सफलको स्वप्निल यात्रा

‘नासामा काम गर्छु भन्दा हतपत कसैले पत्याउँदैनन् । मेरो परिचयपत्र देखाउँदा भने आश्चर्य मान्छन् ।’
भारतको एनआईटी कलेजमा अध्ययनरत छँदा उनलाई डीभी चिट्ठा पर्‍यो । त्यस बेला विद्यार्थी भिसाका लागि पनि उनले प्रयास गरिरहेका थिए । मेकानिकल इन्जिनियरिङको पढाइ बीचमै त्यागेर उनी सन् २०१० मा अमेरिका उडे । 
विमल खतिवडा

काठमाडौँ — परिवारको सपना छोरालाई चिकित्सक बनाउने थियो । छोराको पनि आफ्नै सपना थियो– रकेटमा काम गर्ने । चितवन गीतानगरका २७ वर्षीय सफल अधिकारीले जुन सपना स्कुल पढ्दा देखेका थिए, त्यसलाई यथार्थमा परिणत गर्न उनी अहिले अहोरात्र खटिरहेका छन् । एक किसिमले उनको सपना विपनामा बदलिइसकेको छ । किनभने उनी अमेरिकाको नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा) मा तीन वर्षयता रकेट प्रोपल्सन इन्जिनियरका रूपमा कार्यरत छन् ।

रकेटको सबै इन्जिनदेखि इन्धन, अक्सिडाइजर सञ्चालन गर्ने जिम्मेवारी प्रोपल्सन इन्जिनियरको हो । पड्र्यु विश्वविद्यालयबाट सन् २०१५ मा स्नातक पूरा गरेका उनका अनुसार यो प्रोजेक्ट १०–१२ वर्षको हुन्छ । ‘सुरुमा कलेजमै बोइङ कम्पनीले आएर काम दिएको थियो,’ दसैं–तिहार मनाउन नेपाल आएका बेला भेटिएका उनले भने, ‘त्यसैको माध्यमबाट नासाको प्रोजेक्टमा काम गर्ने अवसर मिल्यो ।’ उनका अनुसार बोइङमा काम गर्ने अरू नेपाली पनि छन् । रकेटमा काम गर्ने भने आफू एक्लो रहेको उनले बताए ।

उनले उच्च शिक्षामा चाहेको विषयको पढाइ नेपालमा उपलब्ध थिएन । भारतको एनआईटी कलेजमा अध्ययनरत छँदा उनलाई डीभी चिट्ठा पर्‍यो । त्यस बेला विद्यार्थी भिसाका लागि पनि उनले प्रयास गरिरहेका थिए । मेकानिकल इन्जिनियरिङको पढाइ बीचमै त्यागेर उनी सन् २०१० मा डीभीमार्फत अमेरिका उडे । चन्द्रमामा पहिलो मानव पाइला राखेका नील आम्स्ट्रङ पढेकै कलेजमा भर्ना पाएको उल्लेख गर्दै उनले भने, ‘पुरानो प्रमाणपत्रको आधारमा मैले छात्रवृत्ति पाइनँ । त्यसैले काम गर्दै पढ्न थालें ।’ अन्तत: पहिलो वर्षको नतिजापछि उनले छात्रवृत्ति हात पारे ।

‘मेरो जुन सपना थियो, त्यो अहिले पूरा भइरहेको छ,’ सफलले भने, ‘मैले कहिले पनि संघर्ष गर्न छाडिनँ । त्यसैमा गरिएको मिहिनेतले अहिलेको अवस्थामा आइपुगेको छु ।’ उनको बाल्यकालदेखि नै डिस्कोभरी, नेसनल जोग्राफी च्यानलमा देखाइने हवाईजहाजका कार्यक्रममा बढी रुचि थियो । उनी खुबै हेर्थे पनि । सेन्ट जेभियर्समा १२ कक्षा पढेपछि उनी चिकित्सा विज्ञानतिर लागुन् भन्ने बुबाआमाको चाहना थियो । ‘बाआमा म डाक्टर बनोस् भन्ने चाहन्थे । मैले अमेरिका जाने ढिपी गरें । नभए भारतमा मेकानिकल इन्जिनियरिङ पढ्ने भनेर जिद्दी गरें,’ उनले सुुनाए ।

