नेटफ्लिक्सको नियति !

नेटफ्लिक्सको ग्राहक तीव्र रुपमा वृद्धि भइरहेको छ । कम्पनीसँग राम्रा टीभी शो र फिल्महरु छन् । उपभोक्ताका हिसाबले यो निकै राम्रो पक्ष हो । तर, लगानीकर्ताको हिसाबले यो फरक हुन्छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — फिल्म र टेलिभिजन कार्यक्रमको अनलाइनमार्फत प्रसारण सेवा दिने कम्पनी नेटफ्लिक्सको ग्राहक विश्वव्यापी रुपमा दिनदिनै बढ्दो छ । मासिक रुपमा पैसा तिरेर नेटफ्लिक्स हेर्ने ग्राहक १३ करोड नाघिसकेका छन् । यसको बढ्दो ग्राहकलाई आधार मान्ने हो भने कम्पनीको आम्दानी बढ्दै जानुपर्ने हो तर यसको ऋण चुलिइरहेको छ ।

नेटफ्लिक्सको नियति !

छोटो समयमै परम्परागत टेलिभिजनका ग्राहकलाई आफूतिर तानेर लोकप्रियता कमाएको कम्पनी ऋणमा किन छ त ? व्यवसाय गर्ने हरेकका लागि यो एक उदाहरण हुन सक्छ :



भिडियो स्ट्रिमिङ सेवा प्रदायक कम्पनी नेटफ्लिक्सको ग्राहक आधार तीव्र रूपमा बढ्दो छ तर कम्पनी सञ्चालनका लागि लिइएको अर्बौं डलरको ऋण भने घटेको छैन । विश्वभर ग्राहकको पहुँचमा पुग्ने यसको विस्तार क्षमता अद्भुत छ । पछिल्लो तीन महिनामा मात्रै कम्पनीले ६ करोड मासिक रूपमा पैसा तिरेर सेवा लिने ग्राहक संख्या थपेको छ । यसलाई दैनिक रूपमा गणना गर्ने हो भने कम्पनीले हरेक दिन ६६ हजार ग्राहक थपेको छ । यससँगै कम्पनीका कुल ग्राहक संख्या १३ करोड नाघेको छ ।


नेटफ्लिक्सले देखाएका चुनौतीका कारण विश्वभरका ठूला फिल्म र भिडियो निर्मातालाई थप लगानी गर्नुपर्ने बाध्यता आइपरेको छ । प्रविधिका पण्डितहरू नेटफ्लिक्सलाई फेसबुक, अमेजन, एप्पल र गुगलजत्तिकै सम्भावना बोकेको कम्पनी मान्छन् । धेरै मानिसहरू नेटफ्लिक्सको यो सफलताका कारण यसका लगानीकर्ताले प्रशस्त नाफा कमाएको आकलन गर्छन् ।


नेटफ्लिक्सको यो सफलता देख्नेहरूले यत्ति अनुमान पनि नलगाउनु अन्याय हुन्छ । तर, नेटफ्लिक्सको आर्थिक कथा अर्कै छ । यसका लगानीकर्ताको चुनौतीलाई यसको ग्राहक वृद्धिले थेग्न सकेको छैन । विश्वभर ग्राहक वृद्धिका लागि कम्पनीले भिडियोमा गरेको लगानीलाई ग्राहकबाट उठ्ने रकमले धान्न सकेको छैन । कम्पनी अझै केही वर्ष यसरी नै आक्रामक बजार विस्तार गर्न चाहन्छ । नेटफ्लिक्सले ठूलो जोखिमको ऋण बोकेर आफ्नो व्यवसाय टिकाइरहेको छ ।


कम्पनी आपैंmले भने केही वर्षमा खर्च घट्दै जाने र आम्दानी बढ्दै जाने आकलन गरेको छ । यसको आर्थिक पक्षलाई बुझ्नेहरूले पनि कुनै दिन नेटफ्लिक्सले आफ्नो खर्च धान्न सक्ने विश्वास लिएका छन् । यस कुरामा सबै जना सहमत भने छैनन् । ‘नेटफ्लिक्सको आधारभूत बिजनेस मोडल अनुपयुक्त देखिन्छ,’ न्युयोर्क विश्वविद्यालयका अर्थ विषयका प्राध्यापक अस्वथ दामोदरण भन्छन्, ‘कम्पनीको बिजनेस मोडलले काम गर्छ जस्तो मलाई लाग्दैन ।’


