१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

स्प्रिङस्टिनको चमत्कार

हिमेश

 
ब्रुस स्प्रिङस्टिनले भर्खरै आफ्ना दुई नयाँ गीत रिलिज गरेका छन् र यो संकेत हो, उनको नयाँ एल्बमको  । केही समययता उनी लगभग सक्रिय नभएको स्थिति थियो  ।

स्प्रिङस्टिनको चमत्कार

कारण ? उनकै शब्दमा केही नयाँ गर्ने जोस भइरहेको थिएन । तर अहिले यस्तो रहेन । भर्खर उनले रिलिज गरेको गीत हो, ‘दियर गोज माइ मिराकल’ । त्यसो भनेको स्प्रिङस्टिन अल्छी हुन छाडेका हुन् र त्यसकै परिणाम हो, स्प्रिङस्टिनको यो चमत्कार । अर्थात् मिराकल ।


यसअघि उनले अर्को एउटा गीत पनि रिलिज गरेका थिए– हेलो सनसाइन । खासमा स्प्रिङस्टिनको नयाँ एल्बम पूर्णतः तयार छ र यसको नाम रहेको छ, ‘वेस्टर्न स्टार्स’ । केही दिनमै यो बजारमा आउने छ । यहाँनिर एउटा उल्लेखनीय पक्ष के छ भने स्प्रिङस्टिन सन् साठी र सत्तरीतिर अमेरिकाको क्यालिफोर्नियातिर सुनिने खास प्रकारको पप गीतबाट खुबै प्रभावित थिए । उनले त्यस्तोखाले संगीतप्रतिको प्रेमलाई कहिल्यै लुकाएका पनि छैनन् ।


अहिलको नयाँ एल्बम त्यसैबाट प्रभावित छ । कम्तीमा अहिले रिलिज भएका दुई गीतले यही देखाउँछ । सन् २०१२ कम उनको अन्तिम एल्बम निस्केको थियो, ‘रेकिङ बल’ को नामले । त्यो एल्बम र अहिलेको एल्बमबीच जुन समयको अन्तर छ, त्यसले स्प्रिङस्टिनलाई उनको प्रकारको संगीतमा केही परिवर्तन ल्याउन मद्दत गरेको छ । त्यसैले अबका एल्बम यसअघिका एल्बमभन्दा केही फरक छन् । फेरि भन्नुपर्छ, कम्तीमा अहिले सुन्न पाइएका दुई गीतले यही देखाउँछ ।


यो एल्बममा पनि उनलाई सहयोग गर्ने भनेको ई–स्ट्रिट ब्यान्डले नै हो । पूरा ब्यान्ड नभनौं, यसका प्रमुख सदस्य भन्दा ठीक हुन्छ । नयाँ एल्बम निस्कने भएपछि स्प्रिङस्टिनका प्रशंसकले टुरको पनि अपेक्षा त राख्ने नै भए । खासमा यसबारे यी अमेरिकी गायकले अहिलेसम्म केही बोलेका भने छैनन् । लाग्छ, उनले यसपल्ट टुरका लागि खासै रुचि लिइरहेका छैनन् । बरु स्प्रिङस्टिन अहिले तत्काल भने एकातर्फ एल्बम रिलिजको दिन पर्खाइमा छन् ।


अर्कोतर्फ उनी अर्को एल्बमको तयारीमा छन् र यो हुनेछ, उनको व्यक्तिगत नभएर ब्यान्डको । खासमा भन्ने हो भने स्प्रिङस्टिनले ई–स्ट्रिट ब्यान्डलाई अन्याय नै गरेको हो कि जस्तो अनुभव हुन्छ, कहिलेकाहीं । ‘रक एन्ड रोल हल अफ फेम’ मा परिसकेको यो ब्यान्डको परिचय नै साँघुरो बनाएर प्रायः स्प्रिङस्टिनको ब्याकिङ ब्यान्ड भन्ने गरिन्छ । अझ हाकाहाकी भन्दा स्प्रिङस्टिनले अहिलेसम्म जति यात्रा तय गरेका छन्, त्यसमा यो ब्यान्डको ठूलो भूमिका छ । तर ब्यान्डले जति जस पाउनुपर्ने हो, त्यति भने पाएको छैन । स्प्रिङस्टिन आफैं भने अहिले यही ब्यान्डका लागि उसको नाममा एल्बम तयार गरिरहेका छन् । उनले लगभग सबै गीत पनि लेखिसके । केही दिन अगाडि मात्र उनले अन्तर्वार्तामा भनेका थिए, ‘सात वर्ष भयो, मैले ब्यान्डका लागि कुनै गीत नलेखेको । ब्यान्डका लागि मैले केही पनि गर्न नसकेको स्थिति थियो ।’ त्यसैले उनी ब्यान्डका लागि केही गर्न एकाएक तम्सिए र यसैको कारण उनले एकपछि अर्को गीत पनि लेखे ।


यसलाई पनि स्प्रिङस्टिनको चमत्कार नै भने हुन्छ । यो ब्यान्ड खासमा स्प्रिङस्टिनसँगै बढी टाँसिएर आउने गर्छ । तर यसले बब डिलन, द रोलिङ स्टोन्सदेखि लेडी गागासम्मका लागि काम नगरेको पनि होइन । ब्यान्ड स्प्रिङस्टिन भनेपछि बढी नै भावुक हुने गर्छ, सायद । सन् १९७२ मा बनेको यो ब्यान्डलाई आकार दिने श्रेय भने स्प्रिङस्टिनलाई नै जान्छ । यो तथ्य स्प्रिङस्टिनलाई थाहा छ, ब्यान्डलाई पनि थाहा छ । बान्डको नाममा स्प्रिङस्टिनले बनाउन लागेको एल्बमको कारण पनि यही हो ।

twitter : @himeshratna

प्रकाशित : जेष्ठ १०, २०७६ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?