शानदार डेब्यु

फिल्म ‘बुलबुल’ को चोपेन्द्र चरित्र र त्यसलाई निर्वाह गर्ने कलाकार मुकुन भुसालको खुबै चर्चा भइरहेको छ । मुकुन कसरी चोपेन्द्र बने ? त्यही रोचक कथा:
गोकर्ण गौतम

काठमाडौँ —  बुलबुल’ चलेकै थिएन, गीत र ट्रेलर सार्वजनिक हुनासाथ मुकुन भुसालको चर्चा सुरु भइसकेको थियो  । उनको चरित्रको नामै युनिक, चोपेन्द्र  ।

बुलबुल’ चलेकै थिएन, गीत र ट्रेलर सार्वजनिक हुनासाथ मुकुन भुसालको चर्चा सुरु भइसकेको थियो । उनको चरित्रको नामै युनिक, चोपेन्द्र । बोल्ने शैली अझ नवीन । अर्घाखाँचीतिरको लवज मिसिएको । सम्भवतः यसअघि नेपाली फिल्मका मुख्य पाक्रले कहिल्यै नबोलेको लवज । गत शुत्रबारबाट ‘बुलबुल’ प्रदर्शन भएपछि त मुकुनको प्रशंसाको ओइरै लागेको छ । उनले बोल्ने ‘च्यागुल्लो छ’ संवाद उस्तै लोकप्रिय हुँदै छ । जबकि उनको यो पहिलो फिल्म हो ।


‘तपाईंहरूका लागि म नयाँ लाग्न सक्छ तर म नौ वर्षदेखि अभिनय साधना गरिरहेको छु । त्यसकै प्रतिफल हो, चोपेन्द्र चरित्र,’ मुकुनले भने । ‘बुलबुल’ हेर्ने जोकोहीलाई हेक्का हुन्छ, चरित्रलाई जीवन्त बनाउन मुकुनले कुनै कसर छोडेका छैनन् । रोचक पक्षचाहिँ हिरोको परम्परागत मानकमा चोपेन्द्र अटाउँदैन । तर उनको हुलिया, बोली र व्यवहारले दर्शकलाई आत्मीय गराउँछ ।


नेपाली फिल्ममा अभिनेता होइन, तथाकथित स्टारको हालीमुहाली छ । जो चरित्रमा जीवन भर्न होइन, नक्कल गर्न उद्यत हुन्छन् । त्यस्ता चरित्र समाजभन्दा पर हुन्छन् । यी अवगुण चोपेन्द्रमा देखिन्न । रैथाने लाग्छ यो चरित्र । मुकुन भन्छन्, ‘मलाई हिरो बन्नु छैन, स्टार हुनु छैन । चरित्रमा बाँच्नु मात्र छ ।’ यसको जबर्दस्त संकेत ‘बुलबुल’ मा देखाइसकेका छन् ।

कसरी बने चोपेन्द्र ?
अर्घाखाँचीको सन्धिखर्कबाट एसएलसी सकेपछि प्लस टु पढ्न काठमाडौं आए । प्लस टु सकियो तर स्नातकमा भर्ना हुन मन लागिहालेन । दिल्ली गए । के गर्ने भन्नेचाहिँ उनैलाई पत्तो थिएन । अभिनयको प्रशिक्षण लिने मौका जुर्‍यो । तर लामो समय बस्न सकेनन् । यता आएर मोटरसाइकल वर्कसप खोले । अभिनयको रस पसिसकेको थियो, अवसर थिएन । एकाध सडक नाटक खेले, आँत भरिएन । त्यसैले ओस्कार कलेजमा भर्ना भए, सन् २०१३ मा । मुकुन सम्झन्छन्, ‘पढेपछि अभिनय कौशल त बढ्छ नै, फिल्म खेल्ने मौका जुर्छ भन्ने आशा पनि थियो ।’


