१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

मध्यम बजेट, अब्बल फिल्म

बलिउडमा एकातिर ठूला स्टारका ठूला बजेटका फिल्म भटाभट गोलखाडी गइरहेका छन् । अर्कातिर मध्यम बजेट र स्टारका फिल्मले नामसँगै दाम कमाइरहेका छन् । सन् २०१९ को सुरूका तीन महिनामा त्यस्ता कुन–कुन फिल्म आए ?
हेलो शुक्रबार

काठमाडौँ — उत्कृष्ट फिल्म बन्नका लागि बजेट ठूलो कुरा हो कि बुद्धि ? यो यस्तो सवाल हो, जसको अन्त्य कहिल्यै हुन्न  । निर्माता, निर्देशक, पत्रकार, दर्शकसम्म भिन्न मत हुन्छ  ।

मध्यम बजेट, अब्बल फिल्म

यतिचाहिँ सत्य हो, पैसा खन्याएर मात्र शानदार फिल्म बन्दैन । बरु फिल्ममेकरमा सिर्जनशीलता छ भने ठीकै बजेटमा पनि उम्दा सिनेमा बन्छन् । हामीकहाँ त फिल्मको स्तर वृद्धि नहुनुमा सिधै बजेटतिर औंला सोझाइन्छ, खासमा यो बहानामात्र हो, बलिउडकर्मी पनि यो भ्रमबाट मुक्त छैनन् । जसमा स्टार लिएर मनग्ये खर्च गरेपछि मात्र फिल्म चल्छ भन्ने सोच छ । तर २०१९ मा यो भ्रम विस्तारै चिरिँदै छ ।


अघिल्लो वर्ष शाहरुख खान, सलमान खान र आमिर खानका बिग बजेटवाला फिल्म सोत्तर भए, एक खालको नैराश्यता छायो तर यो वर्षको सुरुवाती तीन महिनामा मध्यम बजेटका तीन फिल्मले चमत्कार गरिरहेका छन्, ‘उरी ः द सर्जिकल स्ट्राइक’, ‘लुका छुप्पी’ र ‘बदला’ । बलिउडका लागि सुखद संकेत होइन र ? नेपाली फिल्मको अहिलेको औसत बजेट एक करोड रुपैयाँ हो भने हिन्दी फिल्मको एक सय करोड भारु । तर उल्लिखित तीनै फिल्मको बजेट औसत आधाभन्दा कम छ । जस्तो ः ११ जनवरीमा प्रदर्शित ‘उरी ः द सर्जिकल स्ट्राइक’ को लगानी जम्माजम्मी ४५ करोड भारु हो । प्रमोसन खर्च पनि यसमै पर्छ । यसको बक्सअफिस कलेक्सन साँच्चै अद्भुत छ । बक्सअफिससम्बन्धी भारतको विश्वसनीय वेबसाइट कोईमोई डटकमका अनुसार ‘उरी’ ले घरेलु बजारमा मात्र २ सय ४२ करोडको व्यापार गरेको छ । यो वर्ष अहिलेसम्म प्रदर्शितमध्ये सबैभन्दा अगाडि यही फिल्म छ । अझ धेरै हलमा प्रदर्शन जारी छ ।


यही फिल्मबाट विक्की कौशल ‘बिग स्टार’ भए । उनी आर्मी अफिसर बनेका छन् । उनको साथमा छिन्, गौतम यामी, ‘रअ’ की एजेन्ट । तीन वर्ष अगाडि पाकिस्तान प्रशासित कश्मीरका आतंककारीका अखडामाथि भारतले हमाला गरेको थियो । यसलाई मोदी सरकारकै उल्लेखनीय उपलब्धि मानिन्छ । उरी हमालाको जवाफ थियो यो । निर्देशक आदित्य धरले यही घटनामाथि कथा बुनेका छन् । ‘प्यारका पञ्चनामा’ बाट चम्किएका अभिनेता हुन्, कार्तिक आर्यन । चकलेटी लुक्सका आर्यन युवतीमाझ औधी लोकप्रिय छन् । ‘लुका छुप्पी’ ले उनलाई नयाँ उचाइ दिलायो । उनको अपोजिटमा छिन्, कृति सानोन । यो फिल्मको बजेट जम्माजम्मी २५ करोड भारु । खास चमकधमक केही छैन । सिर्फ लिभ–इन रिलेसनलाई विवाहमा बदल्नु पर्दाको सास्तीलाई रसिलो ढंगले देखाइएको छ । कथित धर्म र संस्कारको नाममा भारतीय समाज कति अनुदार हुँदै छ भन्ने झल्को पाइन्छ फिल्ममा ।


