कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

मिसन साइपाल

छोरीले घरको धुरी चढ्नु हुँदैन भन्ने मान्यता रहेको बझाङ जिल्लामा देउता मानिएको साइपाल हिमाल आरोहणका लागि चार चेली जुटेका छन् ।
वसन्तप्रताप सिंह

काठमाडौँ — हिमाल चढ्ने, त्यो पनि छोरी मान्छेले ?’ तलकोट गाउँपालिका सुुनिकोटकी सरस्वती थापाले साइपाल आरोहण गर्ने चाहना व्यक्त गरेलगत्तै बुबाले भनेका थिए, ‘अरू जेसुकै गर छोरी, तिम्रा रहर म पूरा गर्दिन्छु । यस्तो उटपट्याङ गरेर समाजले कुरा काट्ने काम नगर ।’

मिसन साइपाल

सरस्वतीको साइपाल आरोहण गर्ने जिद्दीले अभिभावकलाई तनाव दिएको थियो । कुनै पनि बझाङी पुुरुषले साइपाल चढ्ने हिम्मतसमेत गरेका छैनन् । त्यसमाथि महिला साइपाल आसपासमा जानै नहुने स्थानीय विश्वास छ । छाउ (महिनावारी) भएका बेला रगतको लसपस भएमा साइपालमा विराजमान देउता रिसाउने र त्यसको श्राप परिवारलाई लाग्ने डरले पनि सरस्वतीको अभिभावकलाई पिरोलेको थियो ।


गत वर्ष २० वर्षीय सरस्वतीको समूह साइपाल आधारशिविर पुगेको थियो । त्यस यात्राको दिन सुनिकोटमा पूरै सन्नाटा छायो । दुई दर्जन महिला सुुदूरपश्चिमतिर शुुभसाइतमा गाइने मागल गीत गुनगुनाउन थाले । परिवारका सदस्यहरू भने स्थानीय लाँगा देवताको पुकार गर्दै छोरीलाई सकुुशल घर फिर्तीका लागि पूजा गर्नतिर लागेका थिए । लाग्थ्यो, कुनै शुुभसाइतको कर्म होइन, यहाँ कुनै अनिष्ट हुुन गइरहेको छ ।


साइपाल काँडाकी लक्ष्मी बुढाले पनि घरबाट साइपाल आधारशिविर (४१०० मिटर) जाँदाखेरि त्यस्तै माहोल झेलेकी थिइन् । यी २३ वर्षीया पूर्वछापामारले जसरी पनि साइपाल
आधारशिविर जाने अठोट लिइसकेकी थिइन्, त्यहीअनुसार घरमा टीकाटालो हुन थाल्यो । उनका पतिले ढाडस दिँदै भन्दै थिए, ‘यताको चिन्ता नलिनुु, छोरीलाई म हेरिहाल्छुु । राम्रोसँग जानू, आफ्नो मिसन फत्ते गरेर आउनू ।’ त्यस बेला तीन वर्षीया छोरीले लक्ष्मीको काखै छोड्न मानेकी थिइनन् । तर, लक्ष्मी आँसु बगाएर पनि आफ्नो मन बलियो बनाउँदै गन्तवतिर लागेकी थिइन् ।


साइपाल मिसनमा सुुर्माकी पवित्रा बोहरा र धुलीकी संगीता रोकायाको व्यथा पनि उस्तै थियो । सबैका परिवारले शंकालु नजरले प्रश्न गर्थे, ‘होइन, यो के अनिष्ट हुुन थाल्यो । यी हाम्रा चेलीलाई केही भइदियो भने यसको जिम्मा कसले लिन्छ ?’ बझाङका यी चार चेलीको अठोट देखेर कसैले अग्रिम बधाई दिए भने सावधानी अपनाउन सुझाव दिनेहरू पनि भेटिए ।
‘छोरीले घरको धुरी चढ्नु हुँदैन’ भन्ने मान्यता रहेको बझाङ जिल्लामा देउता मानिएको हिमाल चढ्ने कुरा गर्दा यी चेलीका परिवारजन तर्सिनु स्वाभाविक थियो । तर पनि उनीहरू आफ्नो दृढ संकल्पमा अडिग छन् । उनीहरूले विश्व प्रख्यात आरोहीसँगै साइपाल चढ्न लागेको खबरले भने परिवारलाई थोरै भए पनि राहत दिलाएको छ ।


