कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

च्याम्पियन सूत्र

इंग्लिस प्रिमियर लिगमा ९७ अंक जोडेर पनि उपविजेतामै सीमित भएको लिभरपुलले इंग्ल्यान्डकै अर्को क्लब टोटेनहमलाई हराएर युरोपेली च्याम्पियन्स लिगको उपाधि जित्यो । गत वर्षको फाइनलमा रियल म्याड्रिडसँग हारेको लिभरपुललाई यसपालि लन्डन क्लबले भने रोक्न सकेन ।
कुशल तिमल्सिना

 
नतिजा अपेक्षित नै थियो, जुन गत शनिबार राति मड्रिडको स्टाडियो मेट्रोपोलिटानोमा देखियो  । प्रिमियर लिग प्रतिस्पर्धी टोटेनहमलाई हराएर लिभरपुलले छैटौंपल्ट युरोपको सबैभन्दा ठूलो क्लब फुटबलको उपाधि जित्यो  ।

च्याम्पियन सूत्र

करिव १५ वर्षको प्रतीक्षापछि हासिल गरेको ट्रफीमार्फत लिभरपुलले प्रिमियर लिगमा ९७ अंक जोडेर पनि उपाधि जित्न नसकेको चोट बिर्सिने प्रयास गर्‍यो ।


युरोपियन क्लब फुटबलमा रियल म्याड्रिड र एसी मिलानपछि सबैभन्दा सफल क्लब बन्न लिभरपुलले टोटेनहमलाई २–० ले पराजित गरेको थियो । यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनल दोस्रो लेगमा बार्सिलोनालाई ४–० ले पराजित गरी पहिलो लेगमा बेहोरेको ३–० को नतिजा उल्टाएको लिभरपुलको आक्रमकता र परिस्कृत खेल शैलीले उसलाई च्याम्पियनको हकदार बनाएको थियो । पहिलोपल्ट फाइनल खेलेको टोटेनहम म्याड्रिडमा पूरा समय लिभरपुलका लागि खतरा बनेको विरलै देखियो । मजबुत रक्षापंक्ति र सन्तुलित अग्रपंक्ति नै वास्तवमा लिभरपुलको जितको कारक हो ।


अघिल्लो सिजनमा रियल म्याड्रिडसँग पराजित भएपछि उपाधि विमुख बनेका लिभरपुलका खेलाडी मात्र होइन, समर्थक पनि प्रतिष्ठित ट्रफीका लागि कति भोको रहेछन् भनेर उपाधि जितेर फर्केपछि ट्रफी परेडमा स्वस्फूर्त सडकमा उत्रिएका सात लाख ५० हजार बढी दर्शकको उपस्थितिले नै धेरै बताउँछ । लिभरपुल छैटौंपल्ट युरोपेली च्याम्पियन हुनुका मुख्य चार कारण :

परिस्कृत खेल शैली
ठीक एक वर्ष अगाडि किभको ओलम्पिक रंगशालामा क्रिस्टियानो रोनाल्डो प्रेरित रियल म्याड्रिडले युरोपेली च्याम्पियनसिपमा ह्याट्रिक गर्दा बेहोरेको ३–१ को हार लिभरपुल र उसका समर्थकले सायदै बिर्सेलान् । जर्मन गोलरक्षक लोरिस कारियसको प्रदर्शन त लिभरपुलका समर्थक सुन्न पनि चाहँदैनन् । त्यही हारको पीडाबाट उठेर प्रशिक्षक यर्गेन क्लोपले प्रिमियर लिग आगमनको चौथो वर्षमा लिभरपुललाई च्याम्पियन बनाए ।
प्रिमियर लिगमा ९७ अंक जोडेर पनि उसलाई म्यानचेस्टर सिटीले लिगको उपाधि चुम्न दिएन । एक अंक बढी जोडेर सिटीले उपाधि रक्षा गर्दाको यात्रामा सिटीलाई लिभरपुलले पनि पराजित गरेको थियो । लिगमा एउटामात्र खेलमा पराजित भएको लिभरपुलले च्याम्पियन्स लिग फाइनलसम्मको यात्रामा पूर्वच्याम्पियन बायर्न म्युनिखलाई अन्तिम १६ मा पराजित गरेको थियो । क्वाटरफाइनलमा पोर्टो र सेमिफाइनलमा बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिग इतिहासकै उत्कृष्ट पुनरागमन गर्‍यो ।