तर त्यो आश पूरा भएन, अभिनयमा स्नातक गरिसक्दा पनि । केही सर्ट फिल्ममै चित्त बुझाउनुपर्‍यो । फिचर फिल्मबाट प्रस्ताव नआएका होइनन् । स्क्रिप्ट पढ्थे, जुन भूमिका उनलाई मन पर्थ्यो, त्यो पाउँदैनथे । जुन पाउँथे, त्यो मन पर्दैनथ्यो । उनी भन्छन्, ‘डेब्यु प्रभावशाली भएन भने छवि बिग्रन्छ, करिअर अगाडि बढ्दैन भन्नेमा निश्चिन्त थिएँ । त्यसैले हतारिएर फिल्म खेलिनँ । धैर्य गरें ।’ कहिलेसम्म पर्खने ? टुंगो थिएन, यस्तो अवस्थामा आफूसँगै अभिनय पढेका साथीहरू निराश भएको देखेका थिए । आफ्नो हालत यस्तै हुने खतरा देखेपछि फेरि उनी दिल्ली हानिए । यसपटक उद्देश्य स्पष्ट थियो, अभिनयको थप अध्ययन गर्ने । मार्वा स्टुडियोबाट फिल्म एक्टिङमा स्नातकोत्तर गरे ।


भाग्यले पनि साथ दियो । उता, पढाइ सकियो । यता, ‘बुलबुल’ को प्रस्ताव आयो । प्रस्तावक थिए उनी पढेकै ओस्कार कलेजका प्रिन्सिपल विनोद पौडेल । विनोदले यत्ति भनेका थिए, ‘सेक्युरिटी गार्डको भूमिका हो । यो चरित्र लेख्दा नै तिमी मेरो दिमागमा थियौ ।’ मुकुन हाँस्दै भन्छन्, ‘विनोद सरसँग पूर्ण विश्वास थियो । स्क्रिप्ट पढेपछि झन् मोहित भएँ ।’ लगातार चारपटक स्क्रिप्ट पढेको मुकुन बताउँछन् । त्यसो त यो भूमिका त्यसअघि विपिन कार्की, खगेन्द्र लामिछाने, निश्चल बस्नेतलाई प्रस्ताव गरिएको थियो तर मेलोमेसो मिलेन । यही बेला आफूले खोजेजस्तै कलाकार मुकुन पाएपछि निर्देशक विनोद पनि दंग भए ।


चोपेन्द्रलाई मुकुनले यही समाजको झर्रो प्रतिनिधिका रूपमा पाए । जब चरित्र निर्माणमा लागे, आफूले देखे/भेटेका अनेक मान्छेका आनीबानी चोपेन्द्रमा समाहित गर्दै गए । हाँस्ने/बोल्ने, हिँड्ने, कपाल कोर्ने शैली वास्तविक चरित्रबाटै सापटी लिइएको मुकुन बताउँछन् । यही कारण हुनुपर्छ, चोपेन्द्र पूरापुर हाम्रै परिवेशको चरित्र लाग्छ । तीन महिनाको वर्कसपपछि छायाँकन सुरु भयो । मुकुन चरित्रमा कतिसम्म डुबिसकेका थिए भने एकल सट् पहिलो टेकमै ओके हुन्थ्यो । थातथलो अर्घाखाँची भएकाले लवजमा खास समस्या भएन । यद्यपि त्यसमा पनि ‘इम्प्रोभाइज’ चाहिँ गरेका छन् ।


नेपाली फिल्मले विस्तारै स्थानीय कथा र पात्रलाई अँगाल्न थालेको छ । पलायनवादी र सीमापारिबाट सापट लिएका चरिक्रहरू त्रमशः हराउँदै छन् । मुकुनहरूको आगमनले यो मौलिक कथा वाचनलाई अझ प्रभावकारी बनाउनेमा शंका छैन । ‘बुलबुल’ प्रदर्शनसँगै मुकुनलाई नयाँ फिल्महरूबाट प्रस्ताव आउनुले यही संकेत गर्छ । तर फेरि पनि उनलाई हतार छैन । सिनेमा घर पुगेर दर्शकको प्रतिक्रिया लिन व्यस्त मुकुन भन्छन्, ‘अब गर्ने भूमिकामा चोपेन्द्रको झल्को आउन दिँदै दिन्न । त्यहीअनुसार पात्र र कथा चयन गर्छु ।’ उनी नेपाली, अंग्रेजी, हिन्दी र भोजपुरी खरर बोल्न सक्छन् । यीभन्दा भिन्न भाषामा काम गर्न मन रहेछ ताकि आफ्नो क्षमता र लगनशीलताको असली परीक्षा होस् ।


