शानदार डेब्यु
काठमाडौँ —
बुलबुल’ चलेकै थिएन, गीत र ट्रेलर सार्वजनिक हुनासाथ मुकुन भुसालको चर्चा सुरु भइसकेको थियो । उनको चरित्रको नामै युनिक, चोपेन्द्र ।
बुलबुल’ चलेकै थिएन, गीत र ट्रेलर सार्वजनिक हुनासाथ मुकुन भुसालको चर्चा सुरु भइसकेको थियो । उनको चरित्रको नामै युनिक, चोपेन्द्र । बोल्ने शैली अझ नवीन । अर्घाखाँचीतिरको लवज मिसिएको । सम्भवतः यसअघि नेपाली फिल्मका मुख्य पाक्रले कहिल्यै नबोलेको लवज । गत शुत्रबारबाट ‘बुलबुल’ प्रदर्शन भएपछि त मुकुनको प्रशंसाको ओइरै लागेको छ । उनले बोल्ने ‘च्यागुल्लो छ’ संवाद उस्तै लोकप्रिय हुँदै छ । जबकि उनको यो पहिलो फिल्म हो ।
‘तपाईंहरूका लागि म नयाँ लाग्न सक्छ तर म नौ वर्षदेखि अभिनय साधना गरिरहेको छु । त्यसकै प्रतिफल हो, चोपेन्द्र चरित्र,’ मुकुनले भने । ‘बुलबुल’ हेर्ने जोकोहीलाई हेक्का हुन्छ, चरित्रलाई जीवन्त बनाउन मुकुनले कुनै कसर छोडेका छैनन् । रोचक पक्षचाहिँ हिरोको परम्परागत मानकमा चोपेन्द्र अटाउँदैन । तर उनको हुलिया, बोली र व्यवहारले दर्शकलाई आत्मीय गराउँछ ।
नेपाली फिल्ममा अभिनेता होइन, तथाकथित स्टारको हालीमुहाली छ । जो चरित्रमा जीवन भर्न होइन, नक्कल गर्न उद्यत हुन्छन् । त्यस्ता चरित्र समाजभन्दा पर हुन्छन् । यी अवगुण चोपेन्द्रमा देखिन्न । रैथाने लाग्छ यो चरित्र । मुकुन भन्छन्, ‘मलाई हिरो बन्नु छैन, स्टार हुनु छैन । चरित्रमा बाँच्नु मात्र छ ।’ यसको जबर्दस्त संकेत ‘बुलबुल’ मा देखाइसकेका छन् ।
कसरी बने चोपेन्द्र ?
अर्घाखाँचीको सन्धिखर्कबाट एसएलसी सकेपछि प्लस टु पढ्न काठमाडौं आए । प्लस टु सकियो तर स्नातकमा भर्ना हुन मन लागिहालेन । दिल्ली गए । के गर्ने भन्नेचाहिँ उनैलाई पत्तो थिएन । अभिनयको प्रशिक्षण लिने मौका जुर्यो । तर लामो समय बस्न सकेनन् । यता आएर मोटरसाइकल वर्कसप खोले । अभिनयको रस पसिसकेको थियो, अवसर थिएन । एकाध सडक नाटक खेले, आँत भरिएन । त्यसैले ओस्कार कलेजमा भर्ना भए, सन् २०१३ मा । मुकुन सम्झन्छन्, ‘पढेपछि अभिनय कौशल त बढ्छ नै, फिल्म खेल्ने मौका जुर्छ भन्ने आशा पनि थियो ।’
तर त्यो आश पूरा भएन, अभिनयमा स्नातक गरिसक्दा पनि । केही सर्ट फिल्ममै चित्त बुझाउनुपर्यो । फिचर फिल्मबाट प्रस्ताव नआएका होइनन् । स्क्रिप्ट पढ्थे, जुन भूमिका उनलाई मन पर्थ्यो, त्यो पाउँदैनथे । जुन पाउँथे, त्यो मन पर्दैनथ्यो । उनी भन्छन्, ‘डेब्यु प्रभावशाली भएन भने छवि बिग्रन्छ, करिअर अगाडि बढ्दैन भन्नेमा निश्चिन्त थिएँ । त्यसैले हतारिएर फिल्म खेलिनँ । धैर्य गरें ।’ कहिलेसम्म पर्खने ? टुंगो थिएन, यस्तो अवस्थामा आफूसँगै अभिनय पढेका साथीहरू निराश भएको देखेका थिए । आफ्नो हालत यस्तै हुने खतरा देखेपछि फेरि उनी दिल्ली हानिए । यसपटक उद्देश्य स्पष्ट थियो, अभिनयको थप अध्ययन गर्ने । मार्वा स्टुडियोबाट फिल्म एक्टिङमा स्नातकोत्तर गरे ।
