कैंचीमा कोमल हात

अमृता अनमोल

 सैलुनमा दाह्री, कपाल कसले काटिदिन्छन् ? धेरैको जवाफ हुन्छ पुरुषले  । बुटवलको सन्दर्भमा भने मेल खान छोडेको छ  ।

यहाँका २ दर्जन युवतीले सैलुनमा पुरुषको दाह्री कपाल मिलाउन थालेका छन् । महिलाका नरम हात पुरुषका अनुहार सिँगार्नसमेत प्रयोगमा आउन थालेका छन् । यसले युवतीको रोजगारीको दायरा फराकिलो भएको छ । आम्दानीसमेत बढाएको छ ।


प्यूठानकी उषा सिंह त्यसमध्येकी हुन् । उनी दुई वर्षयता बुटवलमा बस्छिन् । नील डेभिड्स हेयर सैलुनमा दाह्री, कपाल काट्ने काम गर्छिन् । उनी यति व्यस्त छिन् कि बिहान १० देखि साँझ ८ बजेसम्म फुर्सद हुँदैन । दिनमा ४० जनासम्म ग्राहकलाई सेवा दिन्छिन् । ‘सुरुमा त पुरुषको गालामा हात लैजाँदै नर्भस भएँ । हात कापेजस्तो भयो । मुटु झस्कियो,’ उषाले विगत सुनाइन्, ‘बिस्तारै बानी पर्दै गयो ।’


दुई छोराछोरीकी आमा अहिले काममा परिपक्व बनेकी छिन् । पुरुषको दाह्री, कपाल नकाट्न सल्लाह दिनेले नै अहिले उनको कामको तारिफ गर्न थालेका छन् । उषाको सिको गर्दै तीन युवतीले यस्तै पेसा अँगालेका छन् । पुरुषमात्रै होइन, महिला आए पनि उनले त्यत्तिकै फर्काउँदिनन् । मासिक करिब २५ हजार आम्दानी गर्छिन् । ग्राहकबाट पाउने टिप्स योभन्दा अलग्गै छ । ‘काम सहज छ । तर आम्दानी राम्रो छ,’ उनले सुझाव दिइन्, ‘सैलुनमा पेसा अँगाल्ने महिलाको भविष्य राम्रो छ ।’


उषाले ६ वर्षअघि कपाल काट्ने काम थालेकी थिइन् । सुरुमा महिलाको मात्रै कपाल काटिन् । लाग्यो, पुरुषको पनि दाह्री, कपाल काटिदिन पाए आम्दानी बढ्ने थियो । त्यसपछि यता लागेकी हुन् । उषालाई अहिले महिलाभन्दा पुरुषको कपाल काट्न आनन्द आउँछ । कारण हो पुरुषको धेरै डिजाइन हुँदैन । डिजाइन पनि तुलनात्मक रूपमा सहज हुन्छ । टिप्स पनि पुरुषबाट धेरै पाइन्छ । सीप सिकेपछि तीन वर्ष दुबईमा कपाल काटिन् । महिला–पुरुष दुवैको चित्त बुझाइन् । त्यसपछि फर्केर बुटवलमै बस्न थालेकी हुन् ।


नेपालगन्जकी सुजिता गुरुङ पुरुषको अनुहार सिँगार्ने काम गर्छिन् । तीन वर्ष दुबईमा काम गरेकी उनी पनि अहिले बुटवल फर्केकी छिन् । दाह्री मिलाउने र आँखीभौं मिलाउने सामान्य काम हो । यसबाहेक उनले अनुहार र छाला हेरेर त्यसमा चमक ल्याउने र सिँगार्ने काम गर्छिन् । अहिलेसम्म एक सय बढी दुलाहा सिँगारेकी छिन् । ‘केटा मान्छेको छाला कडा हुन्छ । अलि धेरै मेहनत लाग्छ । कतिबेला त असिनपसिन नै भइन्छ,’ सुजिताले भनिन्, ‘तर पनि काम गरेकै छौं ।’