नेटफ्लिक्सजस्तै भिडियो स्ट्रिमिङ सेवा दिने कम्पनीहरूबीच प्रतिस्पर्धा बढ्दो रहेकाले यसले भिडियो सामग्री उत्पादन र मार्केटिङमा ठूलो लगानी गरिरहनुपर्ने बाध्यता रहने दामोदरणको बुझाइ छ । ‘लगानी घटाउनेबित्तिकै यसको ग्राहक पनि घट्नेछन्,’

उनले भने ।


‘कम्पनीको ग्राहक तीव्र रूपमा वृद्धि भइरहेको छ । नेटफ्लिक्ससँग राम्रा टीभी शो र फिल्महरू छन् । उपभोक्ताका हिसाबले यो निकै राम्रो पक्ष हो । तर, लगाननीकर्ताको हिसाबले यो फरक हुन्छ,’ उनी भन्छन्, ‘नेटफ्लिक्सको जति ग्राहक वृद्धि हुन्छ, उसको खर्च थप बढ्छ । यसले त्यो लगानी कहिले उठाउँछ, मलाई थाहा छैन ।’


नेटफ्लिक्सको तथ्यांकअनुसार पछिल्लो १२ महिना (सेप्टेम्बर) सम्म कम्पनीले भिडियो सामग्री उत्पादन गर्न करिब १२ अर्ब डलर खर्च गरेको छ । तर, सोही अवधिमा उसको आम्दानी भने करिब १५ अर्ब डलर मात्रै छ । यस हिसाबले हेर्ने हो भने नटफ्लिक्ससँग खर्चबाहेक सञ्चालन र मार्केटिङ खर्च करिब ३ अर्ब डलर मात्रै बाँकी रहन्छ । तर, नेटफ्लिक्सजस्तो कम्पनी सञ्चालन गर्न यो रकम मात्रै पर्याप्त छैन, त्यसैले कम्पनीले ऋण लिनुपरेको हो ।


गत साता मात्रै नेटफ्लिक्सले २ अर्ब डलर ऋण लिने आशय व्यक्त गरेको छ । कम्पनीको यसअघि नै करिब साढे ८ अर्ब डलर ऋण छ । कम्पनीले आफ्नो प्रयोगकर्ताबाट संकलन गरेको पैसाभन्दा बढी खर्च गरुन्जेल यस्तो ऋण बढ्दै जानेछ । नेटफ्लिक्सप्रति शंकालु प्राध्यापक दामोदरण मात्र होइनन्, अरू धेरै विश्लेषकले पनि कम्पनीको नाफा कमाउनेमा आशंका गर्छन् । तर, नेटफ्लिक्सका संस्थापकको भनाइ भने बेग्लै छ ।


नेटफ्लिक्सका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रेड ह्यास्टिङ आफूलाई परम्परागत प्रतिद्वन्द्वीको कुनै चिन्ता नभएको बताउँछन् । ‘हाम्रो प्रतिस्पर्धी कोही होइनन्, बरु मानिसको निद्रा चैं हाम्रा प्रतिद्वन्द्वी हुन्,’ उनी भन्छन्, ‘मानिसहरू अबेर रातिसम्म बसेर हाम्रा शो र फिल्म हेर्छन् । त्यसैले हामी मानिसको निद्रासँग प्रतिस्पर्धा गरिरहेका छौं र जित्दै पनि छौं ।’


पछिल्लो पटक भने ह्यास्टिङले धेरै पैसा भएका कम्पनीहरू डिज्ने, एटीएन्डटी र गुगललाई आफ्नो मुख्य प्रतिस्पर्धा मान्न थालेका छन् । ‘कुनै दिन यी कम्पनीसँग हाम्रो प्रतिस्पर्धा हुन सक्छ तर हामी निकै अगाडि हुनेछौं,’ उनले भनेका छन् । आफ्नो प्रयोगकर्तालाई उत्कृष्ट मनोरञ्जनात्मक सामग्री नयाँ नयाँ तरिकाले दिने नेटफ्लिक्सको आधारभूत मान्यतामा कम्पनी अडिग रहनुपर्ने उनको तर्क छ । तर, यसका लागि कम्पनीले अत्यन्तै धेरै रकम खर्च गर्नुपर्ने हुन्छ । उपभोक्ताका लागि यो समस्या होइन । तर, लगानीकर्ताका लागि ?

–न्युयोर्क टाइम्स

प्रकाशित : कार्तिक ३०, २०७५ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?