घान्द्रुक, सूर्योदय र पीपीएल

विभु लुइटेल

काठमाडौँ — पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल र तिहार मुखैमा थिए । त्यसैले हाम्रो यात्रा टोलीमा दुईथरी मान्छे थिए । एक, पीपीएलको फाइनल हेर्न पोखरा जाने सुर कसेका र अर्का नितान्त घुम्ने सोच भएका । त्यसैले काग तिहारको बिहानै पोखरा पुगेको हाम्रो टोली त्यहाँबाट घान्द्रुक जाने कि नजाने भन्ने सोचमा पर्‍यो ।

‘कुकुर तिहारको दिन फाइनल हेर्नलाई पोखरा फर्किन भ्याइँदैन, होस् नजाने’ भन्नेहरू पोखरामै बसे । म र एक साथी मात्र जाने निष्कर्षमा पुगेका थियौं । टोलीकै एक सदस्य भने जाने कि नजाने भन्ने द्विविधामा थिए । ‘फाइनल हेर्न भ्याउने गरी भोलिपल्ट बिहानै त्यहाँबाट निस्कौं न त,’ उनले सुझाव दिए । धेरै घुम्न नपाइने भयो भनी सोच्यौं तर साथीको इच्छालाई पनि नकार्न सकिएन ।

कच्ची बाटो । झ्याल खोल्यो कि अनुहार पूरै धुलाम्मे हुने । त्यसमाथि सुमो ड्राइभरले दुईजना अतिरिक्त यात्रु कोचेको । यात्रा पक्कै सहज थिएन । तर पनि हामी निराश थिएनौं । घान्द्रुक कस्तो होला भनी कल्पना गर्न थालिसकेका थियौं । बाटोमा देखिएका दृश्यका फोटो खिच्दै अघि बढिरहेका थियौं । गाडी रोकेर यात्रुसँग भैलोदान माग्न आउने थुप्रै टोली थिए । ठाउँठाउँमा यसरी नै रोकिएकाले सूर्यास्त हेर्न डाँडामाथि पुग्ने हाम्रो योजना सफल हुन सकेन । पुग्दा अँध्यारो भइसकेको थियो । बेलुका घुम्ने समय पाएनौं ।

घान्द्रुकका सबैजसो होटल त्यहाँका स्थानीयले आफू बस्ने घरको स्वरूप केही हेरफेर गरी बनाएका रहेछन् । घरैपिच्छे होटल, होटल नभएका त घर नै देख्न मुस्किल । गुरुङ संग्रहालय पनि रहेछ । होटलमा रातिको खानाको मेनुमा दालभात र गुन्द्रुक ढिँडो देखें । सधैं भात मात्र खाइरहेका हामी त्यहाँ गएपछि गुन्द्रुक र कोदाका ढिँडोलाई किन नाइँ भन्थ्यौं १ थपीथपी खायौं । खानेक्रममा होटलका मालिक घान्द्रुकमा घुम्न पर्ने ठाउँबारे बताउँदै गए । साथीलाई पीपीएलको फाइनल हेर्न शीघ्र पोखरा पुग्न नपर्ने भइदिएको भए सायद ती सबै घुमिन्थ्यो होला । ‘अर्कोपालि घुमौंला नि’ भन्दै उनी हामीलाई सान्त्वना दिइरहे । अर्कोपालि गइन्छ कि गइँदैन, थाहा छैन ।
अर्को दिन बिहानै डाँडामाथि पुगेर सूर्योदय हेर्ने योजना थियो । पाँचै बजेउठ्यौं तर बाहिर मुटु काँप्ने जाडो भएकाले निस्कने आँट गरिहाल्न पनि सकेनौं । खासै बाक्ला ज्याकेट पनि थिएनन् हामीसँग । त्यसमाथि, ब्याग भारी होला भनी आधाभन्दा बढी सामान त पोखराको होटलमा छाडेका थियौं । ‘हिम्मत गरी निस्कौं न त’ भन्दै हामी उकालो लाग्यौं । सबैतिर सुनसान थियो । कोही मान्छे देखिएनन् । बाटोमा दुई ठूला काला कुकुर हामीलाई पछ्याउँदै आए । अलि माथिसम्म पुग्दा त ती हाम्रा साथी भइसकेका थिए ।