उनको बुबालाई भनेर मात्रै पुग्दैन, पत्यारिलो पार्न देखाउनै पर्छ । ‘उहाँले प्रत्यक्ष देखेपछि मात्र विश्वास गर्नु हुन्छ । त्यसैले दीक्षान्त समारोहमा आउनुभयो । मैले काम गर्ने र बस्ने ठाउँ हेरेपछि मात्र उहाँले पत्याउनु भयो र खुसी हुनुभयो,’ उनले भने, ‘नासामा काम गर्छु भन्दा हतपत कसैले पत्याउँदैनन् । मेरो परिचयपत्र देखाउँदा भने आश्चर्य मान्छन् ।’

सुरुमा उनलाई एयर क्राफ्टमा काम गरेर अमेरिकी नागरिकता हात लागेपछि मात्र रकेटको प्रोजेक्टमा काम गर्न सुझाव दिइएको थियो । तर, उनले रकेट प्रपोल्सनको म्यानेजरलाई सम्पर्क गरेपछि सबै कुरा सम्भव भयो । उनले एकपछि अर्को जिम्मेवारी सम्हाल्ने अवसर पाइरहे र त्यसमा उनले आफूलाई सिद्ध सावित पनि गरिरहे । त्यसैले उनले स्पेस फ्लाइट अवेरनेस टिम अवार्ड २०१८ पनि प्राप्त गरे ।

अमेरिकामा सुरुमा रकेट डिजाइन ‘रकेट डिजाइन सेन्टर हन्सभिल्ले’ मा हुन्थ्यो । अहिले ठूलो मात्रामा रकेटको डिजाइन यहीं गरिन्छ । बोइङबाट आएका उनले ‘कन्ट्रयाक्ट ब्याच’ हात पारेपछि मात्र नासाभित्र रहेर काम गर्ने अवसर पाए, जुन अनिवार्य मानिन्छ । त्यहाँ उनको काम ‘कम्पोनेन्ट’डिजाइन गर्ने हो । नियमित इन्जिन र त्यसका स–साना अवयवहरूको डिजाइनमा उनी जुटिरहेकाहुन्छन् । ‘बाहिरको चिसो, तातो वातावरणमा सम्हालिन सक्छ/सक्दैन भन्ने हेर्नुपर्छ । हरेक कम्पोनेन्टको इन्टेनसिप टेस्टिङ गर्नुपर्छ,’ उनलेआफ्नो कामबारे भने ।

उनी कार्यरत प्रोजेक्टको पहिलो रकेट लन्च सन् २०२० माफ्लोरिडाबाट गर्ने योजना रहेको छ । यस रकेटको नाम स्पेस लन्च सिस्टम (एसएलएस) दिइएको छ । एक्सप्लोरेसन मिसन १ मा रकेटले चन्द्रमा फन्को मारेर फर्कनुपर्ने हुन्छ । पहिलोउडान मानवरहित हुने पनिसफलले बताए ।

उनी अमेरिका बस्ने आफ्नो परिवारका एक्लो हुन् । ‘यहाँ (अमेरिका) मा मेरो परिवार छैन । त्यसैले चाडबाड बनाउन घर फर्किने गरेको छु,’ उनले भने । स्कुल पढ्दा उनलाई शिक्षकले भविष्यको लक्ष्यबारे प्रश्न गर्दा उनले रकेटमा काम गर्ने सपना भएको बताउने गरेका थिए । ‘त्यस बेला शिक्षक र साथीहरूलगायत सबैले मेरो लक्ष्य सुनेर हँसिमजाक गर्थे । अहिले नातेदारसहित उनीहरू सबै दंग छन्,’ उनले भने ।

bimalnews@gmail.com

प्रकाशित : कार्तिक ३०, २०७५ १०:०५
प्रतिक्रिया
पठाउनुहोस्

नेटफ्लिक्सको नियति !