सेवा दिँदै गर्दा कतिपय पुरुषले मेहनत बुझेर छुट्टै टिप्स दिन्छन् । यस्तोमा सुजितालाई थप हौसला जाग्छ । एकपटक आएका ग्राहक निरन्तर आइरहन्छन् । कतिपय ग्राहकले आफैं अर्को ग्राहक खोजिदिन्छन् । यसो गर्दा उनलाई रमाइलो लाग्छ । ‘फेसियल गर्न थालेपछि महिला हुन् कि पुरुष, वास्ता गर्दैनौं । ग्राहक भगवान् हुन्, हामी यत्ति बुझ्छौं र सेवा दिन्छौं,’ सुजिताले भनिन्, ‘सुरु–सुरुमा तन्नेरी युवालाई सिँगार्दा अप्ठ्यारो लाग्थ्यो । अहिले सामान्य लाग्छ ।’


रानीबगियाकी सीमा थापा ५ वर्षयता सैलुनमा केमिकल मिलाउने काम गर्छिन् । उनको कपाल रंगाउने, चमक ल्याउने र राम्रो बनाउने काम हो । त्यसमा विभिन्न डिजाइन निकाल्ने उनको जिम्मेवारी छ । कपाल रंगीन बनाउने, चम्किलो, नरम, खुकुलो, सिधा बनाउने उनको काम हो । यो कामका लागि किशोर र युवा उमेरका पुरुष धेरै आउँछन् । कपाल फुलेपछि रंगाउन आउने केही पाका पुरुष पनि छन् ।


‘सुरु–सुरुमा पुरुषलाई सिँगार्दा केही डर लाग्यो । आफन्तले पनि अप्ठ्यारो माने । धेरैले त अरू काम गर्न पनि सुझाव दिए,’ सीमाले भनिन्, ‘तर मैले वास्ता गरिनँ ।’ सीमाले सैलुनमा कपाल रंगाएकै भरमा मासिक करिब २५ हजार कमाउँछिन् । कहिलेकाहीँ फाट्टफुट्ट बाहिरी आम्दानी पनि गर्छिन् । चर्को घाममा निस्कन वा दौडधुप गर्नुपरेको छैन । काम खोज्दै हिँड्न पनि पर्दैन । ‘पढे लेखेकी छु । मानसम्मानका रूपमा हेरिने अरू जागिर पनि पाउँछु,’ सीमाले भनिन्, ‘तैपनि म यही पेसामा सन्तुष्ट छु । फरक पेसा अपनाएकामा खुसी छु ।’


सैलुनमा महिला खटिएपछि नरम हातबाट सैलुनको सेवा लिन आउने ग्राहक बढेका छन् । ग्राहकहरूका नजरमा सैलुनका महिलाहरू सेवाप्रति इमानदार हुन्छन् । सेवामा स्वार्थ राख्दैनन् । ‘सेवा दिएपछि मुसुक्क हाँसेर फेरि आउनुहोला है । हामी कुरिरहन्छौं भन्छन्,’ सैलुनमा सुजिताबाट फेसियल गराइरहेका बुटवल सुक्खानगरका किशोर गौतमले भने, ‘यो वाक्यले फेरि अन्त जानै मन लाग्दैन । निरन्तर यहीं आउँछु ।’


नील डेभिड्स सैलुनका सञ्चालक मोहन ठाकुरले महिलाहरूको इच्छाशक्ति देखेर सैलुनमा अवसर दिएको बताए । पाँच वर्षअघि खुलेको यो सैलुनमा दुई वर्षयता महिलालाई अवसर दिएको थियो । अहिले आठ महिला कार्यरत छन् । त्यसमध्येका ४ जना यहीं थप तालिम लिँदै, काम गर्दै गरेका महिला हुन् । अहिलेसम्म २० युवतीले पुरुषको दाह्री, कपाल काट्न र सिँगार्न सिकेका छन् । त्यसमध्येका सबैले विभिन्न सैलुनमा काम गरेका छन् । अहिले ८ जनाले सैलुन सिक्दैछन् । ‘सुरु–सुरुमा पुरुषको दाह्री, कपाल काट्न र अनुहार मुसार्न केही अप्ठ्यारो मान्छन् । कोही–कोही त हतोत्साही नै हुन्छन्,’ नील डेभिड्सका सञ्चालक ठाकुरले भने, ‘बिस्तारै बानी पर्दै पुरुषले भन्दा राम्रो गर्छन् ।’ बुटवलमा करिब १ सय सैलुन छन् । यसमा २० युवतीले पुरुषलाई समेत सेवा दिने गरेका छन् ।

प्रकाशित : जेष्ठ २४, २०७६ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्

दुःखीहरूको कथा किन रोएर सुनाउने ?