उकालो हिँड्ने बानी नभएर होला, म भने बीच बाटोमै थाकिसकेको थिएँ । त्यसैले डाँडामाथि नै पुगेर सूर्योदय हेर्ने आस मरिसकेको थियो । बाटामा पर्ने एक होटलको छतमा गई दृश्यावलोकन गर्ने योजना बनायौं । अबेरसम्म सुत्ने बानी परेको मलाई बिहानीको त्यो दृश्य नौलो लाग्नु स्वाभाविक नै थियो । वरपर डाँडैडाँडा, त्यसमाथि हिमाल, चराचुरुंगीको चिरबिर अनि हामी भएको ठाउँतिरै लम्किरहेको खच्चडको बथान । सबै निकै सुन्दर थिए, शब्दमा वर्णन नै गर्न नसकिने खालका । केही समयमै हिमालमाथि परेको घामको झुल्काले सूर्योदय भएको संकेत दियो । हामीले ती सबै दृश्य मोबाइलमा कैद गरी ल्याएका छौं ।

त्यो ठाउँमा केही समय अझै व्यतीत गर्न मन थियो । तर, उक्त इच्छामा बाधक बनिदियो साथीको पीपीएलको फाइनल हेर्न पोखरा पुग्ने लालसा । अगाडि दुई कुकुर, पछाडि खच्चडको बथान र बीचमा हामी हँुदै पुन: होटल फर्कियौं । सामान प्याक गरी समयमै पोखरा पुग्नु थियो । किम्सेको बाटो हँुदै पोखरा रंगशाला पुग्दापीपीएल फाइनलको दोस्रो इनिङ्सको पनि अन्त्यतिर बढिरहेको रहेछ ।

twitter : @LuitelBibhu

प्रकाशित : कार्तिक ३०, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सफलको स्वप्निल यात्रा

‘नासामा काम गर्छु भन्दा हतपत कसैले पत्याउँदैनन् । मेरो परिचयपत्र देखाउँदा भने आश्चर्य मान्छन् ।’
भारतको एनआईटी कलेजमा अध्ययनरत छँदा उनलाई डीभी चिट्ठा पर्‍यो । त्यस बेला विद्यार्थी भिसाका लागि पनि उनले प्रयास गरिरहेका थिए । मेकानिकल इन्जिनियरिङको पढाइ बीचमै त्यागेर उनी सन् २०१० मा अमेरिका उडे । 
विमल खतिवडा

काठमाडौँ — परिवारको सपना छोरालाई चिकित्सक बनाउने थियो । छोराको पनि आफ्नै सपना थियो– रकेटमा काम गर्ने । चितवन गीतानगरका २७ वर्षीय सफल अधिकारीले जुन सपना स्कुल पढ्दा देखेका थिए, त्यसलाई यथार्थमा परिणत गर्न उनी अहिले अहोरात्र खटिरहेका छन् । एक किसिमले उनको सपना विपनामा बदलिइसकेको छ । किनभने उनी अमेरिकाको नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) मा तीन वर्षयता रकेट प्रोपल्सन इन्जिनियरका रूपमा कार्यरत छन् ।

रकेटको सबै इन्जिनदेखि इन्धन, अक्सिडाइजर सञ्चालन गर्ने जिम्मेवारी प्रोपल्सन इन्जिनियरको हो । पड्र्यु विश्वविद्यालयबाट सन् २०१५ मा स्नातक पूरा गरेका उनका अनुसार यो प्रोजेक्ट १०–१२ वर्षको हुन्छ । ‘सुरुमा कलेजमै बोइङ कम्पनीले आएर काम दिएको थियो,’ दसैं–तिहार मनाउन नेपाल आएका बेला भेटिएका उनले भने, ‘त्यसैको माध्यमबाट नासाको प्रोजेक्टमा काम गर्ने अवसर मिल्यो ।’ उनका अनुसार बोइङमा काम गर्ने अरू नेपाली पनि छन् । रकेटमा काम गर्ने भने आफू एक्लो रहेको उनले बताए ।

उनले उच्च शिक्षामा चाहेको विषयको पढाइ नेपालमा उपलब्ध थिएन । भारतको एनआईटी कलेजमा अध्ययनरत छँदा उनलाई डीभी चिट्ठा पर्‍यो । त्यस बेला विद्यार्थी भिसाका लागि पनि उनले प्रयास गरिरहेका थिए । मेकानिकल इन्जिनियरिङको पढाइ बीचमै त्यागेर उनी सन् २०१० मा डीभीमार्फत अमेरिका उडे । चन्द्रमामा पहिलो मानव पाइला राखेका नील आम्स्ट्रङ पढेकै कलेजमा भर्ना पाएको उल्लेख गर्दै उनले भने, ‘पुरानो प्रमाणपत्रको आधारमा मैले छात्रवृत्ति पाइनँ । त्यसैले काम गर्दै पढ्न थालें ।’ अन्तत: पहिलो वर्षको नतिजापछि उनले छात्रवृत्ति हात पारे ।

