कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

के–डटदेखि पुलित्जरसम्म

‘केन्ड्रिक आफू कहाँबाट आएको हुँ भन्ने बिर्सिंदैनन् । त्यसका लागि उनी माननीय छन् ।’
हेलो शुक्रबार

काठमाडौँ — संगीतमा ग्रामी अवार्ड्स सबभन्दा प्रतिष्ठित मानिन्छ । यसको ६१ औं संस्करण आइतबार लस एन्जल्समा हुँदै छ र यसपल्टको मनोनयनमा मूलत: र्‍याप गीतको वर्चस्व छ ।

के–डटदेखि पुलित्जरसम्म

र्‍यापर केन्ड्रिक लमार सर्वाधिक आठ विधामा मनोनयनमा परेका छन् । उनीपछि ड्रेक, कार्डी बी, ब्वाई–वानडा, चायल्डिस ग्याम्बिनोजस्ता र्‍याप आर्टिस्टका गीत प्रमुख विधाहरूमा छानिएका छन् । यीबीच लोक–रक गायिका ब्रान्डी चार्ली पनि ड्रेकझै ६ वटा विधाको मनोनयनमा परेकी छन् ।


केन्ड्रिकले अघिल्लो अवार्डमा पनि पाँच वटा ग्रामी ट्रफी घर लगेका थिए । त्यो बेला उनको एल्बम ‘ड्याम’ सात विधामा मनोनयनमा परेको थियो । उत्कृष्ट एल्बम र उत्कृष्ट र्‍याप गीतजस्तो महत्त्वपूर्ण मानिने विधामा केन्ड्रिकले अवार्ड जितेका थिए । ‘हम्बल...’ गीतका लागि चर्चित र्‍यापर आनीबानीमा पनि हम्बल (विनयी) नै रहेको त्यो बेला बताइएको थियो । सिर्जनशील र सफल र्‍यापरका रूपमा उनको छवि निर्माण भइसकेको छ ।


केन्ड्रिकले सन् २०१६ देखि ग्रामी अवार्ड जित्दै आएका छन् । गत साल उनले संगीतका लागि पुलित्जर पुरस्कारसमेत पाए । ग्रामीमा पाँच वटा अवार्ड जितेको केही समयपछि नै उनले ‘ड्याम’ एल्बमका लागि पुलित्जर हात पारेका थिए । गैरशास्त्रीय वा गैरज्याज एल्बमले संगीतका लागि पुलित्जर पुरस्कार पाएको त्यो पहिलो घटना थियो । यसअघि सन् २०१६ मै टाइम म्यागजिनले केन्ड्रिकलाई विश्वका सय शक्तिशाली व्यक्तिभित्र समावेश गरेपछि उनी विख्यात बनेका थिए ।


केन्ड्रिकलाई यसपालि फिल्म ‘ब्ल्याक प्यान्थर’ को साउन्ड ट्रयाकका लागि प्रशंसा मिलिरहेको थियो । ‘ब्ल्याक प्यान्थर: द एल्बम’ मा समाविष्ट ‘अल द स्टार्स...’, ‘प्रे फर मी...’ र ‘किङ इज डेड...’ बोलका गीत सर्वाधिक रुचाइए । यिनै गीतले उनलाई ग्रामीमा सबैभन्दा बढी विधामा मनोनयनमा पुर्‍याएको हो । काला जातिको पक्ष र विशेषत: अश्वेत महिलाप्रति सम्मान अभिव्यक्त गरिएको हुनाले ब्ल्याक प्यान्थर फिल्म र केन्ड्रिकका गीत जनप्रिय बनेको रोलिङ स्टोन म्यागजिनको विश्लेषण छ ।


क्यालिफोर्नियाको क्रम्पटनमा हुर्किएका केन्ड्रिक पहिले–पहिले के–डट (स्टेज नेम) का रूपमा चिनिन्थे । उनको खास नामचाहिँ केन्ड्रिक लमार डकवर्थ हो । सन् १९८७ मा जन्मिएका उनी १६ वर्षको उमेरदेखि औपचारिक गायनमा लागेका थिए । उनले चार वटा एल्बम निकालिसकेका छन् । केन्ड्रिकका प्रशंसकहरू उनलाई र्‍यापर मात्रै ठान्दैनन्, आफ्नो रचनामा विषयवस्तु उठान गर्न सक्ने र कथावाचनको राम्रो सीप भएका आर्टिस्टसमेत मानिन्छन् उनी ।


उनी पश्चिमी तटीय क्षत्रेका र्‍यापरहरूको समूह ‘ब्ल्याक हिप्पी’ मा आबद्ध छन् । आफ्ना गीतहरूमा अश्वेत जातिको कला झल्काउने भन्दै उनको तारिफ गर्ने एउटा जमात छ । केन्ड्रिकमाथि पुस्तक लेख्न लागेका पिचफोर्क मिडियाका लेखक मार्कुस जे. मुरका अनुसार केन्ड्रिक यस्ता र्‍यापर हुन् जसले अश्वेत जातिको संस्कृतिको सम्मान गर्न जानेका छन् । ‘उनी आफू कहाँबाट आएको हुँ भन्ने बिर्सिंदैनन्,’ मुरको भनाइ उद्धृत गर्दै बेलायतको द इन्डिपेन्डेन्ट अनलाइनले लेखेको छ, ‘त्यसका लागि उनी माननीय छन् ।’


यी र्‍याप स्टार डा. ड्रे र टुप्याकबाट प्रभावित छन् । डा. ड्रेको कम्पनीसँग त उनी आबद्ध नै छन् । दिवंगत टुप्याकप्रति सम्मान जनाउँदै गीत गाएका छन् । उनका बुबा ‘ग्याङस्टर डिसाइपल्स’ नामक अपराधी समूहका सदस्य भएकाले केन्ड्रिकले सानैदेखि हुलदंगा, मारपिट देखे तथापि उनी शान्त र नरम भएकामा प्रशंसकहरू इज्जत गर्छन् । लिल वाइने, जे–जेड र कान्य वेस्टजस्ता नामुद र्‍यापरहरूले एमटीभीबाट प्राप्त गरेको ‘हटेस्ट एमसी’ को उपमा केन्ड्रिकले समेत पाएका छन् ।

[email protected]

प्रकाशित : माघ २५, २०७५ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?