कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अभिनयमै मस्त

छोटै भूमिकाबाट फिल्ममा आफ्नो अलग पहिचान बनाउन सफल अभिनेत्री हुन्, लक्ष्मी बर्देवा । बुलबुलको टेम्पो चालकको चरित्रबाटै उनले मुख्य भूमिकामै काम गर्ने अन्य कतिपय हिरोइनभन्दा ज्यादा तारिफ पाइन् ।
गोकर्ण गौतम

 
अस्पताल जाँदा डाक्टर बन्न मन लाग्थ्यो, स्कुल जाँदा शिक्षक  । गीत सुन्दा गायक बन्न मन लाग्थ्यो, भाषण सुन्दा नेता  ।

अभिनयमै मस्त

जे देख्यो, त्यही बन्न मन लाग्ने । किशोरावस्थामा लाग्दै गर्दा सबैलाई यस्तै हुन्छ । लक्ष्मी बर्देवाचाहिँ अलि बढी नै अस्थिर थिइन । कम्तीमा उनलाई त्यस्तै लाग्छ । उद्देश्यहरू छिटो–छिटो बदलिन्थे । तर एउटै जीवनमा अनेक व्यक्तित्व निर्माण कसरी सम्भव हुन्छ र ? यस्तै लाग्थ्यो उनलाई । प्लस टु सकेपछि यो बेचैन मनले बाटो पायो । त्यो भनेको, अभिनय । उनी हाँस्दै सुनाउँछिन्, ‘अभिनयलाई पेसा बनाउँदा घरि एकथोक बन्न पाइने, घरि अर्को थोक । एउटै जीवनकालमा अनेक स्वाद चाख्न पाइने ।’ अनि, के चाहियो, लक्ष्मी कम्मर कसेर लागिन्, कलाकार बन्न । के उनका सपनाहरू पूरा भए त ? भन्छिन्, ‘कति पूरा भए, कति बाँकी छन् । संघर्ष जारी छ ।’


लक्ष्मी सन्तुष्टि हुने आधारहरू धेरै छन् । उनी अभिनय संसारमा डुबुल्की मारेको पाँच वर्ष पुग्दैछ । यसबीचमा यावत् चरित्रको अनुभव सँगाल्न पाएकी छन् । जस्तो ः बुलबुल फिल्ममा टेम्पो ड्राइभर बनिन्, घामपानीमा भट्टी साहुनी । हरिमा छुच्ची पत्नी अनि कागजपत्रमा हिंसा पीडित । डमरुको डन्डिबियोमा खेलाडी । त्यस्तै, नाटक जारमा आफूभन्दा धेरै सानो उमेरकी बच्ची बनिन् भने माथा पञ्चरमा ६५ वर्षकी वृद्धा, जसको जीवनमा वियोग र वेदनाबाहेक केही हुन्न । नेता बन्ने चाह पूरा भयो, कथा एक्सप्रेसमा । अर्को नाटक १२ दुर्वशामा चाहिँ वकिलका रूपमा धारण गरिन् । साँच्चै, अलग र गम्भीर प्रकृतिका भूमिकालाई जीवन्त बनाएकी छन् । यसकै फल हो, नेपाली फिल्म र थिएटरका दर्शकमाझ लक्ष्मी प्रिय हुँदै जानु । फिल्ममा सहायक भूमिकाबाटै ‘मार्क’ हुने सामर्थ्य छ उनमा । यात्रा लामो छ । तर यहींसम्म आइपुग्नै पनि चुनौतीका पहाड छिचोलेकी छन् ।


