आलियाको रफ्तार

यतिबेला बलिउडको केन्द्रमा छिन्, आलिया भट्ट। करिअर सुरु गरेको ६ वर्षमै आलिया कसरी शिखरमा पुगिन् ?

काठमाडौँ —  
राजी’ बाट फिल्मफेयर अवार्ड्समा उत्कृष्ट अभिनेत्री घोषित भइन्, आलिया भट्ट  । दीपिका पादुकोण, अनुष्का शर्माजस्ता सिनियर हिरोइनलाई पछि पारिन्  ।

आलियाको रफ्तार

यस वर्षको फिल्मफेयर अवार्ड उनका लागि विशेष हुनुको कारण यत्ति मात्र भने होइन । उत्कृष्ट अभिनेताको अवार्ड चुम्ने अरू कोही नभएर उनका प्रेमी थिए, रणवीर कपुर । ‘सञ्जु’ बाट रणवीरले अवार्ड जिते । स्टेज उक्लनुपूर्व छेवैमा रहेकी आलियालाई चुम्बन गरे, उनका आँखा भरियो । उनले पनि खुलमखुला रणवीरलाई ‘आई लभ यु’ भनिन् । त्यसपछि भारतीय मिडियाले लेखे, ‘व्यावसायिकसँगै व्यक्तिगत रूपमा पनि आलिया सुखी र सन्तुष्ट छिन् यतिबेला ।’ हो पनि त्यस्तै । एकातिर रणवीरसँगको अफेयर सबैका सामु व्यक्त गर्ने अवस्थामा पुगेकी छन्, अर्कातिर जुन फिल्म खेल्छिन्, त्यति हिट हुन्छन् ।


त्यसो त ‘राजी’ बाटै आलियाले स्क्रिन अवार्ड्स र जी सिने अवार्ड्स पनि जितिन् । अर्को प्रतिष्ठित आइफा अवार्ड्स उनकै पोल्टामा परे अचम्म नमाने हुन्छ । अघिल्लो वर्ष आलियाको यही एउटा फिल्म रिलिज भएको थियो । तैपनि यतिविघ्न ख्याति कमाइन् । यो वर्ष उनका लागि अझ सुखद हुने निश्चित छ । ‘गल्ली ब्वाई’ ले भारु. अढाई सय करोड कलेक्सन गरेर रेकर्ड राखिसक्यो । बिग बजेटको ‘कंलक’ १७ अप्रिलमा प्रदर्शन हुँदै छ । यसमा वरुण धवनको अपोजिटमा छिन् उनी । ‘ब्रह्मास्त्र’ त आलियाको ‘ड्रिम’ नै हो । रियल प्रेमी रणवीरसँग रोमान्स जो गरेकी छन् । यो फिल्म डिसेम्बरमा प्रदर्शन हुनेछ तर इन्स्टाग्राममा अहिलेबाटै प्रबर्द्धन गरिरहेकी छन् । र, यही वर्ष उनले बाहुबली निर्देशक एसएस राजामौलीको ‘आरआरआर’ को सुटिङ भ्याउनेछिन् । सञ्जयलीला भन्सालीको ‘इन्साल्लाह’ मा सलमान खानसँग काम गर्ने पक्कापक्की भइसकेको छ ।


आलियाको ‘ट्र्याक रेकर्ड’ पनि उस्तै उत्साहजनक छ । जस्तो ः उनी अभिनीत ११ फिल्म रिलिज भए । ‘शानदार’ बाहेक सबै हिट । जबकि ‘स्टुडेन्ट अफ द इयर’ बाट डेब्यु हुँदा उनलाई हल्का रूपमा लिइएको थियो । उनका बाबु महेश भेट्रान फिल्ममेकर हुन् भने आमा सोनी रज्दान एक समयकी लोकप्रिय अभिनेत्री । ‘स्टार किड’ भएकाले उनलाई शंकाको नजरले हेरियो ।


बलिउडकै सदस्यले भनेका थिए, ‘आलियामा न अभिनय कुशलता छ, न लगनशीलता । महेश भट्टकी छोरी भएर मात्र उनलाई करण जौहरले डेब्यु गराएका हुन् ।’ तर आलियाले यो ६ वर्षमा जे गरिन्, त्यसले बलिउड उनको खुलेर तारिफ गर्न थालेको छ । ‘ग्ल्यामर आइकन’ मानिन्छ, आलियालाई । पहिलो फिल्ममा स्टाइलिस भूमिकामा देखिएकी थिइन् तर ‘हाइवे’ बाट आफ्नो साख ह्वात्तै बढाइन् । घरेलु यौन हिंसाको सिकार युवतीको भूमिकालाई उनले साँच्चै जीवन्त बनाएकी थिइन् । ‘उड्ता पञ्जाब’ मा विहारकी आप्रवासी कामदार बनिन्, जो एकपछि अर्को यातनाको सिकार हुनुपर्छ । सुटिङपश्चात् आलियाले भनेकी थिइन्, ‘मेरा लागि निकै कष्टकर भूमिका । मलाई त्यहाँबाट निस्कन गाह्रो भइरहेको छ ।’ तर यही चरित्रले उनलाई फिल्मफेयर अवार्ड दिलायो । ‘डियर जिन्दगी’ मा आन्तरिक द्वन्द्वमा परेकी युवती वा ‘राजी’ मा जासुस बुहारी । आलियाले जति काम गरेकी छन्, प्रशंसै–प्रशंसा पाएकी छन् । हेमा मालिनीसमेत उनको फ्यान हुन् ।


बलिउडमा नातावादको चर्को विरोध हुने गर्छ । कहिलेकाहीँ यो रापमा आलियासमेत पर्छिन् । केही समयअघि मात्र उनलाई हिरोइन कंगना रनावतले ‘करण जौहरको कठपुतली’ को आरोप लगाइन् । यसमा शंकै छैन, करणको साथ छ उनलाई । र, यसमा पनि शंका छैन, आलियाको क्षमता र लोकप्रियताबाट प्रभावित भएरै करणले उनलाई आफ्नो ब्यानरमा दोहोर्‍याइरहेका छन् । अरू बिग ब्यानरको हकमा पनि त्यही हो । आलिया स्वयं भन्छिन्, ‘अरूको मायाले एक–दुई पटक मौका पाइएला । तर निरन्तर टिकिरहन कामै राम्रो गर्नुपर्छ । मेरो हकमा के हो, त्यो मैले होइन । अरूले भन्ने हो ।’

–एजेन्सीको सहयोगमा

प्रकाशित : चैत्र २२, २०७५ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?