१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

आईपीएलका अनौठो र विवादास्पद घटनाहरू

रीतेश घिमिरे

 
हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १२ औं संस्करणको आईपीएल फाइनलको अन्तिम बलमा लसिथ मालिङ्गाले चेन्नईका शार्दूल ठाकुरको विकेट लिएसँगै मुम्बईले चौथो पटक उपाधि उचाल्यो  ।

आईपीएलका अनौठो र विवादास्पद घटनाहरू

समग्रमा हेर्दा अघिल्ला संस्करणभन्दा यो संस्करणमा बढी प्रतिस्पर्धात्मक खेलहरू भए । प्रतिस्पर्धात्मक खेलका अलावा यस संस्करणमा विभिन्न विवादास्पद तथा अनौठा घटनाहरू पनि घटे ।

अश्विन–बटलर माङकडिङ विवाद
सम्भवतः यस आईपीएल सिजनकै सबैभन्दा बढी चर्चामा आएको विवाद हो यो । आईपीएल इतिहासमै पहिलोपटक कुनै खेलाडी यसरी आउट भए । आउट हुने ब्याट्सम्यान थिए, राजस्थान रोयल्सका जस बटलर । निकै राम्रो लयमा देखिइरहेका बटलरको विकेट पतनसँगै राजस्थानको इनिङ्स धर्मराउन थाल्यो र अन्त्यमा १४ रनले खेल पञ्जाबलाई सुम्पियो । क्याचले म्याच जिताउँछ भनेझैं बटलरको त्यो विकेटपश्चात् पञ्जाबले खेल आफ्नो पक्षमा पार्दै माङकडिङले पनि म्याच जिताउन सक्छ भन्ने सावित गर्‍यो ।


क्रिकेटको नियम हेर्ने हो भने पनि बलर
आफ्नो डेलिभरी स्ट्राइडमा जानु अगाडि नै रनरले आफ्नो क्रिज छोडेको खण्डमा बलरले विकेटमा बलले हानेर आउट गर्न पाउने प्रावधान छ । अश्विनको सन्दर्भमा हेर्दा विकेटमा बलले हान्नुभन्दा अगाडि अश्विन एकछिन रोकिएको देखिएको थियो जुन अवस्थामा बटलर आउट नहुनुपर्ने थियो । यस घटनाले सामाजिक सञ्चालमा ठूलै बहस सिर्जना गरेको थियो । एमसीसीले अन्ततः अश्विनको सो कार्य खेल भावनाविपरीत भएको भन्ने प्रतिक्रिया दियो । यस घटनालाई मध्यनजर गर्ने हो भने क्रिकेटमा माङकडिङका लागि नियम नै अझ स्पष्ट पार्नुपर्ने देखिन्छ ।

अम्पायरसँग बहस गर्न धोनी मैदानमा
चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनी सामान्यतः मैदानमा शान्त स्वभावका लागि चिनिने गर्छन् । त्यसैले त उनलाई ‘क्याप्टेन कुल’ पनि भनिन्छ । राजस्थान रोयल्सविरुद्धको खेलमा धोनी विपरीत देखिए । आउट भएर पवेलियन फर्किसकेका धोनी अम्पायरले नोबल नदिएको विषयलाई लिएर अम्पायरसँग बहस गर्न मैदान प्रवेश गरे । अम्पायरले गलत निर्णय नै दिएको खण्डमा पनि कुनै खेलाडी मैदानभित्र प्रवेश गरेर अम्पायरसँग बहस गर्नु हरेक कोणबाट खेल भावनाविपरीत नै हो । त्यसमाथि धोनीजस्तो शान्त स्वभावको छवि बनाएका अनुभवी खेलाडीबाट यस्तो कार्य हुनुलाई धेरैले नकारात्मक कार्यको संज्ञा दिए । खेल भावनाविपरीतको यस कार्यका लागि धोनीलाई म्याच फिको ५० प्रतिशत जरिवाना लगाइएको थियो ।

मालिङ्गाले अन्तिम बलमा गरेको नोबल
सिजनको सातौं खेलमा आमनेसामने थिए रोयल च्यालेन्जर्स बैंगलोर र मुम्बई । १ सय ८८ रनको विजयी लक्ष्य पछ्याएको बैंगलोरलाई जितका लागि अन्तिम बलमा ७ रनको जरुरत थियो । मालिङ्गाले गरेको सो बलमा बैंगलोरका शिवम दुवेले मात्र १ रन जोड्न सके र मुम्बईले ६ रनले खेल आफ्नो पक्षमा पार्‍यो । खेल यतिकैमा सकिए तापनि बहसचाहिँ तब सुरु भयो जब रिप्लेमा मालिङ्गाको सो बल नोबल भएको देखियो । जितका लागि ७ रन आवश्यक भएको अवस्थामा सो नोबल दिइएको र अर्को बलमा छक्का हानेको भए खेल बैंगलोरको पक्षमा जाने थियो । सो नोबल अम्पायरले दिएको भए मालिङ्गाको अन्तिम ओभरको पहिलो बलमा एउटा छक्का प्रहार गरिसकेका शिवम दुवेले अर्को बाउन्ड्री प्रहार गर्ने मौका प्राप्त गर्ने थिए । खेलपश्चात् बैंगलोरका कप्तान विराट कोहलीले आईपीएल जस्तो अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा अम्पायरबाट यस्ता गल्ती हुन नहुने प्रतिक्रिया दिए ।