'बहुसंख्यक दर्शकले सुखद अन्त्य नै खोज्छ भन्दैमा त्यतै दौडिहाल्नुपर्छ भन्ने होइन ।'
सुशील पौडेल

 रिलिजको झन्डै तीन वर्षपछि जात्रा फिल्मको सिक्वेलका रूपमा निर्देशक प्रदीप भट्टराईले जात्रैजात्रा ल्याएका छन्  । प्रदर्शनीको तीन हप्ता पार गर्दा पनि जात्रैजात्रा हेर्न दर्शकको हलमा जात्रा कायमै छ  ।

पछिल्लो समय नेपालमा कमेडी फिल्मले दर्शकको साथ पाइरहेका छन् । जात्रा र शत्रु गते पनि कमेडी जनरामै बनाएका निर्देशक भट्टराईले जात्रैजात्रालाई पनि कमेडीकै स्वादमा तयार पारे । विषयवस्तु गम्भीर हुँदाहुँदै पनि प्रस्तुतीकरण किन कमेडी गर्नुपर्‍यो त ? उनी भन्छन्, हो, ‘जात्रैजात्रा पूरै रोनाधोना बनाएको भए पनि हुन्थ्यो । किनभने दुःखी आत्माहरूको कथा छ । हामीलाई पनि सजिलो हुन्थ्यो होला । तर दुःखीहरूको कथा किन रोएर सुनाउने ? हाँसेर किन नसुनाउने भन्ने लाग्यो ।’ उनले देशमा यसै पनि विभिन्न कारणले दुःखीहरू धेरै भएका बेला कम्तीमा उनीहरू फिल्म हेरेर आफ्नाभन्दा ठूला दुःख अरूका देखेर खुसी होऊन् न भन्ने मनसाय राखेको बताए ।


त्यसो त निर्देशक भट्टराई आफ्नो फिल्मलाई कमेडी मात्रै भन्न रुचाउँदैनन् । फिल्ममा पात्र दुःखमा पर्दा दर्शक हाँस्छन् । तर यसलाई उनी डार्क कमेडी पनि भनिहाल्दैनन् । किन त ? ‘डार्क कमेडी यथार्थपरक नहुन पनि सक्छ । तर जात्रैजात्रामा हावा कमेडीभन्दा पनि तर्कसंगत कमेडी छ,’ उनी यस्ता फिल्म टिम राम्रो भएन भने बिग्रने सम्भावना हुने जोखिम पनि देख्छन् । प्रश्नमाथि प्रश्न गर्ने, तर्क गर्ने, झगडा गर्ने राम्रो टिम भएन भने उब्जेका प्रश्नप्रति जवाफदेही हुने हल खोज्न गाह्रो हुने भट्टराईको ठम्याइ रहेछ ।


त्यसैले जात्रैजात्रालाई दर्शकले राम्रो साथ दिइरहेका छन् । अझ परिवार नै हूल बाँधेर आएको देख्दा भने छक्क छन्, निर्देशक । ‘रोनाधोना र पारिवारिक फिल्म नभएकाले पनि परिवार नै हूल बाँधेर फिल्म हेर्न आउनुहोला भन्ने त हामीले सोचेका पनि थिएनौं,’ उनले भने । समीक्षासमेत तारिफयोग्य आएपछि पुलकित भएका भट्टराईलाई जात्राको सिक्वेल बनाउन सहज भने थिएन । मुख्य पात्र जेल गएका थिए । दुई करोड ८० लाख रुपैयाँको हिसाब देखिएको थिएन । यी यावत् कुराको उत्तरमा केही नयाँ कथा मिसाउनु साँच्चै गाह्रो काम थियो ।


