समाधान गुरु

५० रुपैयाँदेखि १८ करोडसम्मको यात्रा
दुर्गालाल केसी

घोराहीका मार्शल रोकाले भारतीय नाकाबन्दीका बेला खोटो र फालिएका प्लास्टिकका बोतलबाट पेट्रोल बनाएर परीक्षण गरे  । आफूले उत्पादन गरेको पेट्रोलबाट चलाएर घोराहीमा मोटरसाइकल र्‍याली गराए  ।

समाधान गुरु

त्यसले देशभरि चर्चा पायो । उनी यसको जानकारी दिन प्रधानमन्त्री कार्यालय पुगे । यसमा थप अध्ययनका लागि सहयोगको अनुरोध गरे तर केही सुनुवाइ भएन ।


उनले यस्ता थुप्रै परीक्षण गरे तर त्यसको कुनै उपलब्धि भएन । सबैले हेरे, सुने र बिर्से । दर्जनौं परीक्षण गरिसक्दा पनि सरकारबाट केही प्रोत्साहन हुने संकेत देखेनन् । अन्त्यमा उनले आफ्नो क्षमता र सीपलाई व्यावसायिकतामा ढाल्ने सोच बनाए । यही सोचलाई पछ्याउँदै जाँदा अन्त्यमा २६ वर्षीय रोका उद्यमी भए । विभिन्न उपकरण बनाउँदै परीक्षण र प्रदर्शन गर्दै आएका रोकाले अन्त्यमा केही उपकरणबाट व्यावसायिक अभ्यास थाले । २०६६ सालमा ५० रुपैयाँको लगानीमा स्वचालित पम्प कन्ट्रोलर निर्माण गरे र एक सय रुपयाँमा बिक्री गरे । यसले मोटरबाट पानी तान्दातान्दै ड्रम भरिए आफैं मोटर बन्द हुने र ड्रम खाली भए आफैं चल्न सहयोग गर्थ्यो । पानी भर्नकै लागि दौडादौड घर पुग्नुपर्ने र पानी भरिएर खेर जाने समस्या समाधानका लागि उनले यो उपकरण बनाएका थिए ।


उनले बनाएको उपकरणले लामो समय काम गर्न सक्ने भयो । घोराहीस्थित जिमखानामा भेटिएका रवीन पोखरेलसँग उनले आफ्नो योजना सुनाए । रोकाको सिर्जनशीलताबाट प्रभावित भएर पोख्रेल लगानीका लागि तयार भए । २०७३ सालदेखि ५ लाख लगानीमा पम्प कन्ट्रोलरको उत्पादन सुरु भयो । एक वर्षको वारेन्टीसहित सामान बिक्री गर्न थाले । ‘यो मेसिन जडान गरेपछि पानी र विद्युत्को बचत हुने भयो । व्यस्त मानिसलाई झन् धेरै सजिलो भयो । पानी र विद्युत्को बिल कम आउने भयो,’ रोकाले भने, ‘घरमा स्मार्टनेस पनि आउने भयो । बिस्तारै माग बढ्दै गयो ।’ अहिलेसम्म १५ जिल्लामा ८ हजार बढी बिक्री भइसकेको उनले बताए ।


पम्प कन्ट्रोलरको माग राम्रै भइरहेकै बेला उनी नारायणगढमा आयोजित कृषि मेलामा पुगेका थिए । त्यहाँ कुखुराका स्टल र कुखुरापालक किसान धेरै भेटिए । उनलाई लाग्यो कुखुराको व्यापार राम्रै रहेछ । ‘कुखुरामा के के समस्या छन् भनेर मैले किसानलाई सोधें । धेरैले खोरमा एमोनिया ग्यास उत्पादन भएर समस्या भएको बताए,’ उनले भने, ‘कतिले खोरको दुर्गन्धका कारण छिमेकीहरूले तनाव दिने, फार्म नै बन्द गराउन नगरपालिकामा निवेदन दिने गरेका गुनासा सुनाए ।’


यति भएपछि उनलाई अब एमोनिया ग्यास र गन्ध कम गर्ने कुनै औषधि उत्पादन गर्न सकेमा राम्रै व्यापार हुने विश्वास जाग्यो । घर फर्केर गुगलमा सर्च गरे, विभिन्न परीक्षण गरे । लामो प्रयासपछि अन्त्यमा आठ महिनाअघि एमओएक्सफाइभ नामक औषधि तयार गरे । यसले ९५ प्रतिशत एमोनिया ग्यास सोसेर एमोनिया सल्फेटमा रूपान्तरण गरी मल उत्पादनमा फाइदा गर्ने भयो । ८० प्रतिशत गन्ध पनि कम गर्‍यो । त्यसपछि यसको माग यति धेरै भयो कि उनलाई आपूर्ति गर्नै मुस्किल भयो ।दुईजना कामदारसहित घोराहीको एउटा साँघुरो कोठामा सुरु गरिएको काम पछि घोराही उपमहानगरपालिका ४ गोग्लीस्थित फराकिलो ठाउँमा सर्‍यो । मेल्टा टेक्नोलोजी कम्पनीका नामबाट उनले सामान उत्पादन गरिरहेका छन् । अहिले ३५ जना कामदार छन् । २०७८ सालसम्म ३ सय कामदार पुर्‍याउने योजना छ ।


