फरक रोजाइ

निर्देशक दिनेश राउत र अभिनेता विपिन कार्की अलग धारका लाग्छन् । तर प्रसादमा उनीहरुले एकसाथ काम गरेका छन् । कसरी जुर्‍यो यो मौका र प्रसादप्रति उनीहरुको अपेक्षा के होला ?
गोकर्ण गौतम

काठमाडौँ — लभ स्टोरी फिल्म बनाउँछन्, निर्देशक दिनेश राउत । सुकिलामुकिला र चिरिच्याट्ट परेका हिरोहिरोइनलाई खेलाउँछन् । विपिन कार्कीचाहिँ न हिरोको परम्परागत मानकमा अटाउँछन्, न रोमान्टिक भूमिकामा देखापरेका छन् । अर्थात्, दिनेशको निर्देशन र विपिनको अभिनयको धारै अलग छ । विगत हेर्दा यस्तै लाग्छ । तर यो सोचाइ बदल्नुपर्ने भएको छ । मंसिर २१ गते प्रसाद प्रदर्शन हुँदै छ ।

जसको निर्देशक हुन्, दिनेश । मुख्य भूमिकामा विपिन । केही भिन्न लाग्ने यो सहकार्यका बारेमा दिनेश भन्छन्, ‘सर्जकले सधैं उस्तै काम गर्छ/गर्नुपर्छ भन्ने छैन । यसपटक जुन कथा भन्दै छु, त्यसमा विपिन नै उपयुक्त देखें ।’ विपिनको भनाइ पनि करिब उही छ, ‘मलाई पनि रोल मन पर्‍यो । फरक निर्देशकसँग काम गर्दाको अनुभव पनि सँगाल्ने चाह जाग्यो ।’

भलै प्रसादका लागि सुरुमा दिनेश होइन, पटकथाकार सुशील पौडेलले कुरा गरेका थिए, विपिनलाई । सुरुमा विपिनले सोचेका रहेछन्, सुशील नै निर्देशक हुन् । दिनेशले निर्देशन गर्ने थाहा पाएपछि पनि विपिनको कौतुहलता हराएन । पात्र प्रिय लागेको जो थियो । उनले दिनेशका फिल्म खासै हेरेका रहेनछन् । तर दिनेशचाहिँ विपिनका फ्यान ।

हरेक चरित्रलाई न्याय दिन सक्छन् भन्ने लाग्थ्यो । यसअघि चार फिल्म निर्देशन गरिसकेका विपिन भन्छन्, ‘त्यसैले मौका मिल्दा विपिनसँग काम गर्छु भन्ने थियो । यसपटक जुर्‍यो ।’ र, यतिबेला औधी खुसी छन् । कारण, विपिनले चरित्रलाई जति जीवन्त बनाउन सक्छन् भन्ने अपेक्षा राखेका थिए, क्यामेरा अगाडि विपिनको पर्फमेन्स अझ दमदार भइदियो । प्रसादको प्रचारप्रसारमा कस्सिएर लागेका दिनेशले सुनाए, ‘चरित्रको हुलिया, बोल्ने शैली र शारीरिक हाउभाउ हरेक पक्षमा विपिनले मलाई अचम्मित पारिदिएँ । साँच्चै उनी भर्सटायल रहेछन् ।’ अभिनयसँग विपिनको व्यक्तिगत आनीबानीबाट पनि प्रभावित भएछन् उनी ।

विपिनलाई चाहिँ दिनेश होइन, को–स्टार नम्रता श्रेष्ठमाथि ठूलो शंका र द्विविधा थियो । उनले नम्रतालाई जति चिनेका थिए, स्क्रिप्ट पढिरहँदा सुहाउँछिन् भन्ने फिटिक्कै लाग्दैनथ्यो । किनभने, नारायणी नामक उक्त पात्र गाउँले र दु:ख पाएकी हुन्छन् । ‘नम्रताफिट हुन्नन् भन्न पनि नमिल्ने, हस्तक्षेप गरेको जस्तो हुन्थ्यो । नबोलौं, उनी फिट हुन्छिन् भन्ने लाग्दै–नलाग्ने,’ विपिन भन्छन्, ‘तर काम गर्दै जाँदा यस्तो लाग्यो, त्यो चरित्रका लागि निर्विकल्प नम्रता नै हुन् ।’ वर्कसपमै नम्रताले चरित्रमा असाध्यै मिहिनेत गरेकाले पात्रलाई न्याय दिन सकेको बुझाइ छ विपिनको । भन्छन्, ‘नम्रताबाट म निकै प्रभावित भएँ ।’ फिल्ममा उनीहरू पति–पत्नी हुन्छन् । यस अगाडि उनीहरूले छड्के र ताण्डवमा सँगै काम गरे पनि एउटै फ्रेममा खासै देखिएका थिएनन् ।

