१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

“भारत” कै भर

सलमान खानको नयाँ फिल्म ‘भारत’ले ‘रेस ३’ बाट गुमेको साख फिर्ता ल्याउला ? उनका फ्यानलाई मात्र होइन, पुरा बलिउडलाई छ, चिन्ता र प्रतिक्षा ।
हेलो शुक्रबार

 
बलिउडका तीनै खान सलमान, शाहरुख र आमिरका लागि सुखद रहेन, वर्ष २०१८  । सलमानको ‘रेस ३’ बक्सअफिसमा चुक्यो, आमिरको ‘ठग्स अफ हिन्दोस्तान’  ।

“भारत” कै भर

‘जिरो’ ले शाहरुखको फ्लप शृंखलालाई पूर्णविराम लगाउन सकेन । त्यसैले त भनियो, दुई दशकमा पहिलोपटक तीन खानको साम्राज्य एकैसाथ संकटमा पर्‍यो । आमिर र शाहरुखको अब कुन फिल्म रिलिज हुन्छ, अझ टुंगो छैन । सलमानचाहिँ ‘भारत’ लिएर हाजिर भएका छन् । यो फिल्म इदको अवसरमा आउँदो बुधबार प्रदर्शन हुँदै छ । सवाल स्वाभाविक भइहाल्यो, सलमानको साख जोगिएला त ? यसबीच उनी निर्मित ‘नोटबुक’ र ‘लभयात्री’ पनि फ्लप भएका थिए ।


सलमान आफैं ‘भारत’ लाई लिएर ज्यादै उत्साही छन् । प्रमोसनमा उनको तीव्र सक्रियताले त्यही देखाउँछ । नामैबाट प्रस्ट हुन्छ, ‘भारत’ देशभक्तिको गाथा हो । सलमानका यस्ता फिल्म प्रायः हिट भइरहेका छन् । ‘टाइगर जिन्दा है’ पछिल्लो उदाहरण हो । अर्को सुखद संयोगचाहिँ, ‘टाइगर जिन्दा है’ र ‘भारत’ का निर्देशक एकै हुन्, अलि अब्बास जाफर । अब्बास र सलमानको यो तेस्रो सहकार्य हो । ‘सुल्तान’ ब्लकबस्टर भयो । ‘टाइगर जिन्दा है’ ले पनि ५ करोडभन्दा बढी कलेक्सन गरेर रेकर्ड राख्यो । दुवै फिल्मले सकारात्मक प्रतिक्रिया पाए । कोरियन मेलोड्रामा ‘ओड् टु माई फादर’ मा आधारित छ, ‘भारत’ । यसको कथा अब्बासले नै लेखेका हुन् । ब्रिटिस उपनिवेशपछिको घटनाक्रमलाई केन्द्रमा राखिएको छ । जसका लागि अब्बासले स्वतन्त्र हुँदा ८ वर्ष भएको एउटा किशोरलाई मुख्य पात्रका रूपमा उभ्याएका छन् । त्यही किशोर ७० वर्ष हुँदासम्मको यात्रा समेटिएको छ । भन्नुपरेन, यो शीर्ष भूमिका सलमान खानको हो । ट्रेलरमै सलमानलाई झन्डै आधा दर्जन भिन्न रूपमा देख्न पाइन्छ । फिल्म बहुप्रतीक्षित बन्नुको कारण यो पनि हो । सलमान आफैंले फिल्मको कथा र पात्रसँग आफू निकै नजिक रहेको अभिव्यक्ति दिएका छन् ।


सलमानको अपोजिटमा छिन्, कट्रिना कैफ । तर यस फिल्मका लागि कट्रिना पहिलो रोजाइ भने होइन । यो भूमिकामा प्रियंका चोपरा अनुबन्ध भइसकेकी थिइन् । अमेरिकाबाट स्वदेश फर्केर फिल्मको तयारीमा जुटिन् पनि । तर सुटिङको केही दिन एकाएक प्रियंकाले हात झिकिन् । उनले विवाहको तयारीका लागि समय चाहिएकाले भारत छोड्नुपरेको स्पष्टीकरण दिएकी थिइन् । त्यसको केही समयपछि निक जोनासकी दुलही बनिन् पनि । तर भारतलाई ‘बाईबाई’ गर्नुको खास कारण अर्कै थियो, क्रिस प्र्रेटसँग हलिउड फिल्म खेल्ने मौका जुरेपछि उनले सलमानको साथ छोडेकी थिइन् । उनको यो निर्णयले सलमान क्रुद्ध हुने भइहाले । तैपनि सुरुसुरुमा यत्ति भने, ‘इट्स ओके ।’ जब हलिउड फिल्मका लागि भारतबाट बाहिरिएको खबर कन्फर्म भयो । सलमानले आक्रोश पोखे, घुमाउरो पाराले । उनको भनाइ थियो, ‘यदि प्रियंका सलमान खानसँग काम गर्न चाहन्नन् भने ठीकै छ । उनी हलिउडको ठूलो हिरोसँग काम गर्दैछिन् नि त ।’


प्रियंकाले ‘भारत’ युनिटलाई ‘धोका’ दिएपछि बलिउडमा उनको आलोचना भएको थियो । कारण, फिल्म युनिटले विवाहलाई बाधा नपर्ने गरी सुटिङ सार्ने प्रस्ताव गर्दा पनि ‘विवाहका लागि कति समय चाहिने टुंगो नभएको’ भन्दै प्रियंका तर्किएकी थिइन् । त्यही बेला पूर्वप्रेमिका कट्रिनालाई साइन गराएका थिए सलमानले । यो जोडीबाहेक पनि फिल्ममा ज्याकी श्राफ, तबु, दिशा पटानी, सुनील ग्रोभरलगायतका कलाकारको अभिनय छ । यसको बजेट एक सय करोड भारु पुगेको छ । लोकसभामा बीजेपीको सानदार जितले फेरि प्रमाणित भएको छ, भारतमा राष्ट्रवाद खुब बिक्छ । सिनेमाको हकमा पनि यही हो । देशभक्तिपूर्ण भूमिकाबाट सलमान स्वयंले धेरैपटक वाहवाही बटुलिकेका छन् । करिअर संकटमा रहेको यो समयमा आएको बेला ‘भारत’ ले त्यस्तै सफलताको स्वाद चखाउला ?

[email protected]
(एजेन्सीको सहयोगमा)

प्रकाशित : जेष्ठ १७, २०७६ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?