१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

चर्को गितार

सन् १९६९ को जनवरीमा लेड जेपलिनले आफ्नै नाममा पहिलो एल्बम निकालेको थियो  । त्यसमा पहिलोपल्ट गितारको आवाजलाई चर्को रूपमा बढी महत्त्व दिइएको थियो  । त्यसपछि यो पश्चिमेली संगीतमा सर्वाधिक एल्बम बिक्री भएको ब्यान्ड सावित भयो । यसले ५० वर्ष छोएको छ ।

चर्को गितार

दोहोर्‍याएर भन्नै पर्छ, लेड जेपलिनको ‘स्टेरवे टु हेभन’ सुनेका छैनौ भने के गीत सुनेका छौ र ? निकै शक्तिशाली छ, यो गीत । रक म्युजिकको इतिहासमा यत्तिको बेजोड गीत पाइन्न होला पनि । यसलाई गीत होइन, एन्थम हो भनिन्छ । हाम्रोतिर पनि हेभी मेटल म्युजिक खुबै लोकप्रिय छ । यसको जग सन् सत्तरीको वरिपरि बसेको थियो र यसका लागि सबैभन्दा ठूलो जस यही लेड जेपलिन ब्यान्डलाई दिनुपर्छ । लेड जेपलिनसँगै कुनै न कुनै रूपमा डिप पर्पल र ब्ल्याक साबाथ जोडिन्छ ।


यही तीन ब्यान्डकै कारण हेभी मेटल जन्मिएको मानिन्छ । सायद बढी प्रभाव लेड जेपलिनकै होला । त्यही ‘स्टेरवे टु हेभन’ फेरि सुन्नुपर्छ, त्यसले जसरी सुरुमा बिस्तारै गति लिन्छ र पछि जसरी यो गति बढ्दै जान्छ, भन्न सकिन्छ, सन् १९७१ यो गीत अहिलेका हेभी मेटल म्युजिकको जग हो । ‘काश्मीर’ र ‘होल लोटा लभ’ पनि यस्तै यस्तै छन् । त्यसो त लेड जेपलिनको चर्चा कहिले पनि सकिन्न, यसबारे कति मात्र कुरा गर्ने ? के–के बारे मात्र कुरा गर्ने ?


अहिले तत्काल यसको बढी चर्चा किन भइरहेको छ भने ब्यान्डले आफ्नो ५० वर्ष मनाइरहेको छ । यसै क्रममा ब्यान्डबारे पहिलो आधिकारिक डकुमेन्ट्री फिल्म पनि बन्दै छ र यो ५० वर्ष मनाउन नै हो । के हुन्छ त यसमा ? बास गितारिस्ट जोन पउल जोन्सले भनेका छन्, ‘हामीले अहिलेसम्म हाम्रो आफ्नै कथा हाम्रै मुखले भनेका छैनौं । अब सायद पालो आएको छ । यो डकुमेन्ट्रीले हाम्रो वास्तविक कथा बाहिर ल्याउनेछ ।’


अहिले यो पोस्ट–प्रोडक्सनमा छ र यसलाई लेड जेपलिनका प्रशंसकले मात्र होइन, पश्चिमेली संगीत मन पराउने सबैले व्यग्र प्रतीक्षा गर्नेछन् । यसका निर्देशक हुनेछन्, ब्रिटिस फिल्म मेकर बर्नाड म्याकमहन । उनकै भाषामा यसमा ब्यान्डको पूरा इतिहास भने हुने छैन, बरु ब्यान्ड लोकप्रियताको शिखरमा पुग्यो, त्यसको कारण खोज्ने प्रयास हुनेछ । त्यसको अर्थ यसमा सबैभन्दा बढी चर्चा स्वाभाविक रूपमा त्यही ‘स्टेरवे टु हेभन’ को हुनेछ । यसमा जोन्ससँगै ब्यान्डका फ्रन्टम्यान जिम्मी पेज र रोबर्ट प्लानले आफ्नो कथा भन्ने छन् । खाली ड्रमर जोन बोनहमले मात्र यो काम गर्ने छैनन्, किनभने उनी आफैं ‘हेभन’ पुगिसके भनिन्छ । सन् १९८० मा ३२ वर्षकै उमेरमा उनको निधन भएको थियो र यससँगै लेड जेपलिन आफैं ‘डिसब्यान्ड’ भएको थियो । भलै त्यसयता ब्यान्डका अरू तीन साथी एकै स्थानमा बसेर गीत प्रस्तुत नगरेका पनि होइनन् । वास्तवमै त्यसपछि लेड जेपलिन सदाका लागि रहेनन् । बोनहमको निधन भएको पनि धेरै वर्ष भइसकेको छ, तर पनि ब्यान्डको चर्चा अझै उत्तिकै छ । यसले पनि देखाउँछ, वास्तवमै लेड जेपलिन कति धेरै लोकप्रिय छ भनेर । सन् १९६९ को जनवरीमा लेड जेपलिनले आफ्नै नाममा पहिलो एल्बम निकालेको थियो । त्यसमा पहिलो पल्ट गितारको आवाजलाई चर्को रूपमा बढी महत्त्व दिइएको थियो । त्यसपछि त इतिहास नै बन्यो र ब्यान्ड पूरा पश्चिमेली संगीतमा सर्वाधिक एल्बम बिक्री भएको ब्यान्ड सावित भयो ।


