पाइलाको फड्को

दरबारमार्गको नौलो रेस्टुराँका वेटर रोबोट र दरबारमार्गकै एसबीआई बैंकमा आगन्तुकलाई स्वागत गर्न राखिएका रोबोटको केही समययता निकै चर्चा भइरहेको छ । तिनको निर्माण यही पाइला टेक्नोलोजीले गरेको हो ।
विभु लुइटेल

काठमाडौँ — पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अध्ययन गरेका विद्यार्थीद्वारा स्थापित ‘पाइला’ ले रोबोट उत्पादन गरेर स्थानीय बजारमा ल्याइसकेको छ । विश्वका सयौं देशका प्रतिस्पर्धीसँग पाइलाले डेनमार्कको कोपनहेगनमा नोभेम्बर २०१८ मा हुने ‘स्टार्टअप ओलम्पिक्स’ मा पनि प्रतिस्पर्धा गर्दैछ ।

कला क्षेत्रमा काम गर्ने स्टार्टअपदेखि नेपालमा उपलब्ध स्रोत–साधन प्रयोग गरी सामान उत्पादन गर्नेसम्मका दर्जनौं कम्पनीले अन्तर प्रेरणाद्वारा अघिल्लो साता आयोजित सिर्जनशील बिजनेस प्रतियोगितामा सहभागिता जनाएका थिए । सबै एकसेएक अब्बल, सबैका परियोजना विश्व बजारमा तहल्का पिट्ने खालका थिए । यसमाझ परियोजनामध्ये पाइला टेक्नोलोजी सर्वोत्कृष्ट ठहरियो । विश्वका सयौं देशका प्रतिस्पर्धीसँग पाइलाले डेनमार्कको कोपनहेगनमा नोभेम्बर २०१८ मा हुने ‘स्टार्टअप ओलम्पिक्स’ मा प्रतिस्पर्धा गर्नेछ ।


दरबारमार्गको नौलो रेस्टुराँका वेटर रोबोट र दरबारमार्गकै एसबीआई बैंकमा आगन्तुकलाई स्वागत गर्न राखिएका रोबोटको केही समययता निकै चर्चा भइरहेको छ । तिनको निर्माण यही पाइला टेक्नोलोजीले गरेको हो । उच्चस्तरीय रोबोट हेर्दा लाग्न सक्छ, वर्षौंको अनुभवले खारिएका वैज्ञानिकको हात यसमा छ । तर, यसका पछाडि दुई वर्षअघि मात्र पुल्चोक क्याम्पसबाट इन्जिनियरिङ सकेका केही होनहार युवा छन् । यिनले निरन्तरको मिहिनेत र लगनबाटै अनुभवीसरह आफूलई सिद्ध गरिदिएका छन् ।


‘क्याम्पसको क्यान्टिनमा खाजा खाँदा आएको आइडियालाई वास्तविकतामा परिणत गरेका हौं,’ दुई वर्षअघि स्थापित पाइलाका सञ्चालकमध्ये एक दीपकमल भुसाल बताउँछन् । पुल्चोक क्याम्पसमा छुट्टै रोबोटिक्स क्लब नै छ । यहाँ उपलब्ध सीमित स्रोत–साधन प्रयोग गरी विद्यार्थी आफैं सिक्दै रोबोट बनाउँछन् ।


कोही विदेश जाने क्रममा थिए त कोही ठूल्ठूला कम्पनीमा जागिर खोजिरहेका थिए । आर्टिफिसियल इन्टलिजेन्स (एआई) र रोबोटिक्सको नशाजस्तै भइसकेको सात जना युवाले भने विदेशलाई विकल्पका रूपमा कहिल्यै देखेनन् । अनि, नेपालमा धराशायी अवस्थामा रहेको रोबोटिक्स क्षेत्रमा कसैले जागिर दिन्छ भन्ने पनि थिएन । त्यसैले आफ्नै कम्पनी खोले । हालसम्म पाइलाले रोबोटिक्सका विभिन्न आयामका अध्ययन–अनुसन्धानमा एक करोडभन्दा बढी खर्च गरिसकेका छन् । दीपकमल भन्छन्, ‘अहिलेसम्म नाफा त भएको छैन । तर, आस मारिहाल्ने अवस्था पनि छैन ।’


