२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

महँगा अभिनेत्री

सुशील पौडेल

काठमाडौँ — नेपाली फिल्ममा महिलालाई पारिश्रमिकमा मात्रै नभई भूमिकामा पनि सशक्त विरलै देखाइन्छ । प्राय: शो पिसमै हिरोइनहरुलाई प्रयोग गरिन्छ । अहिले हिरोहरुलाई ५० लाख रूपैयाँसम्म पारिश्रमिक दिन थालिँदा हिरोइनले आफ्नो पारिश्रमिक बल्लतल्ल १५ लाखसम्म पुर्‍याउन सकेका छन् ।

महँगा अभिनेत्री

पारिश्रमिकको सवालमा नेपाली फिल्म क्षेत्रमा पुरुष कलाकारको दाँजोमा महिला कलाकारलाई कमै दिइन्छ । महिलालाई पारिश्रमिकमा मात्रै नभई भूमिकामा पनि सशक्त विरलै देखाइन्छ । प्राय: शो पिसमै हिरोइनहरूलाई प्रयोग गरिन्छ । अहिले हिरोहरूलाई ५० लाख रुपैयाँसम्म पारिश्रमिक दिन थालिँदा हिरोइनले आफ्नो पारिश्रमिक बल्लतल्ल १५ लाखसम्म पुर्‍याउन सकेका छन् ।


‘सानो संसार’ बाट डेब्यु गर्दै ‘मेरो एउटा साथी छ’ बाट लाइमलाइटमा आएकी नायिका हुन् नम्रता श्रेष्ठ । थोरै फिल्म खेल्ने तर आफ्नो भूमिकालाई स्मरणीय बनाउन सफल नम्रता पछिल्लो समय केही ओझेल परिन् । तर यसै मेसोमा उनले दिनेश राउत निर्देशित फिल्म ‘प्रसाद’ मा भने महँगो पारिश्रमिकमा सम्झौता गरेको खबर बाहिरियो । उनलाई गाउँले कामकाजी महिलाको चरित्रमा कास्टिङ गर्दै प्रसाद निर्माण पक्षले १५ लाख रुपैयाँमा अनुबन्ध गरेको थियो ।


त्यसअघि हिरोइनको पारिश्रमिक मुस्किलले पाँच लाखभन्दा उठ्न सकेको थिएन । एकाएक तीन गुणा बढी पारिश्रमिक दिनुबारेमा निर्देशक राउत भन्छन्, ‘हामीलाई त्यो भूमिकामा अभिनय गर्न सक्ने हिरोइन चाहिएको थियो । नम्रताको विकल्पमा जानुभन्दा उनले माग गरेजति रकम दिनु नै उचित हुन्छ भन्ने ठान्यौं ।’ त्यसो त नम्रतालाई त्यसअघि पनि राउतले नै आफ्ना तीन फिल्ममा लगातार खेलाएका थिए ।


अनमोल केसी अभिनीत ‘ड्रिम्स’ हुँदै फिल्म नगरीमा छिरेकी साम्राज्ञी राज्यलक्ष्मी शाहका त्यसपछिका फिल्मले पनि उनलाई राम्रै उचाइ दिलाइरहेको छ । अहिले उनी नेपाली हिरोइनको अग्रपंक्तिमा आइसकेकी छन् । यतिबेला उनले पनि आफ्नो पारिश्रमिक दरलाई बढाउँदै नम्रताको हाराहारीमा पुर्‍याएकी छन् ।


पुनम गौतमको निर्माणमा नवल नेपालले निर्देशन गर्ने फिल्म ‘मारुनी’ का लागि उनलाई १५ लाख रुपैयाँ नै दिइएको छ । माघको अन्तिमबाट छायांकनमा जान लागेको उक्त फिल्ममा साम्राज्ञीको पारिश्रमिकलाई लिएर निर्देशक नेपालले भने, ‘अहिलेको जल्दोबल्दो नायिका नै उनै हुन्, डिमान्ड त हुन्छ नै ।’ जे भए पनि पछिल्लो समय हिरोइनले पनि हाई डिमान्ड गर्न सक्ने अवस्था सिर्जना भएको छ ।


हिरोइन प्रियंका कार्कीलाई अचेल धेरैले राजेश हमालसँग तुलना गर्छन् । हमालले करिअरको लामो समयमा कहिल्यै आफ्नो पारिश्रमिक बढाएनन् । उनको टाउको मात्रै भए पनि पोस्टरमा राख्न पाइने लालसाले धेरै निर्माताले अतिथि भूमिकामा पनि हमाललाई छोडेनन् । दिनमा चारवटा फिल्मको सुटिङसम्म उनले भ्याउँथे भनिन्छ । जति नै माग भए पनि हमालले आफ्नो पारिश्रमिक तीन लाख रुपैयाँभन्दा माथि पुर्‍याएनन् । बरु सकेसम्म धेरैका फिल्म खेलिदिए ।


अहिले हमाल पथमा नायिका कार्की देखिएकी छन् । उनी बिनाकाम हात खाली बस्नुभन्दा बरु सानै भूमिका भए पनि फिल्ममा अनुबन्ध भइदिन्छिन् । न ठूलो माग, न महत्त्वपूर्ण भूमिका । प्रियंकाको यही विशेषता र सहजताले गर्दा चल्तीकी हिरोइन बनिरहेकी छन् । उनले एउटै फिल्मबाट ठूलो पारिश्रमिक माग नगरे पनि धेरै फिल्म खेलेर धेरै कमाउनेको सूचीमा भने पर्छिन् ।


