२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सिक्स प्याक एब्स

अधिकांश युवा देखासिकीकै भरमा जिमखाना आउँछन् । आफ्नो साविकको शरीरमा सुगठित परिवर्तन देखाउन भने कम्तीमा ६ महिना समय लाग्छ ।
हेमन्त श्रेष्ठ

काठमाडौँ — व्यायाम गर्नेहरूमाझ एउटा भनाइ छ– ‘सबैसँग ‘सिक्स प्याक एब्स’ हुन्छ । तर शरीरमा भएको बोसो भरिएर नदेखिने हुन्छ, यो देखाउन इच्छाशक्ति हुनेले शारीरिक अभ्यासका साथै व्यायाम गर्न जरुरी छ ।’

सिक्स प्याक एब्स

इतिहासको कालखण्डमा दुई व्यक्तिका बीचमा लडिने कुस्ती जसलाई ‘मल्ल युद्ध’ का नामले पनि चिनिन्छ । त्यसका लागि प्रतिस्पर्धीबीचमा बलिष्ठ र खाइलाग्दो शरीर बनाउने चलन रहेको पाइएको छ । समयक्रममा यो परिमार्जन हुँदै आयो । आधुनिक युगमा सुगठित शरीरका साथै पेटमा ‘सिक्स प्याक एब्स’ निकाल्न तम्सिने युवा पुस्ता प्रशस्त भेटिन थालेका छन् । हलिउड फिल्म उद्योगमा एक जमानाका चर्चित टर्मिनेटर फिल्म सिरिजका अभिनेता आर्नोल्ड स्वार्जनेगर र रेम्बो सिरिजका सिल्भेस्टर स्टालिनका फ्यानहरू तिनको जस्तो आकर्षक शरीर बनाउन लालायित हुन्थे । पछि यस्तो मोह भारतीय फिल्म उद्योग बलिउड हुँदै नेपालकै कलिउडमा समेत भित्रियो । बलिउडमा त पछिल्लो पुस्ताका अधिकांश कलाकारले सिक्स प्याक एब्सको ‘ट्रेन्ड’ नै बसाए ।


नेपालमा राणा कालको जगजगीका बेला पनि सहिद धर्मभक्त माथेमा तत्कालीन राजा त्रिभुवनका व्यक्तिगत व्यायाम प्रशिक्षक रहेको बताइन्छ । धर्मभक्तको जति पनि तस्बिरहरू
देख्ने गरेका छौं, तिनमा देखिएको उनको सुगठित शरीर यसको ऐतिहासिक प्रमाण हुन सक्छ । उनको स्मृतिमा हरेक वर्ष शारीरिक सुगठन प्रतियोगिता धर्मश्री हुने गरेको छ ।


सुगठित शरीर बनाउन लालायित हुने अहिलेका पुस्ता सम्भव भएसम्म समय व्यवस्थापन गरेर जिमखाना धाउने गर्छन् । अचेल पेचिलो सवाल उठ्ने गरेको छ– जिमखाना धाउँदैमा आफूले भनेजस्तो शरीर कहाँ बन्छ ? विगत ११ वर्षदेखि ललितपुरको ताल्छीखेलस्थित रेज फिटनेसमा व्यायाम सिकाउँदै आएका काजीमान मगरातीका अनुसार नियमित शारीरिक व्यायामसँगै खानपान र त्यसबेला अपनाइने जीवनशैलीले समेत प्रभाव पार्छ । देखासिकी भन्दा पनि नियमित रूपमा व्यायाम गरी स्वस्थ खानपानका साथै अनुशासित जीवनशैलीले शारीरिक क्षमतामा प्रभाव पार्ने उनको ठम्याइ छ ।


‘अधिकांश युवा देखासिकीकै भरमा जिमखाना आउँछन् । आफ्नो साविकको शरीरमा सुगठित परिवर्तन देखाउन भने कम्तीमा ६ महिना समय लाग्छ । त्यसका लागि उचित खानपानसँगै नियमित कसरत जरुरी छ,’ मगरातीले भने ।

सुगठित शरीरलाई देखाउने प्रतिस्र्धाका रूपमा बडीबिल्डिङ च्याम्पियनसिप नियमित भइरहेका छन् । राष्ट्रिय नाचघरमा दुईदिने तेस्रो मिस्टर काठमान्डु बडीबिल्डिङ तथा लेडिज फिटनेस च्याम्पियनसिप शनिबार सम्पन्न भयो । यसमा २१ वर्षसम्मकाले जुनियरको स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । यस्ता प्रतियोगिताले युवा पुस्ताको ध्यान आकृष्ट पार्ने गरेको छ । यसपालि मिस्टर काठमाडौंमा विसन गुरुङ र लेडिज फिटनेसमा शोभा मानन्धरले बाजी मारे । जुनियरमा किशोर कार्कीले सफलता हात पारे । मिस्टर काठमाडौंमा ७४, लेडिज फिटनेसमा ५ र जुनियरमा १८ जनाले प्रतिस्पर्धा गरेका थिए ।


प्रतियोगिता तयारीका लागि मिहिनेत त छँदै छ, त्यसका लागि समेत धेरै रकम खर्च हुने गरेको प्रतियोगितामा सहभागीहरूले बताए । बडीबिल्डिङ खेलकुदमा पनि खासै प्राथमिकतामा पर्दैन । त्यसैले बडीबिल्डिङलाई राज्यले पनि उपेक्षा गरेको बताइन्छ । यसमा लगानी गर्न सके युवा पुस्ता स्वस्थ हुनेसँगै उनीहरूले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई सफलता पनि दिलाउन सक्छन् ।

twitter : @sthemanta

प्रकाशित : भाद्र २९, २०७५ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?