एसबीआई बैंकमा रहेको ‘परी’ नामक रोबोटले ढोकाबाट पस्नेबित्तिकै जोकोहीलाई पनि नमस्कार गर्छ, निस्कन लागेकालाई धन्यवाद ज्ञापन गर्छ । यतिमात्र नभएर त्यसमा जडित स्क्रिनको प्रयोग गरी बैंकिङका विधि जान्न सकिन्छ । नौलो रेस्टुराँमा रहेको ‘जिन्जर’ नामक रोबोटलाई पाइलाका अर्का संस्थापक विनय राउत विश्वकै उत्कृष्ट वेटर रोबोट भन्न रुचाउँछन् । उनी अरूको रेस्टुराँमा रोबोट परीक्षण गर्न आइपर्न सक्ने कठिनाइबारे पहिले नै सजग थिए । त्यसैले जिन्जरको सफल परीक्षण गर्न यिनले नौलो रेस्टुराँ खोलेका हुन् । पाइलाका अन्य संस्थापक विश्वकै पहिलो नागरिकता प्राप्त ह्युमनोइड रोबोट सोफियामा प्रयोग भएका प्रविधिबारे पनि जानकार छन् । विनय भन्छन्, ‘सोफियामा नौलो प्रयोग गरिएको उसको छाला र अनुहारका भावमात्र हुन् ।’ सोफियाभन्दा जिन्जर धेरै हिसाबले स्मार्ट रहेको उनको जिकिर छ ।


खिचापोखरीस्थित केकेएफसी रोबोट वेटर प्रयोग गर्ने नेपालकै पहिलो रेस्टुराँ हो । तर, ती रोबोट नेपालमा बनेका नभई चीनबाट मगाइएका हुन् । त्यहाँको प्याङ्गोलिन रोबोटिक्स कम्पनीले विश्वभर वेटर रोबोटलगायत अन्य रोबोट निर्यात गर्छ । पाइलाका नीरज बस्नेत भन्छन्, ‘अब हामी पनि छिट्टै अन्तर्राष्ट्रिय बजारमा जाँदै छौं । त्यति बेला प्याङ्गोलिन नै हाम्रो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी होला ।’


पाइलाका अन्य परियोजना पनि छन् । अन्य बैंकसँग मिलेर यिनले परीभन्दा पनि राम्रा गुणस्तरका अन्य रोबोट ल्याउँदै छन् । विभिन्न कम्पनीका फेसबुक पेज तथा वेबसाइटका लागि बहुभाषी च्याट बोटमा पनि काम गर्दै छन् । आउने दस वर्षमा पाइलालाई कहाँ देख्नुहुन्छ ? ‘चीन, भारत, अमेरिकालगायत विश्वका ठूल्ठूला देशमा पाइलाका शाखा हुनेछन् । सुन्दा महत्त्वाकांक्षी सुनिएला । तर, हामीले पहल गरिसकेका छौं,’ दीपकमलको जवाफ प्रस्टै थियो ।

twitter : @LuitelBibhu

प्रकाशित : भाद्र २९, २०७५ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेपाल चिनाउने एआई

ई–एग्रोभेट प्रयोग गरी बोटबिरुवामा लागेका रोग र त्यसको समाधान पत्ता लगाउन सकिन्छ । यसको क्यामरा इन्टरफेसका मद्दतले बोटको छिप्पिएको वा बिग्रिएको भागको फोटो खिचेपछि माइक्रोसफ्टको क्लाउड कम्प्युटिङ सेवा एज्योरमा अपलोड हुन्छ ।
विभु लुइटेल

काठमाडौँ — नेपाली विद्यार्थीहरु इडा रिजाल, मिलन थापा र शिशिर श्रेष्ठको टिम ‘सोचवेयर’ ले बनाएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एप्लिकेसन ‘ई–एग्रोभेट’ माइक्रोसफ्ट इमेजिन कप २०१८ मा उत्कृष्ट ठहरियो ।