त्यसो त हिरोइन पूजा शर्मा बाहिरी प्रोजेक्टका फिल्ममा खेलेकी छैनन् । सुरेशदर्पण पोखरेल निर्देशित फिल्म ‘थ्री लभर्स’ मा सानो भूमिकामा देखिएकी थिइन् र त्यसयता उनी सुदर्शन थापा निर्देशित फिल्ममा नै रमाइरहेकी छन् । यसपटक पनि सुदर्शनले नै बनाउन लागेको फिल्म ‘हजार जुनीसम्म’ मा पूजाले उच्च पारिश्रमिक माग गरेको बुझिएको छ । उनले उक्त फिल्मका लागि १५ लाख रुपैयाँ लिएको चर्चा छ । पारिश्रमिकमा पूजाले आफ्नो यो स्तरलाई कायम गर्दै लग्नुपर्ने चुनौती छ । पछिल्लो समय उनलाई ‘प्रेमगीत’ र ‘म यस्तो गीत गाउँछु’ ले राम्रै चर्चा दिलाएको छ ।


अनमोल केसीलाई ‘होस्टेल’ बाट ब्रेक दिएको जस कसैलाई जान्छ भने उनी निर्देशक हेमराज बीसी हुन् । ‘ग्याङस्टार ब्लुज’ मा आउँदा उनले हिरो फेरे । आशिरमान जोशीलाई भित्र्याए । यतिबेला हेमराज फेरि दुई प्रोजेक्टमा लागिरहेका छन् । पहिलो फिल्म माघदेखि नै फ्लोरमा जाँदैछ भने अर्को आगामी वर्षदेखि । शीर्षक तय नभइसकेको आगामी वर्षदेखि सुरु हुने फिल्मका लागि मुख्य कलाकार भने निश्चित भइसकेको छ । लभस्टोरी जानराको उक्त फिल्मका लागि हेमराजले प्रदीप खड्का र साम्राज्ञीलाई जोडी बाँधिदिने भएका छन् । प्रदीप अहिलेका राम्रो फेस भ्यालु र उच्च माग भएका हिरो त हुन् नै, यसमा साम्राज्ञी पनि थपिएकी छन् ।

‘फिल्मको जसरी लाइनअप गरियो, निर्माता पनि त्यसैगरी आफ्नो लगानी सुरक्षित होस् भन्ने चाहन्छन्,’ निर्देशक बीसीले भने, ‘प्रेमकथाअनुसार प्रदीप र साम्राज्ञीको कास्टिङ पर्फेक्ट हो । उनीहरूमा लगानी गर्नु ठूलो बजेटका फिल्मका लागि तुलनात्मक हिसाबले सुरक्षित नै हो । किनकि यी दुईको छुट्टाछुट्टै स्टार भ्यालु त छ नै, जोडीका रूपमा पनि हाइपमा छ ।’ हेमराजले साम्राज्ञीलाई झन्डै १५ लाख रुपैयाँ दिइएको बताए ।


कलाकारको पारिश्रमिक बढ्नु वा बढी माग गर्नु नराम्रो होइन । तर कतिपय निर्माताहरू अलि चलेका कलाकारले आफ्नो पारिश्रमिक दिन दुगुना रात चौगुना बढाउँदै लैजाने हो भने फिल्म बनाउन गाह्रो हुने दु:खेसो पनि पोख्ने गरेका छन् । कलाकारकै कारण फिल्मको बजेट अस्वाभाविक बढी हुने भएपछि त्यसलाई खर्च जुटाउन मुस्किल देखिन थालेको उनीहरूको भनाइ छ ।


निर्देशक हेमराज भने केही फरक मत राख्छन् । उनी कलाकारले फिल्मको टिम, बजेट र स्टोरी स्क्रिप्ट हेरेर आफ्नो पारिश्रमिकमा थपघट गर्न सक्नुपर्ने औंल्याउँछन् । उनी भन्छन्, ‘कतिपय फिल्ममा स्टारकास्ट गरिएको हुन्छ । स्टारकै कारण चल्ने खालका हुन्छन् । त्यस्ता फिल्ममा स्टारले पनि हाई डिमान्ड गर्नु ठीकै हो । तर सँगसँगै तिनले गतिलो कथा वा पटकथा भएका तर बजेट थोरै छ भने त्यस्तामा न्यून पारिश्रमिक लिएर पनि खेल्नुपर्छ । कतिपय फिल्म स्टारका कारण चल्छ भने कतिपय स्टारलाई फिल्मको गतिलो कन्टेन्टले चलाइरहन्छ । चलाख कलाकारले यस्ता कुरालाई बुझेको हुन्छ ।’


नम्रता, साम्राज्ञी र पूजाबाहेक हिरोइनहरू आँचल शर्मा, सारा सिरपाइली, वर्षा राउत, सुरक्षा पन्त, वर्षा शिवाकोटी, केकी अधिकारी, बेनिशा हमाल, दीपिका प्रसाईं, जसिता गुरुङलगायत मध्यम पारिश्रमिक लिने कोटीमा पर्छन् ।

[email protected]

प्रकाशित : मंसिर २१, २०७५ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?