अभिनयले आफ्नो इच्छा पूरा हुन्छ भन्ने हेक्का त भयो तर अभिनय कसरी गर्ने ? लक्ष्मी पूरै अनभिज्ञ थिइन् । काठमाडौंमै जन्मे–हुर्के पनि उनका आफन्त र साथीभाइ कलाकारितासँग जोडिएका थिएनन् । उनीचाहिँ जसरीतसरी अभिनय सिक्न लागिपरिन् । सुरुमा सम्पर्क गरिन्, एक्टर्स स्टुडियोमा । तर त्यहाँ एउटा सेसन भर्खर सकिएको रहेछ, नयाँ सेसन सुरु हुन समय लाग्ने भयो । लक्ष्मीलाई थियो हतारो । सोही कारण एक्टर्स स्टुडियोमै जोडिएका आशान्त शर्मालाई तारन्तार फोन गर्न थालिन् । ती दिनहरू सम्झँदै भन्छिन्, ‘मलाई एउटा बाटो समात्नु थियो, अभिनय सिक्न पाएँ भने केही गर्न सक्थें कि भन्ने लाग्थ्यो । त्यही भएर आशान्त सरलाई फोन गरेर हैरान पार्थें ।’ उनको निरन्तरको लगावले हुनुपर्छ, उम्बुकल्यान्डको मुठभेड नाटक निर्देशन गर्ने भएपछि आशान्तले उनलाई सम्पर्क गरे । तर अभिनय गर्न होइन, सिर्फ रिहर्सल हेर्न ।


लक्ष्मीचाहिँ यसमै दंग थिइन् । नाटकका विषयमा कलाकारबीच छलफल भएको, चरित्रलाई निखारेको, एकअर्कालाई साथ दिँदै अभिनयको अभ्यास गरेको नियाल्न थालिन् । आशान्तलाई सहयोग गर्नु उनको अर्को जिम्मेवारी थियो । तर संयोग रिहर्सलकै सिलसिलामा एक कलाकार आउन नसक्ने भए । अब कसले गर्ने त ? त्यो भूमिका पर्‍यो, लक्ष्मीको भागमा । उनी स्टेजसँग डराउँथिन्, आशान्त स्टेजसँग प्रेम गर्न सिकाउँथे । एवं रीतले नाटक खेल्ने भइन् । मानसिक रूपमा एउटै अलग्गै ‘जोन’ मा पुगेको आभास हुन थाल्यो ।


नाटक सकिनै लागेपछि चाहिँ चिन्ता थपिँदै गयो, अब के गर्ने भनेर ? त्यसमाथि उक्त नाटकले अभिनयप्रतिको प्यास अझ बढाएको थियो । मण्डलाको आर्टिस्टिक माहोल छोडेर अन्त जान मन थिएन । त्यहीं स्वयंसेवक बन्न खोजिन् तर मेलोमेसो मिलेन । अनि, उनकै शब्दमा, घरमै थन्किनु पर्‍यो । बडो उकुसमुकुसको समय थियो त्यो । केही समयपछि मण्डलामा अभिनय प्रशिक्षणको आवेदन खुल्यो । तीन महिनाको २० हजार तिर्नुपर्ने । कहाँबाट ल्याउनु ? तर उम्बुकल्यान्डको मुठमेडबाटै लक्ष्मीको अभिनय प्रेमलाई निकालिरहेका मण्डलाका राजन खतिवडाले आधा रकम छात्रवृत्ति दिने कबुल गरे । त्यसैले, घरमा लामो समयमा रापमा पिल्सिनु परेन ।


पहिलो नाटक खेलेपछि लक्ष्मीमा अभिनय गर्न सक्छु, मैले पनि जान्या छु भन्ने आत्मविश्वास पलाएको थियो । जब सुनील पोखरेलसँग सिक्न थालिन्, आत्मविश्वास विलिन हुन थाल्यो । भेउ पाउँदै गइन्, सिक्न धेरै बाँकी रहेछ । उनी मुस्कुराउँछिन्, ‘के–के न जान्या छुजस्तो लाग्या थियो तर जान्नुपर्ने त कत्ति हो, कत्ति बाँकी रहेछ ।’ तर सिक्ने भोक कहिले हराएन, जसले उनलाई परिपक्व बनाउँदै गयो । प्रशिक्षणकै दौरान सुनकेशरी नाटकमा सुनकेशरीकी आमा बन्न पाइन्, यसले आत्मविश्वासलाई धेरथोर पुनः जागृत गर्‍यो ।


