कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

क्ले कोर्टका राजा

स्पेनिस सुपरस्टार राफेल नाडालले चार ग्रान्डस्लाममध्येको एक फ्रेन्च ओपनको उपाधि कीर्तिमानी १२ पल्ट जितेर इतिहास कायम राख्दा टेनिस वृत्तमा यसलाई अजेय कीर्तिमान भन्न थालिएको छ  ।

क्ले कोर्टका राजा

केहीले त २ सय वर्षसम्म चर्चा भइराख्ने इतिहास बनेको पनि भनेका छन् । हुन पनि एकै प्रतियोगिता त्यो पनि ग्रान्डस्लाम, दर्जन पटक जित्नु चानचुने कुरा होइन ।


रोल्यान्ड ग्यारोसमा नडालले १२ औंपल्ट उपाधि अस्ट्रियाका डोमिनिक थिमलाई फाइनलमा हराएर जितेका थिए । उनले गत वर्ष उपाधि जित्दा पनि उनै थिमलाई प्रतिद्वन्द्वी पाएका थिए । सर्वाधिक २० ग्रान्डस्लाम जित्ने स्वीस रोजर फेडेररको कीर्तिमानबाट उनी २ उपाधिमात्र टाढा छन् । उनी यो पुस्ताका अर्का उत्कृष्ट खेलाडी सर्वियन नोभाक जोकोभिचभन्दा तीन उपाधिले अगाडि छन् । फ्रेन्च ओपनमा नाडालले अहिलेसम्म ९३ खेल जित्दा दुईपल्ट मात्र हार बेहोरे र यो सफलता पनि कीर्तिमान नै हो ।


पछिल्लो क्ले कोटर्काको सफलताले नाडाललाई करिअरमा ८२ औं उपाधि दिलायो । त्यसमध्ये ५९ उपाधि क्ले कोर्टमा जितेका हुन् । ग्रीष्मकालीन ओलम्पिकमा स्वर्णपदक जितेका उनले आफ्नो प्रो करिअरमा ९५० खेल जितेका छन् । उनी आधुनिक टेनिसका सर्वकालीन महान् खेलाडी हुन् । ३३ वर्षीय उनी फेडेररभन्दा ५ वर्ष कान्छा हुन् । उनले सर्वाधिक सफल खेलाडीमा फेडेररको कीर्तिमान तोड्ने लक्ष्यमा आफू कहिल्यै नभएको बताएका छन् । चोट सताएको करिअरमा ठूलो सपना पाल्नु ब्यर्थ हो भन्ने उनको बुझाइ छ ।


‘स्वास्थ्यलाई लिएर म निकै निराश भएको थिएँ, घुँडाको चोटले शारीरिक पीडा त छँदै थियो, अस्ट्रेलियन ओपन गुमाउनुपर्दा र खास गरी इन्डियन्स वेल्सबाट बाहिरिँदा म मानसिक रूपमा पनि विक्षिप्त थिएँ,’ उनले भनेका थिए । चोटले बारम्बार नसताएको भए उनले योभन्दा बढी छलाङ मारेको हुन सक्थ्यो । तर उनको सफलताले चोटलाई विरलै सम्झाइदिन्छ । किनभने उनले आफूलाई महानतम खेलाडीका रूपमा सिद्ध गरिसकेका छन् । स्वास्थ्यले साथ दिएमा थप केही वर्ष उनको सफलता देख्न पाइन्छ ।


राफेल नाडाल
उमेर ः ३३ वर्ष
देश ः स्पेन
विश्व वरीयता (हाल) ः २
शीर्ष वरीयतामा रहेको ः १९६ साता
कुल उपाधि ः ८२
ग्रान्डस्लाम ः १८
फ्रेन्च ओपन ः १२
यूएस ओपन ः ३
विम्बल्डन ओपन ः २
अस्ट्रेलियन ओपन ः १
वार्षिक आम्दानी (हाल) ः ४ करोड १४ लाख अमेरिकी डलर
कुल पुरस्कार ः १० करोड ९५ लाख ३३ हजार डलर

प्रकाशित : जेष्ठ ३१, २०७६ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?