१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

घान्द्रुक, सूर्योदय र पीपीएल

विभु लुइटेल

काठमाडौँ — पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल र तिहार मुखैमा थिए । त्यसैले हाम्रो यात्रा टोलीमा दुईथरी मान्छे थिए । एक, पीपीएलको फाइनल हेर्न पोखरा जाने सुर कसेका र अर्का नितान्त घुम्ने सोच भएका । त्यसैले काग तिहारको बिहानै पोखरा पुगेको हाम्रो टोली त्यहाँबाट घान्द्रुक जाने कि नजाने भन्ने सोचमा पर्‍यो ।

घान्द्रुक, सूर्योदय र पीपीएल

‘कुकुर तिहारको दिन फाइनल हेर्नलाई पोखरा फर्किन भ्याइँदैन, होस् नजाने’ भन्नेहरू पोखरामै बसे । म र एक साथी मात्र जाने निष्कर्षमा पुगेका थियौं । टोलीकै एक सदस्य भने जाने कि नजाने भन्ने द्विविधामा थिए । ‘फाइनल हेर्न भ्याउने गरी भोलिपल्ट बिहानै त्यहाँबाट निस्कौं न त,’ उनले सुझाव दिए । धेरै घुम्न नपाइने भयो भनी सोच्यौं तर साथीको इच्छालाई पनि नकार्न सकिएन ।


कच्ची बाटो । झ्याल खोल्यो कि अनुहार पूरै धुलाम्मे हुने । त्यसमाथि सुमो ड्राइभरले दुईजना अतिरिक्त यात्रु कोचेको । यात्रा पक्कै सहज थिएन । तर पनि हामी निराश थिएनौं । घान्द्रुक कस्तो होला भनी कल्पना गर्न थालिसकेका थियौं । बाटोमा देखिएका दृश्यका फोटो खिच्दै अघि बढिरहेका थियौं । गाडी रोकेर यात्रुसँग भैलोदान माग्न आउने थुप्रै टोली थिए । ठाउँठाउँमा यसरी नै रोकिएकाले सूर्यास्त हेर्न डाँडामाथि पुग्ने हाम्रो योजना सफल हुन सकेन । पुग्दा अँध्यारो भइसकेको थियो । बेलुका घुम्ने समय पाएनौं ।


घान्द्रुकका सबैजसो होटल त्यहाँका स्थानीयले आफू बस्ने घरको स्वरूप केही हेरफेर गरी बनाएका रहेछन् । घरैपिच्छे होटल, होटल नभएका त घर नै देख्न मुस्किल । गुरुङ संग्रहालय पनि रहेछ । होटलमा रातिको खानाको मेनुमा दालभात र गुन्द्रुक ढिँडो देखें । सधैं भात मात्र खाइरहेका हामी त्यहाँ गएपछि गुन्द्रुक र कोदाका ढिँडोलाई किन नाइँ भन्थ्यौं १ थपीथपी खायौं । खानेक्रममा होटलका मालिक घान्द्रुकमा घुम्न पर्ने ठाउँबारे बताउँदै गए । साथीलाई पीपीएलको फाइनल हेर्न शीघ्र पोखरा पुग्न नपर्ने भइदिएको भए सायद ती सबै घुमिन्थ्यो होला । ‘अर्कोपालि घुमौंला नि’ भन्दै उनी हामीलाई सान्त्वना दिइरहे । अर्कोपालि गइन्छ कि गइँदैन, थाहा छैन ।

अर्को दिन बिहानै डाँडामाथि पुगेर सूर्योदय हेर्ने योजना थियो । पाँचै बजे उठ्यौं तर बाहिर मुटु काँप्ने जाडो भएकाले निस्कने आँट गरिहाल्न पनि सकेनौं । खासै बाक्ला ज्याकेट पनि थिएनन् हामीसँग । त्यसमाथि, ब्याग भारी होला भनी आधाभन्दा बढी सामान त पोखराको होटलमा छाडेका थियौं । ‘हिम्मत गरी निस्कौं न त’ भन्दै हामी उकालो लाग्यौं । सबैतिर सुनसान थियो । कोही मान्छे देखिएनन् । बाटोमा दुई ठूला काला कुकुर हामीलाई पछ्याउँदै आए । अलि माथिसम्म पुग्दा त ती हाम्रा साथी भइसकेका थिए ।


उकालो हिँड्ने बानी नभएर होला, म भने बीच बाटोमै थाकिसकेको थिएँ । त्यसैले डाँडामाथि नै पुगेर सूर्योदय हेर्ने आस मरिसकेको थियो । बाटामा पर्ने एक होटलको छतमा गई दृश्यावलोकन गर्ने योजना बनायौं । अबेरसम्म सुत्ने बानी परेको मलाई बिहानीको त्यो दृश्य नौलो लाग्नु स्वाभाविक नै थियो । वरपर डाँडैडाँडा, त्यसमाथि हिमाल, चराचुरुंगीको चिरबिर अनि हामी भएको ठाउँतिरै लम्किरहेको खच्चडको बथान । सबै निकै सुन्दर थिए, शब्दमा वर्णन नै गर्न नसकिने खालका । केही समयमै हिमालमाथि परेको घामको झुल्काले सूर्योदय भएको संकेत दियो । हामीले ती सबै दृश्य मोबाइलमा कैद गरी ल्याएका छौं ।


त्यो ठाउँमा केही समय अझै व्यतीत गर्न मन थियो । तर, उक्त इच्छामा बाधक बनिदियो साथीको पीपीएलको फाइनल हेर्न पोखरा पुग्ने लालसा । अगाडि दुई कुकुर, पछाडि खच्चडको बथान र बीचमा हामी हँुदै पुन: होटल फर्कियौं । सामान प्याक गरी समयमै पोखरा पुग्नु थियो । किम्सेको बाटो हँुदै पोखरा रंगशाला पुग्दा पीपीएल फाइनलको दोस्रो इनिङ्सको पनि अन्त्यतिर बढिरहेको रहेछ ।


twitter : @LuitelBibhu

प्रकाशित : कार्तिक ३०, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?