यहाँसम्म आइपुग्दा आमाबाहेक घरमा कसैलाई भनेकी थिइनन् । अनामनगरमा जागिर खान थाल्या छु भनेर घरबाट निस्कन्थिन् । बुबालाई नभन्नुको कारण थियो । एउटा भिडियो खेलेकी थिइन्, उत्साही हुँदै बुबालाई देखाइन् । स्याबासीको अपेक्षा थियो तर बुबाको कुनै प्रतिक्रिया आएन । त्यो मौनताको अर्थ बुझिन् । त्यसैले अभिनय गर्न थालेको भन्नै चाहिनन् । भन्छिन्, ‘माथा पञ्चर हेरेपछि चाहिँ बुबाले पनि प्रशंसा गर्नुभयो । उहाँलाई खुब मन परेछ ।’ यसपछि नै हो, लक्ष्मीले भटाभट नाटक खेल्न थालेको । यसरी थिएटरमा चम्कँदै गर्दा हो, रामबाबु गुरुङले अफर गरेको, फिल्म घामपानीका लागि । रामबाबु उक्त फिल्मका निर्माता थिए ।


फिल्ममा पनि लक्ष्मीले मुख्य भूमिका खास पाएकी छैनन् तर सुखद पक्षचाहिँ पर्दामा थोरै समय देखिने चरित्र नै अभिनयकला पस्कन काफी भइदिन्छ उनका लागि । पात्रलाई चिन्ने र आत्मसात् गर्ने क्षमता छ उनीसँग । ‘मलाई मुख्य भूमिकामै काम गर्ने रहर नभएको होइन,’ साहित्य लेखनमा समेत सक्रिय यी अभिनेत्री भन्छिन्, ‘तर लम्बाइ लामो भएको चरित्रमात्र भएर हुन्न । छोटै भए पनि बलियो भूमिका भए पुग्छ । त्यसलाई जीवन्त बनाउन लागिपर्छु ।’ सायद यही कारण हुनुपर्छ, लामो भूमिका नपाएर कुनै दुःख छैन । बुलबुलको टेम्पो चालकको चरित्रबाटै उनले मुख्य भूमिकामै काम गर्ने अन्य कतिपय हिरोइनभन्दा ज्यादा तारिफ पाइन् । आखिर, कलाकारको धर्म पनि पाएको चरित्रलाई जीवन्त बनाउनु न हो ।


फिल्म र नाटकका अलावा लक्ष्मी म्युजिक भिडियोमा पनि बेलामौकामा झुल्किने गर्छिन् । यतिबेला उनले दयाहाङ राईसँग काम गरेको ‘परानै दिन्छु...’ बोलको गीत चर्चामा छ । यस अगाडि कामेश्वर चौरासिया र उनले अभिनय गरेको ‘ल्याइदिउँला तिलहरी...’ पनि रुचाइएको थियो । नाटक निर्देशनका लागि आफूलाई तयार पार्दैछिन् । र, यी हरेक पाइलामा उनलाई साथ दिँदैछन्, उनका पति जीवन भट्टराई । लक्ष्मीले गत माघमा विवाह गरेकी हुन् । जीवन पनि फिल्म र थिएटरमा संघर्षरत अभिनेता हुन् । खुसी हुँदै सुनाइन्, ‘उही कर्ममा क्रियाशीलसँग विवाह गर्दा एउटै गन्तव्यमा पुग्न एउटै बसमा यात्रा गरिरहेजस्तो सुखानुभूति हुँदोरहेछ । एकअर्कालाई साथ दिँदा आत्मविश्वास बढ्दोरहेछ ।’

[email protected]

प्रकाशित : जेष्ठ ३, २०७६ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?