कमाइका सात सूत्र

सुशील पौडेल

फिल्म कहिल्यै कुनै अवार्डमा उत्कृष्ट नहुने, व्यक्तिगत रुपमा पनि कहिल्यै उत्कृष्ट अभिनेताको अवार्ड नपाउने, समीक्षकले कहिल्यै तारिफ नगर्ने, नाच्न र अभिनयमा खासै अब्बल नभएका सलमान खान बक्सअफिसमा कसरी ॅकिङ मेकर’ बनिरहेका छन् ? के तत्वले उनलाई लोकप्रिय अभिनेता बनाएको छ ? कोही किन उनका जबरजस्त फ्यान बन्न तयार छन् ? सलमान सबैका लागि रहस्यमयी र शक्तिशाली सुपरस्टार हुन्  । उनको फिल्मी कमाइ सूत्रबारे सुशील पौडेल लेख्छन् :

सलमान खान नाच्न खासै जान्दैनन् । अभिनय त उनको कामचलाउ मात्रै हो । नत्र ३० वर्षको फिल्मी करिअरमा पहिलो फिल्म ‘मैंने प्यार किया’ बाट डेब्यु हिरोको फिल्मफेयर जितेका उनले त्यसपछि अभिनेताका रुपमा कुनै पनि अवार्ड जितेका छैनन् । भारतीय समीक्षक मयंक शेखरले त एकपटक कटाक्ष गर्दै भनिदिए, ‘सलमानका फिल्मको समीक्षा गर्नु र अन्डरवेयरमा आइरन लगाउनु उस्तै हो । दुवै बेकाम ।’


सलमानका फिल्मको बक्सअफिस रिपोर्ट भने माथिका तर्कसँग कुनै तारतम्य राख्दैनन् । कम्तीमा भारु. एक करोड कमाउने ‘करोड क्लब’ प्रवेश अन्य कलाकारका लागि ठूलो उपलब्धि हुने गर्छ, तर उनको दौड करोड कटेपछि मात्र सुरू हुन्छ । फोर्ब्सले गत वर्ष निकालेको विश्वका ‘सर्वाधिक पारिश्रमिक पाउने सेलेब्रिटी’ मा सलमान ३ करोड ७७ लाख डलर कमाइसहित भारतका पहिलो र विश्वको ८२ औं स्थानमा अटाएका थिए । सर्वाधिक कमाइ गर्ने भारतीय फिल्ममा आमिरको ‘दंगल’ र प्रभासको ‘बाहुबली २’ पछि उनकै फिल्म ‘बजरंगी भाइजान’ पर्छ ।


सन् १९८९ को डेब्यु फिल्म ‘मैंने प्यार किया’ बाटै उक्त वर्षको सर्वाधिक कमाइ गर्ने फिल्म दिन सफल सलमानका त्यसपछि साजन (१९९१), हम आपके है कौन (१९९४), हम साथ साथ हैं (१९९९), नो इन्ट्री (२००५), दबंग (२०१०), बडिगार्ड (२०११), एक था टाइगर (२०१२), बजरंगी भाइजान (२०१५) र टाइगर जिन्दा है (२०१७) का घरेलु बक्सअफिसमा त्यस वर्षका सर्वाधिक कमाइ गर्ने फिल्म बने । सर्वकालीन चर्चित दस फिल्मको सूचीमा सलमानका तीन फिल्म पर्नुले उनको बक्सअफिस शक्तिलाई झल्काउँछ । यतिबेला उनकै फिल्म ‘भारत’ ले पाँच दिनमै भारु. डेढ सय करोड संकलन गरिसकेको छ । उनको फिल्मको कमाइका कारण :

व्यक्तित्व
५३ वर्षीय सलमानको व्यक्तित्व उँचो छ । पटकथाकार सलिम खानका छोरा सलमान फिल्ममा मात्रै अभिनेताको भूमिका खेल्दैनन्, बरु सामाजिक रूपमा पनि आफूलाई नायक साबित गर्ने काममा लागिपर्छन् । विइङ ह्युमन फाउन्डेसनमार्फत गरिब तथा बालबच्चाका लागि सहयोगी बन्दै आएका उनी बलिउडमा धेरैका गडफादरसमेत हुन् । प्रायः कालो पहिरनमा हिंड्न रुचाउने सलमान सुगठित शरीरका कारण पनि लोकप्रिय छन् । आफू कपडा लगाउँदा भन्दा ‘टपलेस’ मा बढी सहज अनुभव गर्ने बताउने उनले फिल्म ‘प्यार किया तो डरना क्या’ को गीत ‘ओ ओ जाने जाना’ मा पहिलो पटक टपलेस भई देखिएका थिए । उनको उक्त अवतारलाई यति रुचाइयो कि त्यसपछि सलमानले हरेकजसो फिल्ममा बडी देखाउने बहाना पाए ।