‘यति धेरै आइडियामाथि काम गरियो । डेढ वर्ष जहाँ गए पनि यसैमा दिमाग घोटायौं । सुनको काण्ड र पैसाको मुद्दालाई जोड्न समय लाग्यो,’ निर्देशकले भने, ‘धेरै आइडिया फालिए । पैसा भाग लगाउनुपर्छ भनेर फणीन्द्रले योजना बुनेर सम्पुलाई सबै पैसा दिएर पोइला भगाउन लगाएको थियो । पछि सम्पु साँच्चैको पोइला गइदिन्छे । पैसासँगै पत्नी पनि गुमेपछि फणीन्द्रको जीवन जात्रैजात्रा हुन्थ्यो । यस्ता थुप्रै आइडिया आएका थिए । तर सिक्वेल बनाउन र कमेडीमा तर्क खोज्ने चक्करमा निकै समय लाग्यो ।’ जात्राको सिक्वेलका कारण पनि दर्शकमा यति धेरै अपेक्षा थियो कि उही मेसीले दुई, तीन गोल नहाने राम्रै खेलेन भन्ने परेजस्तो हुन्थ्यो यो टिमलाई पनि ।
दुःखद अन्त्यमा सकिएको जात्राको सिक्वेलले अहिले सुखद अन्त्यसहित बिट मारेको छ । फिल्मप्रतिको दर्शक हेराइ यसको अन्त्यमा पनि निर्भर हुने कुरा अहिले आएर निर्देशक भट्टराईले बुझ्न पाए । भने, ‘फिल्म हेरेर दर्शक खुसी भएरै निस्कन चाहनु हुँदोरहेछ । हिरो, हिरो नै देखिनुपर्छ । जे जस्तो भए पनि राम्रो मान्छेले अन्त्यमा सुख र न्याय पाउनै पर्छ । जात्राको अन्त्यमा मुख्य तीन पात्र जेल जानुपर्दा धेरै दर्शक निराश हुनुभएको थियो । त्यसैले पनि यसपालि दिमागै चलाएर सुखद समापन गरेका हौं ।’


तर दुःखान्त अन्त्य हुनै हुँदैन, दर्शकले रुचाउँदै नरुचाउने भन्ने पनि ठान्दैनन् उनी । ‘पशुपतिप्रसादको त्यही अन्त्य नै दर्शकलाई खुब मनपर्‍यो । जात्राकै पनि कतिपयले रुचाउनुभएको छ । उहाँहरूले जात्रालाई दिमागले हलबाट घरसम्म लग्यो भन्नुहुन्थ्यो । बहुसंख्यक दर्शकले सुखद अन्त्य नै खोज्छ भन्दैमा हामी पनि त्यतै दौडिहाल्नुपर्छ भन्ने होइन ।’पोखरामा जाँदा एक दर्शकले जात्रैजात्रा कमेडी फिल्म नै हैन भनेछन्, प्रदीपलाई । कारणमा ती दर्शकले भनेछन्, ‘पात्र जीवनसँग नजिक छ र उसको दुर्दशामा दर्शकको हाँसो छुट्यो भन्दैमा फिल्म कमेडी हैन । बरु दर्शक कमेडी हुन् ।’ लेखकसमेत रहेका भट्टराईलाई पनि त्यस्तै हो भन्ने लागेको छ । ‘हामीले पनि दर्शकलाई हँसाउनकै लागि भनेर एउटै संवाद पनि थोपरेका थिएनौं । तर्कसंगत कमेडीमा पनि जबर्जस्ती कमेडी गरेको नलागोस् भन्नेमा हामी सचेत थियौं,’ उनको ध्याउन्न दर्शक हाँसुन् भन्ने सधैं रहन्छ । फिल्मका कार्यकारी निर्मातासमेत रहेका जोयश भाइ उर्फ रवीन्द्रसिंह बानियाँले निर्देशकका बारेमा भने, ‘उहाँको खुबी भनेकै गहिरो कुरालाई पनि कमेडीमार्फत दर्शकलाई चखाउने हो । कमेडी दिने तर औषधि हालेर । जात्रैजात्राको पनि आवरणमा मात्रै कमेडी हो । भित्र त पात्रका दुःख नै छन् ।’

sushilpaudel2@gmail.com

प्रकाशित : जेष्ठ २४, २०७६ ११:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्