निर्देशक लक्ष्मण उटेकरको रोचक शैलीको स्टोरीटेलिङ फिल्मको मेरुदण्ड मानियो । र, यो फिल्मको अहिलेसम्मको व्यापार ८० करोड भारु पुगेको छ । यसमा ओभरसिजको कमाइ जोडिएको छैन । अहिल्यै फिल्म सुपरहिट दर्जामा परिसकेको छ । ‘रोम–कम’ जनराका पारखीलाई ‘लुका छुप्पी’ अझ प्रिय लाग्छ । अझ ‘बदला’ को बजेट त प्रमोसनबाहेक १० करोड भारु मात्र हो । अमिताभ बच्चन र तपसी पन्नु मुख्य भूमिकामा छन् । यसको ग्रस कलेक्सन ५० करोड भारु पुगिसकेको छ । जबकि यो फिल्म जम्माजम्मी भारतका ८ सय हलमा चलेको थियो, पहिलो हप्ता । तर अकुपेन्सी यति खँदिलो हुँदै गयो कि अरू हलले पनि चलाउन थाले । यसका निर्माता हुन्, शाहरुख खान । अब यसो भनौं, ‘जिरो’ बाट आहत शाहरुखलाई ‘बदला’ ले राहत दिएको छ ।


स्पानिस फिल्म ‘द इनभिजिबल गेस्ट’ को हिन्दी रिमेक हो, ‘बदला’ । एउटा हत्या प्रकरणमाथि घुमेको फिल्ममा छिनछिनमा
ट्वीस्ट आउँछन्, नयाँ–नयाँ मोड आउँछन्, रहस्य थपिँदै जान्छ । कथाक्रमबाट दर्शकको ध्यान अन्त जाँदै जाँदैन । ‘पिंक’ मा पनि अमिताभ वकिल थिए, ‘बदला’ मा पनि वकिल नै । ‘पिंक’ मा पनि तपसी मुद्दाको लफडामा थिइन्, यसपटक पनि त्यस्तै । फरकचाहिँ के छ ? थाहा पाउन फिल्म हेर्नुपर्छ । अमिताभको करिब ९५ प्रतिशत दृश्य एउटै कोठाभित्र खिचिएको छ । तर यही रोलबाट अमिताभले अवार्ड पाए अचम्म नमाने हुन्छ । तपसीको भूमिका र अभिनय दुवै सशक्त छ । यसअघि अमिताभ–तपसीको जोडीले पिंकमा वाहवाही कमाएको थियो । त्यस्तो त यी तीनबाहेक ‘गल्ली ब्याई’ लाई पनि यही कोटिमा राख्न सकिन्छ । किनभने रणवीर सिंह र आलिया भट्टजस्ता चलेका स्टार लिएर पनि यो फिल्मको लगानी ४० करोड नाघेन तर भारतभित्रै १ सय ३८ करोड ग्रस कलेक्सन गरेको छ । र्‍यापरलाई मुख्य भूमिकामा उभ्याइएको गल्ली ब्याईमा बलिउडको मूलधारको सूत्र पछ्याइएको छ । तैपनि कमाल गर्‍यो ।
अब के भन्ने, उत्कृष्ट फिल्म बन्न बजेट नै सर्वथा हो त ?
(एजेन्सीहरूको सहयोगमा)

[email protected]

प्रकाशित : चैत्र ८, २०७५ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?