अहिले बझाङका चेलीहरू सरस्वती, लक्ष्मी, संगीता र पवित्रा हिमाल आरोहणको तयारीका लागि काठमाडौंमा भइरहेको तालिममा व्यस्त छन् । तालिमसँगै उनीहरूको आत्मविश्वास बढ्दै गएको छ । संगीता भन्छिन्, ‘यो सिजन (अक्टोबर) मा साइपाल (७,०३१ मिटर) चढेपछि अर्काेपल्ट सगरमाथा आरोहण गर्नेछु । छोरीले चाहे गर्न सक्छन् भन्ने कुरा हाम्रो समाजलाई देखाउँछु ।’ आफ्नो परिवारलाई मनाउनु नै पहिलो जित भएको उल्लेख गर्दै लक्ष्मीले भनिन्, ‘हामीले छोरीचेलीले हिमाल चढ्नु हुन्न भन्ने मान्यतालाई भत्काएर यहाँसम्म आइपुगेर एउटा साइपाल त चढिसकेका छौं ।’


नेपाल पर्यटन विभागको आधिकारिक जानकारीमा सरकारको इजाजत लिएर कसैले पनि साइपाल आरोहण गरेका छैनन् । सन् १९५३ मा अस्ट्रियन नागरिक डा. हर्बट टीचीले पहिलोपटक दक्षिणी मोहडा (बझाङतिर) बाट साइपाल चढ्ने पहिलो प्रयास गरेका थिए तर उनी सफल हुन सकेनन् । पर्वतारोहीको आफ्नै तथ्यलाई हेर्ने हो भने जापानका कात्सुतोसी हिराबासी र नेपाली पासाङ फुुतुर शेर्पा साइपालको सफल आरोहण गर्ने पहिलो हुन् । उनीहरूले २१ अक्टोबर, १९६३ मा साइपाल आरोहण गरेका थिए । तर त्यो तथ्यांक नेपाल सरकारसँग छैन ।


दक्षिणी मोहडाबाट साइपाल चढ्न निकै गाह्रो रहेको लेखहरूमा पाइन्छ । यही मोहडाबाट साइपाल चढ्ने चेलीहरूको हिम्मत भोजराज भाटले जुराइदिएका हुन् चर्चित वृत्तचित्र सुनकलीका यी निर्देशकका अनुसार बझाङका चार चेली आठ हजारभन्दा माथिका १४ वटै हिमाल चढिसकेका स्पेनी जर्ज इगोचेएगा र एडुुर्ने पासाबन (आठ हजार माथिका सबै हिमाल चढ्ने पहिलो महिला) सहित चर्चित १० आरोहीसँगै अक्टोबरमा साइपाल उक्लिने अभियानमा हुनेछन् । यस आरोहणलाई ‘मिसन साइपाल’ नाम दिइएको छ ।


मिसन सफल भएमा बझाङी चेलीहरू आधिकारिक रूपमा साइपाल चढ्ने पहिलो त हुने नै छन् । हिमाल आरोहणको ढोका उघार्ने पहिलो बझाङी पनि हुनेछन् । उनीहरू ७–८ वर्षको उमेरदेखि नै प्रत्येक वर्ष तीनदेखि चार महिना यार्चागुम्बु र जडीबुटी टिप्दै ५ हजार मिटर उचाइका हिमाली वातावरणमा हुर्किएका हुन् । त्यसैले उनीहरूलाई साइपाल आरोहण कठिन नहुन सक्छ ।


बझाङका स्थानीय एफएम रेडियोमा एक हप्तासम्म विज्ञापन बजाउँदासम्म खासै दाबेदार ननिस्किएका बेला पार्वती ऐडीले हिम्मत गरेकी थिइन् । उनले अरू चेलीलाई पनि सम्झाइन् । र, तयार भए १५ जना । केहीले नाम लेखाएर पनि हात झिके भने केहीलाई परिवार बाधक बने । बाँकी रहेका सात जना गत वर्ष आधारशिविर पुगे । दुई चेली उमेरमा कलिलै भेटिए । पार्वती बिरामी परिन् । त्यसैले साइपाल मिसनका लागि सरस्वती, लक्ष्मी, संगीता र पवित्रा मात्रै तयार भए ।


नेपालको पर्यटन उद्योग काठमाडौं र पोखरा उपत्यका, चितवन, खुम्बु र अन्नपूर्ण क्षेत्रमै सीमित छ । साइपाल यात्रा गर्ने विदेशी पर्यटक वर्षमा मुस्किलले दर्जन पुग्छन् । चेलीहरूको अभियानले यस क्षेत्रलाई पर्यटकीय आकर्षण बनाउन सकिने साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्र धामी बताउँछन् । ‘हामीसँग पश्चिम हिमालयमा साइपाल, जेठीबहुुरानी, अपीलगायत हिमाल पनि छन् । यसबाट पनि आनन्द लिन सकिन्छ,’ उनले भने ।

प्रकाशित : भाद्र १, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?