उनीहरूले हेभिमेटलको जग त बसाले, उनीहरू आफैं भने ब्लुज र पश्चिमेली लोकगीतबाट धेरै प्रभावित थिए । ब्यान्ड सक्रिय रहेको ११ वर्षमा कुल ८ एल्बम जारी भए, सबै एकसेएक रहे । यी एल्बम २० करोड प्रतिभन्दा बढी बिकिसकेका छन् । सुरुमा क्रिटिक्सले लेड जेपलिनको आलोचना नै गरे, सायद उनीहरू आफ्नो समयभन्दा अगाडि थिए, त्यसैले ती क्रिटिक्सले ब्यान्डलाई बुझ्नै सकेनन् । पछि तिनै क्रिटिक्सले माने, अहिलेको पश्चिमेली संगीतमा लेड जेपलिनको जबरदस्त प्रभाव छ । यो ब्यान्डले जत्तिको नयाँ नयाँ प्रयोग अरू कसैले गर्न सकेन् । सन् १९९५ मै लेड जेपलिनलाई ‘रक एन्ड रोल हल अफ फेम’ मा समावेश गरिएको थियो । त्यही बेला भनिएको थियो, सन् ६० मा बिटल्सले जे काम सुरु गरेको थियो, त्यस्तै काम सन् ७० मा लेड जेपलिनले गर्‍यो । पेजले ब्यान्डका अधिकांश गीतमा संगीत दिए भने प्लान्टले त्यसमा शब्द भरे । पछि जोनको किबोर्डमा आधारित भएर पनि गीत बने र यसलाई खुबै मन पराइयो ।


पछि यो ब्यान्डको वास्तविक परिचय टुरमा बन्यो, जति बेला उनीहरूले एकपछि अर्को टुर लगातार गरिरहे । अधिकांश टुर ‘रेकर्ड ब्रेकिङ’ खालका रहे । अझै ती टुरका क्लिप्सहरू हेर्नुपर्छ, ब्यान्ड सदस्यको जोस र त्यसलाई सुहाउँदो दर्शकको प्रतिक्रिया गज्जब छ । सन् ७० तिर रक ब्यान्डसँग जोडिएको सेक्स, ड्रग्स र रक एन्ड रोलको मन्त्र सुरु गर्नेको श्रेय पनि लेड जेपलिनलाई जान्छ । यसलाई पछि अरू ब्यान्डले पनि पछ्याए भने तिनको प्रशंसक मात्र के कम र ?


उनीहरू पनि यही मन्त्रमा होमिए । यसै कारण लेड जेपलिनको धेरै आलोचना पनि गरिन्छ । एक समय पेज र प्लान्ट कति धेरै उग्र बनेका थिए भने उनीहरूको काम नै बाधा पुर्‍याउने हुन्थ्यो । यसबारे कत्ति धेरै कथा सुन्न पाइन्छ । जस्तो जुन होटलमा बस्यो, त्यसमा रहेको टेलिभिजन झ्यालबाट बाहिर फ्यालेर उधुम मच्चाउने गर्थे । जापानमा पनि यो ब्यान्ड निकै लोकप्रिय थियो र छ, तर उनीहरूले टोकियोका होटलबाट टेलिभिजन बाहिर फ्यालेपछि जापान आउनबाटै प्रतिबन्ध जस्तै लाग्यो र त्यहाँ दोहोर्‍याएर जानै पाएनन् ।


यस्तै एकपल्ट बोनहम मोटरसाइकल चढेर आफू बसेको होटलको कोठासम्म पुगेछन् । त्यति बेला त्यहाँ कस्तो स्थिति बन्यो होला, अनुमान मात्र गर्न सकिन्छ । वास्तवमै यी सबै पुराना कुरा भए, अहिले सम्झनुपर्ने भनेको त तिनै गीत र एल्बम नै हुन् । लेड जेपलिन ब्यान्ड बन्नुमा सबैभन्दा ठूलो हात गितारिस्ट पेजको रहेको मानिन्छ । सुरुमा उनको एउटा ब्यान्ड थियो– यार्डबर्डस । यो ब्यान्डले केही समय लन्डनका क्लबमा बजाउने काम गर्‍यो ।


प्लान्टको पनि आफ्नै अलग ब्यान्ड थियो, ‘ब्यान्ड अफ जोय’ नामको । पेजले सुरुदेखि नै जोन्सलाई चिन्थे । प्लान्ट
आफ्नो ब्यान्डका गायकसँग खुसी थिएनन्, त्यसैले जोन्सको सल्लाहमा एउटा बैठक डाके, जसमा पेजलाई बोलाइयो । पछि त्यसमा बोनहम पनि थपिए । सन् १९६८ को घटना हो यो । त्यो यस्तो बैठक थियो, जसले लेड जेपलिनलाई जन्म दियो नै र यसले त्यसपछि पूरा पश्चिमेली संगीतमै ठूलो परिवर्तन ल्यायो । लेड जेपलिन हुन्न थियो त, पश्चिमेली सगीत अहिलेको स्थितिमा हुने थिएन ।

हिमेशरत्न बज्राचार्य
twitter : @himeshratna

प्रकाशित : जेष्ठ २४, २०७६ ११:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?