समस्यामा गुगल

गुगलले हुवावेसँगको सम्बन्ध तोडेपछि जति असर चिनियाँ कम्पनीलाई परेको छ, उस्तै प्रभाव अमेरिकी कम्पनीलाई पनि भएको छ ।
हेलो शुक्रबार

केही साता मात्रै भयो, अमेरिकाले चिनियाँ कम्पनी हुवावेमाथि प्रतिबन्ध लगाउने गरी निर्देशिका जारी गरेको  । सोही निर्देशिकालाई टेकेर अमेरिकी कम्पनीहरूले हुवावेसँग लगातार सम्बन्ध तोड्ने घोषणा गरिरहेका छन्  ।

समस्यामा गुगल

तर यीमध्ये सबैभन्दा चर्चित र महत्त्वपूर्ण गुगलले गरेको घोषणा नै हो । संसारको सबैभन्दा ठूलो एन्ड्रोइड फोन निर्माता हुवावेलाई आफ्नो अपरेटिङ सिस्टम प्रयोग गर्न नदिने घोषणासँगै हुवावेलाई जति चोट परेको छ त्यति नै चोट गुगललाई परेको छ ।


गत साता मात्रै फाइनान्सियल टाइम्सले गुगलका अधिकारीहरूले अमेरिकी सरकारी निकायका प्रतिनिधिलाई भेटेर हुवावेमाथिको प्रतिबन्ध फुकुवा गर्न माग गरेको समाचार छापेको थियो । स्रोतको हवाला दिएर प्रकाशित समाचारमा गरिएको धेरै कुराहरू भने तर्कसंगत छन् । गुगलका प्रतिनिधिले हुवावेलाई प्रतिबन्ध लगाउँदा उल्टै अमेरिकी सुरक्षामा खतरा उत्पन्न हुने तर्क गरेका छन् । उनीहरूको तर्क छ, हुवावे संसारको दोस्रो ठूलो एन्ड्रोइड स्मार्टफोन निर्माता हो । अहिले एन्ड्रोइड स्मार्टफोनको बजार हिस्सा ८६ प्रतिशतभन्दा बढी छ । यीमध्ये २० प्रतिशत बजार चिनियाँ कम्पनी हुवावेको छ । हुवावेलाई प्रतिबन्ध लगाउँदा हुवावेलाई जति घाटा छ त्यति नै घाटा गुगललाई पनि परेको छ । उसले आफूले निर्माण गरेको अपरेटिङ सिस्टममा निर्भर संसारको सबैभन्दा ठूलोमध्ये एक स्मार्टफोन निर्मातालाई गुमाएको छ ।


एन्ड्रोइड अपरेटिङ सिस्टम र गुगलका एपहरू बिना हुवावेका स्मार्टफोन कसरी चल्लान् भन्ने अनुमानको बीचमा अमेरिकी कम्पनी गुगललाई के डर छ भने आफूमा निर्भर हुवावेले आफ्नै अपरेटिङ सिस्टम निर्माण गरेमा आफ्नो वर्चस्व अन्त्य हुनेछ । हुवावेले आफ्नै अपरेटिङ सिस्टम निर्माणको घोषणा पनि गरिसकेको छ । भविष्यमा हुवावेले बनाएको अपरेटिङ सिस्टम गुगलभन्दा लोकप्रिय भइदियो भने ? अथवा, हुवावेले गुगलको एन्ड्रोइडमा उपलब्ध सबै सुविधा भएका अपरेटिङ सिस्टम कपी गरेर बनायो भने के होला ?


यसले दुई थरी प्रश्न जन्माएको छ । एक त विश्वभरका एन्ड्रोइड स्मार्टफोनमा अमेरिकी कम्पनी गुगलको वर्चस्व कम गर्नेछ भने उसको अपरेटिङ सिस्टम जस्तै गरी नयाँ अर्को जन्मन सक्छ । दुवै अवस्थामा घाटा गुगललाई पनि हुनेछ । गुगलका पदाधिकारीहरूले यस्तै विषयमा केन्द्रित रहेर अमेरिकी अधिकारीहरूलाई हुवावेमाथिको प्रतिबन्ध फुकुवा गर्न दबाब
दिएको समाचारहरूमा जनाइएको छ ।


आफ्नो देशको ठूलो कम्पनी हुवावेमाथि प्रतिबन्ध लगाउने अमेरिकी सरकारको निर्णयविरुद्ध चीन असन्तुष्ट छ । न्युयोर्क टाइम्सले गत साताप्रकाशित गरेको समाचार अनुसार चीनमा बढी निर्भर रहेका अमेरिकी प्रविधि कम्पनीका प्रनिनिधिलाई बोलाएर चिनियाँ सरकारी अधिकारीहरूले चेतावनी दिएका छन् । चिनियाँ सरकारी अधिकारीहरूले हुवावेलाई अमेरिकाले प्रतिबन्ध लगाएजस्तै चीनले पनि आफ्नो देशमा निर्भर अमेरिकी कम्पनीलाई उस्तै व्यवहार गरे कसो होला भनेर प्रश्न गरेको बताइएको छ । अमेरिकी प्रविधि कम्पनीहरू एप्पललगायतका कम्पनीहरू चिनियाँ बजारमा बढी नै निर्भर छन् । चीन विश्वमा सबैभन्दा बढी मध्यमवर्ग जनसंख्या भएको मुलुक हो । यसैले पनि सेवा र वस्तु उत्पादकका लागि चीन ठूलो बजार हो ।


अमेरिकी प्रतिबन्धपछि पनि हुवावेले आगामी तीन महिनासम्म एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गर्न पाउनेछ । तीन महिनापछि के हुन्छ उत्तर हुवावेसँग पनि छैन । फेसबुकले पनि हुवावेको स्मार्टफोनमा फेसबुकले आफ्नो एप प्रिइन्स्टल गर्न नदिने जनाएको छ । यसको अर्थ हो हुवावेले अब बनाउने स्मार्टफोनमा फेसबुक इन्स्टल गर्न पाइने छैन । फेसबुक एपसहित फेसबुक स्वामित्वको म्यासेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप पनि प्रिइन्स्टल भएर आउने छैन । तर आफ्नो मोबाइलमा अहिले फेसबुकका एप प्रयोग गरिरहेकाहरूले भने निरन्तर प्रयोग गर्न पाउनेछन् ।


फेसबुकको यो कदमले जति हुवावेलाई असर पार्छ त्यति नै असर फेसबुकलाई पनि पर्नेछ । गुगल र फेसबुकले हुवावेसँग सहकार्य तोड्ने घोषणा गरेपछि हुवावेको फोन बिक्री हुनै छाडेमा त त्यसको असर त्यति देखिन्न तर अमेरिकी कम्पनीको निर्णयपछि पनि हुवावेको बिक्री जारी रह्यो भने दुवै प्रयोगकर्ताले आफ्नो ठूलो बजार (प्रयोगकर्ता) गुमाउने छन् ।

[email protected]

प्रकाशित : जेष्ठ ३१, २०७६ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?