नेटफ्लिक्सको ग्राहक तीव्र रुपमा वृद्धि भइरहेको छ । कम्पनीसँग राम्रा टीभी शो र फिल्महरु छन् । उपभोक्ताका हिसाबले यो निकै राम्रो पक्ष हो । तर, लगानीकर्ताको हिसाबले यो फरक हुन्छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — फिल्म र टेलिभिजन कार्यक्रमको अनलाइनमार्फत प्रसारण सेवा दिने कम्पनी नेटफ्लिक्सको ग्राहक विश्वव्यापी रुपमा दिनदिनै बढ्दो छ । मासिक रुपमा पैसा तिरेर नेटफ्लिक्स हेर्ने ग्राहक १३ करोड नाघिसकेका छन् । यसको बढ्दो ग्राहकलाई आधार मान्ने हो भने कम्पनीको आम्दानी बढ्दै जानुपर्ने हो तर यसको ऋण चुलिइरहेको छ ।

छोटो समयमै परम्परागत टेलिभिजनका ग्राहकलाई आफूतिर तानेर लोकप्रियता कमाएको कम्पनी ऋणमा किन छ त ? व्यवसाय गर्ने हरेकका लागि यो एक उदाहरण हुन सक्छ :


भिडियो स्ट्रिमिङ सेवा प्रदायक कम्पनी नेटफ्लिक्सको ग्राहक आधार तीव्र रूपमा बढ्दो छ तर कम्पनी सञ्चालनका लागि लिइएको अर्बौं डलरको ऋण भने घटेको छैन । विश्वभर ग्राहकको पहुँचमा पुग्ने यसको विस्तार क्षमता अद्भुत छ । पछिल्लो तीन महिनामा मात्रै कम्पनीले ६ करोड मासिक रूपमा पैसा तिरेर सेवा लिने ग्राहक संख्या थपेको छ । यसलाई दैनिक रूपमा गणना गर्ने हो भने कम्पनीले हरेक दिन ६६ हजार ग्राहक थपेको छ । यससँगै कम्पनीका कुल ग्राहक संख्या १३ करोड नाघेको छ ।

नेटफ्लिक्सले देखाएका चुनौतीका कारण विश्वभरका ठूला फिल्म र भिडियो निर्मातालाई थप लगानी गर्नुपर्ने बाध्यता आइपरेको छ । प्रविधिका पण्डितहरू नेटफ्लिक्सलाईफेसबुक, अमेजन, एप्पल र गुगलजत्तिकै सम्भावना बोकेको कम्पनी मान्छन् । धेरै मानिसहरू नेटफ्लिक्सको यो सफलताका कारण यसका लगानीकर्ताले प्रशस्त नाफा कमाएको आकलन गर्छन् ।

नेटफ्लिक्सको यो सफलता देख्नेहरूले यत्ति अनुमान पनि नलगाउनु अन्याय हुन्छ । तर,नेटफ्लिक्सको आर्थिक कथा अर्कै छ । यसका लगानीकर्ताको चुनौतीलाई यसको ग्राहक वृद्धिले थेग्न सकेको छैन । विश्वभर ग्राहक वृद्धिका लागि कम्पनीले भिडियोमा गरेको लगानीलाई ग्राहकबाट उठ्ने रकमले धान्न सकेको छैन । कम्पनी अझै केही वर्ष यसरी नै आक्रामक बजार विस्तार गर्न चाहन्छ । नेटफ्लिक्सले ठूलो जोखिमको ऋण बोकेर आफ्नो व्यवसाय टिकाइरहेको छ ।

कम्पनी आपैंmले भने केही वर्षमा खर्च घट्दै जाने र आम्दानी बढ्दै जाने आकलन गरेको छ । यसको आर्थिक पक्षलाई बुझ्नेहरूले पनि कुनै दिन नेटफ्लिक्सले आफ्नो खर्च धान्न सक्ने विश्वास लिएका छन् । यस कुरामा सबै जना सहमत भने छैनन् । ‘नेटफ्लिक्सको आधारभूत बिजनेस मोडल अनुपयुक्त देखिन्छ,’ न्युयोर्क विश्वविद्यालयका अर्थ विषयका प्राध्यापक अस्वथ दामोदरण भन्छन्, ‘कम्पनीको बिजनेस मोडलले काम गर्छ जस्तो मलाई लाग्दैन ।’