भाग्यले पनि साथ दियो । उता, पढाइ सकियो । यता, ‘बुलबुल’ को प्रस्ताव आयो । प्रस्तावक थिए उनी पढेकै ओस्कार कलेजका प्रिन्सिपल विनोद पौडेल । विनोदले यत्ति भनेका थिए, ‘सेक्युरिटी गार्डको भूमिका हो । यो चरित्र लेख्दा नै तिमी मेरो दिमागमा थियौ ।’ मुकुन हाँस्दै भन्छन्, ‘विनोद सरसँग पूर्ण विश्वास थियो । स्क्रिप्ट पढेपछि झन् मोहित भएँ ।’ लगातार चारपटक स्क्रिप्ट पढेको मुकुन बताउँछन् । त्यसो त यो भूमिका त्यसअघि विपिन कार्की, खगेन्द्र लामिछाने, निश्चल बस्नेतलाई प्रस्ताव गरिएको थियो तर मेलोमेसो मिलेन । यही बेला आफूले खोजेजस्तै कलाकार मुकुन पाएपछि निर्देशक विनोद पनि दंग भए ।
चोपेन्द्रलाई मुकुनले यही समाजको झर्रो प्रतिनिधिका रूपमा पाए । जब चरित्र निर्माणमा लागे, आफूले देखे/भेटेका अनेक मान्छेका आनीबानी चोपेन्द्रमा समाहित गर्दै गए । हाँस्ने/बोल्ने, हिँड्ने, कपाल कोर्ने शैली वास्तविक चरित्रबाटै सापटी लिइएको मुकुन बताउँछन् । यही कारण हुनुपर्छ, चोपेन्द्र पूरापुर हाम्रै परिवेशको चरित्र लाग्छ । तीन महिनाको वर्कसपपछि छायाँकन सुरु भयो । मुकुन चरित्रमा कतिसम्म डुबिसकेका थिए भने एकल सट् पहिलो टेकमै ओके हुन्थ्यो । थातथलो अर्घाखाँची भएकाले लवजमा खास समस्या भएन । यद्यपि त्यसमा पनि ‘इम्प्रोभाइज’ चाहिँ गरेका छन् ।
नेपाली फिल्मले विस्तारै स्थानीय कथा र पात्रलाई अँगाल्न थालेको छ । पलायनवादी र सीमापारिबाट सापट लिएका चरिक्रहरू त्रमशः हराउँदै छन् । मुकुनहरूको आगमनले यो मौलिक कथा वाचनलाई अझ प्रभावकारी बनाउनेमा शंका छैन । ‘बुलबुल’ प्रदर्शनसँगै मुकुनलाई नयाँ फिल्महरूबाट प्रस्ताव आउनुले यही संकेत गर्छ । तर फेरि पनि उनलाई हतार छैन । सिनेमा घर पुगेर दर्शकको प्रतिक्रिया लिन व्यस्त मुकुन भन्छन्, ‘अब गर्ने भूमिकामा चोपेन्द्रको झल्को आउन दिँदै दिन्न । त्यहीअनुसार पात्र र कथा चयन गर्छु ।’ उनी नेपाली, अंग्रेजी, हिन्दी र भोजपुरी खरर बोल्न सक्छन् । यीभन्दा भिन्न भाषामा काम गर्न मन रहेछ ताकि आफ्नो क्षमता र लगनशीलताको असली परीक्षा होस् ।
नेपालमै कति अभिनेता यस्ता छन्, जसले सुरुवाती एकाध फिल्ममा उत्कृष्ट अभिनय गरे, चरित्रप्रति गम्भीरता देखाए, आशा जगाए । तर निरन्तरता दिन सकेनन् । पाएजति फिल्म खेल्ने ध्याउन्नमा लागेमा अभिनय स्तर खस्किने भइहाल्यो । मुकुन यही कोटिमा पर्ने त होइनन् ? ‘त्यसमा ढुक्क हुनुस् । म पैसा कमाउन मात्रै फिल्म खेल्दिनँ । यत्तिकै पनि मलाई रोजीरोटीको समस्या छैन । त्यसमाथि एक्टिङ पढाएरै कमाउन सक्छु,’ उनले भित्री चाहना सुनाए, ‘म मेरो चरित्र र सिनेमाको आयु लामो होस् भन्ने चाहन्छु । त्यहीअनुसार काम गर्छु ।’