१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

“बाङताङ ब्वाइज” को बाटो

के–पपको सेन्सेसन बीटीएस र प्रख्यात अमेरिकी गायक एवं गीतकार खालिदले सहकार्य गर्ने भएका छन् । यसबारे लामो समययता विझिन्न अड्कलबाजी हुँदै आएका थिए ।
सजना बराल

 
यसपालि के–पप ब्यान्डले यसबारे निश्चित गरिदिएको छ  । आफूहरूको नयाँ प्रोजेक्टमा खालिद मिसिने पक्का भएको र उक्त प्रोजेक्ट चाँडै बजारमा आउन लागेको ब्यान्डको अभिव्यक्ति छ  ।

“बाङताङ ब्वाइज” को बाटो

अमेरिकास्थित एक रेडियोसँगको अन्तर्वार्तामा ब्यान्डले हालै यसबारे बताएको थियो । ‘हाम्रो साथी खालिदबारे मैले भन्नै पर्छ,’ बीटीएसका आरएमले भनेका थिए, ‘हाम्रो सहकार्य साँच्चै हुँदैछ । त्यसका लागि प्रतीक्षा गर्नुहोला ।’ लस एन्जलसमा हालै आयोजित रोज बाउल कन्सर्टमा खालिदले बीटीएसलाई ब्याकस्टेज भेटेर तस्बिर खिचेका थिए । उक्त तस्बिर सामाजिक सञ्जालमा आएपछि यी दुईको सहकार्य हुने विषय थप चर्चामा आएको थियो । बीटीएससँग सहकार्य गर्ने खालिद पछिल्लो अमेरिकी संगीतकर्मी हुन् । यसअघि निकी मिनाज, एड सिरन र हल्सीले कोरियन ब्यान्डसँग काम गरिसकेका छन् ।
बीटीएससँग जो पनि काम गर्न लालायित हुने गरेका छन् । यसले विश्व संगीतमा आफ्नो चम्किलो उपस्थिति जनाउँदै आएको छ । संगीतका काउन्टडाउनहरूमा सधैं अग्रस्थानमा पर्छ । हालै मात्र पनि यसले बिलबोर्ड चार्टमा इतिहास निर्माण गरेको थियो । ब्यान्डको पछिल्लो एल्बम ‘म्याप अफ द सोल ः पर्सोना’ ले उत्कृष्ट २ सय एल्बमको सूचीमा आठौं स्थान हासिल गरेको बिलबोर्डले जनाएको छ । अझ रोचक कुरा त के भने अप्रिलमा यसले बिलबोर्डको एल्बम काउन्टडाउनमा सिधै पहिलो नम्बरबाट प्रवेश गरेको थियो ।


हाल यो ब्यान्ड ‘लभ योरसेल्फ ः स्पिक योरसेल्फ’ शीर्षकको विश्व भ्रमण कार्यक्रमअन्तर्गत सिकागो पुगेको छ । एक साता त्यहीं रहनेछ । बीटीएसको कन्सर्टका लागि उसका आर्मी (फ्यान) हरू हप्तौंदेखि तयारी गर्दै आएको सिकागो ट्रिब्युनले जनाएको छ । पत्रिकाका अनुसार कन्सर्टमा भाग लिन ओहायो, न्युयोर्क, टेक्सास, क्यानडा र मेक्सिकोदेखि पनि प्रशंसकहरू सिकागो आइरहेका छन् । दक्षिण कोरियाली पावरहाउस बीटीएसको ख्याति तत्काल थामिनेवाला नरहेको संगीत विश्लेषकहरूले बताउँदै आएका छन् ।
सन् २०२० बाट भने ब्यान्डले चुनौती झेल्नुपर्ने पक्का छ । यसले ब्यान्ड, उसका आर्मी मात्रै नभएर समग्र कोरियाली संगीत उद्योगलाई प्रभाव पार्नेवाला छ । कोरियाली संसारबारे अनभिज्ञहरूलाई के थाहा नहुन सक्छ भने ब्यान्डसँग धेरै समय बाँकी छैन । झन्डै छ वर्षसम्म ब्यान्डका सात सदस्य– आरएम, जीन, सुगा, जे–होप, जिनमिन, भी र जंगकुकले बडो ऊर्जावान तरिकाले सक्रियताका साथ के–पपमा लागेर यसलाई विश्व संगीतमै पहिचान दिलाउन सफल भए । अब भने उनीहरू अनिवार्य सैन्य सेवामा जानुपर्ने हुन्छ ।