‘मेरो जुन सपना थियो, त्यो अहिले पूरा भइरहेको छ,’ सफलले भने, ‘मैले कहिले पनि संघर्ष गर्न छाडिनँ । त्यसैमा गरिएको मिहिनेतले अहिलेको अवस्थामा आइपुगेको छु ।’ उनको बाल्यकालदेखि नै डिस्कोभरी, नेसनल जोग्राफी च्यानलमा देखाइने हवाईजहाजका कार्यक्रममा बढी रुचि थियो । उनी खुबै हेर्थे पनि । सेन्ट जेभियर्समा १२ कक्षा पढेपछि उनी चिकित्सा विज्ञानतिर लागुन् भन्ने बुबाआमाको चाहना थियो । ‘बाआमा म डाक्टर बनोस् भन्ने चाहन्थे । मैले अमेरिका जाने ढिपी गरें । नभए भारतमा मेकानिकल इन्जिनियरिङ पढ्ने भनेर जिद्दी गरें,’ उनले सुुनाए ।

उनको बुबालाई भनेर मात्रै पुग्दैन, पत्यारिलो पार्न देखाउनै पर्छ । ‘उहाँले प्रत्यक्ष देखेपछि मात्र विश्वास गर्नु हुन्छ । त्यसैले दीक्षान्त समारोहमा आउनुभयो । मैले काम गर्ने र बस्ने ठाउँ हेरेपछि मात्र उहाँले पत्याउनु भयो र खुसी हुनुभयो,’ उनले भने, ‘नासामा काम गर्छु भन्दा हतपत कसैले पत्याउँदैनन् । मेरो परिचयपत्र देखाउँदा भने आश्चर्य मान्छन् ।’

सुरुमा उनलाई एयर क्राफ्टमा काम गरेर अमेरिकी नागरिकता हात लागेपछि मात्र रकेटको प्रोजेक्टमा काम गर्न सुझाव दिइएको थियो । तर, उनले रकेट प्रपोल्सनको म्यानेजरलाई सम्पर्क गरेपछि सबै कुरा सम्भव भयो । उनले एकपछि अर्को जिम्मेवारी सम्हाल्ने अवसर पाइरहे र त्यसमा उनले आफूलाई सिद्ध सावित पनि गरिरहे । त्यसैले उनले स्पेस फ्लाइट अवेरनेस टिम अवार्ड २०१८ पनि प्राप्त गरे ।

अमेरिकामा सुरुमा रकेट डिजाइन ‘रकेट डिजाइन सेन्टर हन्सभिल्ले’ मा हुन्थ्यो । अहिले ठूलो मात्रामा रकेटको डिजाइन यहीं गरिन्छ । बोइङबाट आएका उनले ‘कन्ट्रयाक्ट ब्याच’ हात पारेपछि मात्र नासाभित्र रहेर काम गर्ने अवसर पाए, जुन अनिवार्य मानिन्छ । त्यहाँ उनको काम ‘कम्पोनेन्ट’डिजाइन गर्ने हो । नियमित इन्जिन र त्यसका स–साना अवयवहरूको डिजाइनमा उनी जुटिरहेकाहुन्छन् । ‘बाहिरको चिसो, तातो वातावरणमा सम्हालिन सक्छ/सक्दैन भन्ने हेर्नुपर्छ । हरेक कम्पोनेन्टको इन्टेनसिप टेस्टिङ गर्नुपर्छ,’ उनलेआफ्नो कामबारे भने ।

उनी कार्यरत प्रोजेक्टको पहिलो रकेट लन्च सन् २०२० माफ्लोरिडाबाट गर्ने योजना रहेको छ । यस रकेटको नाम स्पेस लन्च सिस्टम (एसएलएस) दिइएको छ । एक्सप्लोरेसन मिसन १ मा रकेटले चन्द्रमा फन्को मारेर फर्कनुपर्ने हुन्छ । पहिलोउडान मानवरहित हुने पनिसफलले बताए ।

उनी अमेरिका बस्ने आफ्नो परिवारका एक्लो हुन् । ‘यहाँ (अमेरिका) मा मेरो परिवार छैन । त्यसैले चाडबाड बनाउन घर फर्किने गरेको छु,’ उनले भने । स्कुल पढ्दा उनलाई शिक्षकले भविष्यको लक्ष्यबारे प्रश्न गर्दा उनले रकेटमा काम गर्ने सपना भएको बताउने गरेका थिए । ‘त्यस बेला शिक्षक र साथीहरूलगायत सबैले मेरो लक्ष्य सुनेर हँसिमजाक गर्थे । अहिले नातेदारसहित उनीहरू सबै दंग छन्,’ उनले भने ।

bimalnews@gmail.com

प्रकाशित : कार्तिक ३०, २०७५ १०:०५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×