१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

उमेशको स्वर्ण यात्रा

सातौं मिस्टर हिमालयको उपाधि जित्दै उमेशले सपना साकार पारेका छन् । शारीरिक सुगठनमा ह्याट्रिक उपाधि जितेका छन् । उमेशको अबको तयारी दक्षिण एसियाली च्याम्पियनसिप हो ।

दाजुले काठका मुढा उचालेको देख्दा उनलाई अचम्म लाग्थ्यो  । तेक्वान्दो खेलेको देख्दा मोह जाग्थ्यो  ।

उमेशको स्वर्ण यात्रा

दाजुको खेलकुदीय क्रियाकलापले उनलाई थप लोभ्याउँथ्यो । दाजुकै पछि लागे, सँगसँगै खेल्न सिके । जेठो दाजु राजकुमारको यस्तै गतिविधिबाट प्रभावित भएका उमेश राईले खेलकुद क्षेत्रमै केही गर्छु भन्ने सपना देख्न थाले । जति बेला उनी आठ वर्षका मात्र थिए । उनको त्यो सपना अहिले साकार भएको छ । राजधानीमा शनिबार सातौं मिस्टर हिमालयको उपाधि जित्दै उमेशले सपना साकार पारेका छन् । शारीरिक सुगठनमा ह्याट्रिक उपाधि जितेका छन् ।


आफ्नो दाजुलाई प्रेरणास्रोत मान्ने झापा बिर्तामोडका उमेशले ८ जनाको परिवारमा कसैले नसोचेको सफलता गरेका छन् । पहिलोपल्ट २०६२ सालमा आयोजित मिस्टर झापामा ६० केजी तौलका उनी तेस्रो भएका थिए । त्यति पाएको ट्रफी, कांस्य पदक र मायाको चिनोले उनलाई सधैं ऊर्जा थपिरहन्छ । पहिलो खेलमै तेस्रो भएपछि अर्कोपल्ट विजेता हुन्छु भन्ने भावना जहिल्यै जागेर आउँछ । ०६२ साल झापामै सम्पन्न मिस्टर पूर्वाञ्चलको ६५ केजीमा विजेता हुने आस राखेका उनी दोस्रोमै सीमित भए । उमेश २०७३ सालमा काठमाडौंमा सम्पन्न १४ औं धर्मश्रीको आफ्नो तौलमा विजेता भए । ७५ केजीका विजेता हुँदै ओभरअलमा पुगेका उनी तेस्रो भएपछि थप प्रेरित भए । २०७१ सालमा सम्पन्न भएको दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा विजेता भए । उमेशले २०७५ मा दोस्रो मिस्टर एभरेस्टको उपाधि जितेका थिए । मिस्टर हिमालय जितेसँगै शारीरिक सुगठनमा ह्याट्रिक उपलब्धि पूरा गरेका हुन् ।


अन्तर्राष्ट्रियस्तरमा गत वैशाख १३ मा कुवेत क्लासिक इन्टरनेसनल च्याम्पियनसिपको ८० केजी तौलमा उमेश पाँचौं भएका थिए । ‘शारीरिक सुगठनमा लाग्न एकदमै कठिन छ तर अरूले यसलाई सामान्य रूपमा हेरेको पाइन्छ,’ उनले भने, ‘खेलाडीको मिहिनेत र खर्चअनुसार जितेको पुरस्कार पनि थोरै हुने गर्छ ।’ मध्यम वर्गीय परिवारमा हुर्किएकाले शारीरिक सुगठन यात्रा सुरु गर्दा आर्थिक समस्या भोग्नुपरेको उनले सुनाए । सुरुआती दिनमा घरबाट साथ पाए पनि समस्या कठिन थियो । कसरी अगाडि बढ्न सक्छस् भन्दै परिवारका सबै सदस्य चिन्तित हुन्थे । बडीबिल्डिङबाट के नै हुन्छ भन्ने वातावरण थियो । तर सुरुआती चरणमै पाएको सफलताले त्यो सबै हट्यो । आफू अहिले यहाँसम्म आइपुग्दा यसबाट पनि केही हुँदोरहेछ भन्ने आस जागेको उमेशले बताए ।