सलमान अभिनयका अलावा चित्रकला, गायन र खाना पकाउनमा विशेष रुचि राख्छन् । सलमानको डान्सको सिग्नेचर स्टेप उनकै पूर्वप्रेमिका संगीता बिजलानीले सिकाएकी थिइन् ।सलमान हतपती सेल्फी खिच्न रुचाउँदैनन् । उनीसँग खिचेकै सेल्फी देखाएर एक युवतीले गर्लफ्रेन्ड दाबी गरेर हंगामा गरेकी थिइन् भने अर्का एक युवकले आफू सलमानको कास्टिङ एजेन्ट बताएर दुरुपयोग गरेका थिए ।


बलिउडमा सलमान, शाहरूख र आमिर गरी तीन खानमा को ठूलो भन्ने बहस चर्को छ । फ्यानहरूबीच यसै विषयलाई लिएर दन्तबझान चलिरहन्छ । तर सलमान आफ्ना फ्यानलाई यस्ता बहसमा लागेर समय र ऊर्जा खेर नफाल्न सल्लाह दिन्छन् । उनी आफूलाई सधैं दर्शकको माया भए पुग्ने बताउँछन् । सलमान मोहम्मद रफी, किशोर कुमारलगायतका गीत सुन्न बढी रुचाउँछन् । एकपटक उनले आफ्नो रुचिका गीतमा ‘चुरालिया है’ र ‘मेरे सपनोकी रानी’ भनी उल्लेख मात्र के गरेका थिए, फ्यानले ती गीतलाई एकाएक ट्रेन्डिङमा ल्याइदिए ।

आचरण
सलमान कुनै बेला ‘ब्याड ब्वई’ का रूपमा बढी चिनिन्थे । खासगरी अभिनेत्री ऐश्वर्या रायसँगको उनको प्रेम सम्बन्ध सुमधुर हुन छोडेपछि सलमान आक्रामक बनेका थिए । स्वयं ऐश्वर्याले सलमानविरुद्ध सुरक्षाको कारण देखाउँदै उजुरी दिएकी थिइन् । पछि ऐश जुन युवकसँग नजिक हुन्थिनँ, उसलाई समेत सलमानले तनाव दिन छोड्दैनथे ।
तिनै सलमानपछि युवतीका मामिलामा भलाद्मी निस्किए । यतिसम्म कि उनी फिल्ममा को–एक्टरसँग किस सिनसमेत राख्दैनन् भने नायिकालाई भड्किलो पोसाकमा खेल्न पनि दिँदैनन् । धेरैलाई नायिका बनाएको श्रेय पनि सलमानलाई नै जान्छ । बलिउडमा कसैलाई आपतविपत पर्दा सबैभन्दा पहिले सहयोगी हात सलमानकै हुन्छ । आफ्नो
आचरण एकाएक बदलेका सलमानलाई यही कारण पनि सबैले रुचाउँछन्, डराउँछन् पनि । उनी फिल्मी चरित्रले भन्दा आफ्नै चरित्रका कारण बढी प्रसिद्ध छन् र त उनका फिल्ममा उनलाई मात्रै हेर्न भए पनि फ्यान हलसम्म पुग्ने गर्छन् ।

सहानुभूति
सलमानले लोकप्रियता पाउनुमा उनीप्रतिको सहानुभूति पनि हो । सडक पेटीमा सुतिरहेकाहरूमाथि रक्सी पिएर सवारी चलाई भागेको ‘हिट एन्ड रन’ काण्ड र कालो हरिणको अवैध सिकार गरेको आरोप खेपिरहेकाले उनी सामाजिक रूपमा अलोकप्रिय हुनुपर्ने हो । तर यही मुद्दाका कारण उनले फ्यानबाट सहानुभूति बटुले । उनलाई निर्दोष साबित बनाउनका लागि व्रत बस्नेदेखि धर्ना दिएर दबाब दिने ठूलै पंक्ति छ ।

