१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

रकेटम्यान

हिमेश

एल्टन जोनका गीतमध्ये धेरै भन्दा धेरै रुचाइएकामा पर्छ, ‘रकेटम्यान’ । ‘रकेटम्यान’ नामकै एउटा काल्पनिक कथाबाट प्रभावित भएर उनले यो गीत लेखेका हुन् भनिन्छ । मंगलग्रह जान लागेका एक एस्ट्रोनटसँग एकै समय दुई फरक विचार हुन सक्छ, एकातर्फ मंगलग्रह जान लागेको खुसी, अर्कोतर्फ आफ्नो परिवारबाट टाढा रहनु पर्ने पीडा ।

रकेटम्यान

यो गीतमा त्यसकै भाव पाइन्छ । ‘द म्युजिकल जर्नी अफ एल्टन जोन’ नामको किताबमा उनका धेरै गीतबारे वर्णन छ र त्यसमा यही खास गीतबारे पनि लामै लेखिएको छ ।


सन् १९७२ को गीत हो, यो । अहिले तत्काल यो गीतको चर्चा किन भन्दा सन् २०१९ को एउटा सफल बायोग्राफिकल फिल्म नाम हो, ‘रकेटम्यान’ । इतिहासका एक प्रमुख पात्रलाई केन्द्रमा राखेर यस्ता फिल्म बनाउने गरिन्छ र यसमा केही मसला पनि थपिने गरिन्छ, जसको सिधा सम्पर्क त्यो व्यक्तिसँग हुने गर्दैन् । ‘रकेटम्यान’ एल्टन जोनबारे बनाइएको त्यो फिल्म हो, जसलाई केही नाटकीय बनाउन केही मसला मज्जाले थपिएको छ ।


अझ सिधै भनौं, ‘रकेटम्यान’ एल्टन जोनका विवादित पक्षसमेत बनाएको फिल्म नै हो र अहिले यसले पश्चिमतिर धुम मच्चाइरहेको छ । यसका निर्देशक हुन्, डेक्टर फ्लेटचर । जोनको मुख्य भूमिकामा छन्, टारोन एगरटन । रोयल एकेडेमी अफ म्युजिकसँग जोडिएयता जोनको जीवनमा धेरै परिवर्तन आउँछ र उनले बर्नी टउपिनसँग गज्जबको संगीत साझेदारी बनाउँछन् । यो फिल्म त्यसैबारे छ । सन् २००१ मै यो फिल्म बनाउने सोच तयार भएको थियो, तर कार्यान्वयन हुन सन् २०१९ सम्म पर्खनु पर्‍यो ।


केन्स फिल्म फेस्टिबलका बेला यसलाई प्रिमियर गरिएको थियो, मे १६ मा । त्यसका एक साताको अगाडि पछाडि यो इंग्ल्यान्ड र अमेरिका दुवैतिर रिलिज पनि भयो । यसै साता यसले कमाएको १० करोड डलर बढी भएको छ, त्यसैले यसलाई व्यावसायिक रूपमा सफल भन्न सुरु भएको छ । धेरैले एगरटनको अभियनलाई रुचाएका छन्, आलोचकहरू उनको अभियनलाई प्रशंसा गर्न केही शब्द खर्चन कन्ज्युस्याइँ गरेका छैनन् । एल्टन जोनको यौन धारणा सबैलाई थाहा छ, उनी समलिंगी हुन् । त्यसैले यो हलिउडको त्यस्तो ठूलो फिल्म भएको छ, जसमा पुरुष समलिंगी यौन सम्पर्कलाई देखाइएको छ । पछिल्लो समय संगीतकर्मीको जीवनसँग जोडिएर उनको कथामा बायोपिक बनाउने क्रम बढ्दो छ । केही समय अगाडि मात्र क्विन ब्यान्डको पूरा कथामा आधारित यस्तै बायोपिक खुबै सफल भएको थियो । त्यो ‘बोहेमन रापसोडी’ ले झन्डै ९० करोड डलर बढी आय गरिसकेको छ ।


‘रकेटम्यान’ त्यो जत्तिको धेरै खर्च गरेर बनाइएको फिल्म होइन । तर यसले लगानीअनुसार उत्तिकै राम्रो आम्दानी भने गरिसकेको छ । ‘रकेटम्यान’ लाई संगीतकर्मीको जीवनमा आधारित फिल्ममध्ये उत्कृष्ट १० मा समेत समावेश गर्ने काम भइसकेको छ र यसले आउने केही दिनमा अझ कमाउने आशा पनि गरिएको छ । ‘बोहेमन रापसोडी’ भन्दा केही फरक पनि छ, ‘रकेटम्यान’ । यसमा सबैभन्दा ठूलो अन्तर हो, यो एल्टन जोन जीवित छँदै रिलिज भएको छ । त्यसमाथि एल्टन जोनले सक्रिय संगीतकर्मीको जीवनबाट लगभग संन्यास जस्तै लिने सोचमा पुगिसकेका छन् र उनले घोषणा नै गरिसकेका छन्, अबको टुर अन्तिम हुनेछ भनेर । अब उनी बिदा लिँदैछन् । उनले टुरमै ५० वर्ष बिताइसके । यौनबारे उनका विचारका पनि उत्तिकै चर्चित छन् । खासमा उनी ‘सेम सेक्स म्यारिज’ का समर्थक हुन् । उनी आफ्ना पार्टनरलाई ‘हजब्यान्ड’ नै भन्न रुचाउँछन्, पार्टनर होइन । उनको यही जीवनको केही न केही झल्को ‘रकेटम्यान’ मा पाइन्छ ।
–हिमेश

प्रकाशित : जेष्ठ ३१, २०७६ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?