पहिलोपल्ट पाएको सफलताप्रति भने आफू असन्तुष्ट रहेको उनले स्मरण गराए । भने, ‘मैले जुन स्थान पाउनुपर्ने त्यो नपाए जस्तो लागेको थियो । एकदम नमज्जा लाग्यो । तर सम्हालें ।’ पछि यो क्षेत्रमा लागेर अगाडि बढ्न सक्दिनँ भन्ने भएन । त्यस्तो कुनै अवस्था आएन । उनले सफलता भेट्टाउँदै गए । सुरुको खेलबाट नै सफलताको पहिलो चरण पार गरेकाले अगाडि बढ्न उनलाई संकोच भएन । उनले टाइटानिम सार्क फिटनेस सेन्टर कुवेतमा ७ वर्ष जिम ट्रेनर भएर बिताए । त्यो भन्दा पहिले उमेशले दुई वर्ष झापा, बिर्तामोडमा ट्रेनिङ दिने काम गरेका थिए । ‘विदेशमा हुँदा ८ घण्टा ड्युटी गर्नुपर्थ्यो । ड्युटी आवरमा बस्न पाइँदैनथ्यो । फोन चलाउन पाइन्थ्यो । खानसमेत फुर्सद हुँदैनथ्यो । गरिरहनुपर्थ्यो । तर मैले ड्युटीअघि र पछि दिनहुँ २ घण्टा चार महिनासम्म कडा मिहिनेत गर्नाले यो सफलता भेट्टाएको हो,’ उनले आफ्नो मिहिनेत पोखे ।


कुवेतमा खेल्दा आफूलाई नेपाली भनेर धेरैले समर्थन गरेको उनले सुनाए । भने, ‘एकदमै गर्व महसुस हुँदोरहेछ । देशको नाम जोडिँदा माया र साथ दिने थुप्रै पाएँ । त्यहाँ पाँचौं स्थानमा आए पनि खुसी भएँ ।’ सिनियरबाट पाएको साथ र सहयोगले आफूलाई राम्रो गर्छु भन्ने भावना जागृत भएको उनले बताए । ‘सबैले अझै राम्रो गर्नुपर्छ भन्नुहुन्छ । त्यसबाट मलाई अझै केही गर्न सक्ने हौसला मिलेको छ । सफलतादेखि एकदम खुसी छु ।’ एउटा प्रतियोगिता तयारी गर्न ४ महिनाभन्दा बढी लाग्ने उमेशको अनुभव छ । अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता खेल्नुपर्‍यो भने सामान्य रूपमा डाइट खर्च नै ६–७ लाख रुपैयाँ लाग्ने उनको भोगाइ छ । उमेशको अबको तयारी दक्षिण एसियाली च्याम्पियनसिप हो । उनले भने, ‘यो मेरो जीवनका लागि एकदमै ठूलो अवसर हुनेछ । त्यसका लागि मैले एकदमै कडा मिहिनेत गर्नुपर्छ । त्यसमै केन्द्रित हुन्छु ।’


सुगठित शरीर बनाउनका लागि डाइटमा प्रोटिनको मात्रा धेरै खानुपर्छ । कार्बोहाइड्रेटलाई कम गर्दै लानुपर्छ । सुगर र फ्याटको मात्रा समयअनुसार मिलाएर खानुपर्ने, अन्तिम अवस्थासम्म आइपुग्दा प्रोटिनको मात्रा बढाउँदै लानुपर्छ । खेलको २४ घण्टाअगाडि पानी पनि खानु हुन्न । नुनिलो र चिल्लो खानेकुरा नखाई स्टेजसम्म पुग्दा शरीरलाई पूरै हलुका बनाउनुपर्छ । आफ्नो शरीर जोखिममा राखेर स्टेजमा प्रस्तुत हुनुपर्ने बडीबिल्डरको बाध्यता पनि छ । खेलाडीले आफ्नो नभई देशका लागि खेल्ने भएकाले हरेक खेलका खेलाडीलाई सरकारले सहयोग गरे राम्रो गर्न सकिने ठान्छन् उनी । अठोट साथ भन्छन्, ‘अहिले नभए पनि भावी पुस्ताका खेलाडीलाई प्रोत्साहन हुने गरी सम्मान, साथ र हौसला राज्यको स्तरबाट हुनुपर्छ । खेलाडीका लागि विशेष ट्रेनिङ, प्रशिक्षक र राम्रो वातावरण सिर्जना गर्न सके जस्तोसुकै कठिन परिस्थितिमा पनि सफलता हात पार्न सक्छौं ।’

प्रकाशित : वैशाख २७, २०७६ १२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?