नयाँ स्टार

घरेलु फुटबलमा थ्री–स्टारका लागि खेल्ने सुनीलको सबैभन्दा ठूलो विशेषता नै समान रुपमा माथिल्लो दर्जाको फुटबलमा स्तरीय प्रदर्शन गर्नु हो ।

काठमाडौँ — बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप २०१८ को पहिलो खेलमा पाकिस्तानविरुद्ध हारेपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना नाजुक बनेको थियो । तर, भुटान र आयोजक बंगलादेशलाई हराएर नेपालले अन्तिम चारको तय गर्‍यो । समूह चरणको खेलसम्म उत्कृष्ट प्रदर्शन गर्दै मिडफिल्डर सुनील वल नेपाली फुटबलमा नयाँ स्टारका रूपमा उदाएका छन् ।

नयाँ स्टार

नेपालले साफ च्याम्पिनसिप २०१८ का लागि दौरान ढाकाको सेख जमाल धनमुन्दी फुटबल मैदानमा अभ्यास गर्‍यो । सुरुका दिनमा त त्यस अभ्यासमा रुचि राख्ने कमै थिए । जति बेला नेपालले बंगलादेशलाई हराएर सेमिफाइनल यात्रा पक्का गर्‍यो, त्यसपछिको अभ्यास हेर्न आउनेको संख्या बाक्लै भयो । त्यसमा मिडिया त थियो नै, सँगै बंगलादेशकै केही क्लबका पदाधिकारी पनि थिए । यी सबैको ध्यान एकै खेलाडीमा केन्द्रित थियो । उनी थिए, सुनील वल ।

ती केही पदाधिकारी सुनीलसँग कसरी सम्पर्क राख्ने हो, त्यसबारे सोधपुछ गरिरहेका थिए । आशा गरौं, उनीहरू सोधपुछमै मात्रै सीमित नहोस् । यसपल्टको साफ च्याम्पियनसिपमा नेपालका लागि कुनै एक खेलाडीले सबैभन्दा बढी प्रभावशाली प्रदर्शन गरेको छ भने उनी हुन्, तिनै सुनील । त्यस अगाडि ढाका पुगेको नेपाली टिमका प्रमुख तथा पूर्वखेलाडी एवम् प्रशिक्षक कृष्ण थापाले पनि उनको प्रशंसा गर्न कन्ज्युस्याइँ गरेनन् । खुबै प्रभावित देखिए, उनी ।


हाल अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष रहेका थापाको भनाइ थियो, हेर्दै आऊ, बंगलादेशी क्लबले सुनीलबारे बुझ्न चाहने छन् । ‘खुबै राम्रा देखिए, यी खेलाडी,’ थापाको भनाइ थियो । हेटौंडाका यी २० वर्षीय खेलाडीले एन्फा एकेडेमीबाट आफ्नो खेल जीवन सुरु गरेका हुन् । उनी कत्तिको खेलाडी हुन्, नेपाली फुटबललाई नजिकबाट बुझेकालाई धेरै थाहा थियो । तर उनी चर्चामा भने धेरै आएनन् । एन्फामा उनी विमल घर्तीमगर र अनन्त तामाङको ‘ब्याच’ का खेलाडी हुन् ।


खासमा उनी यिनै दुई खेलाडीको छायामा परे । विमल र अनन्तले त चाँडै टिममा प्रवेश पाए, तर सुनीलले भने केही लामो समय कुर्नुपर्‍यो । लाओसविरुद्धको मैत्रीपूर्ण खेलमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका सुनीलले त्यसयता अर्को खेल खेल्न यही साफ च्याम्पियनसिप कुर्नुपर्‍यो । लगभग दुई वर्ष अगाडिको त्यो डेब्युयता उनी जापानी प्रशिक्षक ग्योतोकु कोजीको रोजाइमा परेनन् । यसपल्टको साफ च्याम्पियनसिपको जिम्मेवारीबाट कोजी बाहिरिए र उनको स्थानमा मौका पाए, बालगोपाल महर्जनले ।