नेपालमै कति अभिनेता यस्ता छन्, जसले सुरुवाती एकाध फिल्ममा उत्कृष्ट अभिनय गरे, चरित्रप्रति गम्भीरता देखाए, आशा जगाए । तर निरन्तरता दिन सकेनन् । पाएजति फिल्म खेल्ने ध्याउन्नमा लागेमा अभिनय स्तर खस्किने भइहाल्यो । मुकुन यही कोटिमा पर्ने त होइनन् ? ‘त्यसमा ढुक्क हुनुस् । म पैसा कमाउन मात्रै फिल्म खेल्दिनँ । यत्तिकै पनि मलाई रोजीरोटीको समस्या छैन । त्यसमाथि एक्टिङ पढाएरै कमाउन सक्छु,’ उनले भित्री चाहना सुनाए, ‘म मेरो चरित्र र सिनेमाको आयु लामो होस् भन्ने चाहन्छु । त्यहीअनुसार काम गर्छु ।’

gokarna.gtm@gmail.com

प्रकाशित : फाल्गुन १०, २०७५ १२:११
प्रतिक्रिया
पठाउनुहोस्

नेपालले सक्छ त ?

अरुको प्रविधि कपी गरेर काम गर्नेले प्रगति गर्न सक्दैनन्, आफू सफल हुन सक्ने र मौलिक पहिचान हुने कम्पनी स्थापना गरे सफल भइन्छ ।
हेलो शुक्रबार

काठमाडौँ —  भारतले गत वर्ष वैदेशिक लगानीबाट ३८ अर्ब अमेरिकी डलर भित्र्यायो  । सस्तो श्रम र व्यवसाय गर्न सहजताका हिसाबले आकर्षक मानिएको चीन भए पनि भारतमा भित्रिएको वैदेशिक लगानी आश्चर्यजनक थियो  ।

भारतले गत वर्ष वैदेशिक लगानीबाट ३८ अर्ब अमेरिकी डलर भित्र्यायो । सस्तो श्रम र व्यवसाय गर्न सहजताका हिसाबले आकर्षक मानिएको चीन भए पनि भारतमा भित्रिएको वैदेशिक लगानी आश्चर्यजनक थियो । भारत भित्रिएको कुल वैदेशिक लगानीमध्ये २० अर्ब डलर स्टार्टअप र साना खालका आईटी कम्पनीमा लगानीस्वरूप आएका थिए । आखिर भारतले त्यस्तो के गर्‍यो र त्यहाँका साना उद्यममा विदेशीले आफ्नो लगानी खन्याए ? भारतमा स्टार्टअपका लागि बीउ पुँजी जोहो गर्ने कम्पनी रेनफरेस्ट भेन्चर नेटवर्कका म्यानेजिङपार्टनर अभिषेक कुमारसँग यसको जवाफ छ । रेनफरेस्टले स्टार्टअपका लागि बीउ पुँजी जोहो गर्न सहजीकरण गर्दै आएको छ । अभिषेक कुमारका अनुसार भारतमा वैदेशिक लगानी बढी भित्रिनु र अझ विशेषगरी स्टार्टअप र साना खालका आईटी कम्पनीमा केन्द्रित हुनुको प्रमुख कारण सन् १९८० दशकमा खुलेका आईटी कम्पनीहरू हुन् ।


करिब दुई दशकदेखि आईटी क्षेत्रमा काम गरिरहेका अभिषेक कुमारका अनुसार त्यो बेला खुलेका भारतीय आईटी कम्पनीले धेरै देशमा त्यहाँका आवश्यकताअनुसार सफ्टवेयर निर्माणको काम गरे । विदेशीहरूमा भारतीय आईटी कम्पनीहरू काम गर्नका लागि सक्षम छन् भन्ने धारणा पैदा गर्‍यो । त्यही विश्वासको प्रभावस्वरूप विदेशी लगानीकर्ताले भारतमा खुल्ने आईटी कम्पनी र स्टार्टअपमा लगानी गर्न सहजता पाए । नेपालको अवस्था भने ठीक उल्टो छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार यो वर्षको तीन महिनामा नेपाल भित्रिएका वैदेशिक लगानी करिब ६ अर्बको हाराहारीमा छ । गत वर्ष यही अवधिमा ११ अर्ब लगानी भित्रिएको थियो । नेपाल भित्रिने अधिकांश लगानी जलविद्युत्, पर्यटन र अन्य क्षेत्रमा हो, आईटीमा होइनन् । नेपालको सबैभन्दा प्रभावशाली क्षेत्र आईटी पनि हो । यहाँदर्जनौं बीपीओहरू विदेशी कम्पनीका लागि काम गर्न सक्रिय छन् । यहाँटेलिकम र इन्टरनेट सेवा प्रदायकको व्यवसाय डेढ अर्ब रुपैयाँभन्दा बढी छ ।


