१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

को हाँसिरहेको छ अहिले ?

अँध्यारो र सुनसान क्षणमा एक्लै हुँदा कसैको हाँसो सुनिन्छ भने डर त लाग्छ होला  । अरू बेलाको हाँसोमा खुसी र आनन्द लुकेको हुन्छ  ।

को हाँसिरहेको छ अहिले ?

तर केही हाँसो यस्ता पनि हुन्छन्, जसले भय उत्पन्न गराउँछ र भन्न मन लाग्छ, को हाँसिरहेको छ अहिले ? अर्थात् ‘हु इज लफिङ नाउ ?’ यही बोलको गीत भर्खर रिलिज भएको छ र यो गीत हो, ‘बलिउड भायम्पायर’ को । सिंगै एल्बम भने केही दिनमा बाहिर आउनेछ, तर त्यो कस्तो खाले एल्बम हो, त्यसको झझल्को दिन यो गीत पर्याप्त छ । सुपर ब्यान्ड भन्ने गरिन्छ, ‘बलिउड भायम्पायर’ लाई । नभनोस् पनि किन र, यस ब्यान्डसँग जोडिएका तीन व्यक्तित्व हुन्, एलिस कुपर, जोनी डिप र जोए पेरी ।


यसमध्ये पश्चिमेली संगीतमा रमाउनेका लागि त कुपर छुट्याउनै नहुने नाम हो । उनलाई ‘सक रक’ को गड फादर नै भनिन्छ । उनले आफ्नो गीतको माध्यमबाट भयभीत बनाउन चाहन्छन्, श्रोतालाई । उनलाई यो काममा महारत प्राप्त छ । यसैका लागि यी अमेरिकी गायक प्रसिद्ध पनि छन् । नत्र उनले लाइभ परफरमेन्स दिंदा स्टेजमा नक्कली रगत बगिरहेको हुने थिएन । अनि स्टेजमै किन नक्कली सर्प आवश्यक हुन्थ्यो र ? त्यति मात्र होइन, उनी आफ्नो प्रदर्शनको माध्यमबाट यस्तो स्थिति स्थापित गर्न चाहन्छन् कि सुन्नेलाई लाग्दो हो, भूतप्रेत पनि हुँदो रहेछ । उनी अहिले ७१ वर्षका भइसके र उनले आफूले जानेको यही कामलाई खुबैसँग अहिलेसम्म पनि अगाडि बढाइरहेका छन् । उनकै नेतृत्वमा ‘बलिउड भायम्पायर’ ले अहिले निकाल्न लागेको एल्बमको नाम रहेको छ, ‘राइज’ ।


यो एल्बममा १६ गीत रहनेछ । अरू केही गीतको नामै यस्तो छ, ‘गुड पिपुल हार्ड टु फाइन्ड’, ‘हाउ द ग्लास फेल’ र ‘पिपुल हु दाइड’ आदि आदि । यो सुपर ब्यान्ड खासै पुरानो पनि होइन । तीनै जना आफ्नो क्षेत्रमा कहलिएपछि स्थापना गरिएको हो, यो । जस्तो डिप त नाम चलेकै अभिनेता पनि हुनु । संगीतमा पनि उनको केही न केही चल्छ । अनि पेरी त एरोस्मिथ ब्यान्डका नामुद गितारिस्त हुन्, एरोस्मिथ ब्यान्डमा स्टेभन टेलरपछिका फ्रन्टम्यान ।


सन् २०१५ मा स्थापना भएयता यो ब्यान्डले आफ्नो पहिलो एल्बम जारी गरेको थियो र त्यसको नाम पनि थियो, उही ‘बलिउड भायम्पायर’ नै । यो एल्बममा उनीहरूको आफ्नै मौलिक गीत कम थिए । यसपल्टको ‘राइज’ मा भने उनीहरूले आफ्नै नयाँ र मौलिक गीत पस्कने प्रयास गरेका छन् । अहिले ब्यान्ड कन्सर्टतिर पनि ब्यस्त छ । उनीहरूलाई ठाउँ ठाउँमा टेलरले पनि साथ दिइरहेका छन् । त्यसैले यो कुपर र टेलरको समिश्रण पनि भइरहेको छ । पेरीलाई साथ दिन टेलर सजिलै आइरहेको हुनाले पनि एरोस्मिथ ब्यान्ड टुक्रन लागेको हल्ला खालि हल्लै मात्र हो जस्तो पनि देखिएको छ । यसले ‘राइज’ लाई चर्चित बनाउन मदत गर्ने छ नै । खासमा यो ‘बलिउड भायम्पायर’ नाम कसरी जुर्‍यो त ? यसको पनि उत्तिकै रमाइलो कथा छ र यसलाई दोहोर्‍याएर सुनाउँदा पनि मज्जा नै आउने गर्छ । सन् सत्तरीतिर पश्चिमेली संगीत आफ्नो सफलताको शिखरमा हुँदा त्यससँगै मदिरा र ड्रग्स पनि जोडिन्थ्यो ।


यसै कारणले पश्चिमेली संगीत खासै बदनाम पनि रह्यो । त्यही बेला कुपर नाम चलेका गायक भइसकेका थिए । उनको एउटा समूह पनि थियो र त्यसको काम थियो, कुनै खास रेस्टुरेन्टमा भेला भएर नढलेसम्म मदिरा खाने, जो सबैभन्दा अन्तिममा ढल्छ, त्यो रहनेछ, विजेता । यही समूहको नाम थियो, ‘बलिउड भायम्पायर’ । यो समूहका सदस्य पनि खासै नाम चलेका थिए । जस्तो, द बिटल्सका जोन लेनन र रिंगो स्टार पनि यो समूहलाई लामै साथ दिए ।


एक समय यो समूहमा आवद्ध हुनेले लामै समय दिन पनि देखेनन् रे । अब यस्तो बानी भएकाहरू कहाँ धेरै बाँच्थे र ? कुपरले आफ्ना
धेरै साथीलाई गुमाए । पछि उनी आफैं भने सम्हालिए र तिनै मरेका साथीहरूलाई सम्झने बहानमा ब्यान्ड बनाए र त्यसको पनि नाम
रह्यो, ‘बलिउड भायम्पायर’ । नयाँ एल्बमलाई लिएर कुपरले भनेका छन्, ‘यो नितान्त फरक छ ।’ भनिरहनु पर्दैन, यस एल्बममा पनि ‘एलिस’ पारा भने हुनेछ अर्थात् ‘सक रक’ को यो राम्रो नमुना हुनेछ ।
–हिमेश

प्रकाशित : जेष्ठ ३, २०७६ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?