अमेरिकामा माइक्रोसफ्ट हेडक्वाटर्सको हलभित्र विभिन्न देशबाट पुगेका सयौं प्रतिस्पर्धी खचाखच भरिएका थिए । सबैको लक्ष्य एउटै थियो– माइक्रोसफ्ट इमेजिन कपको विजेता बन्ने । सबैले आफ्ना परियोजनाबारे बेलिविस्तार लगाइसकेपछि उद्घोषक बोले, ‘द विनर अफ आर्टिफिसियल इन्टेलिजेन्स क्याटेगोरी इज... ।’ सबै प्रतिस्पर्धीको मुहारमा एक प्रकारको बेचैनी स्पष्ट देखिन्थ्यो । यस्तो माहोलमा एसीयुक्त हल भए पनि सबैको निधारबाट चिट्चिट् पसिना बग्नु स्वाभाविक थियो । अनि उद्घोषक चिच्याए, ‘नेपाल π’ नेपालको प्रतिनिधित्व गर्दै त्यहाँ पुगेका इडा रिजाल, मिलन थापा र शिशिर श्रेष्ठलाई सुरुमा त विश्वास गर्नै गाह्रो पर्‍यो तर २५ जुलाई २०१८ को वास्तविकता त्यही थियो ।


यी तीनका लागि नेपालदेखि अमेरिकासम्मको यात्रा सहज भने थिएन । यसका लागि उनीहरूले निकै मिहिनेत गर्नुपर्‍यो । गत वर्ष काठमाडौंमा आयोजित इमेजिन कपमा नेपाली संस्करणको विजेता टोलीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पठाउने भनिएको थियो । यिनको टोली सोचवेयरले निर्माण गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एप्लिकेसन ‘ई–एग्रोभेट’ उत्कृष्ट पाँचमा परेको थियो । मिलन थापा भन्छन्, ‘हामीले हार मानेनौं । अर्को वर्ष जित्ने संकल्प गर्‍यौं ।’


उनीहरूले निर्माण गरेको मोबाइल एप्लिकेसन ई–एग्रोभेट प्रयोग गरी बोटबिरुवामा लागेका रोग र त्यसको समाधान पत्ता लगाउन सकिन्छ । यसको क्यामरा इन्टरफेसका मद्दतले बोटको छिप्पिएको वा बिग्रिएको भागको फोटो खिचेपछि माइक्रोसफ्टको क्लाउड कम्प्युटिङ सेवा एज्योरमा अपलोड हुन्छ । त्यहाँ रहेका हजारौं तस्बिरसँग तुलना गरेपछि एप्लिकेसनले रोग र त्यसको रोकथाम विधिबारे सुझाव दिन सक्छ । नेपालजस्तो कृषिप्रधान देशमा कृषि र प्रविधि दुवैलाई अघि बढाउन यसले सहयोग पुर्‍याउने इडा बताउँछिन् ।
टिम सोचवेयरको यो पहिलो परियोजना भने होइन । यसअघि यिनले यही ढाँचामा ‘मसरुमेसन’ एप्लिकेसन निर्माण गरिसकेका छन् । च्याउ रोपिएको ठाउँको तापमान रेकर्ड गरी नियन्त्रण गर्न, कृषकलाई रोग नियन्त्रण विधि सिकाउन र च्याउ खेतीका क्रममा अत्यावश्यक पर्ने कार्य सम्झाउने एप्लिकेसन यिनले केही वर्षअघि निर्माण गरेका थिए । तर, च्याउ खेती गर्नेभन्दा अन्य किसानका संख्या धेरै भएकाले त्यो परियोजनालाई बीचमै छोड्नु पर्‍यो ।


गत वर्ष राष्ट्रिय प्रतिस्पर्धाको उत्कृष्ट पाँचमा मात्र पुगेका सोचवेयरले यसपालि पहिलो हुने सपना बुनेका थिए । तर, यो साल प्रतियोगिता नै भएन । इच्छुकले सिधै माइक्रोसफ्टको वेबसाइटमा आफ्नो परियोजना दर्ता गरे पुग्ने भयो । सोचवेयरले त्यही गर्‍यो । दर्ता गरेको केही दिनमै सो परियोजना एसियाली स्तरमा प्रतिस्पर्धाका लागि योग्य भएको इमेल आयो । कार्यपत्र बुझाएर परियोजना सोचवेयरले दर्ता गरे पनि एप्लिकेसन पूरा गरिएको थिएन । आइडिया उत्कृष्ट भएका भरमा सोचवेयरको छनोट भएको थियो । एसिया लेभलको प्रतिस्पर्धा हुन बाँकी रहेको पन्ध्र दिनमा दिन–रात, भोक–तिर्खा नभनी एप्लिकेसन निर्माण पूरा गरिएको थियो ।


