टेलर स्विफ्टको छलाङ

स्विफ्टले त्यस्तो युद्ध जितेकी छन्, जुन कुनै समय जर्ज माइकल र प्रिन्सले लडेका थिए, तर जित्न सकेका थिएनन् ।
हिमेश

काठमाडौँ — अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टबारे धेरै लेखिरहनु पर्दैन, उनीबारे धेरैलाई धेरै थाहा छ । केही समय अगाडि उनले भनेकी थिइन्, पुरानो टेलर स्विफ्टको त मृत्यु भइसकेको छ । अब जे छ, त्यो त नयाँ टेलर स्विफ्ट पो हो । यस्तै कुराले उनलाई सुन्नेको संख्या बढ्ने हो । उनको छैटौं स्टुडियो एल्बम गत वर्ष रिलिज भएको थियो र यसले उनलाई महिला कलाकारमध्ये लगभग सबैभन्दा धनी पनि बनाएको थियो । 

टेलर स्विफ्टको छलाङ

अब उनी नयाँ एल्बमको तयारीमा छिन् र यससँगै उनले ठूलो छलाङ मार्नेछिन्, जुन वास्तवमै ऐतिहासिक हुनेछ । यो कति ठूलो उपलब्धि हुनेछ भने यसले उनलाई मात्र होइन, सम्पूर्ण विश्व संगीतलाई नै फाइदा गर्नेछ । उनको यो कामबारे चर्चा गर्न अगाडि जर्ज माइकल र प्रिन्सबारे केही लेख्नु ठीक हुनेछ । संयोगले दुवैको निधन भइसकेको छ, यो स्विफ्टको जस्तो साहित्यिक मृत्यु होइन । दुवैको मृत्यु अहिलेसम्म पनि धेरैलाई स्तब्ध गर्ने खालको छ ।


तर उनीहरूले जति समय विश्व संगीतमा बिताए, त्यसमध्ये धेरै समय म्युजिक कम्पनीसँग झगडा गर्नमै बिताए । यसका लागि झगडाभन्दा पनि संघर्ष शब्द बढी ठीक हुनेछ कि ? सन् १९९० मा जर्ज माइकलले आफ्नो रेकर्ड लेबल सोनीविरुद्ध अदालतमा मुद्दा हाले । उनको दाबी थियो, उनका गीतमा उनको भन्दा सोनीको बढी नियन्त्रण थियो । उनी त खालि सोनीको खेलौना मात्र रहे । सोनीले उनका गीतमा जे चाहन्थ्यो, त्यही हुन्थ्यो ।


भलै पछि जर्ज माइकलले यो मुद्दा हारे र पाँच वर्षसम्म उनको करियरमै धक्का पुग्यो । प्रिन्सले त उनको भन्दा बढी आवाज उठाए । उनले त यतिसम्म पनि भने, म्युजिक कम्पनीले त कलाकारलाई दास बनाउने गर्छ । एकपल्ट रेकर्ड लेबलसँग के जोडियो, कलाकारको काम उनको पछाडि–पछाडि लाग्ने र उसले जे–जे भन्यो, त्यही–त्यही मान्ने हुन्छ । प्रिन्सले आफ्नो संघर्षका क्रममा के मात्र गरेनन्, आफ्नो नाम नै फेरेर त्यसलाई चिह्नमा मात्र राखे ।

अहिले यही काम टेलर स्विफ्टले गरेकी छन् र उनको काममा जर्ज माइकल र प्रिन्स दुवैलाई गर्व हुँदो हो । तर उनले रोजेको बाटो भने फरक छ र उनी यस कामका लागि आफ्नो दमदार छवि, लोकप्रियता र पहिचान सबै प्रयोग गरिन् । यसै साता मात्र उनले युनिभर्सल म्युजिकसँग नयाँ र कीर्तिमान अनुबन्ध गरेकी छन् र यो ठूलो लेबलसँग उनको पहिलो अनुबन्ध पनि हो । यसअघि उनका जति पनि रिलिज थिए, सबै बिग मेसिनबाट थिए ।

उनले १४ वर्षको उमेरमा बिग मेसिनसँग अनुबन्ध गरेकी थिइन् । बीचमा एक वर्षजति उनी कोहीसँग पनि अनुबन्धमा रहिनन् । अहिले उनी २८ वर्षकी भइन् र आफ्ना जति पनि रिलिज छन्, सबै युनिभर्सल म्युजिकबाटै बाहिर ल्याउने छिन् । यसको अर्थ उनका गीतमा अब युनिभर्सल म्युजिकको सधैं अधिकार रहने भन्ने होइन । सम्भवत: दस वर्षपछि उनका गीतमा उनकै मात्र अधिकार हुनेछ । अहिले पनि उनका गीतमा लगभग उनकै अधिकार रहे जस्तै हो ।


त्यसको अर्थ एल्बम बिक्रीबाट उनले बढी कमाउने छिन् नै, स्ट्रिमिङमा हुने आम्दानीमा पनि उनको अंश बढी हुनेछ । त्यति मात्र पनि होइन, उनले युनिभर्सललाई के पनि बाध्य पारेकी छन् भने अबदेखि स्पोटिफाईमा हुने स्ट्रिमिङबाट हुने आर्थिक लाभ अरू कलाकारसँग पनि साझेदारी गर्नुपर्नेछ । यसको अर्थ स्विफ्टले त्यस्तो युद्ध जितेकी छन्, जुन कुनै समय जर्ज माइकल र प्रिन्सले लडेका थिए, तर जित्न सकेका थिएनन् ।

सन् २०१५ मा उनले एप्पल म्युजिकलाई पनि बाध्य पारेकी थिइन्, कलाकारलाई जसरी भुक्तानी हुँदै आएको हो, त्यसमा परिवर्तन गरेर । युनिभर्सल म्युजिकसँग अनुबन्ध गरेपछि टेलर स्विफ्टले इन्स्ट्राग्राममा लेखेकी छन्, ‘यो नयाँ अनुबन्धले पक्कै नयाँ समय सुरु भएको छ, यस्तो उपलब्धि हात पार्न मैले प्रयास गरेको पनि धेरै भयो । अबदेखि म्युजिक कम्पनीले हामी कलाकारलाई राम्रोसँग भुक्तानी गर्नुपर्नेछ ।’ विश्व संगीतका लागि यो राम्रै र ठूलै छलाङ हो ।


[email protected]

प्रकाशित : मंसिर १४, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?