अश्विनले एक ओभरमा ७ बल गर्दा
बटलरसँगको माङकडिङ विवादलाई लिएर मात्र अश्विनको चर्चा भएन यस सिजनमा । मुम्बईविरुद्धको खेलमा एक ओभरमा ७ बल गरेर अर्को अनौठो घटनामा पनि मुख्य पात्र बन्न पुगे अश्विन । मुम्बईसँगको खेलको पहिलो ओभर पञ्जाबका कप्तान अश्विनले गरेका थिए र उनका सामु थिए मुम्बईका ओपनर रोहित शर्मा तथा क्विन्टन डी कक । खेलको पहिलो ओभरमै अश्विनले ७ बल फालेका थिए । ती ७ बलमध्ये कुनै पनि बल वाइड, नोबल वा कुनै पनि अतिरिक्त बल थिएन । अन्ततः शर्माले खेलेको अश्विनको पहिलो बललाई डेड बल दिइएको थियो । ख्याल गर्नुपर्ने के हो भने, अश्विनले गरेको अतिरिक्त सातौं बलमा डी ककले चौका प्रहार गरेका थिए भने रोहितले खेलेको पहिलो बलमा कुनै पनि रन बनेको थिएन ।

जब अम्पायरले ढोका भत्काए
बैंगलोरको चिन्नास्वामी रंगशालामा रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबादबीचको खेलमा अम्पायर नाइजल लोङले गलत नोबल दिए । टीभी रिप्ले हेर्दा बैंगलोरका उमेश यादवको गोडाको पछिल्लो भाग क्रिजमै थियो तर अम्पायर लोङले त्यसलाई नोबल दिएपछि कप्तान विराट र बलर उमेश दुवैले मैदानमै यसको विरोध गरे पनि अम्पायरले निर्णय फिर्ता लिएनन् । हैदराबादको इनिङ सकिएपछि लोङ अर्का अम्पायरका साथ पेभिलियन आए र रिसको सुरमा अम्पायर रूमको ढोका भत्काए । पछि लोङले कर्नाटक क्रिकेट एसोसिएसनलाई क्षतिपूर्तिस्वरूप पाँच हजार भारु तिरे ।
बैंगलोर र चेन्नईबीचको पहिलो खेलमा पिचको अवस्था
१२ औं संस्करणको पहिलो खेलमा बैंगलोर र चेन्नई आमनेसामने हुँदा पहिले ब्याटिङ गरेको बैंगलोर मात्र ७० रनमा समेटियो । ब्याटिङ बलियो मानिएको बैंगलोर सस्तोमै आउट भएको यस खेलमा पिचले स्पिनरलाई ज्यादा नै सहायता दिएको देखिन्थ्यो । आईपीएलको इतिहासमा एक स्पिनरले औसतमा एक बलमा २.७ डिग्री टर्न प्राप्त गर्छन् । तर यो खेलमा भने बलरले औसतमा नै ७.२ डिग्री टर्न प्राप्त गरिरहेका थिए । सामान्य लक्ष्य पछ्याएको चेन्नईले पनि खेल जित्न ३ विकेट गुमाएको थियो । खेलपश्चात् दुवै टोलीका कप्तान कोहली र धोनीले पिचको आलोचना गरे । चेन्नईको गृह मैदान भए तापनि धोनीले पिचको सो अवस्था सही नभएको प्रतिक्रिया दिए ।

उतारचढावले भरिएको फाइनल खेल
मुम्बई तथा चेन्नईबीच हैदराबादमा भएको फाइनल खेल पनि उतारचढावले भरिपूर्ण थियो । ब्राभोले गरेको बल अम्पायरले वाइड नदिएपछि पोलार्डले देखाएको असन्तुष्टिका लागि उनलाई म्याच फिको २५ प्रतिशत जरिवाना लगाइयो । त्यस्तै अम्पायरले धोनीलाई रनआउट दिएको विषयले पनि राम्रै चर्चा पायो ।

रीतेश घिमिरे
Twitter : @ReeteshJee

प्रकाशित : जेष्ठ ३, २०७६ ११:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?