१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

फौजी क्रेज

बेलायती सेना र सिंगापुर पुलिसमा भर्ना हुने सपना पूरा गर्न सडकमा दौडने युवा प्रशस्तै भेटिन्छन् । केही वर्षयता नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानमा भर्ती हुनका लागि पनि त्यस्तै तयारी गर्ने युवाको संख्या बाक्लिँदै गएको छ ।
विमल खतिवडा

 
भरतपुर, चितवनकी १८ वर्षीया सृष्टि थापा अरोमा कलेजबाट कक्षा १२ को परीक्षा दिएपछि त्यत्तिकै बसिनन्  ।

फौजी क्रेज

सैनिक आवासीय महाविद्यालयबाट एसईई गरेकी उनले नेपाली सेनाको सेवा दलमा रहेर सेल्फ डिफेन्सको तालिम लिएकी थिइन् । त्यसो त उनीप्रति सानैदेखि ‘कम्ब्याक क्रेज’ ले बढेको थियो । ‘सानैमा टीभी हेर्दा बाढी–पहिरोमा फसेकाहरूलाई सेनाले उद्धार गरेको देखेको थिएँ,’ सृष्टि भन्छिन्, ‘म पनि त्यस्तै सेना भन्ने लाग्थ्यो । अचेल त्यही सपना पूरा गर्न काठमाडौंमा आएर तालिम लिइरहेकी छु ।’ कक्षा १२ को नतिजा भदौतिर आउने गर्छ । त्यस बेलासम्म नेपाली सेनामा अधिकृत क्याडेटको भर्ना खुल्ने उनको विश्वास छ । अधिकृत क्याडेटमा पास गरेपछि सहायक सेनानी (सेकेन्ड लेफ्टिनेन्ट) बन्ने उनको सपना हो । त्यसैका लागि उनी हरेक दिन बिहान साढे ४ बजे उठ्छिन् । हाफ–पाइन्ट, टि–सर्ट, जुत्ता लगाएर साढे ५ बजे टुँडिखेल पुग्छिन् ।


टुँडिखेलमा कोही योग गरिरहेका भेटिन्छन् । कोही समूह बनाएर फुटबल हान्ने तयारी गरिरहेका हुन्छन् भने कोही बल र ब्याट लिएर स्टम्प ठड्याइरहेका हुन्छन् । मर्निङ वाक गर्नेको संख्या पनि बाक्लै हुन्छ । त्यसमाझ सृष्टिको समूह शारीरिक व्यायाम गर्न व्यस्त हुन्छ । ब्यायाम सकेर ७ बजे थापाथलीस्थित जेसिस भवन पुग्छिन्, जहाँ १० बजेसम्म विषयतगत अध्ययन हुन्छ ।जाजरकोटकी कृष्टिना शाही पनि सृष्टि सँगसँगै शारीरिक व्यायाम र विषयगत अध्ययन गर्छिन् । उनको चाहना पनि सेनाकै कम्ब्याटतिर छ । ‘प्रहरीभन्दा आर्मी नै बन्न मन छ,’ यी १९ वर्षीयाले भनिन्, ‘हाम्रोतिर प्रहरी बन्ने धेरै छन्, आर्मीमा जागिर खाने कम ।’शाही परिवारकी चार दिदीबहिनीमध्ये साहिँली रहेकी उनले दुर्गम कोटामा प्रतिस्पर्धा गर्ने योजना बनाएकी छन् । भलिबल पनि खेल्ने गरेकी उनी अधिकृत तहमा भर्ना हुनका लागि अरू पूर्वतयारी कक्षा लिन व्यस्त छिन् । ‘हाम्रोतिर (सुदूरपश्चिम) सेना/प्रहरीमा छोरी मान्छेले जागिर खाऊन् भन्ने चाहना खासै हुँदैन, गाउँघरतिर चाँडै बिहे गर्ने चलन पनि अझै हटेको छैन,’ कृष्टिना भन्छिन्, ‘मलाई आफ्नो खुट्टामा आफैं उभिने भएपछि मात्र बिहे गर्न मन छ ।’


काठमाडौंस्थित बत्तिसपुतलीका शीतान्सु थापा बुबा सुरज (कर्णेल) को पाइल पछ्याउन चाहन्छिन् । गोल्डेनगेट कलेजमा बीबीएम दोस्रो सेमेस्टरमा अध्ययनरत उनले भनिन्, ‘फौजी परिवारमा हुर्किएँ । बुबाकै पेसा मन पर्‍यो । बुबाले सेनामा लाग्न खासै उत्साहित गर्नुभएको छैन, दुःख हुन्छ भनेर हुन सक्छ । तर, मलाई दुःख सहेरै भए पनि बाबाजस्तै बन्ने चाहना छ ।’ उनी अधिकृत क्याडेटको पूर्वतयारी कक्षा लिन व्यस्त छिन् । त्यो सकेर हरेक दिन कलेज पुग्छिन् । दाङकी वर्षा महतारा क्षत्री बीबीएस गरे पनि बैंक वा वित्तीय संस्थातिर जागिर खाने सोचमा छैनन् । नेपाल प्रहरीमा रहेका मामाको छोराबाट प्रेरित उनले भनिन्, ‘मलाई पनि यही क्षेत्र (प्रहरी) मा लाग्ने इच्छा छ । त्यही भएर अचेल नेपाल प्रहरीको इन्स्पेक्टरमा प्रतिस्पर्धा गर्न योग्य बन्ने गरी तालिम लिइरहेकी छु ।’