अविवाहित ह्यान्डसम
सलमानका फ्यान बच्चादेखि वृद्धसम्म छन् । उनका फिल्म ‘बिग स्क्रिन’ देखि ‘सिंगल स्क्रिन’ थिएटरसम्मका दर्शक माझ उत्तिकै लोकप्रिय हुन्छन् । जबरजस्त फ्यान फलोइङ पाएका सलमानलाई खासगरी युवतीहरूले अधिक चाहन्छन् । अहिलेसम्म अविवाहित हुनु र उत्तिकै ह्यान्डसम भइरहनुले पनि युवतीको नजरमा अन्य अभिनेताको तुलनामा सलमान माथि छन् ।

दबंग शैली
सलमान ‘मैनें प्यार किया’ बाट जबरजस्त सफलता पाएर पनि ६ महिना कामविहीन भएका थिए । पछि उनले पछि फर्केर हेर्नुपरेको छैन । कुनै बेला ‘लभर ब्वाई’ को भूमिकामा बढी देखिएका सलमान कमेडी भूमिकामा पनि खेले । तर उनलाई फ्यानले बढी मात्रामा दबंग शैलीमै रुचाए ।
‘दबंग’ र ‘टाइगर’ सिरिजले सलमानका फ्यान ह्वात्तै बढे । यस्ता फिल्ममा अभिनयले भन्दा पनि शक्तिशाली र रिसाह देखिएको रूप बढी चल्ने भएकाले सलमानका लागि उपयुक्त बन्यो । अभिनय नै देखाउनुपर्ने ‘ट्युबलाइट’, ‘वीर’, ‘जय हो’ जस्ता फिल्म खेल्दा उनी चिप्लिएका थिए । उनलाई फ्यानले ‘लार्जर द्यान लाइफ’ चरित्रमा नै हेर्न रुचाउने गर्छन् ।

बिकाउ एक्टर
सलमान त्यस्ता सुपरस्टार हुन्, जसका फिल्मले सुरुमै धुमधडाका व्यापार गरिदिन्छ । पछिल्लो फिल्म ‘भारत’ ले त एकै दिन साढे ४२ करोड भारु कमाइको कीर्तिमान नै राखिदियो । फ्लप भनिएका उनका ‘जय हो’, ‘ट्युबलाइट’ ले पनि सय करोड माथिको व्यापार गरेका थिए । त्यसो त सलमानका फिल्मले रिलिजअघि नै आफ्नो लगानी सुरक्षित गरिसकेका हुन्छन् । पछिल्लो पटक स्याटेलाइट राइट्समा पनि सलमान सबैभन्दा अघि छन् । एक टीभी कम्पनीले उनका चार फिल्मका लागि मात्रै चार करोड भारु तिरेर स्याटेलाइट राइट्स किनेको थियो ।

शाहरूख र आमिरभन्दा अलग
बलिउडमा शाहरूख र आमिरको प्रभाव पनि उत्तिकै छ । खासगरी शाहरूख लभर ब्वाईको भूमिकामा खुबै जम्छन् र त्यस्तै खालका फ्यान कमाएका छन् । आमिर भने उत्कृष्ट फिल्म खेलेर उपल्लो वर्गका दर्शकलाई आफूतर्फ तानिरहेका छन् । यस्तोमा सलमानले बीचको बाटो अपनाएका छन्, ‘मास हिरो’ बनेर ।


सलमान उडन्ते भूमिकामा समेत आफूलाई फिट बनाउँछन्, हिट देखिने चरित्र रोज्छन् र फिल्ममा ताली र सिट्ठी बज्ने इन्ट्री मार्छन् । कतिपय त सलमान र आमिरलाई क्रिकेटर सचिन तेन्दुलकर र वीरेन्द्र सेहवागसँग पनि तुलना गर्छन् । सचिन टेक्निकल्ली ब्याटिङ गर्नेमा चिनिन्छन् भने सेहवाग निडर भई खेल्छन् र विस्फोटक ब्याटिङ गर्छन् । रेकर्ड सचिनको बन्छ तर मनोरञ्जन सेहवागले गराउँछन् । त्यसैले सलमान सेहवाग हुन् भन्ने धेरै छन् । त्यसबाहेक उनी बिग बोसको होस्ट बनेर टीभीमार्फत दर्शकको घरघरसम्म पनि पुगेका छन् । यसले उनको फ्यान सर्कल निकै बढाइदिएको छ ।