दिनेशका लागि चाहिँ नम्रता सदाबहार प्रिय नायिका हुन् । अघिल्ला चारमध्ये तीन फिल्ममा नम्रता थिइन्, नोभेम्बर रेन, क्लासिक र पर्व । मेरो एउटा साथी छ मा दिनेश मुख्य सहायक निर्देशक थिए, नम्रता मुख्य भूमिकामा । ‘त्यतिबेलै नम्रताको अभिनय शैली मन परेको थियो । पछि सँगै काम गरेपछि व्यक्तिगत व्यवहार पनि राम्रो लाग्यो । सिनेमाप्रतिको सोचाइ मिल्यो,’ सधैं नम्रतालाई लिनुको कारण यसरी सुनाउँछन् दिनेश, ‘नम्रताले हरेक भूमिकामा न्याय गर्न सक्छिन् भन्ने विश्वास छ । त्यसैले नम्रताको विकल्प खोज्नुपरेको छैन ।’ प्रसादमा नम्रता र विपिनबाहेक निश्चल बस्नेत पनि छन् । निश्चलको भूमिकामा सुरुमा अर्कै अभिनेता थिए, उनको ‘इन्ट्री’ पछि भएको हो । दिनेशकै शब्दमा, निश्चलले सशक्त अभिनय नगरे पनि दर्शकले रुचाउँछन् । उनको ‘फेसभ्यालु’ छ । दिनेश भन्छन्, ‘निश्चललाई लिँदा व्यापारिक लाभ हुन्छ भन्ने लोभ थियो नै । किन लुकाउनु र ? तर चरित्र पनि उनीसँग मिल्दोजुल्दो छ । रिजल्ट राम्रो आयो भन्ने लाग्छ ।’ उनका अनुसार स्क्रिप्टमा केही ‘इनपुट’ दिए पनि सेटमा गएपछि निश्चलले कुनै हस्तक्षेप वा असहयोग गरेनन् । उनी थप्छन्, ‘मैले सेटमा निश्चल निर्देशक हुन् भन्ने बिर्सिएर काम गरें । एउटै सिनमा ४२ टेकसम्म लिएको छु ।’

पछिल्लो समयमा नेपालमा कि कमेडी फिल्म चलेका छन् कि रोमान्टिक । तर प्रसाद बजारिया मसलामुक्त छ । व्यापार बढ्ला भनेर एक्सन, कमेडी पञ्चलाइनहरू घुसाइएको छैन । निर्देशकको भनाइ हो यो । उनले सिर्फ मन छुने कथा इमानदार ढंगले भन्ने प्रयास गरेका छन् । ‘हिजो मैले बनाएको सिनेमा दोह्रोर्‍याएर हेर्न सक्दैनथें तर प्रसाद दुईपटक हेरिसकें,’ दिनेश भन्छन्, ‘निर्देशकका रूपमा मेरो ग्रोथ छ । सकेसम्म राम्रो काम गर्ने प्रयास गरेका छौं । अब व्यापार, हाम्रो हातमा हुने कुरा होइन ।’

प्रसादको बक्स अफिस कलेक्सनले विपिनको करिअरमा पनि ठूलो अर्थ राख्छ । उनको कामले प्रशंसा कमाए पनि उनका पछिल्ला फिल्म हरि, नाइके र लालपुर्जाले पैसा कमाएनन् । त्योहिट फिल्मको अभाव प्रसादले पूर्ति गर्ला त ?

थिएटरबाट फिल्ममा फड्को मारेका विपिनभन्छन्, ‘मलाई हरिजस्तै यो फिल्मबाट सन्तुष्टि मिलेको त छैन । अलि बढी नै संवादको प्रयोग छ । तर मेरो पात्रले संवेदना जित्छ र फिल्मले व्यापार राम्रै गर्छ भन्ने अपेक्षा छ । मेरो चाह पनि त्यही हो ।’

gokarna.gtm@gmail.com

प्रकाशित : मंसिर १४, २०७५ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्

टेलर स्विफ्टको छलाङ

स्विफ्टले त्यस्तो युद्ध जितेकी छन्, जुन कुनै समय जर्ज माइकल र प्रिन्सले लडेका थिए, तर जित्न सकेका थिएनन् ।
हिमेश

काठमाडौँ — अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टबारे धेरै लेखिरहनु पर्दैन, उनीबारे धेरैलाई धेरै थाहा छ । केही समय अगाडि उनले भनेकी थिइन्, पुरानो टेलर स्विफ्टको त मृत्यु भइसकेको छ । अब जे छ, त्यो त नयाँ टेलर स्विफ्ट पो हो । यस्तै कुराले उनलाई सुन्नेको संख्या बढ्ने हो । उनको छैटौं स्टुडियो एल्बम गत वर्ष रिलिज भएको थियो र यसले उनलाई महिला कलाकारमध्ये लगभग सबैभन्दा धनी पनि बनाएको थियो । 

अब उनी नयाँ एल्बमको तयारीमा छिन् र यससँगै उनले ठूलो छलाङ मार्नेछिन्, जुन वास्तवमै ऐतिहासिक हुनेछ । यो कति ठूलो उपलब्धि हुनेछ भने यसले उनलाई मात्र होइन, सम्पूर्ण विश्व संगीतलाई नै फाइदा गर्नेछ । उनको यो कामबारे चर्चा गर्न अगाडि जर्ज माइकल र प्रिन्सबारे केही लेख्नु ठीक हुनेछ । संयोगले दुवैको निधन भइसकेको छ, यो स्विफ्टको जस्तो साहित्यिक मृत्यु होइन । दुवैको मृत्यु अहिलेसम्म पनि धेरैलाई स्तब्ध गर्ने खालको छ ।