राइड सेयरिङ एप पठाओका क्षेत्रीय निर्देशक असिममान सिंह बस्नेतको विचारमा नेपालले विश्वका अन्य देशसँग आईटीबाहेक अरू कुनै क्षेत्रसँग पनि प्रतिस्पर्धा गर्न सक्दैन । उनको विचारमा एफवान सफ्टका अध्यक्ष विश्वास ढकालको पनि एकमत छ । उनलाई लाग्छ, अबको केही वर्षमा नेपालको अर्थतन्त्रमा सबैभन्दा बढी योगदान पुर्‍याउने क्षेत्र आईटी नै हो । नेपालमा कुनै सर्वेक्षण नभए पनि भारतलगायतका देशमा भएको अध्ययनअनुसार इन्टरनेट प्रयोगकर्तामा हुने १० प्रतिशतको वृद्धिदरले समग्र अर्थतन्त्रमा करिब १ प्रतिशतको योगदान गर्छ । इन्टरनेट प्रयोगकर्ता बढ्नु भनेको उत्पादकत्व बढ्नु पनि हो । नेपालमा कुल जनसंख्याको करिब ६० प्रतिशतमा इन्टरनेटको पहुँच पुगेको छ । यहाँ बर्सेनि ४ हजार बढी आईटीका दक्ष जनशक्ति उत्पादन हुन्छन् । नेपालले आईटीमा ठूलो फड्को मार्न सक्छ त ? कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा आयोजना गरेको कान्तिपुर कन्क्लेभको एक सत्रमा आइतबार ढकाल र बस्नेतसहित भारतबाट आएकी सोसल फ्रेन्ड्लीकी संस्थापक आकांक्षा त्यागीले यसै विषयमा छलफल गरेका थिए । त्यागीको विचार प्रस्ट थियो, यदि नेपालले आईटी क्षेत्रमा प्रगति गर्ने हो भने यसको आफ्नै पहिचान चाहिन्छ । जसरी भारतले सफ्टवेयरमा आफ्नो पहिचान स्थापित गरेको छ ।


कन्क्लेभको उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्यागीको जस्तै धारणा राखेका थिए । उनले नेपालमा अमेरिकाको एप्पल, कोरियाको सामसुङ, भारतको इन्फोसिस, चीनको अलिबाबा, फिनल्यान्डको नोकियाजस्तै देशको पहिचान राख्न सक्ने कम्पनी स्थापना होस् भन्ने चाहेको बताए । यसमा पनि त्यागीकै तर्कले काम गर्छ । उनी भन्छिन्, ‘नेपालले आईटीमा आफ्नो पहिचान बनाउनु छ भने आफ्नै क्षेत्र रोज्नुपर्छ ।’ उनको विचारमा आईटी कम्पनीले आफ्नो मौलिक समस्या समाधानमा सघाउनुपर्छ । हरेक देशमा हुने आईटी कम्पनीले आफ्नो विशेषज्ञताको क्षेत्र रोज्नुपर्छ र त्यसैलाई अघि बढाउनुपर्छ । ‘अरूको प्रविधि कपी गरेर काम गर्नेले प्रगति गर्न सक्दैनन्,’ त्यागी भन्छिन्, ‘आफू सफल हुन सक्ने र मौलिक पहिचान हुने कम्पनी स्थापना गरे सफल भइन्छ ।’

hellosukrabar@gmail.com

प्रकाशित : फाल्गुन १०, २०७५ १२:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्