क्वालालम्पुरमा भएको १५ टिमको प्रतियोगिताबाट ‘वल्र्ड फाइनल्स’ मा नेपाल र श्रीलंका छनोट भए । धेरै वर्ष अध्ययन–अनुसन्धानपछि बनाइएका एआईका उच्चस्तरीय च्याटबोट र अन्य सुविधाजन्य एप्लिकेसनलाई उछिन्दै नेपालमा निर्मित यो कृषिमैत्री एप्लिकेसन एसियाकै उत्कृष्ट बन्यो ।


अमेरिकामा तय भएको वल्र्ड फाइनल्सका बेला त्रिभुवन विश्वविद्यालयको बोर्ड परीक्षा परेले उनीहरू समस्या परे । शिशिर सुनाउँछन्, ‘परीक्षा पछि दिए पनि हुन्छ । तर, यस्तो मौका घरीघरी आउँदैन । अमेरिका जानुबाहेक मसँग अरू विकल्प नै थिएन, देश चिनाउने योजस्तो राम्रो अवसर विरलै पाइन्छ ।’ उनले परीक्षा दिएनन्, बाँकी दुई पनि फेल भए । तर उनीहरू आ–आफ्ना कलेजमा सम्मानको पात्र बनेका छन् ।


वल्र्ड फाइनल्सको एआई विधामा ई–एग्रोभेटले जित्ने आशा कमै थियो । हात नभएका व्यक्तिका लागि बनाइएको एआई जडित स्मार्ट आर्म, बच्चा किन रोइरहेको छ भनी उसको अनुहार हेरेर पत्ता लगाउने एआई उपकरण, थ्रीडी कलर एक्सरे, आवाज सन्तुलन गरी सुन्न मिल्ने हियरिङ एडजस्ता एप्लिकेसनसँग ई–एग्रोभेटको प्रतिस्पर्धा थियो । तर, १५ हजार अमेरिकी डलरको उक्त पुरस्कार सोचवेयरका तीन युवाले पोल्टामा पारे ।


पुरस्कार जितेपछि उनीहरूलाई चुनौती पनि थपिएको छ । ‘सुरुमा त सबै ब्याकपेपर पूरा गर्नु छ,’ इडा सुनाउँछिन्, ‘त्यसपछि यस एप्लिकेसनलाई थप सुदृढ बनाएर धेरै बोटबिरुवाका डाटा थप्दै जानु छ । अनि, किसान–किसानको घरदैलोमा ई–एग्रोभेटको उपयोगिता र प्रयोग गर्ने विधि सिकाउनुपर्ने छ । सबै किसानका हातमा मोबाइल फोन नहुनु अर्को चुनौती हो । त्यसका लागि उसले प्रयास गरिरहेको छ ।


बोटबिरुवाको डाटा संकलन गर्न अर्को झन्झट छ । ‘खाद्य तथा कृषि संगठनले संकलन गरेको डाटा त छ । तर, हामीले खोजेका सबै पक्ष त्यसमा समेटिएका छैनन्,’ शिशिरले दुखेसो पोखे । तर, उनी हार मान्नेवाला छैनन् । कृषि मन्त्रालय तथा अन्य स्थानीय कृषि निकायमा एप्लिकेसन प्रदर्शनी गर्न लगेका बेला धेरैले पत्याएनन् । कारण, मानिसले गर्न नसक्ने काम एउटा मोबाइल उपकरणले गर्न सक्छ भन्ने कसैलाई लागेको थिएन । तर, केही बोटबिरुवामा यसको सफल परीक्षण भइसकेपछि हाललाई भने त्यहाँका प्रमुख यस एप्लिकेसनप्रति सकारात्मक देखिएका छन् । एप्लिकेसनको सार्थकता सिद्ध गर्न चुनौतीको थुप्रो नै छ । तर भन्छन्, ‘सहज छैन । तर, असम्भव पनि छैन ।’

twitter : @LuitelBibhu

प्रकाशित : भाद्र २२, २०७५ १०:२६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×