सुनीललाई निकै नजिकबाट चिन्नेमा यिनै प्रशिक्षक महर्जनभन्दा अरू को नै हुन सक्छन् ? उनले पाकिस्तानविरुद्ध सुनीललाई मैदानमा उतारे, सब्स्टिच्युटका रूपमा । त्यो खेल गुमाएयता नेपाल ठूलै दबाबमा आयो । भुटानविरुद्धको खेल नेपालका लागि ‘गर या मर’ को स्थिति बन्यो । यसैमा उनले पहिलो पल्ट सुरुदेखि खेल्ने मौका पाए । टिम मिटिङमै उनले यसबारे जानकारी पाए । उनको खुसीको सीमा रहेन । फेरि उनलाई विश्वास पनि भइरहेको थिएन, साँच्चै आफूले ‘स्टार्टिङ लाइन–अप’ मा नाम परेकोमा ।


‘ओहो, जस्तो लागेको थियो,’ पछि उनले भने । सुनीलले यो मौकाको सदुपयोग भने खुबै गरे । भुटानमाथि प्राप्त जित ४–० को थियो । त्यसमा एक गोल उनकै रह्यो, डेब्यु गोलका रूपमा । विमल घर्तीमगरको पेनाल्टी भुटानी गोलरक्षकले बचाएपछि उनले निकै फूर्तिलो ढंगले बललाई पोस्टको दिशा दिएका थिए । त्यसलाई छाडेर अरू दुई गोलमा भने उनकै ‘एसिस्ट’ थियो । खेलका कमेन्ट्री गरिरहेकाले पनि बारम्बार उनकै प्रशंसा गरिरहेको थियो ।


बंगलादेशविरुद्धको खेलमा पनि उनले आफ्नो छाप छाडे । ‘सबैभन्दा पहिला मलाई अवसर दिनुभएकामा बालगोपाल सरलाई धन्यवाद,’ उनले आफ्ना प्रशिक्षकको गुण बिर्सन चाहेनन् र थपे, ‘यस्तै मौका पाउने हो भने म अझ राम्रो प्रदर्शनका लागि मिहिनेत गर्नेछु ।’ घरेलु फुटबलमा थ्री–स्टारका लागि खेल्ने सुनीलको सबैभन्दा ठूलो विशेषता नै समान रूपमा माथिल्लो दर्जाको फुटबलमा स्तरीय प्रदर्शन गर्नु हो, उनको खेलमा उतारचढाव विरलै देखिएको छ ।


सम्भवत: उनको खेल जीवनको ‘टर्निङ प्वाइन्ट’ रह्यो, यू–१९ साफ च्याम्पियनसिपको सेमिफाइनलमा अफगानिस्तानविरुद्ध गोल गर्नु । त्यो गोलले उनको नाम स्थापित हुन धेरै मद्दत गरेको थियो । राष्ट्रिय लिगमा पनि उनले खेले, तर जति बेला थ्री–स्टार आए, उनको खेल अझ सुदृढ हुन थाल्यो । थ्री–स्टारमा उनको भूमिका हो, ‘राइट विंगर’ को । भुटानविरुद्धको खेलमा देखिएभैंm ‘डेड बल’ को स्थितिमा उनी निकै सशक्त देखिन्छन् । अनि बलसँगको उनको तीव्र गतिलाई मान्नै पर्छ ।

twitter:@himeshratna

मलाई खुबै मन पर्ने खेलाडी हुन्, सुनील वल । मैले सुरुआती दिनदेखि उनको खेल हेरेको छु । उनी निकै प्रतिभाशाली खेलाडी हुन् । नेपाली फुटबलले उनीबाट धेरै आशा गर्न सक्छ ।
बालगोपाल महर्जन
मुख्य प्रशिक्षक, राष्ट्रिय टिम

सुनील वल नयाँ पुस्ताका खेलाडी हुन् र उनले लामो समय नेपाली फुटबलको सेवा गर्नेछन् । उनको खेलबाट म खुबै प्रभावित छु । उनले भविष्यमा अझ राम्रो गर्ने हो भने नेपाली फुटबलले पनि सफलता हात पार्न सक्छ ।
विराज महर्जन
कप्तान, राष्ट्रिय टिम

प्रकाशित : भाद्र २९, २०७५ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?