कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

टोरन्टिनोको नवौं

यो कथा हो, हलिउडका प्रख्यात फिल्ममेकर क्वन्टिन टोरन्टिनो र उनको नयाँ फिल्मको । टोरन्टिनोलाई संसारभर थुप्रै युवालाई फिल्ममेकर बन्न प्रेरित गर्ने निर्देशक मानिन्छ । हलिउडका यी स्टाइलिस फिल्ममेकरले आफ्नो पूरा करिअरमा जम्मा १० वटा फिल्म बनाउने बताएका छन् ।
हेलो शुक्रबार

काठमाडौँ —  
आफ्नो समयका दुई ठूला सुपरस्टारलाई एउटै फिल्ममा देख्न पाउनु दर्शकका जति स्वादको कुरा हो, फिल्म निर्माताहरूका लागि त्यति नै गाह्रो काम  । एक त दुई स्टारको पारिश्रमिक नै धेरै  ।

टोरन्टिनोको नवौं

त्यसमाथि समय पाउन मुस्किल । अझै एकअर्काका प्रतिस्पर्धी परे भने त अरू झन्झट । कोही त साथी कलाकारको गतिलो सिन काट्न दबाब दिने खालका समेत हुन्छन् ।


त्यसमाथि स्टारहरू हलिउड सुपरस्टार ब्राड पिट र लियोनार्डो डिक्याप्रियो परे भने ? यी दुवै संसारभर लाखौं प्रशंसक कमाएका सिद्धहस्त अभिनेता हुन् । आफैंमा करोडौं डलरको ब्रान्ड बनिसकेका यी दुई स्टारलाई एउटै फिल्ममा ल्याउनु ठूलो चुनौती थियो । यसका लागि क्वन्टिन टोरन्टिनो वा स्टिभव स्पिलवर्गजस्तै फिल्ममेकरले मात्रै पार लगाउन सक्थे । नभन्दै, टोरटिन्टोले आफ्नो नवौं फिल्म ‘वन्स अपन अ टाइम इन हलिउड’ मा यी दुईलाई एकसाथ ल्याए । यी दुईका साथ पुरानो जमानाका सुपरस्टार अल पचिनोसमेत ।


यो कथा हो, हलिउडका प्रख्यात फिल्ममेकर क्वन्टिन टोरन्टिनो र उनको नयाँ फिल्मको । टोरन्टिनोलाई संसारभर थुप्रै युवालाई फिल्ममेकर बन्न प्रेरित गर्ने निर्देशक मानिन्छ । हलिउडका यी स्टाइलिस फिल्ममेकरले आफ्नो पूरा करिअरमा जम्मा १० वटा फिल्म बनाउने बताएका छन् । ‘वन्स अपन अ टाइम इन हलिउड’ उनको नवौं फिल्म हो । ‘किलबिल’, ‘पल्प फिक्सन’ देखि ‘इन्ग्लोरियस बास्टर्ड×’ र ‘ज्याङ्गो अनचेन्ड’ सम्म आइपुग्दा टोरन्टिनोले एक्सन र थ्रिलरलाई उचाइमा पुर्‍याएको मानिन्छ ।


‘वन्स अपन अ टाइम इन हलिउड’ दुइटा कथाको फिल्म हो । फिल्मको कथा सन् १९६९ को हलिउडबारे छ । जसमा टेलिभिजन सेरिजबाट फिल्ममा आउन संघर्ष गरिरहेको एक एक्सन स्टार र उसका स्टन्टहरू गरिदिने ‘बडी डबल’ को कथा छ । फिल्ममा त्यो स्टारको भूमिकामा लियोनार्डो डिक्याप्रियो छन् । डिक्याप्रिओ यसअघि टोरन्टिनोको ‘ज्याङ्गो अनचेन्ड’ मा पनि मुख्य भूमिकामा थिए । स्टारको बडी डबलको भूमिकामा ब्रड पिट छन् । पिटले उनको दोस्रो विश्वयुद्धताकाको कथा ‘इन्ग्लोरियस बास्टर्ड’ मा नाजी हन्टरको भूमिकामा अभिनय गरेर चर्चा पाएका थिए ।