सलमानका सर्वाधिक कमाउने दस फिल्म
टाइगर जिन्दा है (२०१७) भारु ३३९.१६ करोड
बजरंगी भाइजान (२०१५) भारु ३२०.३४ करोड
सुल्तान (२०१६) भारु ३००.६७ करोड
किक (२०१४) भारु २३१.६३ करोड
प्रेम रतन धन पायो (२०१५) भारु २१०.१६ करोड
एक था टाइगर (२०१२) भारु १९८.७८ करोड
रेस ३ (२०१८) भारु १६६.४० करोड
दबंग २ (२०१२) भारु १५५ करोड
बडिगार्ड (२०११) भारु १४८.८३ करोड
दबंग (२०१०) भारु १३८.८८ करोड
ट्युबलाइट (२०१७) भारु १२३.८० करोड
रेडी (२०११) भारु ११९.७८ करोड
जय हो (२०१४) भारु ११६ करोड

प्रकाशित : जेष्ठ ३१, २०७६ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्

सधैँ आरोप–प्रत्यारोप

फिल्मकर्मी—समीक्षक
सुशील पौडेल

काठमाडौँ — फिल्म समीक्षाकै कारण बेलाबखत फिल्मकर्मी र समीक्षक/पत्रकारबीच विवाद चल्दै आएको छ । मिडिया हाउसमै आएर पत्रकार थर्काएका घटना पुराना भइसके ।

युट्युबर प्रनेश गाैतम र निर्माता मिलन चाम्स

फिल्म ‘ब्रेकफेल’ को समीक्षा नकारात्मक आएकै कारण उक्त फिल्मकी अभिनेत्री ऋचा घिमिरेले समीक्षक मनोज पण्डितविरुद्ध प्रहरीमा उजुरी नै हालेकी थिइन् । पछि सहमति भएपछि कुरा अघि बढाइएन । प्रायः फिल्मकर्मीमा आलोचना पचाउन सक्ने खुबी देखिँदैन । समीक्षाले विदेशी बजारमा प्रत्यक्ष असर गर्ने भएकाले पनि आलोचनात्मक समीक्षक प्रायः फिल्मकर्मीको आँखी बनिरहेको अवस्था छ । ‘हामी फिल्मकर्मी सर्जक कम, व्यापारी बढी भइरहेका छौं ।’

फिल्मको नाफा र घाटामा बढी ध्यान केन्द्रित भइरहेका बेला पछिल्ला समीक्षाले फिल्मको व्यापारलाई प्रत्यक्ष असर पार्न थालेको छ । यसले गर्दा पनि व्यापारिक मनोवृत्तिका फिल्मकर्मी चट्पटाएका छन्,’ समीक्षक तथा निर्देशक मनोज पण्डित कान्तिपुरसँग भन्छन्, ‘त्यसबाहेक फिल्मकर्मी बढी अहंकारी हुन्छ । उसले आफ्नो सृजनामा शतप्रतिशत मिहिनेत खर्चेको हुन्छ । त्यही सृजनामाथि कसैले औंला ठड्याउँदा उसको अहम्तामा ठेस पुग्छ ।’ उनले व्यापारिक मनोवृत्ति रअहम्ता दुई तत्त्वका कारण फिल्मकर्मी र पत्रकार/समीक्षकबीच प्रायः द्वन्द्व र दूरी बढिरहने गरेको बताए ।

यति बेला द्वन्द्व ‘वीर विक्रम २’ को मिम नेपाल च्यालनमा गरिएको भिडियो समीक्षामा आएर बल्झिएको छ । उक्त पीजी भिडियो रिभ्युप्रति आपत्ति जनाउँदै फिल्मका निर्देशक, निर्माता मिलन चाम्सले दुई हप्ताअघि प्रस्तोता प्रनेश गौतमसहित मिम नेपालका विरुद्धमा अपराध अनुसन्धान महाशाखामा उजुरी हाले, एक करोड रुपैयाँ क्षतिपूर्ति दाबी गर्दै । चाम्सले समीक्षामा प्रयोग गरिएका अश्लील शब्द, हर्कत र रंगभेदी कुराले व्यक्तिगत रूपमा आँच पुर्‍याएको आरोप लगाएका छन् ।

सोही उजुरीका आधारमा प्रहरीले विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाहीका लागि प्रक्रिया अघि बढाएकोमा काठमाडौं जिल्ला अदालतले अभियुक्तलाई अनुसन्धानका लागि हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएपछि गौतम अघिल्लो शुक्रबार नै पक्राउ परेका हुन् । घटनाको चार दिनपछि नेपाली कांग्रेसका नेता गगन थापालेट्वीट गर्दै प्रनेशको पक्राउ दुर्भाग्यपूर्ण र अभिव्यक्ति स्वतन्त्रताको खिलाफ भनी आवाज उठाएपछि घटना यति बेला राष्ट्रिय मुद्दा बनेको छ ।

