स्वास्थ्यका साथी

विभु लुइटेल

काठमाडौँ —  
अमेरिकाको सियाटलस्थित बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले प्रत्येक वर्ष आयोजना गर्ने गोलकिपर नामको कार्यक्रमबाट इमेल आयो, स्पाम होला भनेर खासै वास्ता गरेनन् २८ वर्षीय वाङ्चुक राप्तेन लामाले  । बारम्बार इमेल आइरहेपछि बल्ल रिप्लाई गरे र स्पाम नभएको थाहा पाए  ।उक्त फाउन्डेसनले तयार गरेको असाधारण युवाको सूचीमा उनी पर्न सफल भएका रहेछन् ।

स्वास्थ्यका साथी

‘लामो समयदेखि आफ्नो क्षेत्रमा योगदान पुर्‍याउँदै आएका विभिन्न देशका सयौँ युवासँग प्रत्यक्ष साक्षात्कार गर्दा गौरवान्वित महसुस गरेँ,’ उनले सुनाए । उनले देखेभेटेका नेपाली युवाले समयमै आफ्नो लक्ष्य पहिचान गर्न नसकेको टिप्पणीसमेत उनी गर्छन् । उनले खुसीसँगै जिम्मेवारीको ठूलो भार आफूमाथि थपिएको महसुस गरे । लामा स्वास्थ्य स्वयंसेवक हुन् । १३ वर्षको छँदा जन्डिसका कारण उनले आमा गुमाए । अरूले त्यसरी नै रोगका कारण आफ्ना मान्छे गुमाउन नपरोस् भन्ने सोच राखी उनले स्वास्थ्य क्षेत्रमा काम गर्ने निर्क्योल त्यति बेला नै गरेका हुन् । आमाको श्राद्धका लागि गोरखास्थित आफ्नो गाउँ छेकम्पार गएका बेला त्यहाँको स्वास्थ्य क्षेत्रको दुर्गति देखेर आफ्नै गाउँका लागि केही गर्छु भन्ने प्रण लिएका लामाको यो कथा विभिन्न देशबाट आएका सहभागीले सुन्ने अवसर प्राप्त गरे । तर, गोरखामा मात्र उनको योगदान सीमित रहेन । काठमाडौं, धादिङ, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकलगायतका जिल्लामा पनि उनले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन् । यस्ता शिविरमा उनले सहभागी गराएका डाक्टरले बिरामीको स्वास्थ्य परीक्षण बिना कुनै शुल्क गरिदिने मात्र होइन, औषधि पनि निःशुल्क नै वितरण गर्ने गरेका छन् ।


यसैगरी एकचित्त भएर आफ्ना काम गरिरहेका बेला उनले अछाम जिल्लाका राउटे समुदायबारे सुन्न पुगे । अछाममा शिविर सञ्चालन गर्न पाए त्यस समुदायमा व्याप्त स्वास्थ्य समस्या केही हदसम्म भए पनि कम गर्न सकिने अठोट उनले गरे । त्यसैले अहिले उनी समय–समयमा चिकित्सकसहितको आफ्नो टोली लिएर अछामका विभिन्न गाउँ पुग्छन् । एकचोटि आफ्नै स्वास्थ्य परीक्षण गराउँदा उनमा एएसडी (मुटुमा प्वाल पर्ने रोग) देखा पर्‍यो । ‘मैले त आवश्यक स्वास्थ्यसेवा पाएँ, कतिले त्यो पनि पाउँदैनन्,’ उनी गुनासो पोख्छन् । तर, यसबाट विचलित नभई यसैलाई एक अवसरका रूपमा हेरेका लामाले नेपालका विकट क्षेत्रमा मुटुरोग परीक्षणका शिविर पनि सञ्चालन गर्न थाले ।केही समयअघि काभ्रेको नमोबुद्धमा उनले निःशुल्क क्लिनिक सञ्चालन गरे । अकुपञ्चरदेखि आयुर्वेदिक पद्धतिअन्तर्गतका सेवा जोसुकै सेवाग्राहीले उनको क्लिनिकबाट पैसा खर्च नगरी प्राप्त गर्न सक्थे । ‘तर, निःशुल्क पाएको चीजलाई त्यहाँका स्थानीयले खासै महत्त्व दिएजस्तो लागेन,’ उनी अनुभव साट्छन् । आफूले थोरै भए पनि पैसा खर्च गर्दा जे कुराको पनि महत्त्वबोध हुन्छ भन्ने लागेकाले अहिले उनी क्लिनिकमा परीक्षण र उपचारबापत पाँच रुपैयाँ सेवा शुल्क लिन्छन् ।


गेट्स फाउन्डेसनको गोलकिपरले मात्र नभएर सन् २०१४ मा आयरल्यान्डको डब्लिनमा आयोजित वान योङ वर्ल्ड समिटले समेत उनको योगदानको कदर गर्‍यो । प्रत्येक वर्ष उक्त समिटमा एक देशबाट एक प्रतिभा सम्मानित हुन्छन् । बौद्ध गुरु रिम्पोछेले दिने प्रेरणाले पनि उनलाई अरूको सेवामा लागिपर्ने प्रेरणा प्रदान गर्छ । ‘सेवामा जीवन बिताउनुभन्दा आनन्ददायी अरू केही छैन भन्ने कुरा उहाँ मलाई दिनहुँ भनिरहनु हुन्छ,’ उनले भने । यसैलाई उनले मन्त्रका रूपमा अनुसरण गरेका छन् ।
twitter : @LuitelBibhu

प्रकाशित : फाल्गुन १७, २०७५ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?