कक्षा १२ सकाएका सप्तरीका प्रमोदकुमार यादव प्रहरीमा असई बन्ने ध्याउन्नमा तालिम लिइरहेका छन् । बाग्लुङका युवा अमिर केसीले भने, ‘सशस्त्र प्रहरीको असईमा भर्ती हुनका लागि तयारी गरिरहेको छु । हामीजस्ता सबै युवा विदेशिने हो भने एक दिन देश रित्तो हुन्छ, युवाजति विदेश पलायन भएर देशको शान्तिसुरक्षा कसले गर्ने ? त्यसैले मलाई विदेश जानु छैन, देशले चिन्ने काम गर्न मन छ ।’ललितपुर भैंसेपाटीका रोजन नेपालीले आदर्श शौल माविबाट १२ कक्षा उत्तीर्ण गरे । यो भन्दामाथि पढ्न आर्थिक अवस्थाले साथ दिएन । परिवारले बैंकमा घर राखेर भए पनि स्नातकसम्म पढाउने आश्वासन दिए । ‘घर बन्धकी राखेर पढ्ने आँट आएन,’ उनले भने, ‘मान्छेको चोला भोलि के होलाहोला ।’ उनको सपना सेना बन्ने हो । ‘१२ कक्षा पास गरेपछि सेकेन्ड लेफ्टिनेन्टमा भिड्न पाइने रहेछ । त्यसैको तयारीमा छु,’ उनले सुनाए ।


हामी बेलायती सेना (गोर्खा पल्टन) र सिंगापुर पुलिसमा भर्ना हुने सपना पूरा गर्न सडकमा दौडिरहेका देख्छौं । अतिरिक्त कक्षा लिइरहेका देख्छौं । केही वर्षयता नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानमा भर्ती हुनका लागि पनि तयारी गर्नेहरू निकै बढेका छन् । स्वदेशकै फोर्समा जागिर खाने सपना देख्नेहरू पनि तालिम केन्द्रहरूमा धाउन थालेका छन् । सशस्त्र र नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धानको असई (प्रहरी सहायक निरीक्षक) र सेनामा सहायक सेनानीमा भर्ना हुनका लागि कक्षा १२ पास गरे पुग्छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) बन्नका लागि भने स्नातक पास गर्नुपर्छ ।


भर्ती हुन योग्यता बनाउने गरी तालिम र शिक्षा दिन व्यावसायिक हिसाबले धेरै संस्था खुलेका छन् । त्यसमध्ये एक डिफेन्स क्यारिएर एकेडेमी नेपाल (डिक्यान) पनि हो । यसका अध्यक्ष डा. राजेन्द्र केसीले भने, ‘हाम्रा युवा विदेश पलायन हुन नपरोस्, देशमै रोजगार बनुन् । त्यसमा पनि सरकारी सेवामा प्रवेशलाई सहज होस् भनेर तालिम दिइरहेका छौं ।’ डिक्यानमा नेपालका चारै सुरक्षा निकायमा भर्नाको लागि तीन महिनादेखि ६ महिनासम्मका पूर्वतयारी कक्षा सञ्चालन गरिएको उनले बताए ।


विभिन्न संस्थाले दिने तालिममा फौजी बन्न मात्र सिकाइँदैन । अनुशासन र उसको गुण मापन गर्नमा पनि जोड दिइन्छ । डिक्यानमा अहिले चार सय बढीले तालिम लिइरहेका छन् । यसमा ६८ महिला छन् । गत वर्ष १८३ जना युवतीले प्रहरी निरीक्षक र अधिकृत क्याडेटको परीक्षा दिएका थिए । सुगम र दुर्गम दुवै क्षेत्रका युवाप्रति फौजी क्रेज बढेको छ । २०७० सालयता तालिम दिइरहेको बागबजारको वेभ इन्स्टिच्युटका व्यवस्थापक आशिष बरालले भने, ‘पहिला–पहिला नेपाली माध्यमका स्कुल पढेका र ग्रामीण बस्तीका युवा धेरै आउँथे । अचेल सहर–बजारमा बोर्डिङ स्कुल पढेकाहरू पनि प्रहरी, सेनाप्रति आकर्षित भइरहेका छन् ।’

twitter: @Bimal

प्रकाशित : असार २०, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?