क्लोपको शक्ति
सन् २०१५ को जनवरीमा लिभरपुलको व्यवस्थापक नियुक्त भएलगत्तै जर्मन ‘रणनीतिकार’ क्लोपले लिभरपुललाई चार वर्षभित्र कम्तीमा एउटा ट्रफी दिलाउने वाचा गरेका थिए । सम्झौताको अन्तिम वर्षसम्म आउँदा आफ्नो वाचा पूरा गर्न उनलाई यही एउटा ट्रफी बाँकी थियो ।
क्लबेपले सम्हलोयता लिभरपुलले यसअघि एफए कप, लिग कप र च्याम्पियन्स लिगको फाइनलमा असफलता बेहोरिसकेको थियो । टिमले उपाधि नजिते पनि उनी विश्व फुटबलका उत्कृष्ट प्रशिक्षकमा पर्छन् । उत्कृष्ट प्रशिक्षकको मापन ट्रफीबाट मात्र हुँदैन भन्ने उक्ति नै छ । लिभरपुलको पुरानो विरासत फर्काउने ऊर्जा प्रदान गर्ने यी प्रशिक्षकका लागि च्याम्पियन्स लिगको उपाधि सपना साकार जस्तै बन्यो । लिभरपुलको सफलतामा सबैभन्दा ठूलो भूमिका क्लोपको हुनुका पछाडि खेलाडीप्रति उनको विश्वास नै हो जुन उनले बारम्बार भन्ने गर्छन् ।



बलियो रक्षापंक्ति
यस सिजन लिभरपुलको समग्र प्रदर्शनबारे सबैभन्दा सकारात्मक पक्ष भनेको उसको रक्षापंक्ति नै हो । प्रोफेसनल फुटबल एसोसिएसन (पीएफए) प्लेयर अफ द इयर भिर्निन भान डाइकको नेतृत्वमा रहेको लिभरपुलले यस सिजन २७ खेल (प्रिमियर लिग २१, च्याम्पियन्स लिग ६) मा गोल नै नखाई युरोपकै उत्कृष्ट रक्षापंक्ति भएको सावित गर्‍यो ।भान डाइकका साथमा सेन्टर ब्याक अलेक्जान्दर आर्नोल्ड र एन्ड्रयु रोबर्टसन तथा आवश्यक समयमा टिमका लागि खम्बा बन्न सक्ने क्षमताका डेजान लोभरेन, जोय गोमेज र जोयल माटिभले सिजनभरि नै आफ्नो प्रभाव देखाए । डिफेन्सिभ मिडफिल्डर जोर्डन हेन्डरसन र फाविन्होको प्रदर्शन पनि लोभलाग्दो रह्यो ।यति हुनुका बाबजुद लिभरपुलको रक्षापंक्तिको सुधारको प्रारूप भने गत सिजनको सुरुमा ब्राजिलियन गोलरक्षक एलिसनको अनुबन्ध नै हो । लिभरपुलले उनलाई रोमाबाट अनुबन्ध गर्न ६ करोड युरो खर्चेको थियो । जुन गोलरक्षकका लागि अकल्पनीय मूल्य हो । एलिसनले अघिल्लो सिजनको च्याम्पियन्स लिग फाइनलमा निकै कमजोर प्रदर्शन गरेका लोरिस कारियसलाई प्रतिस्थापन गरी सबैको मन जित्न सफल भए ।

सालाह र मानेको समन्वय
च्याम्पियन्स लिगमा मोहम्मद सालाहले ५ गोल गरे । फाइनलमा उनले पेनाल्टीमार्फत गोल गरे । त्यो पेनाल्टीको कारक थिए माने । यी अफ्रिकी सुपरस्टारहरूको सन्तुलनले लिभरपुलको खेलको स्तर निकै उकासिएको छ । अग्रपंक्तिमा रोबर्टो फिर्मिनो अर्का महत्त्वपूर्ण सदस्य हुन् ।यस सिजन यी तीन स्टारले लिभरपुलका लागि ६९ गोल गरे । त्यसमा सलाहको २७, मानेको २६ र फिर्मिनोको १६ गोल रह्यो । प्रिमियर लिगमामा सलाह र मानेले २२–२२ गोल गरेका थिए । उनीहरूसँगै २२ गोलसहित आर्सनलका पिएरे एमरिक औवामेयाङ प्रिमियर लिगको सर्वाधिक गोलकर्ता बनेका थिए । बार्सिलोनाविरुद्धको कीर्तिमानी पुनरागमनमा भने जर्जिनियो विज्नाल्डम र डिभोक ओरिगी हिरो भएका थिए । सलाह र फिर्मिनोको अनुपस्थितिमा पनि लिभरपुललाई लियोनल मेसीको टिमविरुद्ध अविश्वसनीय जित दिलाउन विज्नाल्डम र ओरिगीले २–२ गोल गरेका थिए ।

[email protected]

प्रकाशित : जेष्ठ २४, २०७६ ११:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?