यो प्रतिकिलो १ सय ४० रुपैयाँमा बिक्री हुन्छ । सातामा १ हजार २ सय टन माग रहेको रोकाले बताए । मागको १० प्रतिशतसम्म आपूर्ति गर्न सकिने अवस्था रहेको उनले बताए । अहिले मासिक ६० टन बिक्री गरिरहेको उनले बताए ।


यो नेपाल मात्रै होइन, भारत र बंगलादेश पनि गइरहेको छ । एमओएक्सफाइभपछि उनले अर्को समस्यामाथि अनुसन्धान थाले । धेरैजसो कुखुरालाई धानको भुस बिछ्याइन्छ । भुसमा कणिका हुन्छ । कुखुराले भुसमै दिसा गर्छ र दिसा मिसिएको कणिका खान्छ । यसबाट धेरै रोग लाग्ने र भुसले पेटमा घोचेर घाउ हुने समस्या धेरै देखियो । त्यसपछि उनले मसला, सल्ला, जिंगटजस्ता कुकाठको भुसलाई प्रशोधन गरेर कुखुरालाई बिछ्याउने जडिबुटीयुक्त भुस तयार पारे जुन निकै उपयोगी भयो । दैनिक १ हजार ५ सय टन भुस उत्पादन हुन्छ । यो ५० रुपैयाँ किलो बिक्री हुन्छ । ५ सय कुखुरामा १ हजार ७ सयको मात्रै भुस लाग्ने रोकाले बताए ।


भुसबाट गुणस्तरीय कम्पोस्ट मल बन्छ । किसानबाट मल खरिद गरेर बिक्री गर्ने तयारी उनले गरेका छन् । अब मलबाट ठूलो मात्रामा मकै खेती गर्ने योजना बनाइरहेका छन् । देउखुरी क्षेत्रमा १ हजार बिघा जमिन भाडामा लिएर वार्षिक ३५ लाख टन मकै उत्पादन गर्ने लक्ष्य उनले सुनाए । कुखुराका लागि दैनिक २ हजार ५ सय टन दानाको माग भएकाले मकैको राम्रो बजार रहेको उनले बताए । ७५ दिनमा एक सिजनको खेती सम्पन्न गर्ने र यसबाट १ सय ६३ ट्रक मकै उत्पादन गर्ने उनको योजना छ ।


अहिले उनले कुखुराको अण्डा बलियो बनाउने क्याल्सियम कार्बोनेट ग्रिड उत्पादन गरेका छन् । अण्डा फुट्ने समस्या समाधानका लागि यो औषधि उपयोगी भएको छ । उनले यो औषधि दाना कम्पनीलाई बिक्री गर्छन् । देशमा एक सय बढी दाना कम्पनी भएकाले यो औषधिको पनि धेरै नै माग भइरहेको उनले बताए । ५० रुपैयाँ लगानी गरेर सुरु भएको उनको व्यवसाय अहिले १८ करोडको भएको छ । ‘कडा श्रम गरेर मात्रै सफल भइँदैन, स्मार्ट काम गरेर सफल भइन्छ,’ उनी भन्छन् । अरूले जस्तै काम गर्नुको सट्टा नयाँ काम गर्न सकेमा बजारमा सजिलै स्थापित हुन सकिने उनको अनुभव छ । ‘अरूले गरिरहेको व्यापारमा हात हाल्नु भनेको छाती खोलेर मैदानमा लड्न जानुसरह हो,’ उनले भने, ‘नयाँ काममा हात हाल्नु भनेको खाली मैदानमा जानुसरह हो । एक्लै जति दौडिए पनि हुन्छ ।’


१२ कक्षासम्म पढेका रोका क्याम्पसको पढाइ योग्यता बढाउनलाई मात्रै जस्तो ठान्छन् । ‘मैले पढ्न खोजेका विषयवस्तु पाठ्यक्रममा छैनन् । क्याम्पस गयो भने जबर्जस्ती निर्धारित पुस्तक पढ्नुपर्छ,’ उनले भने, ‘मलाई चाहिएका सामग्री इन्टरनेटमा जति पनि छन् । म यहीं खोजेर पढ्न सक्छु ।’

[email protected]

प्रकाशित : वैशाख २७, २०७६ १२:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?