१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

सहर लक्षित कार

कञ्चन अधिकारी

नेपालको अटो बजारमा लाग्नेहरू भन्छन्, ‘नेपालमा सेन्ट्रो कारले हुन्डाई ब्रान्डलाई स्थापित गरायो  । त्यही सेन्ट्रोले उच्च मध्यम वर्गमा कारको मोह जगायो  ।

सहर लक्षित कार

कम दाम, राम्रो पर्फर्मेन्स । उत्कृष्ट डिजाइन, किफायती माइलेज । यही विशेषताले सेन्ट्रो भारत र नेपालमा लोकप्रिय बन्न पुग्यो । लोकप्रिय हुँदाहुँदै सन् २०१४ देखि सेन्ट्रोको उत्पादन बन्द भयो । सस्तो मूल्यका कार किन्न तम्सिएकाहरू निराश भए । सेकेन्ड ह्यान्ड सेन्ट्रोको रिसेल भ्यालु पनि ह्वात्तै बढ्यो । सेन्ट्रो कारको उत्पादक हुन्डाई कम्पनीले भारत र नेपालमा लोकप्रिय भएकाले पहिलेकै नाम दिएर डिजाइन र केही थप फिचरका साथ सन् २०१८ मा ‘दि अल न्यु सेन्ट्रो’ बजारमा ल्यायो । यो कार नेपालमा सन् २०१९ मा मात्रै भित्रियो ।


तीन महिनाअघि मात्रै नेपाली बजारमा भित्रिएको ह्याचब्याक यो सेन्ट्रोको चौथो संस्करण हो । पहिलोपटक १९९८ सार्वजनिक गरिएको थियो सेन्ट्रो । त्यसपछि २०००, २००२ र २००८ मा नयाँ फिचर थपिएर बजारमा ल्याइयो । हुन्डाई मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले फेमिली ह्याचब्याक कार भित्र्याएर पहिला जस्तै ग्राहकको मन जितेको छ । लामो, फराकिलो, अग्लो, आधुनिक र स्टाइलिस डिजाइनमा आरामदायी सेन्ट्रो बजारमा आएको छ । भारतमा धेरै किसिमका सेन्ट्रो कार उत्पादन गरिए पनि नेपालमा माग्ना र स्पोर्ट्समात्रै ल्याइएको लक्ष्मी इन्टर कन्टिनेन्टलका दिवाकर रेग्मीले बताए । ‘हामीले अहिले दुईवटा डिजाइनका कार भित्र्याएका छौं । ग्राहकको मागसँगै अन्य मोडलका सेन्ट्रो पनि ल्याइनेछ,’ उनले भने ।


हेर्दा आइटेन जस्तै लाग्छ सेन्ट्रो । त्यसैले त मिनी ग्र्यान्ड आइटेन भन्छन् डिलर प्रमुख रेग्मी । अहिलेका सेन्ट्रो कार डिजाइनका हिसाबले उत्कृष्ट भएको दाबी गर्दै उनले भने, ‘पहिलाको सेन्ट्रोभन्दा आकार, उचाइ र डिजाइन नै फरक छ । नयाँ सेन्ट्रोको इन्टेरियरमा विशेष ध्यान दिएको पाइन्छ ।’ नयाँ सेन्ट्रोको लम्बाइ ३६१० एमएम, चौडाइ १४४५ एमएम र उचाइ १५६० एमएम रहेको छ । पुरानो सेन्ट्रोमा पछाडि तीन जना बस्दा खाँदिनुपर्ने अवस्था थियो, नयाँमा सहज अनुभव गर्न सकिन्छ । ‘भिका सिटहरू सुविधाजनक र फरक पनि छन्,’ रेग्मीले भने । सिट, सिट बेल्ट, ब्याक पकेट, सामान राख्न डिकीमा प्रशस्त स्थानको व्यवस्था गरिएको छ । त्यसैले यसलाई फेमिली ह्याचब्याग कार भनिएको उनले प्रस्ट्याए । थपे, ‘पुरानो सेन्ट्रोमा २१८ लिटरको डिकी थियो भने अहिले २३५ लिटरको छ ।’


नयाँ सेन्ट्रोमा मोडर्न ग्रिलको प्रयोग, हाई पर्फर्म फग ल्याम्प, स्टाइलिस हेडल्याम्प, टेल ल्याम्प, क्यामेराजडित यो कारमा १०८६ सीसीको इन्जिन छ । अन्य कम्पनीका यही सेगमेन्टका कार ९ सय सीसीका छन् । सेन्ट्रोमा ४ सिलिन्डर छन्, जसले आवाजलाई कम गराउँछ र पर्फर्मेन्स पनि राम्रो दिन्छ । अन्य कम्पनीका उस्तै उत्पादनमा तीन सिलिन्डर प्रयोग गरेको पाइन्छ । अटोमेटिभ रिसर्च एसोसिएसन अफ इन्डियाका अनुसार नयाँ सेन्ट्रोले प्रतिलिटर २१ किलोमिटर माइलेज दिन्छ । ३५ लिटरको ट्यांकी भएको यो कारको ग्राउन्ड क्लियरेन्स क्षमता १६५ एमएमको छ । यो फुल अप्सन कार हो ।


यसमा नयाँ प्रविधि प्रयोग गरिएको छ । पुरानो सेन्ट्रोमा भन्दा नयाँ सेन्ट्रोमा रियर पार्किङ क्यामेरा, स्टेरिङ माउन्टेड कन्ट्रोल अडियो तथा ब्लुटुथ कन्ट्रोल, टच स्क्रिन र रियर एसी भ्यान्स राखिएको छ । यसमा पछाडि एसी जडान गरिएको छ । नयाँ सेन्ट्रोमा सेफ्टीलाई विशेष महत्त्व दिइएको छ । यसमा एन्टी लक ब्रेकिङ सिस्टम देखि इलेक्ट्रोनिक ब्रेक फोर्स वितरण र दोहोरो फ्रन्ट एयर ब्याग रहेको छ । रियर पार्किङ क्यामेरा अडियो भिडियोसहितको छ । स्पिडअनुसार कारका ढोका स्वचालित लक हुन्छ । स्पिड कम हुँदा अटो डोर अन–लक हुन्छ ।


सहरका लागि लक्षित गरेर तयार पारिएको यस कारमा स्पिड इन्डिकेटर पनि छ । ८० किलोमिटर प्रतिघण्टाभन्दा बढी स्पिड भएमा ध्वनिमार्फत सजग गराउँछ । यसले यात्रालाई सुरक्षित बनाउन सहयोग गर्छ । सिट बेल्टसहित एन्टी लक ब्रेकिङ सिस्टम छ । नयाँ सेन्ट्रोमा रियर डेफोगर र रियर पार्किङ सेन्सरको पनि प्रयोग गरिएको छ । नयाँ कार रातो, नीलो, सेतो, सिल्भर, स्टर्डस्ट, इम्पेरियल बेजमा उपलब्ध छन् । सेन्ट्रो माग्नाको मूल्य २४ लाख ९६ हजार रुपैयाँ पर्छ । सेन्ट्रो स्पोर्ट्सको मूल्य २६ लाख ९६ तोकिएको छ ।

प्रकाशित : वैशाख २०, २०७६ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?