु भनेर सोच्दा डर लागेको थियो । यही डरकै कारण उनले राम्रो गर्ने प्रयास गरिन् । आखिरमा राम्रो भयो पनि । यो त माइलीको दार्शनिक पारा पनि भयो । मान्नै पर्छ, माइली परिपक्व हुन थालेकी छन् ।

[email protected]

प्रकाशित : असार २०, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?