कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

‘सोसल सेप्टेम्बर’

सेप्टेम्बर महिनाभर सबैखाले सोसल मिडिया प्रयोगबाट टाढा रहेर सामाजिक सम्बन्ध बढाउने अभियान सुरू भएको छ । यो के हो ? यो किन आवश्यक छ ?
बेलायतको रोयल सोसाइटी अफ पब्लिक हेल्थले ‘स्क्रोल फ्रि सेप्टेम्बर’ अभियानको घोषणा गर्दै लेखेको छ– यसले हाम्रो सामाजिक सम्बन्ध मजबुत बनाउँछ ।
हेलो शुक्रबार

काठमाडौँ — घरमा खान बस्दा होस् वा अफिसको बैठक । हाम्रो हातको स्मार्टफोन स्क्रिन सधैं अन हुन्छ । जति बेला पनि मोबाइल चलाउने बानीले हाम्रो धेरै समय खेर गइरहेको छ । हामीलाई मोबाइलमा कैद गर्न बाध्य पार्नेमा सोसल मिडिया प्रमुख कारक हुन् । सोसल मिडियाका नोटिफिकेसन, अपडेट, अरूका फोटो र भिडियो हेरेर हाम्रो महत्त्वपूर्ण समय खेर गइरहेको त छ नै, आफू नजिकका व्यक्तिसँग घुलमिल हुने हाम्रो बानीलाई पनि यसले प्रभाव पारेको छ ।

‘सोसल सेप्टेम्बर’

भर्खरै मात्र बेलायतको एक संस्थाले प्रयोगकर्तालाई सेप्टेम्बर महिनाभरि सोसल मिडिया नचलाउन आग्रह गर्दै एक नयाँ अभियानको घोषणा गरेको छ– स्क्रोल फ्रि सेप्टेम्बर । एक महिना सोसल मिडियाबाट टाढै रहन आग्रह गर्नुको कारणबारे खुलाउँदै संस्थाले आफ्नो वेबसाइटमा लेखेको छ– यसले हाम्रो सामाजिक सम्बन्ध मजबुत बनाउँछ । बेलायतको रोयल सोसाइटी अफ पब्लिक हेल्थले यो अभियान सुरु गरेको हो । यो संस्थाले सामाजिक सञ्जालबाहेक अल्कोहल र चुरोट छाड्न पनि यस्तै खालको अभियान सुरु गर्दै आएको छ । उसले जनवरीमा अल्कोहल नखाने अभियान ‘ड्राई जनवरी’ र अक्टोबर महिनाभरि चुरोट नखाने अभियान ‘स्टपक्टोबर’ सुरु गरेको थियो ।


स्क्रोल फ्रि सेप्टेम्बर अभियानका लागि आह्वान गर्दै संस्थाले ३० दिन सबैखाले सोसल मिडिया एकाउन्ट प्रयोग नगर्न आग्रह गरेको छ । यो अभियानमा सहभागिता जनाउनेले म्यासेजिङ एप र कार्यालय प्रयोजनका लागि हुने एप प्रयोग गर्न भने सक्नेछन् । मोबाइल फोन र सोसल मिडियाको लत कम गर्न केही सुझाव पनि संस्थाले सार्वजनिक गरेको छ । जस्तै– कुनै कार्यक्रममा सहभागी हुँदा मोबाइल प्रयोग नगर्ने, ६ बजेपछि मोबाइल प्रयोग नगर्ने, आफ्नो बेडरुममा मोबाइल प्रयोग नगर्ने, कार्यालयमा आफ्नो व्यक्तिगत एकाउन्टहरू प्रयोग नगर्ने ।
मोबाइल, इन्टरनेट र सोसल मिडियाको लत मानिसलाई कति धेरै लागिसकेको छ भन्ने तथ्य पुष्टि गर्ने एक उदाहरण बेलायती कमेडियन रसेल केन पनि हुन् । आफ्नो अभिनय र व्यंग्यले उनले धेरै मानिसलाई हँसाएका छन् भने आफ्नो सामाजिक कामका कारण पनि उनी प्रशंसित छन् तर भर्खरैको एक अन्तर्वार्तामा उनले आफ्नो इन्टरनेटको लत छुटाउन परामर्श कक्षा लिने गरेको खुलासा गरे । ‘मैले यो मेसिन (मोबाइल) कसरी चलाइरहेको छु भन्ने नियन्त्रण मेरो हातमा छैन’ उनले भनेका छन् । रसेल केनको यो भनाइबाट पनि मोबाइलको लत कति भयावह हुन सक्छ भन्ने अनुमान लगाउन सकिन्छ ।


मोबाइल प्रयोगको लत हानिकारक भएको भन्दै सबैतिर यसको चर्चा हुन थालेपछि प्रविधि कम्पनीहरू आफैंले यसको समाधानको उपायका लागि समेत प्रयास गरेका छन् । केही अघि गुगलले आफ्नो आगामी अपरेटिङ सिस्टम एन्ड्रोइड पीको घोषणा गर्दै प्रयोगकर्तालाई मोबाइल कम प्रयोग गर्ने बानी पार्न नयाँ फिचर सुरु गरिएको जनाएको थियो । ड्यासबोर्ड नाम दिइएको उक्त फिचर एन्ड्रोइड पीमा उपलब्ध हुनेछ । यसले प्रयोगकर्तालाई कति घण्टा मोबाइल चलाइयो, कुन एप चलाइयो भन्ने विस्तृत जानकारी दिनुका साथै उनीहरूलाई दैनिक यति घण्टा मोबाइल चलाउने भनेर निर्धारण गर्ने सुविधा पनि दिनेछ ।


लगत्तै आफ्नो नयाँ आईओएस ल्याउँदै गुगलले यस्तै खालको फिचर घोषणा गर्‍यो जसको नाम दिइएको छ– स्क्रिन टाइम । आईओएस डिभाइसमा पनि यसले प्रयोगकर्ताको कति घण्टा कुन एपमा बित्यो, उनीहरूले केमा बढी समय बिताए, मोबाइल चलाउनमा उनीहरूको दैनिक कति समय गयो, घण्टामा कति पटक उनीहरूले मोबाइल अन गरेजस्ता विवरण दिनेछ ।


प्रौढ प्रयोगकर्तामा मोबाइलको लत त छँदै छ, यसबाहेक बालबालिकामा मोबाइलको लत झन् डरलाग्दो स्वरूपमा देखिएको छ । बालबालिकामा मोबाइलको लत डरलाग्दो देखिएको भन्दै केही अघि एप्पलकै लगानीकर्ताले समेत कम्पनीलाई खुलापत्र लेख्दै कुनै कदम चाल्न आग्रह गरेका थिए ।

[email protected]

प्रकाशित : श्रावण १८, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?