नेटफ्लिक्सजस्तै भिडियो स्ट्रिमिङ सेवा दिने कम्पनीहरूबीच प्रतिस्पर्धा बढ्दो रहेकाले यसले भिडियो सामग्री उत्पादन र मार्केटिङमा ठूलो लगानी गरिरहनुपर्ने बाध्यता रहने दामोदरणको बुझाइ छ । ‘लगानी घटाउनेबित्तिकै यसको ग्राहक पनि घट्नेछन्,’
उनले भने ।

‘कम्पनीको ग्राहक तीव्र रूपमा वृद्धि भइरहेको छ । नेटफ्लिक्ससँग राम्रा टीभी शो र फिल्महरू छन् । उपभोक्ताका हिसाबले यो निकै राम्रो पक्ष हो । तर, लगाननीकर्ताको हिसाबले यो फरक हुन्छ,’ उनी भन्छन्, ‘नेटफ्लिक्सको जति ग्राहक वृद्धि हुन्छ, उसको खर्च थप बढ्छ । यसले त्यो लगानी कहिले उठाउँछ, मलाई थाहा छैन ।’

नेटफ्लिक्सको तथ्यांकअनुसार पछिल्लो १२ महिना (सेप्टेम्बर) सम्म कम्पनीले भिडियो सामग्री उत्पादन गर्न करिब १२ अर्ब डलर खर्च गरेको छ । तर, सोही अवधिमा उसको आम्दानी भने करिब १५ अर्ब डलर मात्रै छ । यस हिसाबले हेर्ने हो भने नटफ्लिक्ससँग खर्चबाहेक सञ्चालन र मार्केटिङ खर्च करिब ३ अर्ब डलर मात्रै बाँकी रहन्छ । तर, नेटफ्लिक्सजस्तो कम्पनी सञ्चालन गर्न यो रकम मात्रै पर्याप्त छैन, त्यसैले कम्पनीले ऋण लिनुपरेको हो ।

गत साता मात्रै नेटफ्लिक्सले २ अर्ब डलर ऋण लिने आशय व्यक्त गरेको छ । कम्पनीको यसअघि नै करिब साढे ८ अर्ब डलर ऋण छ । कम्पनीले आफ्नो प्रयोगकर्ताबाट संकलन गरेको पैसाभन्दा बढी खर्च गरुन्जेल यस्तो ऋण बढ्दै जानेछ । नेटफ्लिक्सप्रति शंकालु प्राध्यापक दामोदरण मात्र होइनन्, अरू धेरै विश्लेषकले पनि कम्पनीको नाफा कमाउनेमा आशंका गर्छन् । तर,नेटफ्लिक्सका संस्थापकको भनाइ भने बेग्लै छ ।

नेटफ्लिक्सका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रेड ह्यास्टिङ आफूलाई परम्परागत प्रतिद्वन्द्वीको कुनै चिन्ता नभएको बताउँछन् । ‘हाम्रो प्रतिस्पर्धी कोही होइनन्, बरु मानिसको निद्रा चैं हाम्रा प्रतिद्वन्द्वी हुन्,’ उनी भन्छन्, ‘मानिसहरू अबेर रातिसम्म बसेर हाम्रा शो र फिल्म हेर्छन् । त्यसैले हामी मानिसको निद्रासँग प्रतिस्पर्धा गरिरहेका छौं र जित्दैपनि छौं ।’

पछिल्लो पटक भने ह्यास्टिङले धेरै पैसा भएका कम्पनीहरू डिज्ने, एटीएन्डटी र गुगललाई आफ्नो मुख्य प्रतिस्पर्धा मान्न थालेका छन् । ‘कुनै दिन यी कम्पनीसँग हाम्रो प्रतिस्पर्धा हुन सक्छ तर हामी निकै अगाडि हुनेछौं,’ उनले भनेका छन् । आफ्नो प्रयोगकर्तालाई उत्कृष्ट मनोरञ्जनात्मक सामग्री नयाँ नयाँ तरिकाले दिने नेटफ्लिक्सको आधारभूत मान्यतामा कम्पनी अडिग रहनुपर्ने उनको तर्क छ । तर, यसका लागि कम्पनीले अत्यन्तै धेरै रकम खर्च गर्नुपर्ने हुन्छ । उपभोक्ताका लागि यो समस्या होइन । तर, लगानीकर्ताका लागि ?
–न्युयोर्क टाइम्स

प्रकाशित : कार्तिक ३०, २०७५ १०:०४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्