कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

असान्जकै चर्चा

हेलो शुक्रबार

काठमाडौँ —  
लन्डनस्थित इक्वेडर दूतावासमा ६ वर्षयता रहेका अस्ट्रेलियाली नागरिक जुलियन असान्ज फेरि चर्चामा छन्  । इक्वेडरले थप शरण दिन अस्वीकार गरेसँगै लन्डन प्रहरीले उनलाई गत साता पक्राउ गर्‍यो  ।

असान्जकै चर्चा

उनलाई अमेरिकी र स्वीडिस प्रहरीले पनि पक्राउ गर्ने प्रयास गरिरहेको छ ।


अमेरिकासहित धेरै देशका गोप्य कागजपत्र सार्वजनिक गर्दै आएको विकिलिक्सका संस्थापक असान्जले इक्वेडरको दूतावासमा शरण लिने बेलामै आफू उक्त संस्थासँग संलग्न नहुने प्रतिबद्धता जनाएका थिए । तर, उनी अझैं विकिलिक्सकै गतिविधिमा लागेको र दूतावासमा महत्त्वपूर्ण तथ्यांकहरू हात पार्न खोजेको आरोप लागेको छ । उनी सन् २०१२ देखि लन्डनस्थित इक्वेडरको दूतावासमा बस्दै आएका थिए । लन्डनको अदालतले उनलाई पक्राउ गरी अमेरिका पठाउन आदेश दिएपछि उनी दूतावासमा छिरेका थिए ।


आखिर असान्ज किन यति धेरै चर्चामा र खोजीको सूचीमा छन् ? कारण खोज्न सन् २०१० तिर फर्किनुपर्छ । विकिलिक्सको स्थापना २००६ मा भए पनि यसले व्यापक चर्चा २०१० मा आएर पायो । यसले अमेरिकी सेनाले इराक र अफगानिस्तानमा सर्वसाधारण मान्छे कसरी मारेको थियो भन्ने गोप्य दस्ताबेज र भिडियोसमेत सार्वनिक गरिदियो । त्यसपछि वर्षभरि नै अमेरिकी अधिकारीहरूले संसारभर आफ्ना कर्मचारीसँग गरेको गोप्य इमेलहरू पनि सार्वजनिक भइरहे ।


विकिलिक्सकै कारण अमेरिकी सरकारले संसारभर आलोचना खेप्नुपर्‍यो । सबैभन्दा आलोचित जानकारी इराकमा अमेरिकी सेनाले सर्वसाधारणको हत्या गर्दाको थियो । उक्त दृश्यमा हेलिकप्टरमा रहेका सेनाको टोलीले सर्वसाधारणलाई तोकेर गोली हान्ने सल्लाह गर्छन् । एक अधिकृतले अर्को जवानलाई भनेका छन्, तिनीहरू सबैलाई उडाइदेऊ । नभन्दै गोली चल्छ र सडकमा हिंडिरहेका सर्वसाधारण ढल्छन् ।


केहीबेरमा घाइते लिन आइपुगेको भ्यानमाथि पनि अमेरिकी सेनाले गोली चलाउँछन् र केहीको मृत्यु हुन्छ । अति अमानवीय र क्रूर यो तथ्य सार्वजनिक भएपछि संसारभर नै अमेरिकी सरकार र सेना आलोचित बनेको थियो । यसबाहेक सेलिब्रेटी, अमेरिकी र बेलायती दलहरूका गोप्य दस्तावेजहरू पनि सार्वजनिक गरेर विकिलिक्सले आफ्नो चर्चा त कमायो नै यसले संसारभर हुने तुच्छ कामको नालीबेली पनि बाहिर निकाल्यो ।


सन् २०१६ मा अमेरिकी राष्ट्रपति निर्वाचनको क्रममा हिलारी क्लिन्टनका प्रचार प्रमुखले क्लिन्टनकी प्रतिस्पर्धी बर्नी सान्डर्सलाई मूर्ख भनी सम्बोधन गरेको इमेल विकिलिक्सले सार्वजनिक गरेको थियो । सान्डर्सले उठाएको जलवायु परिवर्तनको मुद्दालाई लिएर उनलाई मूर्ख भनिएको थियो । त्यसअघि सन् २००८ मा विकिलिक्सले ब्रिटिस नेसनल पार्टीको सदस्यहरूको व्यक्तिगत विवरणसहित उक्त पार्टीले तयार पार्दै गरेको गोप्य घोषणापत्र पनि सार्वजनिक गरिदियो । उक्त घोषणापत्रमा मुस्लिम देशका नागरिकलाई बेलायत आउन प्रतिबन्ध लगाउने र केही नागरिकलाई
पुरानै देश फर्कन प्रोत्साहित गर्ने गरी नीति लिने लेखिएको थियो । त्यसले नेसनल पार्टीविरुद्ध आक्रोश बढायो ।


सन् २०१५ मा सोनी इन्टरटेनमेन्ट ह्याक भएको थियो । दक्षिण कोरियाली ह्याकरले गरेको भनी प्रचारित उक्त घटनासँग सम्बन्धित करिब २ लाख इमेलहरू विकिलिक्सले प्रकाशित गरिदियो । उक्त कागजपत्रमा फिल्म निर्माताहरूले महिला कलाकारहरूबारे के कुरा गर्छन् भन्ने विवरणहरू थिए । महिला कलाकारले पुरुष कलाकारको तुलनामा निकै कम पारिश्रमिक पाउने गरेको, आफ्नो फिल्म खेल्न नमान्दा कलाकारहरूलाई निर्माताले तुच्छ शब्दले सम्बोधन गर्ने गरेको जस्ता तथ्य सार्वजनिक भए ।


विकिलिक्सले धेरै गोप्य दस्ताबेजहरू सार्वजनिक
गरेको भए पनि यसलाई चर्चित बनाउन अमेरिकी गुप्तचर निकायकी विश्लेषक चेल्नी म्यानिकङको भूमिका पनि महत्त्वपूर्ण छ । सन् २०१० मा विकिलिक्सले सार्वजनिक गरेको इराक र अफगानिस्तान युद्धका दस्ताबेज र भिडियोहरू उनैले सार्वजनिक गर्न सघाएकी हुन् । इराक युद्धमा मात्रै ६६ हजार सर्वसाधारण मारिएका र सयौंलाई जेलमा यातना दिइएको तथ्यांकहरू सार्वजनिक गरेकी उनी अहिले जेलमै छिन् ।

[email protected]

प्रकाशित : वैशाख ६, २०७६ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?