तर उनीहरूले जति समय विश्व संगीतमा बिताए, त्यसमध्ये धेरै समय म्युजिक कम्पनीसँग झगडा गर्नमै बिताए । यसका लागि झगडाभन्दा पनि संघर्ष शब्द बढी ठीक हुनेछ कि ? सन् १९९० मा जर्ज माइकलले आफ्नो रेकर्ड लेबल सोनीविरुद्ध अदालतमा मुद्दा हाले । उनको दाबी थियो, उनका गीतमा उनको भन्दा सोनीको बढी नियन्त्रण थियो । उनी त खालि सोनीको खेलौना मात्र रहे । सोनीले उनका गीतमा जे चाहन्थ्यो, त्यही हुन्थ्यो ।

भलै पछि जर्ज माइकलले यो मुद्दा हारे र पाँच वर्षसम्म उनको करियरमै धक्का पुग्यो । प्रिन्सले त उनको भन्दा बढी आवाज उठाए । उनले त यतिसम्म पनि भने, म्युजिक कम्पनीले त कलाकारलाई दास बनाउने गर्छ । एकपल्ट रेकर्ड लेबलसँग के जोडियो, कलाकारको काम उनको पछाडि–पछाडि लाग्ने र उसले जे–जे भन्यो, त्यही–त्यही मान्ने हुन्छ । प्रिन्सले आफ्नो संघर्षका क्रममा के मात्र गरेनन्, आफ्नो नाम नै फेरेर त्यसलाई चिह्नमा मात्र राखे ।
अहिले यही काम टेलर स्विफ्टले गरेकी छन् र उनको काममा जर्ज माइकल र प्रिन्स दुवैलाई गर्व हुँदो हो । तर उनले रोजेको बाटो भने फरक छ र उनी यस कामका लागि आफ्नो दमदार छवि, लोकप्रियता र पहिचान सबै प्रयोग गरिन् । यसै साता मात्र उनले युनिभर्सल म्युजिकसँग नयाँ र कीर्तिमान अनुबन्ध गरेकी छन् र यो ठूलो लेबलसँग उनको पहिलो अनुबन्ध पनि हो । यसअघि उनका जति पनि रिलिज थिए, सबै बिग मेसिनबाट थिए ।
उनले १४ वर्षको उमेरमा बिग मेसिनसँग अनुबन्ध गरेकी थिइन् । बीचमा एक वर्षजति उनी कोहीसँग पनि अनुबन्धमा रहिनन् । अहिले उनी २८ वर्षकी भइन् र आफ्ना जति पनि रिलिज छन्, सबै युनिभर्सल म्युजिकबाटै बाहिर ल्याउने छिन् । यसको अर्थ उनका गीतमा अब युनिभर्सल म्युजिकको सधैं अधिकार रहने भन्ने होइन । सम्भवत: दस वर्षपछि उनका गीतमा उनकै मात्र अधिकार हुनेछ । अहिले पनि उनका गीतमा लगभग उनकै अधिकार रहे जस्तै हो ।

त्यसको अर्थ एल्बम बिक्रीबाट उनले बढी कमाउने छिन् नै, स्ट्रिमिङमा हुने आम्दानीमा पनि उनको अंश बढी हुनेछ । त्यति मात्र पनि होइन, उनले युनिभर्सललाई के पनि बाध्य पारेकी छन् भने अबदेखि स्पोटिफाईमा हुने स्ट्रिमिङबाट हुने आर्थिक लाभ अरू कलाकारसँग पनि साझेदारी गर्नुपर्नेछ । यसको अर्थ स्विफ्टले त्यस्तो युद्ध जितेकी छन्, जुन कुनै समय जर्ज माइकल र प्रिन्सले लडेका थिए, तर जित्न सकेका थिएनन् ।
सन् २०१५ मा उनले एप्पल म्युजिकलाई पनि बाध्य पारेकी थिइन्, कलाकारलाई जसरी भुक्तानी हुँदै आएको हो, त्यसमा परिवर्तन गरेर । युनिभर्सल म्युजिकसँग अनुबन्ध गरेपछि टेलरस्विफ्टले इन्स्ट्राग्राममा लेखेकी छन्, ‘यो नयाँ अनुबन्धले पक्कै नयाँ समय सुरु भएको छ, यस्तो उपलब्धि हात पार्न मैले प्रयास गरेको पनि धेरै भयो । अबदेखि म्युजिक कम्पनीले हामी कलाकारलाई राम्रोसँग भुक्तानी गर्नुपर्नेछ ।’ विश्व संगीतका लागि यो राम्रै र ठूलै छलाङ हो ।

himesh36@gmail.com

प्रकाशित : मंसिर १४, २०७५ ०९:४८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्