१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

मध्यम मूल्यमा हस्तक्षेप

हेलो शुक्रबार

 
सामसुङको ए थर्टी र ए फिप्टीले नेपाली बजारमा हुवावेको वाई नाइन, साओमीको नोट एट लाइटजस्ता फोनसँग मूल्यका हिसाबले प्रतिस्पर्धा गर्नेछ  ।

मध्यम मूल्यमा हस्तक्षेप

हरेक कम्पनीका लागि सफलताको मानक मध्यम मूल्यका स्मार्टफोनहरू हुन् किनकि अधिकांश प्रयोगकर्ताले मध्यम मूल्यकै फोन खोज्छन् । नेपाली मोबाइल बजारमा मध्यम मूल्यका फोन भनेर २५ देखि ४० हजार रुपैयाँसम्मका फोनलाई बढी चिनिन्छ । यही मूल्यमा जसले राम्रो फोन दिन सक्छ, उसकै फोन बिक्छ ।


सामसुङले मध्यम मूल्यको मोबाइल बजारमा आफ्नो पकड राख्न नेपालमा दुई मोडल भित्र्याएको छ– ए थर्टी र ए फिप्टी । दुवै फोनको विशेषता मध्यम मूल्यमा हाई एन्ड फोनका अनुभूति हो । दुवै फोनले नेपाली बजारमा सामसुङको उपस्थिति बलियो बनाउनेछ । ६.४ इन्चको स्क्रिन भएका दुवै स्मार्टफोन एक हातमा चलाउँदा पनि सहज छ । ए थर्टीमा १६ र ५ मेगापिक्सेलका दुई क्यामेरा छन् जुन यो मूल्यमा प्राप्त हुने अन्य स्मार्टफोनसँग तुलना गर्दा कमजोर देखिन्नन् । ए फिप्टीमा भने २५, ८ र ५ पिक्सेलका तीन क्यामेरा छन् जुन अहिले चल्तीमा रहेका स्मार्टफोनको ट्रेन्ड बनेको छ । क्यामेराको हिसाबले हेर्दा अलि बढी मूल्य तिर्दा प्रयोगकर्ताले ए फिप्टीबाट बढी अनुभव गर्न पाउनेछन् । तर, थोरै मूल्य तिर्दा पनि ए थर्टीले निराश बनाउने छैन । ए थर्टीमा १६ मेगापिक्सेल र ए फिप्टीमा २५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ ।


एन्ड्रोइडको पछिल्लो संस्करण एन्ड्रोइड पाईमा उपलब्ध हुने दुवै फोनमा दुई–दुई सिम लाग्छन् र दुवैमा भ्वाइस ओभर एलटीईको सुविधा हुनेछ । भ्वाइस ओभर एलटीई सेवाको अनुभूति गर्न नेपाली प्रयोगकर्ताले अझै केही समय कुर्नुपर्नेछ किनकि अहिले कुनै पनि टेलिकम सेवा प्रदायकले यो सेवा सुरु गरिसकेका छैनन् ।आकार, प्रकार र उचाइसहित धेरै हिसाबले ए थर्टी र ए फिप्टी उस्तै लाग्छन् । ए थर्टीमा १.८ र ए फिप्टीमा २.३ गिगाहर्जको अक्टाकोर प्रोसेसर प्रयोग गरिएको छ । प्रयोगका हिसाबले दुई फोनको गतिमा यसले पनि केही फरक पार्नेछ । दुवै फोनमा ४ जीबीको र्‍याम प्रयोग गरिएको छ । दुवैमा सामसुङको एक्सिनोस चिपसेट रहेको छ ।


ए थर्टीको पछाडि फिंगर प्रिन्ट सेन्सर राखिएको छ । ए फिप्टीको अनस्क्रिन फिंगर प्रिन्ट सेन्सर छ । दुवै फोनमा ४ हजार एमएएचको ब्याट्रीको छ जुन प्रयोगकर्ताका लागि दिनभरिका लागि काम गर्छ । दुवैमा फास्ट चार्जिङको सुविधा छ । दुवै फोनले नेपाली बजारमा हुवावेको वाई नाइन, साओमीको नोट एट लाइटजस्ता फोनसँग मूल्यका हिसाबले प्रतिस्पर्धा गर्नेछ ।

सस्तो फोनमा विकल्प
चिनियाँ कम्पनी साओमीले गुगलको गो प्रोजेक्टसँगको सहकार्यमा तयार पारेको रेडमी गो फोन पनि नेपालमा उपलब्ध छ । मूल्यका हिसाबले सस्तो यो फोन सामान्य स्मार्टफोन प्रयोगकर्ताका लागि निकै राम्रो विकल्प हो । स्मार्टफोनको सबै आधारभूत फिचर रहेको यसमा मूल्य र क्षमताका हिसाबले गुनासो गर्ने ठाउँ रहन्न ।आधारभूत स्मार्टफोनमा पनि आफ्ना सबै एप र प्रोडक्टहरू अटाउन् भनेर गुगलले गो प्रोजेक्ट सुरु गरेको हो । यसमा गुगलका सबै एपहरू उपलब्ध गराउन छुट्टै डिजाइन तयार पारिएको हुन्छ । कम डाटा खर्च हुने र राम्रो क्षमता हुने कम मूल्यका स्मार्टफोनलाई लक्षित गरी यो सुरु भएको हो । यही प्रोजेक्टअन्तर्गत निर्माण भएको रेडमी गोमा ५ इन्चको स्क्रिन छ र ८ जीबीको स्टोरेज छ । यसलाई अरू मेमोरी चिप राखेर बढाउन पनि सकिन्छ । यसमा १ जीबीको र्‍याम र ३ हजार एमएचको ब्याट्री राखिएको छ । आधारभूत फिचर मात्रै भएकाले यसको ब्याट्री एक दिनभन्दा बढी प्रयोग गर्न पनि उपयोगी छ । एन्ड्रोइड ओरियो अपरेटिङ सिस्टम प्रयोग गरिएको फोनले दुई सिम सपोर्ट गर्छ । यसले फोरजीसहित थ्रीजी र टुजी नेटवर्क सपोर्ट गर्न सक्छ । क्वालकम स्न्यापड्र्यागन ४२५ चिपसेट प्रयोग भएको फोनले पर्फमेन्सको हिसाबले पनि गुनासो गर्न दिन्न । यसमा ८ मेगापिक्सेलको रेअर र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ ।

[email protected]

प्रकाशित : वैशाख १३, २०७६ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?