‘फिल्म समीक्षासँग मेरो आपत्ति हुँदै होइन । रचनात्मक आलोचना गर्न जसले पनि पाउँछ । तर उक्त भिडियोमा व्यक्त गालीगलौज, अपशब्द र रंगभेदी कुरामा असहमति हो,’ निर्देशक चाम्सले कान्तिपुरसँग भने, ‘आफ्नो अधिकारको प्रयोग गरिरहँदा अरूको मानमर्दन गर्ने काम फेरि भविष्यमा नहोस् भनेर सबक सिकाउन मात्रै खोजिएको थियो । तर घटनाले यस्तो रूप लिन्छ भन्ने लागेको थिएन । अझै पनि सहमतिमा नै जान पहल गरिरहेको छु ।’

निर्देशक पण्डित भने समीक्षकका कारण पनि फिल्मकर्मीको अहम्तामा ठेस पुग्ने अर्को तर्क सुनाउँदै भन्छन्, ‘क्षमतावान् र विधा बुझेको समीक्षकले भनेका कुराले एउटा सर्जकलाई दबाब महसुस हुन्छ । तर भर्खर भर्खर फिल्म बुझ्न खोजेको वाक्षेत्रसँग नै सम्बन्धित नभएको व्यक्तिले आफ्नो सृजनामाथि प्रश्न उठाउँदा उसले अपमानबोध पनि गरेको हुन्छ ।’ उनले यो पनि द्वन्द्वको मुख्य कारण हुने जिकिर गर्छन् ।

तर यति बेला प्रनेशको पक्राउ भने विशुद्ध अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर विरोध भएको छ । बिहीबार चलचित्र समीक्षक समाज नेपाल (फिक्सन) ले विज्ञप्ति जारी गर्दै विद्युतीय कारोबार ऐन लगाएर थुनिएका प्रनेश गौतमको तुरुन्त रिहाइको माग गर्दै भनेको छ, ‘चलचित्र समीक्षा गर्ने शैली विविध हुन सक्छन्, गौतमले प्रस्तुत गरेको भिडियो ‘एर्ब्सडिस्ट ह्युमर’ शैलीमा बनाइएको कमेडी भिडियोमा पर्ने देखिन्छ । अभिव्यक्ति स्वतन्त्रता पत्रकार, समीक्षक वा हास्य कलाकारको मात्रै नभई चलचित्रकर्मी र सबै विचार बोक्ने व्यक्तिहरूको स्वतन्त्रता हो ।’ समाजले अभिव्यक्ति स्वतन्त्रता र आलोचनात्मक चेतमाथि कुनै पनि बहानामा हुने प्रहार र दमित बनाउने प्रयास स्वीकार्य नहुने जिकिर गरेको छ । साथै, फिक्सनले मिम नेपालको भिडियोमा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दा कुनै जाति, धर्म, वर्ण, लिंग, पहिरन तथा शारीरिक बनोटमाथि नकारात्मक टिप्पणीसमेत भएको पाइएको बताउँदै यस्ता कामको पनि समर्थन नगर्नेजनाएको छ ।

त्यसैगरी, बुधबार चलचित्र क्षेत्रसम्बद्ध नौ संघसंस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै मिम नेपाल च्यानलबाट सम्प्रेषित वीर विक्रम २ को विषयवस्तु र कलाकारहरूको विषयमा गरिएको टीकाटिप्पणी र अभिव्यक्तिबाट र यसले उत्पन्न गराएको परिस्थितिले समग्र चलचित्र क्षेत्रमा पर्न सक्ने असर र प्रभावले गम्भीर बनाएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘स्वदेशी चलचित्र उपर कुदृष्टि, वैरभाव एवं पूर्वाग्रही भई पत्रकारिताको धर्म, मर्म, मूल्यमान्यता र नैतिक धरातललाई बिर्सेर ‘वीर विक्रम २’ माथि भएको/गरिएको कार्यको घोर भर्त्सना गर्दछ ।’ विज्ञप्तिमा चलचित्र निर्माता संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ, चलचित्र पत्रकार संघ नेपाल, नेपाल चलचित्र द्वन्द्व संघ, नेपाल चलचित्र नृत्यकार संघ र आदिवासी जनजाति चलचित्र महासंघ नेतृत्वको हस्ताक्षर रहेको छ ।

प्रकाशित : जेष्ठ ३१, २०७६ १०:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्