दक्षिण कोरियाली संविधानअनुसार हरेक पुरुषले कम्तीमा दुई वर्षका लागि सैनिकमा भर्ती हुनैपर्छ । उनीहरू १८ वर्षका भएपछि यसका लागि योग्य मानिन्छन् । उत्तर कोरियाबाट हुन सक्ने सम्भावित भयलाई छेक्न यो नियम लगाइएको बताइन्छ । गएको अगस्टमा यससम्बन्धी नियम संशोधन गरेर भर्ती भइसक्नुपर्ने उमेर हद ३० बाट घटाएर २८ मा झारिएको छ । ओलिम्पक खेलाडी, शास्त्रीय संगीतकर्मी, ब्यालेट डान्सरहरूलाई सैन्य सेवा अनिवार्य नगरिए पनि के–पप आर्टिस्टलाई त्यो छुट छैन । यही कारण सन् २०१३ देखि बीटीएस निरन्तर रूपमा सक्रिय हुँदै आएको छ ।


जम्मा छ वर्षको अवधिमा ब्यान्डले एघार वटा फुल लेन्थ एल्बम र संयुक्त एल्बम सावर्जनिक गरिसकेको छ । पाँच वटा एपी निकालेको छ भने आधा दर्जन सोलो कन्सर्ट टुरमा निस्किसकेको छ । यही अवधिमा अंग्रेजी पप ब्यान्ड ‘वान डिरेक्सन’ ले पाँच वटा एल्बम र चार वटा मात्रै सांगीतिक भ्रमण गरेको थियो । बीटीएसका सबैभन्दा जेठा सदस्य, जीन २६ वर्षका भए । उनी सम्भवतः आउँदो साल सेनामा भर्ती हुन्छन् । ‘कोरियाली भएको हुनाले यो स्वाभाविक हो,’ उनले भनेका छन्, ‘कुनै दिन जब सेनाले बोलाउँछ, हामी तयार हुनुपर्छ र सक्दो राम्रो गर्नुपर्छ ।’ सबैभन्दा कान्छो उमेरका जंगकुक (२१) भने तत्काल यसबारे सोच्न चाहँदैनन् ।


भर्ती हुनैपर्ने बाध्यकारी परिस्थितिसँग के–पप उद्योग लामो समयदेखि जुध्दै आएको छ । दुई वर्ष गायब हुँदा आर्टिस्टले आफ्नो लोकप्रियता गुमाइसक्ने डर हुन्छ । यही कारण म्यानेजमेन्ट कम्पनीहरूले सकेसम्म कम उमेरका सदस्य राखेर सांगीतिक समूह निर्माण गर्ने गरेका छन् । उनीहरू फटाफट गीत सार्वजनिक गर्ने, कार्यक्रम, अन्तर्वार्ता, यताउति सबैमा व्यस्त भइदिन्छन् । ब्यान्डका सबैजना एकैचोटि भर्ती नभएर पालैपालो छिर्ने गर्छन् । यसले उनीहरू ब्यान्ड यथावत् राख्न सघाउँछ । समूह टिकाउन नसकिएको खण्डमा उनीहरू सेवाबाट फर्किएपछि आ–आफ्नै सोलो करियर अघि बढाउँछन् ।

[email protected]
–एजेन्सीहरूको सहयोगमा

प्रकाशित : जेष्ठ ३, २०७६ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?