फिल्मको अर्को ट्र्याक १९६९ मा भएको अभिनेत्री स्यारोन टेटको हत्याको कथा छ । त्यो समयमा क्यालिफोर्नियाको एउटा आपराधिक समूह ‘म्यानसन फ्यामिली’ का सदस्यले टेटसहित उनको घरमा रहेका चारजनाको हत्या गरेको घटना फिल्मको केन्द्रमा छ । हत्या भएको समयमा अभिनेत्री स्यारोनको पेटमा साढे आठ महिनाको बच्चा थियो । उनका पति विश्व प्रसिद्ध पोलिस फिल्ममेकर रोमन पोलस्कीं फिल्म सुटिङका क्रममा युरोपमा रहेका कारण बचेका थिए । फिल्ममा मार्गोट रोबीले स्यारोनको भूमिकामा अभिनय गरेकी छन् । रोबीले यसअघि मार्टिन स्कोरसेजीको फिल्म ‘उल्फ अफ वालस्ट्रिट’ मा लियोनार्डोको जोडीका रूपमा अभिनय गरेकी थिइन् ।


यी दुइटा ट्र्याकमा टोरन्टिनोको फिल्म गुडेको छ । यसबीचमै उनले हलिउडको ‘गोल्डन एज’ को कथा भनेका छन् । साठीको दशक भनेको हलिउडमा वेस्टर्न (काउब्वाई) कथाको वर्चस्व रहेको समय हो । जोन वाइन त्यसबेलाका सबभन्दा ठूला स्टार थिए । उनका ‘ट्रयु ग्रिट’ लगायतका फिल्म १९६९ मै प्रदर्शनमा आएका थिए । त्यसै वर्ष अर्को चर्चित वेस्टर्न ‘बुचकासिडी एन्ड द सनडान्स किड’ पनि आएको थियो । यही समयमा इङमर वर्गम्यानजस्ता फिल्ममेकर पनि सक्रिय थिए ।


टोरन्टिनो फिल्म मेकिङका लागि जति मानिन्छन्, त्यति नै विवादास्पद पनि छन् । सहकर्मी कलाकारसँगको सम्बन्धमात्र होइन, उनीहरूबारे गर्ने टिप्पणीले पनि उनलाई बेलाबेला विवादमा ल्याउने गर्छ । ‘वन्स अपन अ टाइम इन हलिउड’ घोषणादेखि नै रोमन पोलन्स्कीका कारण विवादमा आएको थियो । पोलन्स्की करिब ३० वर्ष पुरानो एक बलात्कारको मुद्दा खेपिरहेका थिए । कम उमेरकी किशोरीसँगको शारीरिक सम्बन्धलाई लिएर उनीमाथि मुद्दा चलिरहेको थियो । त्यसैबेला टोरन्टिनोले उनकी पूर्वपत्नीको हत्याको कथामा फिल्म बनाउने घोषणा गरेपछि गलत समयमा पोलस्कीप्रति सद्भाव दर्शाउन खोजेको भन्दै टोरन्टिनोको आलोचना भएको थियो ।


टोरन्टिनो हलिउडका अर्का विवादास्पद निर्माता हार्भी विन्स्टनसँगको सामीप्यताका कारण पनि विवादमा परे । ‘वन्स अपन अ टाइम’ को पनि सुरुवाती निर्माता हार्भी नै थिए । टोरन्टिनोका अहिलेसम्मका सबै फिल्मको निर्माता उनै हुन् । हार्भी माथि यौन उत्पीडनको आरोप लागेपछि टोरन्टिनो यो फिल्ममा भने उनीबाट अलग भए । हार्भीले यौन दुर्व्यवहार गरेको भनेर सलमा हयाक लगायतका ठूला अभिनेत्रीहरूले सार्वजनिक गरेपछि हलिउडमा ‘मीटु’ मुभमेन्टले गति लिएको हो । पछि हार्भी गिरफ्तार नै भए ।


जुलाई २६ मा अमेरिकी बजारमा प्रदर्शनमा आउने यो फिल्मको निर्माण र वितरण सोनी पिक्चर्सले गर्दैछ । संसारलाई भनै सबभन्दा धेरै प्रभावित गर्ने सांस्कृतिक उद्योगका रूपमा रहेको हलिउडको यो भित्री कथाले अहिले फिल्मप्रेमीहरूको उत्सुकता बढाइरहेको छ । २०१५ मा ‘दि रेभेनान्ट’ का लागि उत्कृष्ट अभिनेताको ओस्कर पाएपछि लियोनार्डोले अभिनय गरेको फिल्म यही हो ।

[email protected]

प्रकाशित : चैत्र १५, २०७५ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?